menu

ताजा समाचार

नेकपा (बिप्लव) भित्र दुई धार : पोलिटब्युरो सदस्य ओली सरकारसित सहकार्यको पक्षमा

ओली सरकारका गृहमन्त्रीले “बिप्लव समूहसित वार्ताको प्रकृया जारी छ” भनेर भनिरहेको अवस्थामा हालै नेकपा (नेकपा) का  गृहमन्त्री रामबहादुर थापा नजिकको मानिने  अनलाइन ‘झिल्को डट कम’ मा नेकपा (बिप्लव) का पोलिटब्युरो सदस्य पद्म राई ‘विकास’ को अन्तर्वार्ता प्रकाशित भएको छ । “बिप्लव नेतृत्वको पार्टीका पोलिटब्युरो सदस्य भन्छन् : ‘वार्ताको विकल्प छैन’” शीर्षकमा प्रकाशित अन्तवार्ताले राई ओली सरकारप्रति सकारात्मक, नरम र  समझदारीपूर्ण वार्ता र सहकार्यको पक्षमा रहेको कुरा प्रस्ट पार्दछ ।

 ओली सरकार र आफ्नो पार्टीका बारेमा उनले अघि सारेका धारणाहरू सो पार्टीको आधिकारिक धारणासित मेल नखाने खालका छन् । उनले मिहिन पाराले यो सरकार पनि कम्युनिस्ट सरकार भएकाले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने तथा एकले अर्कोलाई निषेध गर्नु हुँदैन भन्ने धारणा व्यक्त गरेका छन् । उनले ओली सरकारसित सहकार्यमा जोड दिएका छन् । जस्तो उनी भन्छन् :

 “सरकार बढी जिम्मेवार हुनुपर्छ । कम्युनिस्ट नेतृत्वको सरकारले हिजो आफैंले उठाएका अजेण्डाको कार्यान्वयनका लागि लागेको अर्को  कम्युनिस्ट पार्टीलाई सिध्याउँछु भनेर लाग्नु हुँदैन । विद्रोही पक्षले पनि आफ्ना अजेण्डालाई जनताका बीचमा लानुपर्छ । निरपेक्ष सशस्त्र संघर्षको नीतिलाई अङ्गालिराख्नु हुँदैन । यतिवेला देशमा द्वन्द्व भड्किदा धेरै ठूलो क्षति पुग्छ ।”

नेकपा (बिप्लव) का सामान्य कार्यकर्तालाई समेत धरपकड गरिरहेको अवस्थामा आएको पोलिटब्युरो सदस्य  राईको अन्तवार्ता उनी सम्बद्ध पार्टीकै निर्देशन र स्वीकृतमा आएको हो अथवा राईको निजी चाहना र अवधारणा हो, यो पछि नै थाहा होला । उनले जे कुरा व्यक्त गरेका छन्, यसले गंम्भीर प्रश्न चाहिं  उठाएको छ । सो पार्टीभित्र स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड',  सन्तोष बुढा मगर, 'विषम' , पद्म राई 'विकास'  , मोहन कार्की ‘जीवन्त’ लगायतकाहरू वार्ताको पक्षमा रहेको कुरा चाहिँ विभन्न माध्यमहरूले यसअघि नै सार्वजनिक गरिसकेका हुन् ।

सरकारका विरुद्ध सशक्तताका साथ जाने कि सरकारसित समझदारी बनाएर जाने भन्ने कुरामा पार्टीमा फलक मत रहेको र आफू समझदारी बनाएर जाने भन्ने पक्षमा रहेको कुरा उल्लेख गर्दै उनले सरकार  र सङ्घर्षका सन्दर्भमा पार्टीमा दुई धार भएको कुरा यसरी खुलस्त पारेका छन् :

“सरकारले लड्न खोजेको हो भने देखाइदिने हो, आत्मसमर्पण गर्नुभन्दा बरु लडेर खरानी हुने हो, खरानीबाट फेरि अर्को  विद्रोह जन्मन्छ भन्ने कतिपय साथीहरूको धारणा छ । मेरो भनाइ यसरी सोंच्नु भएन भन्ने हो । यसैमा छलफल भइरहेको छ ।  हामीले दश वर्ष सशस्त्र सङ्घर्षको नेतृत्व गरेकै हो । हामीले के कमायौं के गुमायौं ? यसको समीक्षा नगरी सार्थक निष्कर्षमा पुग्न सम्भव छैन । भलै केही समय संघर्षलाई निरन्तरता दिउँला, राम्रै पनि बन्ला तर जित्ने अवस्था छैन ।”

क्रान्तिप्रति विश्वस्त हुन नसकेका राईको यो अन्तवार्तामा थुप्रै विरोधाभास कुरा छन् र उनको अन्तवार्ता पढेपछि कतै उनी नेकपा (बिप्लव) बाट पलायन हुने स्थितिमा त छैनन् ? भनेर प्रश्न पनि उठाउन सकिन्छ । तलका भनाइबाट पनि यो कुराको आकलन गर्न सकिन्छ :

“मैले अघि नै भने विभिन्न घटकहरु एक ठाउँमा बसौं, नेपाल र नेपालीलाई केन्द्रमा राखेर समग्र विश्व र नेपालको ७० वर्षको कम्युनिस्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढौं ! यसमा किरण, नारायणमान बिजुक्छे, सीपी मैनाली, मोहन बिक्रम सिंह र यसमा डा. बाबुराम भट्टराईसहित हामी बसेर दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढौं !

हामीले सशस्त्र संघर्षको नेतृत्व गरेर आयौं दश वर्ष । बलिदानीपूर्ण संघर्ष गरे पनि हेर्नुस न आज एकथरि नेता अर्कै वर्गमा पुगेका छन् । साम्यवादमा पुग्ने लक्ष्य लिएर १७ हजारको बलिदान भएकोमा सहयोद्धालाई समेत न्याय दिन सकेका छैनौं । एकथरि नेता तथा कार्यकर्ताहरु नै आज चरम आर्थिक संकटमा छन् । आम जनतालाई न्याय दिने कुरा धेरै टाढाको कुरा । अनि संसदीय प्रक्रियाबाट मुक्ति दिने भन्ने नेताले पनि आमजनतालाई के गरे खोई ? कतिपय नेता तथा कार्यकर्ता गैरकानुनी घोटालामा परेको देखियो ।

नेपाली जनताले कम्युनिस्टलाई अगाध माया गरेका छन्, फरक फरक कोण र विश्लेषणमा हामी विभिन्न भङ्गालामा बाँडिएका छौं, सक्छौं एउटै धार बनाएर जाऔं नसके पनि एउटा योजना बनाएर देश र जनताको पक्षमा लागौं ! निषेध र प्रतिरोधको बाटोमा नलागौं ! ७० वर्ष लागेर निर्माण गरेको, जनताले अगाध विश्वास लिएको यो शक्ति हाम्रै पालामा तासको घर जस्तै ढल्नसक्छ ।
 
अहिले सरकारले हाम्रो पार्टीलाई निषेध गर्ने र हामीले पनि यसका विरुद्ध प्रतिवाद गर्ने कुराले अन्ततः कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुग्छ । तत्काल दुई पक्ष वार्तामा बस्नुपर्छ र देश र जनताको पक्षमा सहकार्य गरेर अगाडि बढ्नुको अहिले विकल्प छैन ।”

त्यस समयमा नेकपा (माओवादी केन्द्र) भित्र  चलेको वैचारिक सङ्घर्षमा कहिले पनि प्रस्टताका साथ देखा नपरेका  पद्म राई क्रान्तिकारीहरूले 'माके' बाट विद्रोह गर्दा कमरेड मोहन बैद्यको नेतृत्वमा गठित नेकपा-माओवादीमा आबद्ध भएका थिए । तर त्यहाँ पनि उनी वैचारिक तथा सङ्गठनात्मक क्षेत्रमा कहिले सक्रिय भएनन् । कतिपय सन्दर्भमा पार्टी बैठकमा उपस्थित नहुने र जिम्मेवारीप्रति गम्भीर नहुने भनेर टिप्पणीको विषय बनेका राई बङ्गुरपालन फर्म खोलेर बङ्गुरपालन निजी अभियानमा सक्रिय भएको भनेर कार्यकर्ताबाट टिप्पणीको विषय बनेका थिए । कमरेड किरणको नेतृत्वमा रहेको पार्टीमा चलेको  वैचारिक तथा सङ्गठनात्मक सङ्घर्षमा पनि उनी कहिले पनि खुलेर देखा परेनन् । आघिल्लो दिनमा पार्टीको केन्द्रीय समितिको बैठकमा किरणको दस्ताबेजको पक्षमा उभिएका उनी बिप्लवले सम्बन्ध विच्छेद गरेपछि बिप्लवको समूहमा उभिएका थिए । बिप्लव समूहको आन्तरिक भेलामा पनि कहिल्यै सहभागी नभएका राईले ''बंगुरपालनका लागि लिएको  ऋण वापतको ठूलो रकम'' बिप्लवहरूबाट हात पारेपछि  उनी बिप्लवसित गाँसिएका हुन् भनेर त्यतिबेर पनि निकै टिप्पणी र व्यंग्यको विषय बनेको थियो ।

कमरेड किरणको नेतृत्वमा रहेका पार्टीका पूर्वमा सबैभन्दा वरिष्ठ राई बिप्लव समूहमा गएपछि पनि त्यति सक्रिय हुन सकेका थिएनन् । फलस्वरूप उनको साटो उनीभन्दा कनिष्ठ र बिप्लवका विशेष विश्वासपात्र  अनिल शर्मा ‘विरही’ लाई पूर्वी कमान्डको जिम्मेवारी दिइएको देखिन्छ। प्रचण्डसित विभाजित भएको समयदेखि नै पूर्वमा बिप्लवले निकै विश्वास गरेका र महत्व दिएको किरण राई पनि अहिले जिम्मेवारी विहीन छन् । मेची-कोशीमा बिप्लवको पार्टीमा एउटा तप्का त्यति सक्रिय भएको छैन भन्ने कतिपयको टिप्पणी पनि छ ।

बिप्लवका पछिल्ला अभिव्यक्ति हेर्दा उनीहरू वार्ता होइन, प्रतिरोधात्मक गतिविधिलाई तीव्र बनाउन चाहन्छन् भन्ने कुरा थाहा  हुन्छ । पद्म राईले व्यक्त गरेका धारणा उनका मात्र हुन् अथवा प्रकाण्डका पनि हुन्,  यो समयले नै बताउला । तर सुदर्शनको गिरफ्तारीले कमजोर बनेका बिप्लवलाई 'आदर्श' र 'असल'को गिरफ्तारीले झन् कमजोर बनाएको छ र पार्टीभित्रको एउटा तप्का उनलाई  कमजोर बनाएर सरकारसित ‘समझदारीपूर्ण वार्ता’ लागि क्रियाशील छ भनेर चाहिँ आकलन गर्न सकिन्छ ।

पाठकहरूको जानकारीका लागि हामीले ‘झिल्को’ अनलाइमा प्रकाशित अन्तर्वार्ता तल प्रस्तुत गरेका छौँ :
............................................................................................................................................

बिप्लव नेतृत्वको पार्टीका पोलिटब्युरो सदस्य भन्छन् : ‘वार्ताको विकल्प छैन’

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ ले सरकार र विद्रोही पक्षबीच वार्ताको तत्काल विकल्प नरहेको बताएका छन् । नेता राईले एउटा कम्युनिस्ट पार्टीले अर्काेलाई निषेध र प्रतिकार गर्ने कुराले अन्ततः कम्युनिस्ट पार्टी र आन्दोलनलाई नै समाप्त पार्ने धारणा राखे । पोलिटब्युरो सदस्य पदम राईसँग झिल्को डट कमले गरेको संक्षिप्त कुराकानी :

एउटा कम्युनिस्ट पार्टी सरकारमा छ अर्काे यो राज्यसत्तालाई नै उल्ट्याउने भन्दै हतियारबन्द आन्दोलनमा छ । कस्तो अप्ठ्यारो स्थिति हो कि ?
त्यही त । यो विडम्बनापूर्ण स्थिति हो । निषेध र प्रतिवादको राजनीतिले देश र जनताको हित गर्दैन ।

सरकारले विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाएको छ । विप्लव नेतृत्वको पार्टीले पनि सशस्त्र संघर्षलाई तीब्र बनाएको छ । यसले कुन ठाउँमा पु¥याउला ?

दुवै पक्षलाई कमजोर बनाउँछ । जनताले त विप्लव नेतृत्वको पार्टी पनि कम्युनिस्ट पार्टी र यो सरकारको नेतृत्व गरेको पार्टी पनि कम्युनिस्ट पार्टी नै भनेर बुझ्ने गरेका छन् । दुइटा कम्युनिस्ट पार्टी भिड्दा त कम्युनिस्ट भनेका त कस्ता नमिल्ने रहेछन भन्ने हुन्छ ।

देशमा कम्युनिस्ट नेतृत्वको दुई तिहाइको सरकार छ । देश र जनताको पक्षमा अझै जीवनलाई उत्सर्ग गर्नुपर्छ भने पनि गर्ने ऊर्जाशील शक्ति सडकमा प्रतिरोध संघर्षमा छ । किरणको नेतृत्वको पार्टी फरक ढंगले संघर्ष गरिरहेको छ । नारायणमान बिजुक्छे, सीपी मैनाली, मोहन बिक्रम सिंहको नेतृत्वको पार्टी पनि संघर्ष गरिरहेको छ । स्थापनाकालदेखि कम्युनिस्ट पार्टीले गरेका प्रतिबद्धतालाई एक ठाउँमा बसेर समाधान गर्नका लागि पहल गर्नुपर्ने बेलामा निषेध र प्रतिकारको लडाईंले कहाँ पु¥याउँछ ? यसमा अब घोत्लिनु पर्दैन ?

विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई अहिले सरकारले प्रतिबन्ध लगाएको छ । विप्लव पक्षले पनि कडा प्रतिरोध गरिरहेको बेलामा तपाईंले वार्ताको सम्भावना देख्नुहुन्छ ?

यी दुईबीच वार्ताको विकल्प नै छैन । सरकारले ढोकामा बन्दुक राखेर, आतंककारी भनेर वार्तामा आइज भन्ने र विद्रोही पक्षले पनि वार्ताको निरपेक्ष विरोध गर्ने कुरा सही होइन ।

सरकार बढी जिम्मेवार हुनुपर्छ । कम्युनिस्ट नेतृत्वको सरकारले हिजो आफैंले उठाएका अजेण्डाको कार्यान्वयनका लागि लागेको अर्काे कम्युनिस्ट पार्टीलाई सिध्याउँछु भनेर लाग्नु हुँदैन । विद्रोही पक्षले पनि आफ्ना अजेण्डालाई जनताका बीचमा लानुपर्छ । निरपेक्ष सशस्त्र संघर्षको नीतिलाई अङ्गालिराख्नु हुँदैन । यतिवेला देशमा द्वन्द्व भड्किदा धेरै ठूलो क्षति पुग्छ ।

२००६ सालमा स्थापना भएर निरन्तर ७० वर्ष लडेर नेपाली जनताको विश्वास प्राप्त गरेका कम्युनिस्टहरुले आफ्नो अजेण्डाको कार्यान्वयन गर्ने बेलामा आपसमा लडेर आफै सिद्धिने कार्य गर्नु हुँदैन । त्यसैले सरकार र विद्रोही पक्ष संयम र धैर्य भएर लाग्नुपर्छ ।

यसबारेमा पार्टीमा कुरा हुँदैन ?

भई नै रहेको छ । सरकारले लड्न खोजेको हो भने देखाइदिने हो, आत्मसमर्पण गर्नुभन्दा बरु लडेर खरानी हुने हो, खरानीबाट फेरि अर्काे विद्रोह जन्मन्छ भन्ने कतिपय साथीहरुको धारणा छ । मेरो भनाइ यसरी सोंच्नु भएन भन्ने हो । यसैमा छलफल भइरहेको छ ।
 
हामीले दश वर्ष सशस्त्र संघर्षको नेतृत्व गरेकै हो । हामीले के कमायौं के गुमायौं ? यसको समीक्षा नगरी सार्थक निश्कर्षमा पुग्न सम्भव छैन । भलै केही समय संघर्षलाई निरन्तरता दिउँला, राम्रै पनि बन्ला तर जित्ने अवस्था छैन ।

विगतको सशस्त्र संघर्षले धेरै प्राप्त गरेको होइन र ?

राजनीतिक रुपमा केही उपलब्धि भएको हो । तर, आमजनताको जीवनमा हामीले कहाँ नेर सुधार ल्यायौं त ? यसबारेमा अलग्गै बहसमा जान सकिन्छ, मैले भने हामी नेपालमा क्रियाशील विभिन्न घटकका कम्युनिस्टहरुले जुन जुन बाटो लियौं त्यसका सकारात्मक, नकारात्मक पक्षहरु छन्, सबै बसेर समीक्षा गरेर देश र जनताको पक्षमा काम गरौं ! समाजवादी अवधारणालाई मान्ने कम्युनिष्ट वाहेकका पक्षलाई पनि सहकार्यका लागि हात बढाऔं  !

विप्लव नेतृत्वको माओवादीलाई मूलधारको राजनीतिमा आउनका लागि सरकारले बोलाएकै छ त ? मिलेर जान सकिदैंन ?
मूलधार केलाई भन्ने ? कम्युनिस्ट भनेको साम्यवाद होला । अहिलेको नेपालको प्रणाली भनेको संसदीय हो । यो कसरी कम्युनिस्टको मूलधार हुनसक्छ ? प्रचण्डसहितका एकथरि नेतालाई मूलधारमा ल्याइयो भनियो तर सबै खोईं आए ? विप्लव वाहिर छन् । किरण वाहिर नै छन् । भोलि विप्लवको नेतृत्वलाई अहिले भनिएको मूल धारमा ल्याइएला अर्का विप्लव खडा हुन्छन । यसको दीर्घकालीन हल खोजिनुप¥यो भन्ने मेरो कुरा हो ।

मैले अघि नै भने विभिन्न घटकहरु एक ठाउँमा बसौं, नेपाल र नेपालीलाई केन्द्रमा राखेर समग्र विश्व र नेपालको ७० वर्षको कम्युनिस्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढौं ! यसमा किरण, नारायणमान बिजुक्छे, सीपी मैनाली, मोहन बिक्रम सिंह र यसमा डा. बाबुराम भट्टराईसहित हामी बसेर दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढौं !

हामीले सशस्त्र संघर्षको नेतृत्व गरेर आयौं दश वर्ष । बलिदानीपूर्ण संघर्ष गरे पनि हेर्नुस न आज एकथरि नेता अर्कै वर्गमा पुगेका छन् । साम्यवादमा पुग्ने लक्ष्य लिएर १७ हजारको बलिदान भएकोमा सहयोद्धालाई समेत न्याय दिन सकेका छैनौं । एकथरि नेता तथा कार्यकर्ताहरु नै आज चरम आर्थिक संकटमा छन् । आम जनतालाई न्याय दिने कुरा धेरै टाढाको कुरा । अनि संसदीय प्रक्रियाबाट मुक्ति दिने भन्ने नेताले पनि आमजनतालाई के गरे खोई ? कतिपय नेता तथा कार्यकर्ता गैरकानुनी घोटालामा परेको देखियो ।

नेपाली जनताले कम्युनिस्टलाई अगाध माया गरेका छन्, फरक फरक कोण र विश्लेषणमा हामी विभिन्न भङ्गालामा बाँडिएका छौं, सक्छौं एउटै धार बनाएर जाऔं नसके पनि एउटा योजना बनाएर देश र जनताको पक्षमा लागौं ! निषेध र प्रतिरोधको बाटोमा नलागौं ! ७० वर्ष लागेर निर्माण गरेको, जनताले अगाध विश्वास लिएको यो शक्ति हाम्रै पालामा तासको घर जस्तै ढल्नसक्छ ।
 
अहिले सरकारले हाम्रो पार्टीलाई निषेध गर्ने र हामीले पनि यसका विरुद्ध प्रतिवाद गर्ने कुराले अन्ततः कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुग्छ । तत्काल दुई पक्ष वार्तामा बस्नुपर्छ र देश र जनताको पक्षमा सहकार्य गरेर अगाडि बढ्नुको अहिले विकल्प छैन । (http://jhilko=com/post/--1859)



भिडियो फिचरview all