menu

ताजा समाचार

सामाजिक साम्राज्यवादी चिनियाँ शासकद्वारा माओ दिवसमाथि हस्तक्षेप : विद्यार्थी नेता क्यु पक्राउ

विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको १२५ औँ जन्म दिवस मनाउन आज २६ डिसेम्बरका दिन पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममाथि चिनियाँ प्रतिक्रियावादी सि जिंपिङ सरकारले हस्तक्षेप गरेको छ । बेजिङ विश्वविद्यालयका विद्यार्थीहरूद्वारा स्थापित ‘मार्क्सवादी समाज’ का विद्यार्थी नेता क्यु झानसुवानलाई पक्राउ गरेको कुरा चिनियाँ अनलाइन ‘साउथ चाइना मोर्निङ पोस्ट’ ले जनाएको छ ।
 
कार्यक्रमको मूल वक्ताका रूपमा रहेका विद्यार्थी नेता क्यु कार्यक्रम स्थलमा प्रवेश गर्ने क्रममा गेटबाटै सादा पोसाकमा रहेका प्रहरीहरूले उनलाई समातेर पहिलेदेखि नै तयारीमा राखेको कारमा राखेर अज्ञातस्थल तर्फ लगिएको थियो । पत्रिका लेख्छ  : 'घटनाको विवरण दिँदै आफनो नाम नबताउने एक जना विद्यार्थी भन्दछन्: ''गेटबाट भित्र पस्न आँट्को बेला सादा पोसाकमा रहेका सातआठ जना मान्छेले उनलाई समातेर बलपूर्वक गाडीमा राखे" ।

ती विद्यार्थीले भने “माओलाई सम्झिनु कुन अपराध भयो ? यसमा कुन कानुनको उल्लङ्घन भयो ? कसरी उनीहरूले विश्वविद्यालयको हाताबाट यसरी विश्वविद्यालयको विद्यार्थीलाई अपहरण गर्न सक्छन् ” ?

 पब्लिक सुरक्षा सम्बन्धी मन्त्रालय यसबारेमा केही बोलेको छैन ।
 
बेजिङ विश्वविद्यालयका विद्यार्थीहरू मे ४, १९१९ मा साम्राज्यवाद विरोधी आन्दोलनको नेतृत्व गरेका थिए । तर यताका दिनमा सत्ताधारी कम्युनिस्ट पार्टी र सि जिपिङ सरकार समर्थक विद्यार्थीहरूबाहेक अरूलाई गतिविधि गर्न अघोषित प्रतिबन्ध लगाएको अवस्थाझैँ छ । बेजिङ विश्वविद्यालयका एक थरी विद्यार्थीहरूले सरकारले गरेका गलत क्रियाकलापका साथै मजदुरहरूमाथि भएको दमनको विरोध र मजदुरहरूको हकहितको पक्षमा आफूलाई सशक्त र सक्रिय रूपमा उभ्याएपछि उनीहरूका गतिविधिप्रति सरकारी व्यवहार दमनकारी भएको छ । साथै याताका दिनमा विद्यार्थीहरूको मजदुरप्रतिको सहयोग र समर्थनको अभियान अन्तर्राष्ट्रिय चर्चाको विषय पनि बनेको छ ।

माओको मृत्युपछि चिनियाँ पुँजीपन्थी शासकहरू एकपछि अर्को गरेर माओको बिम्ब विद्रुपीकरणमा लागेका छन् र माओ र माओवादका समर्थकहरूमाथि दमनकारी नीति अँगालिरहेका छन् । आफूलाई माओको हाराहारीमा राखेका सि  जिंपिङ सरकारले यसपल्ट पनि माओ दिवस मनाउनु आवश्यक ठानेन । र सरकार समर्थित छापा पत्रिकाले यसबारेमा एक शब्द पनि उल्लेख गरेनन् । माओको सम्झना गर्ने अथवा नगर्ने भन्ने विषयले यतिबेर चिनियाँ राजनीतिमा दुई भिन्न धारको प्रतिनिधितव गर्छन् । तेङ्वादीहरूका समर्थक वर्तमान शासक सि जिंपिङहरू माओलाई सम्झिनु सान्दर्भिक ठान्दैनन् भने माओ र माओवादका  अनुयायीहरू सबै किसिमका सरकारी दमन सहँदै माओको सम्झानाका साथ माओवादको झण्डा माथि उचाल्न प्रयासरत छन् ।

यतिबेर चीनमा माओ समर्थक सबै पत्रपत्रिका तथा अनलाइनहरूमाथि प्रतिबन्ध लगाइएको छ । 
भिडियो फिचरview all