menu

ताजा समाचार

साझा मंच र पुच्छरवादी प्रवृत्ति

ऋषिराज बराल
वाम नामको नव-प्रतिक्रियावादी दलाल सत्ताले नेपाली समाजको आर्थिक,  राजनीतिक र सांस्कृतिक पक्षमा जेजस्तो विकृति र विसङ्गति प्रस्तुत गरिरहेको छ, यसले राष्ट्रिय स्वाधीनता र जनतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नेपाली नागरिकलाई चिन्तित तुल्याउनु स्वाभाविक छ । त्यसमा पनि हिजोका दिनदेखि क्रान्तिकारी रूपान्तरणका पक्षमा दृढताका साथ उभिएर निरन्तर क्रियाशील भएकाहरूलाई यसले बढी गम्भीर तुल्याउनु स्वाभाविक छ ।

केही आन्तरिक र केही बाह्य कारणले, केही आत्मगत र केही वस्तुगत स्थितिद्वारा उत्पन्न  अहिलेको विसङ्गत स्थितिले सबैभन्दा ठूलो चुनौती सांस्कृतिक क्षेत्रमा सङ्घर्षरत कर्मीहरूलाई दिएको छ । कतिपयले आत्मसमर्पण गरे पनि, कतिपय पलायन र निष्कृय भए पनि प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध मात्रै नभई आफ्नै सत्ताका विकृति र विसङ्गतिका विरुद्ध पनि सङ्घर्ष र विद्रोह गर्दै आएको इतिहास हो—नेपालका मार्क्सवादी लेखक-साहित्यकारहरूको इतिहास । तर अहिले यो पक्ष एकदमै कमजोर बनेको छ । जनपक्षीय मूल्य र क्रान्तिकारी सांस्कृतिक आन्दोलनप्रतिको अतिक्रमण तीव्र बन्दो छ र उपभोक्तावाद, आत्मसमर्पणवाद, सम्झौतावाद र पुच्छरवादले क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई वाथको रोगीमा परिणत गर्न खोजिरहेको छ ।

यो साँच्चिकै गम्भीर विषय हो ।
  
आजभन्दा करिब ६ दशकअघि मार्क्सवादी कलाचिन्तक जर्ज लुकासले एउटा इमानदार लेखकलाई कसरी सत्ताले भ्रष्ट पार्छ र कसरी  सूचना विभ्रममार्फत असली कलालाई ध्वस्त पार्छ भन्ने कुरालाई यसरी  प्रस्ट पारेका थिए : “कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका विरुद्ध विभ्रम फैलाउने तथा त्यसलाई नोक्सान पुर्याउने कार्यमा सहयोग पुर्याइरहेका हुन्छन् ।”

लुकासले यस किसिमको अभिव्यक्ति दिएको बेला आजको जस्तो सूचना प्रविधि, सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवादको जगजगी थिएन र आजको जस्तो साइबर संस्कृतिको मन्द विषको विस्तार पनि भइसकेको थिएन । सैद्धान्तिक तहमा लुकासले जे कुरा भनेका थिए देशकाल सापेक्षतामा हामी अहिले त्यही कुरा भोगिरहेका छौँ । हामीले यतिबेर फ्रायडवाद, भोगवाद, शून्यवाद, विसर्जनवाद र उपभोक्तावादी मूल्यहीनताको डरलाग्दो स्थिति देखिरहेका छौँ/ भोगिरहेका छौँ  । “यो भएन” भनेर हामी कराइरहेका छौँ, तर जानीनजानी त्यसैलाई गलबन्दी पनि बनाइरहेका छौँ । एकातिर धार्मिक पाखण्डपनका विविध रूपहरू र अर्कातिर ‘उत्तर-वाद’ का बहुरङ्गी चित्रहरू अहिले मार्क्सवादी आन्दोलन, आजको सन्दर्भमा भन्दा माओवादी आन्दोलनलाई ध्वस्त पार्न विभिन्न मोर्चामा सक्रिय छन् । प्रतिक्रियावादीहरू त हुने नै भए आफूलाई अब्बल दर्जाको क्रान्तिकारी भन्नेहरू पनि “उत्तर-साम्राज्यवाद” अर्थात साम्राज्यवादको अन्त्यको वकालत गरिरहेका छन् । यतिबेर मार्क्सवादका विरुद्ध साम्राज्यवादले बन्दुक, सूचना र संस्कृतिको संयुक्त मोर्चा खोलेको छ र यसले सबैभन्दा बढी मूल्यबोध र सौन्दर्यचेतनामाथि प्रहार गरेको छ । फासिवादका संवाहकहरूलाई थाहा छ, बन्दुक नै चाहिँदैन मान्छेलाई जिउँदो लास बनाउन, मान्छेभित्रको सञ्चेतना र जुझारुपनलाई मार्न ऊभित्र निहित मूल्यबोध र सौन्दर्यचेतनालाई मारिदिए पुग्छ ।

चर्चित मार्क्सवादी चिन्तक प्राध्यापक जेम्स पेट्रासले कम्प्युटर प्रविधिसित जोडिएको सन्दर्भ नेट-इन्टर्नेट अर्थात् साइबर संस्कृतिको प्रभावलाई लिएर आफ्नो रचना ‘डेस्कटप मिलिट्यान्टस’ मा डेस्कटप लडाकुहरूलाई सही ढङ्गले काममा लगाउन सकियो भने मात्र हामीले लडिरहेको लडाइँमा तिनले ठूलो सहयोग पुर्याउँन सक्छन्, अन्यथा तिनले हामीलाई नै सिध्याउँछन् भनेर प्रचारआतङ्क र साइबर विकृतिको चर्चा गरेका छन् । अहिले यी डेस्कटप लडाकुहरूको कमान्ड उत्पीडित जनताका हातमा छैन भन्ने कुरा पनि हामीलाई थाहा छ । घुन बनेर यसले हामीलाई भित्रभित्रै खोक्रो पारिसकेको छ । जनता र आन्दोलनलाई टुक्राटुक्रामा विभाजित गरेको छ ।

साम्राज्यवादले गर्छ, सकेसम्म गर्छ, यो उसको ‘धर्म’ र कर्म हो । नेपालजस्तो सानो मुलुकमा हिमालदेखि तराईसम्म हजारौँको सङ्ख्यामा आइएनजिओहरू त्यसै सक्रिय भएका होइनन् । साम्राज्यवादले विविध माध्यममार्फत कसरी सिङ्गो राज्यसत्तालाई नचाउँदो रहेछ भन्ने कुरा भर्खरैको “होली वाइन” प्रकरणबाट  प्रस्ट भएको छ । “होली वाइन” प्रकरण सामान्य प्रकरण होइन । यसले सत्ताधारीहरू मुलुकलाई कुन दिशातिर लान खोजिरहेका छन् भन्ने कुरा देखाउँछ ।

अहिले क्रान्तिकारी भनिएका शक्तिका सामु पनि थुप्रै प्रश्नहरू उभिएका छन् । विचार र राजनीतिबाट नै यसको उत्तर खोज्नुपर्ने हुन्छ । वर्तमानबाट मात्र खोजेर पुग्दैन, इतिहासतिर पनि फर्किनुपर्ने हुन्छ । आन्दोलनमा मात्र खोजेर पुग्दैन, पात्रहरूसम्म पुग्नुपर्ने हुन्छ । प्रधान पक्ष राजनीति नै हो, उसको कमान्ड नै प्रधान हुन्छ, सबै कुराको निर्णय राजनीतिले गर्छ भनेपछि यसका हर्ताकर्ताहरूले आफूलाई पानीमाथिको ओभानो ठान्ने स्थिति छैन र हुँदैन । जब चिन्तन र व्यवहारमा वैचारिक विचलन, व्यक्तिवाद, प्रभाववाद हाबी हुन थाल्छ,  विकृतिको आरम्भ यहीँबाट हुन्छ । त्यसपछि हुने भनेको ओरालो लाग्नुको अविराम यात्रा नै हो । कुरा त क्रान्तिको हुन्छ, व्यवहार भने ओरालो लाग्छ । अनि  परिस्थितिको हवाला दिएर यान्त्रिक निष्कर्ष निकाल्ने र आफ्नो कमजोरीलाई लुकाउने प्रक्रिया आरम्भ हुन्छ । अहिलेको लथालिंगे स्थितिबाट हामी कोही पनि भाग्न सक्तैनौँ । नेतृत्वमा रहेकाहरू बढी जिम्मेवार होलान्, तर धेरथोर हामी सबै जिम्मेवार छौँ ।

राजनीतिमा झैँ साहित्यिक क्षेत्रमा पनि उपभोक्तवादको चकचकी छ । उपभोक्तावादी दलदल र ‘फेसबुके’ राजनीतिको मायाजालले राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलनलाई खोक्रो र जीर्ण पार्न थालेको छ । गम्भीर लेखन ओझेलमा परेको छ र केही खास पत्रिकाका टिप्पणी र चियापसलका उडन्ते गफहरू कृति र लेखकको स्तरीयता मापनका आधार बनेका छन् । सर्जक र सिर्जना दुवै हराएका छन् र ‘घोस्ट राइटिङ’ नामको भाडाको लेखन मौलाउन थालेको छ । उपभोक्तावादी प्रचार आतङ्कले कुरूपलाई सुन्दर बनाएको छ र हीनलाई उदात्त । रङ खुइलिएकाहरू त्यही नै सत्य हो भनेर  कुद्नु स्वाभाविक छ, उनीहरूले त्यसैमा जीवन देखेका छन् । तर आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत मरिमेटेर उनीहरूको पछि कुद्नु भनेको उदेकलाग्दो स्थिति हो । क्रान्तिकारिताको नाममा जताततै पुच्छरवाद हाबी छ ।

यस्तो अवस्थामा विचारको महत्व हिजोको भन्दा आज झन् बढेको छ र राजनीतिक तथा सांस्कृतिक आन्दोलनले एउटा निमर्म वैचारिक सङ्घर्षको माग गरेको  छ । लेखन र व्यवहार दुवै क्षेत्रमा योजनाबद्ध वैचारिक सङ्घर्ष र व्यावहारिक गतिशीलताबिना यो कार्य सम्भव छैन । यो कार्य नयाँपुराना प्रतिक्रियावादीहरूसित मोर्चाबद्ध भएर अथवा 'साझा मंच' का नाममा उनीहरूसित हातेमालो गरेर होइन, क्रान्तिकारीहरूको आफ्नै स्वतन्त्र धार निर्माण गरेर मात्र सम्भव छ । राजनीति, विचार र सांस्कृतिक आन्दोलनले जबसम्म मालेमावादी स्वतन्त्र धारको निर्माण गरेर सबै थरी अवसरवादका विरुद्धको वैचारिक सङ्घर्षलाई अगाडि बढाउन सक्तैन, तबसम्म एक वा अर्को प्रकारले आन्दोलन यथास्थितिवादको पुच्छर हुनुमा सीमित हुन्छ ।

पुच्छरवाद आजको जटिल समस्या हो । पुच्छरवाद अवसरवादको अर्को नाम हो । पुच्छरवाद भनेको आफ्नो अस्तित्व जोगाउने नाममा अरूको काखमा टाउको लुकाउने प्रवृत्ति हो । यो एक किसिमको आत्मसमर्पणवाद नै हो । ‘विशिष्ट स्थिति’ का नाममा अहिले क्रान्तिकारी धारका भनिने तप्काहरू पनि ‘प्रगतिशीलता’ को आवरणमा यथास्थितिवादको पक्षपोषण गरिरहेकाहरूको मुख्यालयमा विलीन भएका छन् । सत्ताधारी कथित प्रगतिशीलहरूको काखमा टाउको लुकाएर क्रान्तिकारी हुनुको डिङ् हाँक्न उनीहरू निकै माहिर देखिएका छन् । यो  निकै गम्भीर समस्याको  सङ्केत–सूचक हो ।

यसका लागि आफैँभित्र, आफ्नै घरपरिवारभित्रैबाट वैचारिक सङ्घर्ष अर्थात् वर्गसङ्घर्ष चलाउनु आवश्यक छ । साझा मञ्चको उपयोग र प्रयोगका नाममा नयाँपुराना प्रतिक्रियावादीहरूसितको उठबस र लसपसले क्रान्तिकारी भनाउँदाहरूको पनि रङ खुइलिसकेको छ । विरासतका रूपमा थुप्रै प्रदूषणहरू हाम्रो आङभरि टाँसिएका छन् । यथास्थितिवादीहरूसितको सरसङ्गत त्याग्न पनि नसक्ने र क्रान्तिकारी पनि हुनुपर्ने लालसा, प्रचारमोह र व्यक्तिवादी चरम महत्वाकाङ्क्षाले ‘गुहु र गोबर’ छुट्याउन नसक्ने स्थितिमा तिनीहरूलाई पुर्याएको छ । यस्तोबेला आत्मसमर्पणवाद र अकर्मण्यतावाद मात्र होइन, ‘क्रान्तिकारी रूपवादी’ प्रवृत्तिहरू पनि मौलाउन थाल्छन् ।  यो समस्या अहिले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक आन्दोलनमा पनि जटिल बन्दैगएको छ । यतिबेर क्रान्तिकारीहरूले दुवै मोर्चामा लड्नु परेको स्थिति छ  ।

माओवादको ट्रेडमार्क राखेर ‘उत्तर-मार्क्सवाद’ को राजनीतिक र सांस्कृतिक व्यापार चलाउन लागिएको बेला ‘प्राज्ञिक मार्क्सवाद’ को अभ्यासमार्फत मार्क्सवादको भ्रष्टीकरण हुन थालेका प्रमाणहरू पनि सतहमा आएका छन् । यस कार्यमा विश्वविद्यालयका कथित विद्वान प्राडाहरूको भूमिका अग्रपङ्क्तिमा देखापरेको छ । माओवादका नाममा माओवादकै भ्रष्टीकरण संस्थागत हुन थालेको छ । प्रगतिशीलताको आवरणमा वर्तमान यथास्थिति सत्ता, यसको विधि र नीतिलाई स्वीकारेर यसबाट नै सबै कुरा हुन्छ भनेर जसले प्रतिबद्धता जनाएका छन्, जो ‘बहुदलीय जनवाद’ को सुरुङभित्र पसेका छन्, ती खुला छन्, तिनीहरू विरुद्धको सङ्घर्ष पनि प्रस्ट नै हुन्छ, तर,  आफूलाई फरक र क्रान्तिकारी माओवादी सांस्कृतिक धारको सांस्कृतिक कर्मी भन्नेहरू जसरी यथास्थितिवादीहरूको छातामुनि उभिएर आफ्नो अस्तित्वको खोजी गर्दै क्रान्तिकारी हुनुको गर्व गरिरहेका छन्, यो बडो विडम्बनापूर्ण छ । वास्तवमा यो विडम्बनापूर्ण मात्र नभएर पीडादायी पनि छ । यसले क्रान्तिकारीहरूको स्वतन्त्र धार निर्माणमा मात्र होइन, क्रान्तिकारीहरूबीच संयुक्त मोर्चा निर्माणमा पनि अवरोध पुर्याएको छ । पुच्छरवादले आफूमा विश्वास गर्दैन । दार्शनिक तहमा यो विसर्जनवाद नै हो । यसका लागि सबैभन्दा पहिलो कार्य भनेको पुच्छरवादबाट सम्बन्ध विच्छेद गर्नु नै हो ।

आज विश्वमा माओवादको प्रभाव निरन्तर रूपमा विस्तारित हुँदो छ र नयाँ माओवादी पार्टीहरू गठन हुने प्रक्रिया जारी छ । माओवादी जनयुद्धले हाम्रै छिमेकी मुलुक भारतमा प्रतिक्रियावादी सत्तालाई हायलकायल पारिरहेको अवस्था छ ।  तर, विडम्बनाको विषय के छ भने साम्राज्यवादीहरूको भाषालाई आफनो भाषामा ढाल्दै र विश्वकम्युनिस्ट आन्दोलनको पहिलो चरण सकियो भन्दै एक थरी 'क्रान्तिकारीहरू' अब मार्क्सवाद-लेनिनवाद र माओवादी बाटोबाट क्रान्ति सम्पन्न हुन सक्तैन भनेर ‘नयाँ संश्लेषण’ को वकालत गरिरहेका छन् । यस्तो बुझाइको वकालत गर्नेहरूले 'पेरिस कम्युन' देखि आजसम्मको क्रान्तिकारी इतिहासलाई नै खारेज गरेका छन् । यथार्थतः तिनले  विसर्जनवादको वकालत गरिरहेका छन् । यो विसर्जनवादी रोग भाइरस बनेर विस्तारित हुँदो छ र माओवादी आन्दोलनलाई भ्रष्टीकृत गर्न उद्धत छ ।  त्यसैले मालेमाको  महत्व र मूल्यबोधको प्रश्न आज झन् टडकारो बनेको छ । मालेमाको पक्षमा दृढताका साथ उभिएर चलाइने वैचारिक सङ्घर्षबाट मात्र यो मूल्यबोधलाई आत्मसात गर्न सकिन्छ । र यो अभियानमा सांस्कृतिक मोर्चा र कर्मीहरूले नै अग्रिम मोर्चा समाल्नुपर्ने हुन्छ । यहाँ सचेतन पक्षको भूमिका अपरिहार्य छ ।

पुच्छरवाद आफ्ना कमीकमजोरी र अकर्मण्यता लुकाउने सबैभन्दा सहज तरिका हो । यो आफूलाई सुरक्षित राखने विश्रामस्थल हो, जहाँ तपाईँ सहजै ‘क्रान्तिकारी’ पनि हुन सक्नुहुन्छ र ‘वस्तुवादी’ पनि । केन्याई मार्क्सवादी लेखक तथा चिन्तक न्गुगी वा थ्योङ्गोले आफ्नो देशका लेखकलाई आह्वान गर्दै भनेका छन् : ''बाटो यही मात्रै हो कि तपाईँ लेख्नुस् र सबै कुरा ब्यहोर्न जोखिम उठाउनोस् । जोखिम उठाउनबाट बच्न  खोज्नुहुन्छ भने तपाईँलाई आफू लेखक हुँ भन्ने हक छैन ।”  आजको मूल कुरा नै यही हो । प्रश्न मुठभेडको मोर्चामा सामेल हुने हो कि होइन भन्ने हो । यसका लागि हामी सबैभन्दा पहिले आफैँ विरुद्ध, आफ्नैहरू विरुद्ध उभिनुपर्ने हुन्छ । क्रान्तिका दुस्मन समाजमा मात्र होइन, तपाईँहाम्रै दिलदिमागमा पनि छन्, हाम्रै ‘घरपरिवार’ भित्र छन्  । यस सन्दर्भमा हामीले प्रस्टताका साथ ‘उदारवादको विरोध गरौँ’ भन्नैपर्ने हुन्छ र स्वतन्त्र धारको विकासका लागि वैचारिक-राजनीतिक र व्यावहारिक सङ्घर्षलाई अघि बढाउनुपर्ने हुन्छ । क्रान्तिकारीताका नाममा हामी टापुका बासिन्दा बन्नुपर्छ भन्ने होइन, तर साझा मंचका नाममा आफ्नो वैचारिक पहिचान नै गुमाएर हामी अँध्यारो सुरुङको यात्री हुन सक्तैनौँ र हुनु हुँदैन ।

‘प्रचण्ड एन्ड कम्पनी’ ले नेपालको जनयुद्ध र नेपाली जनता, अन्ततः विश्वकम्युनिस्ट आन्दोलनप्रति नै गद्दारी गरे पनि अभाकियनवादीहरूले कम्युनिस्ट मेनिफेस्टो र पेरिस कम्युनदेखि यताको सम्पूर्ण इतिहासलाई खारेज गरे पनि हामी गर्वका साथ भन्छौँ : पेरिस कम्युनका सिद्धान्तहरू अमर छन् ! हामी कम्युनिस्ट मेनिफेस्टोले निर्माण गरेको आधारभूत वैचारिक जगमा उभिएर पेरिस कम्युन, रूसी अक्टोबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् दसबर्से नेपाली जनयुद्धबाट ऊर्जा लिएर मालेमाको पक्षमा दृढताका साथ उभिएर नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नुमा गौरव गर्छौँ ।  'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' का मूल्यहरूलाई अगाडि राखेर हामी दृढताका साथ भन्छौँ—क्रान्तिलाई दरोसित समातौँ ।

क्रान्तिकारी सांस्कृतिक कर्मीहरूबीच साझा मोर्चा र सहकार्य आजको आवश्यकता हो भन्ने कुरामा विवाद छैन । यसका लागि विचारलाई केन्द्र बनाउनु आवश्यक छ । समाजवादको कुरा त प्रचण्ड-ओलीले पनि गरेका छन् । नयाँ जनवादी क्रान्ति सम्पन्न भयो भन्नेहरूसितको सहयात्रा कस्तो होला भन्ने सम्बन्धमा पनि प्रश्न उठ्नु अस्वाभाविक होइन । वास्तवमा साझा मोर्चाको आवश्यकता र औचित्य  नयाँ जनवादी क्रान्तिमा जुझारु सांस्कृतिक मोर्चाको भूमिका पूरा गर्नका लागि हो र हुनुपर्छ ।  नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको जस्तो गरी समाजवादलाई न्यूनतम कार्यक्रम मान्नेहरूसितको संयुक्त मोर्चाले यो आवश्यकता पूरा गर्ने स्थिति हुँदैन र त्यसको आयु पनि त्यति लामो हुन्छ जस्तो लाग्दैन । सांस्कृतिक मोर्चामा बन्ने साझा मंच तथा संयुक्त मोर्चाको प्रश्न नेपाली क्रान्तिको स्वरूप र दिशासित घनिष्ठ रूपमा गाँसिएको यथार्थप्रति पनि त्यत्तिकै गम्भीर हुनु आवश्यक छ ।

मार्क्सवादका विरोधीहरू बन्चरो लिएर हामीमाथि प्रहार गरिरहेका छन्, वाम नामका यथास्थितिवादीहरू  ‘साझा’ नामको 'प्रगतिशील' गाँजामा लट्ठ पारेर हामीलाई कौडा खेलाइरहेका छन् । वर्गसङ्घर्षको लामो इतिहासबाट आर्जित सम्पति एक हिसाबले गुमिसकेको स्थिति छ । तर, हामीमा सचेतता पनि छैन, गम्भीरता पनि छैन । त्यसैले साहसका साथ हामीले भन्नैपर्ने हुन्छ—अकर्मण्यतावाद : मूर्दावाद ! ‘क्रान्तिकारी रूपवाद’ : मूर्दावाद ! नयाँ जनवादी सांस्कृतिक आन्दोलन : जिन्दावाद !

समयले हामीलाई कलममा बारुद भर्न आह्वान गरेको छ । समयले हामीलाई नयाँ जनवादी क्रान्तिको पक्षमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको छ, तर हामी अहंको  प्रतिस्पर्धामा रुमलिइरहेका छौँ र मख्ख परेका छौँ—एक्लाएक्लै । यो भन्दा विडम्बनाको कुरा अरू हुन सक्तैन ।

बाहिरभन्दा आफैँ विरुद्ध, आफ्नैहरू विरुद्ध लडिने लडाइँ निकै जटिल हुन्छ । हिन्दू धर्मका नाममा हुने गरेका पाखण्डपन, क्रिस्चनियटीको बढ्दो आतङ्क, उत्तरआधुनिकतावादी विभ्रमका साथै मार्क्सवादको भ्रष्टीकरणका विरुद्ध सशक्त सङ्घर्ष गर्दै क्रान्तिकारी धारलाई अगाडि बढाउने काम जटिल र चुनौतीपूर्ण छ, तर यही नै आजको मूल आवश्यकता हो  । आँधीबेहरीका बीच सङ्घर्ष गरेर नै क्रान्तिकारीहरूले विचारको रक्षा र व्यवहारको अग्रगामीता प्राप्त गर्छन् भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । यसको पहिलो सर्त भनेको आत्मसङ्घर्ष नै हो । हामीले प्रतिबद्धताका साथ घोषणा गर्नैपर्ने हुन्छ :

 पुच्छरवाद : मुर्दावाद !
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद !
नयाँ जनवादी क्रान्ति : जिन्दावाद !

यहाँ माओका भनाइ प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु : ''यदि हामी पहाड चढ्ने साहस गर्छौ भने यस धरतीमा गाह्रो भन्ने कुनै कुरा छैन ।"

सत्य यही हो र बाटो पनि यही नै हो । र यसको थालनी हामीले पुच्छरवाद विरुद्धको अभियानबाट गर्नुपर्छ । यसका लागि सांस्कृतिक क्षेत्रको भूमिका महत्वपूर्ण भए पनि क्रान्तिकारी राजनीतिक पक्षको भूमिका नै निर्णायक हुन्छ । यो पक्ष घोर अकर्मण्यतामा फस्नु नै अहिले सबैभन्दा पीडाको विषय बनेको छ  ।
०००

भिडियो फिचरview all