menu

ताजा समाचार

भाकपा (माओवादी) का छापामार सेना र सरकारी फौजबीच ठाउँठाउँमा भिडन्त, सरकारी सुरक्षा बलका ५ जनाको मृत्यु आधा दर्जन मरणासन्न

भारत,  अप्रिल ५, भारतमा हुन लागेको लोक सभाको आम निर्वाचनको प्रचारप्रसारमा त्यहाँका प्रमुख प्रतिक्रियावादी पार्टीहरू लगायत चुनाववादी वाम पार्टीहरूसमेत  सक्रिय भइरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले चाहिँ सक्रिय बहिष्कारको नीति र कार्यक्रमलाई भारतव्यापी रूपमा कार्यान्वयन गरिरहेको छ ।

यसैक्रममा सो पार्टीले बहिष्कारको आह्वानसहित पर्चापमप्लेट वितरण गर्नुका साथै ठाउँठाउँमा ‘प्रतिक्रियावादी चुनाव वहिष्कार गरौँ’ भनेर लेखिएका ब्यानरहरू पनि टाँगेको छ । खास गरेर विशेष जोनल क्षेत्रहरू, झारखण्ड, छत्तिसगढ र दण्डकारण्ड्य क्षेत्रमा पार्टीले वहिष्कार अभियानलाई तीव्र बनाएको छ र यस प्रक्रियामा मोदी सरकारको सुरक्षा निकाय र माओवादी छापामार सेनाबीच  ठाउँठाउँमा भिडन्त भइरहेको समाचारहरू प्रकाशमा आएका छन् ।

यसै क्रममा हिजो अप्रिल ४ तारिखमा छत्तिसगढ राज्यको बस्तर र कङ्कड क्षेत्रको बीचमा पर्ने महलामा माओवादी छापामार सेनाले थापेको एम्बुसमा परेर अर्धसैनिक दस्ता बोर्डर सेक्युरिटी फोर्स  ११४ औँ बटालियनका असइसहित ४ जनाको मृत्यु भएको र अन्य ४ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एम्बुसमा गाडी परेपछि दुवैतिरबाट  भएको गोली हानाहानमा उनीहरूको मृत्यु भएको कुरा पनि समाचारमा जनाइएको छ ।

छातिसगढ़ राज्यको बस्तर जिल्लामा ११ अप्रिलमा र कङ्कडमा १८ अप्रिलमा लोकसभाको चुनावको मिति तय गरिएको छ ।

त्यसै गरी ५ अप्रिलका दिन बिहान माओवादी छापामारको एम्बुसमा परेर छत्तिसगढ राज्यको धामतरी जिल्लाको चामेडा गाउँमा बोर्डर सेक्युरिटी फोर्स २११ बटालियनका १ जना सदस्यको मृत्यु भएको र अन्य दुई जना घाइते भएको समाचार पनि भारतीय माध्यमहरूले प्रकाशित गरेका छन् ।

भिडियो फिचरview all