menu

ताजा समाचार

मे दिवस र क्रान्तिकारी ध्रुवीकरण

मे दिवस विश्वका श्रमजीवी वर्गको महान् दिवस हो । गत वर्षहरूका झैँ यस वर्ष पनि विश्वभरिका श्रमजीवीहरू तथा क्रान्तिकारीहरूले मे दिवस विशेष कार्यक्रमका साथ  मनाउने तयारी गरेका छन् । यो वर्ष मार्क्स-एङ्गेल्सद्वारा आरम्भ गरिएको ‘अन्तर्राष्ट्रिय’  (International)  को ‘तेस्रो अन्तर्राष्ट्रिय’ गठन भएको १०० वर्ष पुगेको अवसर पनि हो । लेनिनको नेतृत्वमा गठित ‘थर्ड कम्युनिस्ट इन्टर्नेस्नल’ को विशिष्ट वैचारिक महत्व छ । वैज्ञानिक समाजवाद प्राप्ति र निर्माणको दिशाका साथै  साम्राज्यवाद तथा संशोधनवाद विरुद्धको लडाइँका दृष्टिले ‘थर्ड इन्टर्नेस्नल’ को ठूलो महत्व रहेको छ र आजको सन्दर्भमा यसको महत्त्व झन् बढेको छ ।

यतिखेर अन्तर्साम्राज्यवादी अन्तर्विरोध तीव्र बनेको छ । साम्राज्यवादी शक्तिहरू एकातिर वित्तीय सङ्कटबाट गुज्रिरहेका छन् भने अर्कातिर उनीहरूबीच सैन्य प्रतिस्पर्धा पनि चलिरहेको छ । साम्राज्यवादी मुलुकहरू खास मुलुकको कच्चा पदार्थ कब्जा गर्ने र उत्पादित मालको बजारविस्तार गर्ने होडबाजीमा लागेका छन् र यसका लागि उनीहरू नव-उपनिवेशवादी प्रभुत्व कायम गर्ने योजनालाई तीव्र बनाइरहेका छन् । साम्राज्यवादी युद्ध ‘तेल राजनीति’ र ‘व्यापार युद्ध’ मा परिणत भएर भूमण्डलीकृत भएको स्थिति छ ।

यतिखेर क्रान्तिकारीहरूले  साम्राज्यवादद्वरा निर्देशित 'उत्तर-वादी' प्रवृत्ति र संसोधनवादी विभ्रमका विरुद्ध दुवै मोर्चामा लड्नु परेको स्थिति छ  । यसै सङ्घर्षका बीचबाट मार्क्सवाद-लेनिनवाद-माओवादमा आधारित पार्टी निर्माण गर्ने र सङ्घर्षलाई अघि बढाउने क्रम पनि जारी छ । भारत, फिलिपिन्स, टर्की र पेरूमा चलेको जनयुद्ध, त्यसमा पनि भारतमा चलिरहेको जनयुद्धप्रति विश्वका उत्पीडित वर्ग तथा समुदायको ध्यान केन्द्रित भएको छ । यी मुलुकहरूमा  चलेका जनयुद्धहरू  विश्वक्रान्तिका  अभिन्न अङ्ग हुन् ।  जनयुद्ध चलिरहेका मुलुकहरूका पार्टी तथा जनतालाई हर तरहले सहयोग पुर्याउनु विश्वभरिका क्रान्तिकारीहरूको अहम् दायित्व हो । यो सर्वहारावादी अन्तर्राष्ट्रियतावादको आधार हो ।

विधिवत रूपमा विघटन भएको नभनिए पनि सन् १९८४मा गठित  ‘क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन’ (रिम) विघटन भएजत्तिकै छ  र सन् २०१० देखि क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र बनाउने प्रयास निरन्तर जारी छ । आरसिपी, अमेरिकाले अघि सारेको विसर्जनवादी- ‘उत्तर-वादी’  धारणा ‘न्यु सिन्थेसिस’ का  कारण विवाद उत्पन्न भएपछि विश्वभरिका माओवादी क्रान्तिकारीहरूले ‘न्यु सिन्थेसिस’ लाई खारेज गरेर अघि बढ्नु आवश्यक थियो । इतिहासको समीक्षा र कमरेड गोन्जालोको सन्दर्भलाई लिएर ल्याटिन अमेरिकी तथा युरोपका कतिपय माओवादी सङ्गठनहरूले बहसका केही बुँदा अघि सारेका छन् । यसबारेको बहसछलफल र धारणा निर्माण  विश्व क्रान्तिको हितमा नै  हुन्छ भन्ने हाम्रो धारणा छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा  अहिलेको आवश्यकता भनेको वैचारिक पक्षलाई केन्द्र बनाएर क्रान्तिकारीहरूको नयाँ केन्द्र बनाउन पहल गर्नु हो । सङ्गठित शक्ति र योजनाबद्ध अभियानले मात्र घरेलु तथा अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिका साथै बहुरङ्गी दक्षिणपन्थी अवसरवादीहरू विरुद्धको  लडाइँलाई  ठोस दिशा दिन सकिन्छ र  क्रान्तिकारी पार्टी निर्माण र विकासको अभियानलाई अघि बढाउन सकिन्छ । अनि  मात्र विश्वमा चलिरहेका जनयुद्धलाई सङ्गठित किसिमले सघाउ पुर्याउन र विश्वका विभिन्न जेलमा रहेका राजबन्दीहरूको रिहाइको प्रश्नलाई ठोस रूपमा अघि बढाउन सकिन्छ ।

क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणका लागि युरोपेली तथा ल्याटिन अमेरिकी माओवादी पार्टी तथा सङ्गठनहरूले चलाएको अभियान सराहनीय छ  ।  हामी क्रान्तिकारी उत्साहका साथ यसको समर्थन गछौँ र विश्वका क्रान्तिकारीहरू सबैले यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको काम हामी त्यतिबेरसम्म सही र सङ्गठित किसिमले गर्न सक्तैनौँ, जबसम्म हामी आन्तरिक तहमा सङ्गठित र योजनाबद्धताका साथ अघि बढ्न सक्तैनौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा गर्नु पर्ने र गर्न सकिने भूमिकाको निर्धारण आन्तरिक तहको स्थिति र भूमिकामा भर पर्दछ  । कमजोर आत्मगत स्थितिले ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिँदैन  ।  मार्क्सवाद-लेनिनवाद-माओवाद र सशस्त्र सङ्घर्षद्वारा सत्ता प्राप्त गर्ने  प्रतिबद्धता क्रान्तिकारीहरू ध्रुवीकृत र  सङ्गठित हुने कार्यको आधारभूत  सर्त हो ।

गद्दार तत्त्वहरूले दस बर्से महान् जनयुद्धलाई विसर्जन गरेपछि नेपालको माओवादी आन्दोलनलाई नयाँ किसिमले गठन/पुनर्गठन गर्ने र सङ्गठित भएर अघि बढ्ने प्रयासहरू हुनु र गर्नु आवश्यक थियो । परन्तु यसको थालनीले ठोस रूप नलिंदै फूटका श्रृङ्खलाहरू देखा परे । यो आफैँमा समीक्षा र शिक्षाको एउटा पाटो हो । प्रारम्भिक तहमा हिजो जनयुद्ध लडेका र अहिले नव-प्रतिक्रयावादमा पतन नभएका, तर, छरपस्ट रूपमा रहेका शक्ति र व्यक्तिहरूबीच नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस, छलफल र विचारविमर्श हुनु आवश्यक छ ।  यसका लागि क्रान्तिकारी आधारबिन्दुको निर्माण गर्नुका साथै आआफ्ना कमीकमजोरी तथा समस्याप्रति पनि गम्भीर आत्मालोचक हुनु जरुरी छ । इतिहासको वैज्ञानिक समीक्षा नगरी अघि बढ्ने कुराले अपेक्षित उदेश्यले सही  दिशा लिन सक्तैन ।

वाम नाममा सरकारमा रहेका नवप्रतिक्रियावादीहरूको व्यवहारले उनीहरू फासिवादी  अभ्यासमा लागेको यथार्थलाई पुष्टि गर्दछ । भ्रष्टाचार र अनिमियतता चरम रूपमा छ । ''नागरिकता प्रकरण' ले खतरनाक योजनाबद्धताको संकेत दिन्छ । जनतन्त्र, राष्ट्रिय स्वाधीनता र जनजीवीकाका क्षेत्रमा जुन किसिमको स्थिति देखिएको छ र फरक विचारप्रति सत्ताधारीहरूले जे-जस्तो व्यवहारको  प्रदर्शन गरेका छन्, यसले स्थिति निकै गम्भीर छ भन्ने कुरालाई द्योतन गर्दछ । यसै अर्थमा मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत मान्यतामा साझा सहमति कायम गरेर क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणको प्रक्रियालाई अघि बढाउनु आवश्यक छ भनिएको हो । यस क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले गरेको आह्वान र  थालेको प्रयास सराहनीय छ । यसप्रति मालेमाका पक्षधरहरू सकारात्मक हुनु जरुरी छ ।

मार्क्सवाद-लेनिनवाद-माओवादका आधारमा  सशस्त्र सङ्घर्षमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा अघि बढ्ने कुरामा क्रान्तिकारीहरूबीच विमति हुने कुरा हुँदैन र छैन । यो नै नेपालको सन्दर्भमा क्रान्तिकारी हुनुको आधारभूत परिचय हो । हाम्रो कम्युनिस्ट न्युक्लिअस, नेपाल,  नेकपा (क्रान्तिकारी माओवादी) ले लिएको यो पहल र प्रयासलाई स्वागत  गर्छ । नेपालको माओवादी आन्दोलनलाई विसर्जन हुनुबाट बचाउनका लागि क्रान्तिकारी ध्रुवीकरणको विकल्प छैन । विसर्जन कि क्रान्तिकारी ध्रुवीकरण ? यो अहिलेको अहम् प्रश्न हो । सही बाटो नयाँ आधारमा नयाँ एकता नै हो ।

मे दिवसलाई केवल औपचारिकता नमान्ने हो भने, सही अर्थमा नेपाली उत्पीडित वर्ग तथा समुदायको पक्षमा हामी उभिएका छौँ भने, आन्तरिक तहमा क्रान्तिकारीहरूबीचको एकता र ध्रुवीकरणको प्रक्रिया र अन्तर्राष्ट्रिय तहमा नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको प्रक्रियालाई अभियानका रूपमा लैजानु आवश्यक छ  । हामी यसका लागि सम्पूर्ण क्रान्तिकारी शक्ति र व्याक्तिहरूलाई  अनुरोध र आह्वान गर्दछौँ । यसैमा मे दिवस मनाउनुको सार्थकता र सान्दर्भिकता निहित छ ।

ऋषिराज बराल  
(संयोजक)
कम्युनिस्ट न्युक्लिअस, नेपाल

बैशाख १६, २०७६
भिडियो फिचरview all