menu

ताजा समाचार

प्रचण्ड र विप्लवको भण्डाफोर पुगेको छैन: प्रतीक

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को सचिवालयले एकतासम्बन्धी निर्णय गरेपछि  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको कम्युनिस्ट पार्टी (माओवादी) बीच एकता हुँदैछ भन्ने  चर्चा चलिरहेको सन्दर्भमा  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ ले यी सबै वाहियात कुराहरू हुन् र दुनियाँका सामु भ्रम उत्पन्न गर्ने कुरा मात्र हुन् भन्नुभएको  छ ।

जनमेलसितको कुराकानीमा उहाँले “हाम्रो पार्टीका अध्यक्ष कमरेड किरण  र विप्लवजीबीच हालै भेट भएको हो र विप्लवले एकतासम्बन्धी प्रस्ताव पनि राख्नु भएको हो । तर हामीले कार्यदिशा मात्र नभएर वैचारिक दृष्टिले तपाईँहरूको दस्ताबेज प्रस्ट नभएको र थुप्रै कुराहरू भ्रमपूर्ण रहेकाले अहिले पार्टी एकता होइन, बढीमा कार्यगत एकता गरेर जान सकिन्छ भनेर उहाँलाई जवाफ दिएका हौँ”,  भन्नुभयो ।
कमरेड प्रतीकका अनुसार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लाई सिध्याउन पाएहुन्थो भनेर देशभित्रका प्रतिक्रियावादी शक्तिहरू तथा साम्राज्यवादी शक्तिहरू लागिपरेका छन् ।  एकातिर प्रतिक्रियावादोन्मुख  माओवादी केन्द्रका नेता प्रचण्डले हाम्रो पार्टीका विरुद्ध अनेक भ्रम उत्पन्न गराइरहेका छन, अर्कोतिर भ्रम उत्पन्न र होहल्ला गर्नमा प्रचण्डकै चेलो देखिने विप्लव पनि आफना कार्यकर्तामा बढ्दो निराशा, अकर्मण्यता र गुटबन्दीबाट ध्यान अन्यत्र मोड्न अनेक भ्रम उत्पन्न गरिरहेका छन् ।

 कमरेड प्रतीकका अनुसार प्रचण्ड र विप्लव दुवैको भण्डाफोर पुगेको  छैन ।  यी दुवैका गलत चिन्तनका विरुद्ध वैचारिक सङ्घर्ष जति र जसरी चलाउनु पथ्र्यो, त्यो हुन सकेको छैन ।  उहाँको भनाइअनुसार— नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नै नेपालका क्रान्तिकारीहरूको मूल धार  केन्द्र हो, मूल धु्व हो । प्रचण्ड र विप्लवले फिँजाएको भ्रमबाट मुक्त पार्दै सङ्गठित–असङ्गठित रूपमा रहेकाहरू,  हिजो विभिन्न कारणले पार्टीबाट बाहिरिएका कमरेडहरूलाई सङ्गठित गर्न र क्रान्तिकारी धुवमा  एकीकृत गर्न हामीले पहल लिनुपर्छ भनेका हौँ । अहिलेके स्थितिमा विप्लवसित एकता गर्ने निर्णय त के सोचाइ पनि हाम्रो छैन ।

त्यसै गरी उहाँले भन्नुभयो: “प्रचण्ड समूह र विप्लव समूहका गलत चिन्तनको भण्डाफोर र  वैचारिक सङ्घर्ष जसरी योजनाबद्ध र सङ्गठित किसिमले लैजानुपर्ने थियो, त्यो पुगेन भन्ने पनि हाम्रो  निष्कर्ष हो । दुवै कोणबाट हामीलाई सिध्याउन खोजिएकाले वैचारिक सङ्घर्ष र भण्डाफोर पुगेन भन्ने हाम्रो ठहर हो ।”

सन्दर्भ हेरेर कार्यगत एकता गर्न सकिए पनि वैचारिक अस्पस्टता र राजनीतिक रूपबाट दिशाहीन पार्टीसित  एकताको कुरै छैन । मात्रा फरक होला प्रचण्ड र विप्लवहरूसितको वैचारिक सङ्घर्ष बढाएर नै क्रान्तिकारी विचारको रक्षा, क्रान्तिकारी सङ्गठनको विस्तार र क्रान्तिकारी आन्दोलनलाई गति दिन सकिन्छ भन्ने भनाइ पनि कमरेड प्रतीकको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विप्लव समूहलाई “उत्तर–मालेमावाद प्रवृत्त” भनिरहेको अवस्थामा हालै यसले “उत्तरसाम्राज्यवाद” अर्थात् साम्राज्यवाद थियो अब छैन भन्नुले थप भ्रम उत्पन्न गराएको र ''उत्तरवाद" को पुर्पक्ष्य गर्ने पार्टीसित क्रान्तिकारी एकता र धु्रवीकरणको प्रश्न थप जटिल भएको कुरा क्रान्तिकारी वृत्तमा टिप्पणीको विषय बनेको छ ।
 

भिडियो फिचरview all