menu

ताजा समाचार

ओली-राउत गठबन्धन, प्रचण्ड र “लुटेराहरू

जनमेल विश्लेषण
फागुन २४ गते अर्थात् ८ मार्चका दिन राष्ट्र विखण्डनको नारासहित तराईमा सक्रिय रहेको सिके राउतसित ओली सरकारले गरेको ‘११ बुँदे सहमति’ का सन्दर्भमा भएको ‘जनमत सङ्ग्रह’ को प्रसङ्ग सबैभन्दा बढी विवाद र  चर्चाको विषय बनेको कुरा यससित गाँसिएर भए/गरेका टिकाटिप्पणीबाट थाहा हुन्छ । तर सो दिन मन्तव्यका सन्दर्भमा प्रधानमन्त्री ओलीले व्यक्त गरेका दुइटा सन्दर्भ प्रचण्ड र सिके राउतको समानताको तुलना र लुटेराको सन्दर्भ पनि कम  गम्भीर र कम महत्त्वको सन्दर्भ होइन ।

मरेको स्यालझैँ ओलीका सामु आत्मसमपर्ण गरेका प्रचण्डलाई ओलीको भनाइले नपोल्नु अथवा कतै नदुख्नु अचम्मको विषय नभए पनि हिजोका दिनमा प्रचण्डको नेतृत्वमा जनयुद्ध लडेका इमानदार नेता तथा कार्यकर्तालाई भने  यसले पोलेको हुनु पर्छ र पोलेको पनि छ ।
ओलीले राउतको प्रशंसा गर्ने क्रममा उनलाई प्रचण्डसित दाँजे । जनयुद्धप्रति गद्धारी गरे पनि र पछिल्ला दिनमा वैदेशिक शक्तिका सामु लम्पसार परे पनि हिजोका दिनमा प्रचण्डको नेतृत्वमा दश बर्से जनयुद्ध नेपाली जनताले लडेका हुन् र करिब ८० प्रतिशत नेपालको भूभागमा जनसत्ता कायम गरेका हुन् । जनयुद्ध दुईचार जनाले गरेको कुनै लहडी कार्य नभएर व्यापक जनतामा आधारित मालेमाका आधारमा सञ्चालित जनताको युद्ध थियो—राष्ट्र विखण्डनको योजना थिएन । राउतको जस्तो वैदेशिक शक्तिका आधारमा सञ्चालित राष्ट्र विखण्डनकारी कार्ययोजना जनयुद्ध थिएन । लाखौँ नेपाली जनता यसमा होमिएका थिए र ७ वटा डिभिजनसम्म जनसेना निर्माण गरिएको थियो । आज जे भए पनि प्रचण्ड जनयुद्धका बीचबाट निर्मित नेता थिए, राउतको जस्तो पैसाको पछाडि कुद्ने लम्पटहरूका नाइके थिएनन् । ओलीले राउतको उचाइसित लगेर प्रचडलाई जसरी जोडे,  यो एक प्रचण्डको अपमान मात्र नभएर उनीमाथि सुनियोजित  प्रहार नै हो । तर अब प्रचण्डलाई दुख्दैन l कति सारो निरीहता !

वास्तवमा पार्टी एकताको नाटकीय तालमेल भए पनि सत्ताधारी पार्टीमा समय र सन्दर्भ आउँदा ओलीले पाए प्रचण्डलाई खुइल्याउने र प्रचण्डले पाए ओलीलाई खुइल्याउने  क्रम जारी छ र यो सन्दर्भले पनि यसै भन्छ । यसो हेर्दा प्रचण्डको निर्णय क्षमताको प्रशंसा गरेजस्तो लागे पनि ओलीले प्रचण्डको हैसियत भनेको राउतको जस्तै हो भनेर सार्वजनिक रूपमा घोषणा गरेका हुन्  । प्रचण्डले कसरी बुझै र कसरी लिए यो सन्दर्भलाई त्यो भिन्नै कुरा हो, तर उनले प्रचण्डलाई मात्र नभएर सिङ्गो जनयुद्ध र जनयुद्धको मूल नेतृत्वमाथि प्रहार गरेका हुन् । प्रचण्डको नेतृत्त्वमा  लडेको लडाइँ उत्पीडितहरूको राज्यसत्ताका लागि थियो, त्यही उचाइमा पुगेको स्थिति हो र सि के राउतको स्थिति ? तुलना त सामानहरूबीच हुन्छ होइन र ? थुप्रै प्रश्नहरू छन् ।

'११ बुँदे सहमतिको  ‘महाअवसर’ मा ओलीले नेकपा नाम गरेकाले लूटतन्त्र मच्चाएको भन्दै बिप्लव समूहमाथि लुटेरा आदि/इत्यादि  भनेर विषवमन  गरे । वास्तवमा यहाँ पनि उनले घुमाउरो पाराले  प्रचण्डमाथि पनि प्रहार गरे ।   हिजो जनयुद्ध चलेको बेला पनि यिनीहरूले माओवादीहरूलाई लुटेरा,  हत्यारा आतङ्कारी भनेकै हुन्  । आज प्रचण्कै सामु बिप्लवहरूलाई त्यसो भन्नुको अर्थ प्रचण्डलाई पनि  दनक हो  भनेर बुझ्नु पर्छ । तर महान् जनयुद्ध लुटतन्त्र  थिएन र होइन, यो त जनसत्ताका लागि जनताको महान् त्याग र बलिदानको अभियान थियो । आज ओलिहारूको धाक-रवाफ, फूर्तिफार्ती महान जनयुद्धकै प्रतिफल हो ।

बिप्लवको राजनीति, चन्दा अभियान विवादको विषय हुन सक्छ । कार्यदिशा लगायत थुप्रै कुरामा यो टिप्पणीकारको विप्लव समूहको राजनीति प्रति विमति छ । विप्लवको पार्टीलाई यो टिप्पणीकार माओवादी पार्टी मान्दैन, उनले माओवाद छोडि सकेका छन्, कार्यकर्तालाई अल्मल्याउन मात्र दस्ताबेजमा माओवाद राखेका हुन् भन्ने यो टिप्पणीकारको ठहर छ । ओलीले ‘लुटेराहरू’ भनेको कुरा चाहिं आपत्तिजनक छ । कुरै गर्ने हो भने सबैभन्दा बढी लूटतन्त्र यो सरकारले मच्चाएको छ । यो सरकारमा मन्त्रीहरूले मच्चाएका छन् । वामपन्थी सरकारका नाममा, सङ्घीयताका नाममा सबैभन्दा लूटतन्त्र सत्तामा बसेकाहरूले मच्चाएका छन् । भाइभतिजा,  नातागोता, सुविधा, भत्ता नाममा लूटतन्त्र मच्चाइएको छ । जनतालाई करमाथि कर थोपरेर  जनतालाई लुटिएको छ । सरकार  र सत्तामा बसेकाले राष्ट्रिय ढुकुटी रित्याउने र अरूलाई लुटेरा भन्नु अपराधी नै न्यायाधीश बनेर फैसला गरेजस्तै हो ।

राष्ट्रपतिको चालढाल, उपराष्ट्रपति र गृहमन्त्रीका सुपुत्रहरूको माफियातन्त्रसितको साँठगाँठ, वाइडबडी प्रकरण,  सुनकाण्डका अपराधीहरूको रिहाइ,  चुनावी खर्चका नाममा अरबौँको कर मिनाहा के यो लुटेरा चरित्रको परिचायक होइन ? भ्रष्टाचारको अर्को नाम ओली सरकार भएको छ । एकातिर राष्ट्रघात, अर्कोतिर जनघात-विकृति र विसङ्गतिको अर्को नाम ओली सरकार भएको छ । राष्ट्रिय ढुकुटी रित्याउने यो सरकारी लूटतन्त्र सबैभन्दा खतरनाक र डरलाग्दो छ । वास्तवमा लुटतन्त्रको कुरा गर्दा ओली सरकारको स्थिति “जो चोर उसैको ठूलो स्वर’ जस्तै भएको छ ।

जे होस् मुलुक गम्भीर संकटको स्थितिमा फस्न थालेको छ भन्ने संकेत घटना- संदर्भ्हरूले गरिरहेका छन् । प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूका सामु गम्भीर चुनौती र जिम्मेवारी आएको कुरा समयले औंल्याएको छ ।
०००
भिडियो फिचरview all