menu

ताजा समाचार

विश्वका क्रान्तिकारीहरू भन्छन् : माओवादको झण्डामुनि गोलबद्ध होऔं, नयाँ केन्द्र निर्माणको दिशामा अघि बढौं

मे दिवसलाई श्रमजीवीहरूको दिवस मानिन्छ । ऐतिहासिक तथा वैचारिक सम्बन्ध र सन्दर्भका दृष्टिले सारत; यो सर्वहारा वर्गको दिवस हो । कम्युनिस्ट क्रान्तिकारीहरूको दिवस हो । विश्वका क्रान्तिकारीहरूले यसलाई विशिष्ट अर्थ र सन्दर्भमा यसलाई मनाउँदै आएका छन् । हरेक देशका क्रान्तिकारीहरूले आआफ्नो मुलुकको विशिष्ट स्थिति र पार्टीको आत्मगत स्थितिअनुसार यसपल्ट पनि विभिन्न कार्यक्रमका साथ मे दिवस मनाए । युद्धले थिल्थिलिएको इराकदेखि माओवादी आन्दोलनलाई नयाँ किसिमले गठन/पुनर्गठनमा लागेको नेपालका श्रमजीवी जनताले पनि विशेष कार्यक्रमका साथ मे दिवस मनाए ।

यताका वर्षहरूमा विश्वका माओवादी पार्टी, सङ्गठन तथा मोर्चाहरूले मे दिवसलाई विशेष आह्वानका साथ मनाउने गरेका छन् । खास गरेर 'क्रान्तिकारीहरूको अन्तर्राष्टियतावादी सङ्गठन' (रिम) विघटनको स्थितिमा पुगेपछि मे दिवसको सन्दर्भ पारेर विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले विश्वपरिस्थितिको व्याख्या-विश्लेषणसहित नयाँ केन्द्र निर्माणको आवश्यकता र औचित्यमा जोड दिँदै सैद्धान्तिक तथा व्यावहारिक क्रियाशीलता प्रस्तुत गरेका छन् । यसमा युरोपेली, ल्याटिन अमेरिकीलगायत एसियाका माओवादी पार्टीहरू सक्रिय हुँदै आएका हुन् । परन्तु यताका दुई/तीन वर्षमा खास गरेर ल्याटिन अमेरिकी माओवादीहरूका केही प्रश्नहरूबारे व्यापक छलफलको अभावमा संयुक्त वक्तव्य जारी गर्ने कुरामा विभाजन देखिएको छ ।

पहिले ३१ वटासम्मको साझा वक्तव्य आएकोमा गत साल यो २१ मा झरेको थियो । कतिपयले वक्तव्य आइसकेपछि पनि आफ्नो समर्थन जनाउने गरेका छन् । यसपल्ट भने विभाजनको  स्थिति अलि फरक किसिमको छ । साझा वक्तव्यको पहल 'रिम' निर्माणको इतिहाससित गाँसिएको माओवादी पार्टी इटालीले गर्दै आएको हो । यसको साझा अभिव्यक्ति ‘माओइस्ट रोड ब्लग’ हो ।  इटाली र फ्रान्सका खास गरेर इटालीका माओवादी पार्टीका कमरेडहरूले तयार पारेको खेस्रामा थपघट गरिने गरिन्थ्यो तथा फरक धारणाको पनि जानकारी समावेश गरिन्थ्यो र अन्तयमा एउटा निष्कर्षका साथ फाइनल प्रति तयार हुन्थ्यो । यसपल्ट अन्तिम खेस्राको जानकारी नआएर सोझै फाइनल प्रति भनेर आयो ।

खास गरेर हिजोका दिनदेखि पहल लिएका कमरेडहरूले आफ्ना भनाइहरू राख्ने र अरूका भनाइ नसुन्ने,  सबै मुलुकका खासखास समस्या भएका कारण  कि त सबै मुलुकका समस्या राख्नुपर्ने हुन्छ, कि त सर्वमान्य समस्यालाई मात्रै हाइलाइट गर्नुपर्ने हुन्छ । अन्यथा खास मुलुकका समस्यालाई मात्रै जोड दिंदा विवाद हुनु स्वाभाविक हुन्छ । युरोपका समस्यालाई जोड दिने, तर ल्याटिन अमेरिकी समस्याको गम्भीरताप्रति चासो नराख्ने भन्ने किसिमको कुरा चर्चामा आएको छ  । ल्याटिन अमेरिकी मुलुकहरूले इतिहासको समीक्षा र गोन्जालोको विषयलाई लिएर अघि सारेका धारणाप्रति कतिपय युरोपेली माओवादी पार्टीले उदासीनता देखाएको भन्ने पनि आएको छ  । ल्याटिन अमेरिकाका माओवादी संगठनहरूका साथै युरोपेली मुलुकहरूमा पछिल्ला दिनमा स्थापित माओवादी सङ्गठनहरूले यताका दिनमा आफ्नै किसिमको अभ्यास गर्न थालेको पाइन्छ  । ल्याटिन अमेरिकरूको भिन्नै टोली बनेको र त्यसलाई केही नर्वे, जर्मनी, अस्ट्रियाका माओवादीहरूको समर्थन रहेको देखिन्छ । यहाँ विचारको पक्ष भन्दा पनि समन्वय र समझादारीमा समस्या रहेको देखिन्छ ।

यसपल्ट  मूल पहलकर्ताहरूको टोलीमा १५ वटा पार्टी तथा सङ्गठन देखिएका छन्  । यसपल्ट सन् १३ देखि निरन्तर सहभागी भएको कम्युनिस्ट न्युक्लिअस, नेपाल (पहिले सोझै  ऋषिराज बराल र 'द नेक्स्ट फ्रन्ट' का नाममा सहभागी भएको) यसपल्ट ल्याटिन अमेरिकी टोलीमा सहभागी भयो । यसमा १४ वटा माओवादी पार्टी तथा सङ्गठनहरू छन् ।  गत साल देखि सहभागी नेकपा (क्रान्तिकारी माओवादी) चाहिं माओवादी पार्टी इटाली, गालिसिया र मणिपुरसितको टोलीमा सहभागी भयो ।

इटालीलगायतका  माओवादी पार्टीमा सहभागीहरूको टोली यस्तो छ :

माओवादी कम्युनिस्ट पार्टी रिकंसनक्सन कमिटी, ग्यालिसिया, स्पेनिस राज्य
कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
टर्की कम्युनिस्ट पार्टी/माक्र्सवादी–लेनिनवादी
डेमोक्रेसी एण्ड क्लास स्ट्रगल, बृटिस स्टेट
माओइस्ट कम्युनिस्ट पार्टी-फ्रान्स
माओवादी कम्युनिस्ट पार्टी – इटाली
माओवादी कम्युनिस्ट पार्टी, मनीपुर
माओवादी क्रान्तिकारी लिग – श्रीलंका
नयाँ कम्युनिस्ट पार्टी – ट्युनिसिया (रिकंस्त्रक्सन)
पार्टी एल्काडेहाइन्स, ट्युनिसिए
क्रान्तिकारी कम्युनिस्ट पार्टी (पिसीआर-आरसीपी, क्यानडा)
रेड युथ अफ जर्मनी
युनियन ओब्रेरा कम्युनिस्टा (एमएलएम) – कोलम्विया
वर्कर्स भ्वाइस – मलेसिया


ब्राजिल, पेरूलगायतका माओवादीहरूको टोली यस्तो छ :

कम्युनिस्ट पार्टी अफ इक्वेडर—रेड सन
पेरू पिपुल्स मोभमेन्ट (रिअर्गनाइजेसन कमिटी)
कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन)
रेड फ्याक्सन अफ द कम्युनिस्ट पार्टी अफ चिली
माओइस्ट अर्गनाइजेसन फर द रिकन्स्टिच्युसन अफ द कम्युनिस्ट पार्टी अफ कोलम्बिया
रिभोलुस्नरी न्युक्लिअस फर द रिकन्स्टिच्युसन अफ द कम्युनिस्ट पार्टी अफ मेक्सिको
कम्युनिस्ट पार्टी अफ टर्की/माक्र्सिस्ट/लेनिनिस्ट
 कमिटी रेडफ्लाग, एफआरजी
माओइस्ट कम्युनिस्ट पार्टी, फ्रेन्च स्टेट
रेड फ्लाग कलेक्टिव फिनल्यान्ड
कमिटी फर द फाउन्डेसन अफ द (माओइस्ट) कम्युनिस्ट पार्टी अफ अस्ट्रिया
जेनफकेट-कम्युनिस्ट लिग, नर्वे
कमिटी टु रिकन्स्टिच्युट द कम्युनिस्ट पार्टी अफ युएसए
कम्युनिस्ट न्युक्लिअस, नेपाल

इटालीसमेतको टोलीले ‘लाल तथा अन्तर्राष्ट्रिय मे दिवस’ भन्ने शीर्षक मा र ल्याटिन अमेरिकीहरूको टोलीले ‘डेयर टु स्ट्रगल, डेयर टु विन’ शीर्षकमा वक्तव्य प्रकाशित गरेका छन् । (यो वक्तव्य janamel.com को 'English' section मा पढ्न सकिन्छ l )दुवै टोलीले मार्क्सवाद-लेनिनवाद-माओवादमा जोड दिएका छन् र आआफ्नो देशको विशिष्टतामा माओले देखाएको बाटो जनयुद्धको बाटोलाई आत्मसात गरेर अगाडि बड्न आह्वान गरेका छन् । दुवैले विश्वका माओवादीहरूको एकीकृत अन्तर्राष्ट्रिय सम्मेलनका लागि आह्वान गरेका छन् । जस्तो ल्याटिन अमेरिकी टोलीले अन्त्यमा भनेको छ :

माओवादको झण्डामुनि गोलबद्ध होऔँ !
एकीकृत अन्तर्राष्ट्रिय माओवादी सम्मेलनको दिशामा अघि बढौँ !
अपराजेय जनयुद्ध जिन्दावाद !

प्राविधिक कारणले यसपल्टको मे दिवस वक्तव्यमा भाकपा (माओवादी) को सहभागिता छैन ।

एकातिर हामी  विश्वका माओवादीहरू एउटै झण्डामुनि एकत्रित होऔँ,  नयाँ अन्तर्राष्ट्रिय निर्माणमा सहभागी बनौँ भनेर नारा दिइरहेका छौँ भने अर्कातिर साझा र संयुक्त वक्तव्यसमेत प्रकाशित गर्न  सकिरहेका छैनौँ । नेपालकै सन्दर्भमा पनि संयुक्त कार्यक्रम गर्ने स्थिति रहेन । यो सुखद विषय होइन  ।

 हिजो ‘कोरिम’ र ‘कम्पोसा’ मा नेतृत्व गरेका नेपालका माओवादीको एउटा जत्थाले दुस्मनका सामु आत्मसमर्पण गरे पनि क्रान्तिकारीहरूको भरपर्दो सङ्ख्या नेपाली माओवादी आन्दोलनमा अहिले पनि सक्रिय रहेको छ  । हिजो नेतृत्वमा रहेका नेपालका माओवादीहरूले माओवादीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र बनाउन भूमिका खेलून् भन्ने भाइचारा पार्टीहरूको चाहनाप्रति हामी नेपाली माओवादीहरू गम्भीर हुनु आवश्यक छ ।  


भिडियो फिचरview all