menu

ताजा समाचार

‘प्रलेस’ सम्मेलन वहिष्कार र सकारको प्रश्न

ऋषिराज बराल

अहिले ‘प्रलेस’  अर्थात् 'प्रगतिशील लेखक सङ्गठन' को राष्ट्रिय सम्मेलन विशेष चर्चाको विषय बनेको छ । यही चैत २२/२३ मा  हुन लागेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनेर पनि समाचार आएको छ । ‘प्रलेस’ कहिले स्थापना भयो,  विगतको यसको इतिहास कस्तो रह्यो र पछिल्लो कार्य समितिमा कुनकुन पार्टीका सङ्घसंस्थाहरू तथा को-को ‘स्वतन्त्र’ व्यक्तिहरू रहेका छन् भन्ने कुरा पनि त्यति प्रधान कुरा रहेन । यसको इतिहासमा युद्धप्रसाद मिश्र, पारिजात, प्रश्रित, बिकल, श्यामप्रसाद शर्मा सबै बहस र विवादका विषय बनेका छन् । आरम्भदेखि नै विचार र सङ्गठनात्मक संरचनाको विषय विवादको विषय बन्दै आयो । हिजोका दिनमा पनि ‘रजत कविहरू’ र ‘गैर-साहित्यिकहरू’ ले सदस्यता लिएको कुरा टिप्पणीको विषय बनेकै हो–अमुकअमुकहरू यस सन्दर्भमा गाँसिएकै हुन् । साहित्यको ‘स’  पनि नलेखेकाहरूलाई अमुकअमुक  समूहको प्रतिनिधित्व गराउन सदस्यता मात्र नभएर कार्यसमितिमा पनि ल्याइएकै हो । विवाद र बहस हिजोका दिनमा पनि थिए । के के थिए, के के भयो र क-कसले के के गरे, अहिले त्यतातिर नजाऔँ ।

यताका दिनमा ‘प्रगतिशील’  हुनुको सीमा र दायरा झन् फराकिलो भएको देखिन्छ । यहाँ रोजर गेरौदीको  ‘सीमाहीन मार्क्सवाद’ र ‘उत्तर-संरचनावादीहरू’ को ‘थुप्रै मार्क्सवादहरू’ हाबी भएको देखिन्छ । 'प्रलेस'  पाठपूजा, न्यासध्यान, गर्ने, टपरी टकटक्याउनेदेखि ‘उत्तर–वादी’  आहालवासीहरू   र गैसस संस्कृतिमा रमाउने सबै अटाउने ठाउँ भएको जस्तो देखिन्छ । माओवादीहरू, बहुदलीय जनवादीहरू, समाजवादी, हिन्दूवादी, आइएनजिओवादी सबैको अनुहार देख्न पाइन्छ यसमा । विचारको प्रश्न 'प्रलेस' मा गौण बनेको देखिन्छ । यो क्वाँटी प्रकारको सङ्गठन बनेको छ —'उत्तर-औपनिवेशकवाद' का प्रवक्ता होमी भाभाका शब्दमा 'वर्णसंकर (hybrid) संगठन  । सम्मेलनका बेला अलिअलि विचारका कुरा उठ्छन्, ठाउँठहर मिलेपछि कसको रङ्ग कस्तो हो छुट्याउन गारो हुन्छ । यसका लागि अमर गिरी अध्यक्ष हुँदाको 'प्रलेस' हेरे पुग्छ–उपाध्यक्ष र महासचिवको भूमिकाको समीक्षा गरे पुग्छ । एमालेकै उपाध्यक्ष र महासचिव किन हुनु पर्यो र !

जनयुद्धको कालखण्डपछिका दिनमा आवश्यकता, योग्यता र क्षमताभन्दा कहिले एमालेको र कहिले माओवादीको कोटाको प्रभुत्वमा ‘प्रलेस’ रहने भन्ने निर्णय भएको कुरा पनि चर्चामा आएको थियो । वैचारिक मतभेदका कारण मूल माओवादी पार्टीबाट क्रान्तिकारीहरूले विद्रोह गरेपछि 'प्रलेस' मा कमजोर  हुँदै गएको माओवादी लेखकहरूको भूमिका प्रचण्डको नेतृत्वमा रहेको माओवादी नामको एउटा समूह एमालेमा विलय भएर नेकपा बनेपछि  नेकपा (नेकपा) भन्दा फरक सोचाइ र बुझाइ राख्नेहरूको स्थिति 'प्रलेस' भित्र कमजोर भएकै हो ।

एमाले बलियो भएको ठाउँमा उसले अरूलाई ढिम्किन नदिने र कारिन्दा बनाउन खोज्ने गरेको कुरा हामीजस्ता भुक्तभोगीहरूलाई हिजोका दिनदेखि नै राम्ररी थाहा छ । प्राध्यापक क्षेत्र, लेखक क्षेत्र हरेक क्षेत्रमा एमालेको दादागिरी चल्थ्यो त्यतिबेर । एमालेलाई छाडेर नयाँ सांस्कृतिक मोर्चा  बनाउने प्रयास विगतमा पनि भएको थियो । तर निनुहरूको एमालेपरस्त र माओवाद विरोधी प्रवृत्तिका कारण यो सम्भव भएन । यो कुरा अहिलेको 'प्रलेस' का अध्यक्ष मातृका पोख्रेलले पनि आफ्नै भाषामा स्वीकार गरेका छन् । हामी एकताकेन्द्रलाई नजिकका भनेर विश्वास गर्ने र सहकार्य गर्न खोज्ने, तर एकताकेन्द्रवालाहरू एमालेसित जहिले पनि लस्सिन खोज्ने गरेकै हुन् । इतिहासको अनुभवका आधारमा भन्दा यो भरपर्दो र विश्वासिलो तप्का होइन । ‘प्रगतिशील प्राध्यापक सङ्गठन’ र ‘लेखक सङ्गठनका अनुभवहरू सुखद छैनन् ।  ‘शान्ति प्रक्रिया’ पछि बौद्धिक-सांस्कृतिक क्षेत्रमा हामी माओवादीहरूको  दरिलो उपस्थितिको कारणले मात्र, काठमाडौँ बस्ने , ‘प्रलेस’ को नेतृत्व लिने भनेर घनश्याम ढकालजीको युद्धकालदेखिको इच्छा पूरा भएको थियो (यसको पनि कथा छ, अहिले यो सन्दर्भ होइन )।  नत्र एमालेले मात्र नभएर अत्यन्त निर्णायक घडीमा बौद्धिक र सांस्कृतिक क्षेत्रमा निनुहरूले पनि हामीलाई धोका दिएकै हुन् । पीडादायी छ, यिनीहरूसितको सहकार्यको इतिहास  पनि ।

यो हिजोको इतिहास हो । समय फेरिएकाले अब पनि यसै हुन्छ भनेर जड र यान्त्रिक किसिमले सोच्नु हुँदैन तापनि इतिहासबाट शिक्षा लिने कुरा चाहिँ सही हो ।

अहिलेको 'प्रलेस' र यसको मूल नेतृत्वमा  सत्ताधारी पार्टी सम्बद्ध लेखकहरूको वर्चस्व छ । सत्ताधारी पार्टीका प्रतिबद्ध लेखकहरू भएकाले उनीहरू आफ्नो समूहप्रति वफादार हुने कुरा स्वाभाविक छ । केपी ओलीको नेतृत्त्वमा रहेको पार्टी त्यसै पनि आलोचनाचेत विहीन पार्टी हो-फासिवादी चालढालको  । राजनीतिक नियुक्ति, भोलिको प्रज्ञा प्रतिष्ठान र सम्भावित सुखसुविधा र अवसरबाट वञ्चित हुने किसिमले 'प्रलेस' मा रहेका 'नेता' लेखकहरूले कुनै निर्णय गर्दैनन् भन्ने कुरा प्रस्ट छ, पार्टी सदस्य आफ्नो पार्टीप्रति 'वफादार' हुन्छ नै र हुनु पनि पर्छ । यस्तो बेला पहिलो बाटो  भनेको ‘प्रलेस’ मा सत्ताधारीहरूको उपस्थितिलाई कमजोर पारेर अहिलेको सत्ता र सरकार विरोधीहरूले 'प्रलेस' लाई आफ्नो पकडमा लिएर अघि बढ्नु हो । त्यस किसिमको अवस्था छैन भने त्यसलाई परित्याग गर्नु र आआफ्नो सङ्ठनसम्बद्ध सांस्कृतिक मोर्चालाई बलियो बनाउँदै विचार र व्यवहार मिल्नेहरूसित सहकार्य, समझादारी र संयुक्त मंच निर्माण गर्ने प्रयास गर्नु आधारभूत काम हो । यो नै सही र वैज्ञानिक बाटो हो ।

यसले समय लिन सक्छ । यसमा सबैभन्दा पहिले वैचारिक तथा व्यावहारिक दृष्टिले नजिक रहेका सांस्कृतिक सङ्घसंस्था तथा व्यक्तित्वहरूसितको बहसछलफलबाट विषयलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउनु पर्ने हुन्छ । नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टी तह स्थायी समिति बैठकबाट नै  'प्रलेस' बाट अलग हुने निर्णय गरेको कुरा पनि बाहिर आयो, त्यसपछि कसरी अगाडि बढ्ने हो त्यो सो पार्टीको कुरा हो ।  अहिले दुई किसिमका समाचारहरू बाहिर आएका छन्  । एउटा समाचार निनु र आहुतिलाई टाउकामा राखेर नयाँ सांस्कृतिक मोर्चा बनाउन खोजिएको पो हो कि भन्ने भाव सम्प्रेषण  हुने गरी आएको छ ।  यथार्थ के हो थाहा भएन, तर नेकपा (क्रान्तिकारी माओवादी) नजिकको सांस्कृतिक मोर्चा र आहुतिको सेरोफेरोमा रहेका लेखकहरूको संयुक्त पहलमा तयार पारिएको भनेर बजारमा टिप्पणी भएको समाचार नेकपा (क्रान्तिकारी माओवादी) नजिकको माध्यममार्फत आयो । यसले सबैभन्दा बढी झस्किने स्थिति उत्पन्न गरायो  । अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मंच निर्माण गरौं'’  भन्ने नाराका साथ ‘ प्रलेस’ को सम्मेलन वहिष्कारको नाराका साथ 'प्रलेस' सम्बद्ध  ३८ जनाको घोषणा पनि आयो । यसरी 'प्रलेस', 'सम्मेलन बहिष्कार गरौँ''  र 'सम्मेलन सफल पारौँ'  भन्नेहरूमा  विभाजित भयो । यी दुवैका गतिविधिहरूलाई क्रान्तिकारी लेखकहरूको अर्को तप्काले भने सूक्ष्म किसिमले अध्ययन गरिरहेको छ  ।

समाचारहरूको भाषा र नामहरू हेर्दा  ‘बहिष्कार’ को पक्षमा कुनकुन सङ्घसंस्था र व्यक्तिहरू रहेछन् र ‘सफल पार्न’ कुनकुन सङ्घसंस्था लागेका रहेछन् भनेर सहजै थाहा पाउन सकिन्छ । 'प्रलेस' का सम्बन्धमा अहिलेको अवस्थामा साङ्गठनिक दृष्टिले नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बिप्लव) र नेकपा (नेकपा) सम्बद्ध लेखकहरूको भूमिकाले विशेष अर्थ राख्दछ ।  सम्मेलनको अन्त्यसम्म कोको कतातिर उभिन्छन्, अझै पर्खिनु पर्ने हुन्छ । अहिलेको सरकारले सबैभन्दा बढी दपेटेको र लखेटेको बिप्लव समूहको सांस्कृतिक मोर्चा सत्ताधारीहरूको कित्तामा उभिएको सन्दर्भ अहिले सबैभन्दा चासो र चर्चाको विषय बनेको छ ।
 
प्रश्न क-कसले बहिष्कार गरे भन्दा पनि ‘प्रलेस’ सम्मेलन बहिष्कार गरेकाहरू, त्यसमा पनि नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध साहित्यकारहरू अब कसरी जान्छन् भन्ने कुराले अहं महत्त्व राख्छ । सो पार्टीका नेता मोहन बैद्य राजनीतिक क्षेत्रका साथै विक्रमको ३० को  दसकदेखि नेपालको क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई दिशाबोध गरिरहनु भएको व्यक्तित्त्व हुनुहुन्छ । यो जिम्मेवारीलाई उहाँको पार्टीले कसरी लान्छ, समयले गम्भीर भएर नियालिरहेको छ ।

भारतमा प्रेममचन्द्रको समयमा बनेको आरम्भको 'प्रलेस' सबैभन्दा दक्षिणपन्थी भारतीय कम्युनिस्ट पार्टीसित सम्बद्ध छ । यता मूलतः बङ्गाल केन्द्रित पार्टी भाकपा (मार्क्सवादी) ले ‘जलेस’ बनाएको छ ।  बिहार केन्द्रित विनोद  मिश्र गुटका नामले चिनिने सङ्ठन भाकपा (माले) र युपी केन्द्रित आलोक रञ्जनहरूको गुटको  पनि आफ्नै सांस्कृतिक मोर्चा छ र माओवादी क्रान्तिकारीहरूको 'विप्लवी रचयिता सङ्गम' (विरसम) अर्थात् 'क्रान्तिकारी लेखक सङ्गठन' छ र सबै भन्दा प्रभावी संगठन यही छ, जसका संस्थापक नेता वरवर राव अहिले पनि जेलमा हुनुहुन्छ । आवश्यकता अनुसार सङ्गठनहरू  भत्किने र बन्ने हुन्छ । क्रान्तिकारीहरूको मूल जोड आफ्नै सांस्कृतिक सङ्गठनलाई गति दिनु पर्ने कुरामा हुनु पर्छ र विषय र सन्दर्भ हेरी मिल्न सक्नेहरूसित मिलेर साझा कार्यक्रम गर्नुपर्ने हुन्छ ।  भारतमा नयाँ जनवादी क्रान्तिको कुरा गर्ने धेरै छन्, कतिपय कुरामा सह कार्य पनि हुन्छ, तर साझा मोर्चा बन्न सकेको स्थिति छैन । त्यहाँ झन् आग्रह र पूर्वाग्रह बढी रहेको देखिन्छ ।

आजको प्रमुख कार्यभार भनेको क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई हिजोको जनयुद्धको विरासतसित जोडेर रक्षा, विकास र क्रान्तिकारी निरन्तरता दिनु हो । यो भनेको प्रमुख कुरा सैद्धान्तिक-वैचारिक पक्षलाई केन्द्रमा राखेर व्यवहारमा जानु हो । यसका लागि पहिलो सर्त आफ्नै  पार्टी सम्बद्ध क्रान्तिकारी सांस्कृतिक मोर्चालाई बलियो बनाउनु हो । साझा मोर्चाको आवश्यकता छैन  भनिएको होइन, साझा मोर्चाबाट सबै कुरा सम्भव नहुने हुँदा प्रमुख चिन्ता क्रान्तिकारी सांस्कृतिक सङ्गठन निर्माणतर्फ हुनु पर्छ भन्न खोजिएको मात्र हो । आफ्नो मूल संस्था, क्रान्तिकारी आन्दोलनको बाहक संस्था भताभुङ्ग र लथालिङ्ग पारेर देउसीभैलो खेल्नुको अर्थ छैन ।

'प्रलेस' वहिष्कार गर्ने कुरा सामान्य हो । बहिष्कार गर्ने कुरालाई के के न गरेजस्तो गरी ठूलै विजय प्राप्त भएजस्तो गरी ठूलो मुद्दा बनाउनु आवश्यक छैन । एक थरीले बढी होहल्ला गरेको बोध भएको छ  । यो  विचारको कुरा हो, टाँस्सिनु र अलग हुनु स्वाभाविक छ । मैले त १५/ १६ वर्षअघि नै ‘प्रलेस’ को सदस्यता त्यागेको हुँ—नवीकरण गर्नुको आवश्यकता छैन भनेर । प्रस्ट कुरा के हो भने आफूलाई क्रान्तिकारी भन्नेहरूले पनि ‘प्रलेस’ को नेतृत्व, अध्यक्ष, उपाध्यक्ष, महासचिव आदि पद लिएर के-के गरे, त्यो सबै जगजाहेर छ । नामसित भूपू...जोड्नु/ जोडाउनुबाहेक गरेको के हो समीक्षाको मात्र विषय नभएर आत्मालोचनाको पनि विषय छ ।  आफ्नो सांस्कृतिक मोर्चालाई लथालिङ्ग बनाउने र साझा मोर्चा भनेपछि ज्यान फालेर कुद्ने को-को क्रान्तिकारी हुन्, त्यो पनि सबै खुलस्त छ । 'नरम-गरम ' सबै सतहमा आएका छन् ।

खास समयमा  यस किसिमको ‘प्रलेस’ आवश्यकता थियो । हिजो पनि हामीले 'साहित्य सन्ध्या' को विकल्पमा ''प्रतिभा प्रवाह' निर्माण गरेका हौं l सानासाना कुरामा आहुतिहरूले त्यहाँ पनि लफडा गरेकै हुन्  । किन त्यसले निरन्तरता पाउँ सकेन ? किन त्यो गतिशीलताका साथ चल्न सकेन, यो पनि समीक्षाको विषय छ l 'प्रलेस' ले नीतिगत, वैचारिक र सङ्गठनात्मक दृष्टिले अहिलेको समयको आवश्यकता पूरा गर्न सक्तैन भनेर मैले हिजोदेखि नै भनेको हुँ । थुप्रैमा अध्यक्ष, उपाध्यक्ष, महासचिब बन्ने रहर थियो, समय बेइमान भएर निस्कियो, कुरा यत्ति मात्र हो । खुद्रा कुरातिर अहिले नलागौं  । तर, यो पनि समीक्षा गर्ने विषय हो ।

प्रमुख कुरा मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधर सांस्कृतिक कर्मीहरूबीचको एकताबद्धता हो र समझदारी निर्माणको थालनी हो । नयाँ जनवादी क्रान्तिका पक्षधर यसका अगुवाहरूसित दुस्मनीपूर्ण व्यवहार गर्ने र आइएनजिओवादीहरू, एकेडेमीका आजीवन भत्तावालहरू, विचार होइन, प्रविधि प्रधान हो भन्ने विसर्जनवादीहरूलाई टाउकामा राख्ने   र बिहानदेखि बेलुकासम्म प्रतिबद्ध लेखन र क्रान्तिकारी लेखकहरूको विरोध गर्ने अराजक जमातसित रमाउने  ’’क्रान्तिकारीहरू“ ले यताका वर्षहरूमा गरेको कामको पनि आम पाठकहरूले लेखाजोखा गरेको हुनु पर्छ । ‘प्रलेस’ सित सम्बन्ध  विच्छेद भनौँ, अथवा दक्षिणपन्थी अवसरवादीहरू र यथास्थितिवादी सत्ताधारी पक्षधरहरूसित सम्बद्ध विच्छेद भनौँ, कुरा एकै हुनु पर्छ । 'प्रलेस' सित सम्बन्ध विच्छेद भनेको गलत विचार  भएकाहरूसित सम्बन्ध विच्छेद भनेर बुझिनु पर्छ । उस्तै विचार बोकेर उस्तै सङ्गठन छोड्नुको अर्थ छैन । यहाँ वैचारिक पक्ष प्रधान हुनु पर्छ र अब नयाँ किसिमले कसरी जाने भन्ने कुरामा पनि प्रस्ट बुझाइ र व्यवहार हुनु पर्छ । प्रतिबद्ध लेखनलाई दाम्लो ठान्ने, क्रान्तिकारी लेखनलाई नारा देख्नेहरूको जमात घरभित्र भित्र्याएर जुधारु र अनुशासनबद्ध मोर्चा कसरी बन्छ ? नीतिगत, वैचारिक र साङ्गठनिक अनुशासन त साझा मोर्चामा पनि चाहिन्छ र  हुन्छ ।

राजनीतिक आन्दोलनका झैँ सांस्कृतिक आन्दोलनमा पनि अवसरवादी, पुच्छरवादी र आत्मसुरक्षावादी प्रवृत्ति देखिँदै आएको  छ । यतिखेर सबैभन्दा नजिक मार्क्सवाद-लेनिनवाद- माओवाद पक्षधर सांस्कृतिक कर्मीहरू हुनु आवश्यक थियो र छ । वैचारिक र व्यावहारिक छलफल मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरूबीच हुनु आवश्यक थियो र छ । एउटै नाम बोकेका ‘अखिल नेपाल जनसांस्कृतिक  महासङ्घ’ सम्बद्ध लेखकहरूबीच पनि सरसल्लाह समझदारीको वातारण बनाउने र समान धारणा बनाउने स्थिति देखिएन  । मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध र सक्रिय ऋषिराज बराललाई  महादुस्मन ठान्ने,  अनि खेम थपलियाभन्दा निनु र आहुतिलाई  नजिकका मित्र मान्ने र ठान्ने प्रवृत्ति नै अहिले क्रान्तिकारी साहित्यकारहरूको साझा मोर्चा निर्माणको बाधक प्रवृत्ति हो । यो प्रवृत्ति कुन पार्टीका ''क्रान्तिकारीहरू' ले देखाइरहेका छन् भन्ने कुरा पनि प्रस्ट छ ।

 राजनीतिक क्षेत्रमा झैँ सांस्कृतिक मोर्चामा पनि पुच्छरवादी प्रवृत्ति नेकपा (क्रान्तिकारी माओवादी) को समस्या रह्यो/ रहेको छ  । आफन्त र पराइ चिन्न सक्ने योग्यता र क्षमताको अभाव रह्यो । आत्मविश्वास, मनोबल र इच्छाशक्ति र नेतृत्व क्षमताको अभावमा पुच्छरवादी प्रवृत्ति मौलाउँछ । त्यसै गरी सत्ताधारीहरूसित ‘प्रलेस’ मा टाउको लुकाएर सुरक्षित हुन खोज्ने नेकपा (बिप्लव) सम्बद्ध साहित्यकारहरूमा पनि पुच्छरवादी र आत्मसुरक्षावादी प्रवृत्ति हाबी हुनुको समस्या देखियो । यस समूहमा पनि गजबको  आत्मसुरक्षावादी प्रवृत्ति देखियो । (टिप्पणी : चैत २० मा नेकपा (बिप्लव) सम्बद्ध सांस्कृतिक मोर्चाले 'प्रलेस' को आसन्न सम्मेलनमा सहभागी नहुने निर्णय गरेर वक्तव्य प्रकाशित गरेको व्यहोरा यहाँ स्मरणीय छ ।)

पछिल्ला घटनाक्रमहरूले अबका दिनमा प्रगतिशील र प्रगतिवादका नाममा प्रगतिवादकै भ्रष्टीकरण गरिरहेका बहुलवादी–संसदवादीहरूविरुद्ध मात्र  नभएर पुच्छरवादी  र आत्मसुरक्षावादी प्रवृत्तिका विरुद्ध पनि वैचारिक सङ्घर्ष चलाउनु पर्ने आवश्यकतालाई औँल्याएको छ । सङ्घर्षको रूप र मात्रा फरक होला, तर यो प्रस्ट देखियो । यसले जनयुद्धको क्रान्तिकारी विरासतलाई निरन्तरता दिने कार्य निकै जटिल छ र क्रान्तिकारीहरूले थुप्रै वैचारिक र व्यावहारिक जटिलता झेल्नु पर्ने हुन्छ भन्ने कुरा प्रस्ट हुन्छ । राजनीतिक क्षेत्रका झैँ संस्कृतिक क्षेत्रमा पनि अबको लडाइं निकै चुनौतिपूर्ण छ ।

 सारमा भन्दा अहिलेको ‘वहिष्कार’ र ‘सफल पारौँ’ को विभाजन गहन वैचारिक तहबाट निक्लिएको निचोडको परिणाम हुन सकेजस्तो मलाई लागेको छैन  । यसमा आवेग र भावनात्मक पक्षको भूमिका बढी रहेको छ  । र पनि जसले सम्मेलन वहिष्कारको कुरा अगाडि सार्दै नयाँ मोर्चाको नाराअघि सारेका छन्,   मोहनविक्रमको भाषामा भन्दा उनीहरू एक कदम अगाडि  छन् र यसलाई सकारात्मक मान्नु पर्दछ ।  यसै अर्थमा तत्काललाई म यसको स्वागत गर्दछु । वहिष्कार गर्नेहरूका आगामी गतिविधिहरूका आधारमा नै समर्थन तथा विरोधको स्थिति बन्ने कुरा पनि म प्रस्ट पार्न चाहन्छु ।

चैत १७ , २०७५
०००
भिडियो फिचरview all