menu

ताजा समाचार

इच्छुकको सम्झनामा: रोशन जनकपुरी

इच्छुकको सम्झनामा

(यस बेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यस बेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जम्लाहात जोडिरहेछन्
म तिम्रो वज्रमुठीलाई झन् सबल देख्न चाहिरहेछु
यस बेला केही थकित पाइलाहरू गलेर
माझ-बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु
यस बेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा युगको हुङ्कार सुन्न चाहिरहेछु ।
व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक ।
यस बेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधीबेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस सङ्क्रमणशील घडीमा
भोको पेटका ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न ।)

(कृष्णसेन इच्छुकको 'इतिहासको यस घडीमा ' नामक कविता )
--------------------------------------------------------------------
                                                                                   इच्छुकको सम्झनामा : रोशन जनकपुरी



प्रिय कवि !
अनेक गौंडा पार गरेर
अहिले हामी जहाँ पुगेका छौँ,
तिमीले छाडेर गएको भन्दा खासै भिन्न छैन ,
वर्षौं पहिले,
तिम्रो सहादतको बेला
पोखिएका रगतका छिर्काहरु
अझै आलै भएजस्तो भान हुन्छ,
हेर न !
'इतिहासको यस संक्रमणशील घडीमा,
भोको पेटका ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरु पुछेर ' ,
भद्र पुरुष ,
तिमीले भनेजस्तै
'दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ ' ,
तर भोका मानिसहरुको मुक्तिको महायात्राका
गीत गाउन,
प्रिय कवि !
यस युगलाई पनि
तिमीजस्तै एउटा नयाँ इच्छुक चाहिएको छ |

०००

(एक्काइसौं स्मृति दिवसको सम्झना प्रिय सहिद कवि ! लाल सलाम कमरेड कृष्णसेन इच्छुक !)
भिडियो फिचरview all