menu

ताजा समाचार

क्रान्तिकारी ध्रुवीकरणमा जोड दिँदै नेकपा (क्रान्तिकारी माओवादी) ले स्थायी समिति सदस्य रामसिंह श्रीस र पोलिट ब्युरो सदस्य दिनेश शर्मा रहेको वार्ता टोली बनायो– बिप्लव समूहसितको एकताको सम्भावना कम

नेकपा (क्रान्तिकारी माओवादी) को बुटबल बैठकले नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच एकता तथा ध्रुवीकरणका सम्बन्धमा केही महत्वपूर्ण निर्णयहरू गरेको कुरा थाहा हुनआएको छ ।

नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको केन्द्र बनाउने उद्देश्यका साथ पार्टीले सापेक्षित रूपमा रहेका क्रान्तिकारीहरू – मार्क्सवाद-लेनिनवाद-माओवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्नेहरू  नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच यताका करिब २ वर्षमा एकताको प्रक्रियालाई अघि बढाउन निकै प्रयास गरेको भए पनि कतिपय समूहको खराब नियतकै कारण एकता प्रक्रियाले साकार रूप लिन नसकेपछि नेकपा (क्रान्तिकारी माओवादी) ले एकता र ध्रुवीकरणका सम्बन्धमा नयाँ  निर्णय गरेको कुरा थाहा हुन आएको छ ।  
प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि विचार मिल्नेहरूसित एकता गर्ने तथा त्यस किसिमको अवस्था सिर्जना नहोउन्जेल सहकार्यलाई अघि बढाउने कुरामा त्यति बेलाको नेकपा-माओवादीले जोड दिँदै आएको थियो । विचार मिल्नेहरूबीच एकता तथा सहकार्यका प्रक्रिया चलिरहेको अवस्थामा पहिले विप्लव समूहको रहस्यमय बहिर्गमन र पछि बादल समूहको पलायनपछि यो प्रक्रियामा शिथिलता आएको थियो ।

एकताका नाममा प्रचण्ड समूह नेकपा (एमाले) मा विलय भएपछि सो गठबन्धन समूहले आफूलाई नेपालका वामपन्थीहरूको मूल धार र कम्युनिस्टहरूको केन्द्रका रूपमा प्रस्तुत गरेर जनताबीच भ्रम उत्पन्न गरिरहेको अवस्था थियो । यसबाट क्रान्तिकारीहरूका सामु क्रान्तिकारीहरूलाई गोलबद्ध गरेर क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्नु पर्ने नयाँ चुनौती थपिनु स्वाभाविक थियो ।

यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी)  र ‘पुनर्गठित कम्युनिस्ट न्युक्लिअस नेपाल’ ले केही प्रयास गरेका पनि हुन् । खास गरेर नेकपा (क्रान्तिकारी माओवादी) ले आक्तोबर दिवस मूलत: गत साल माओ दिवसदेखि नै यो प्रयासलाई घनिभूत रूपमा जारी राखेको थियो । खास गरेर माओवाद र नयाँ जनवादी क्रान्ति मान्नेहरू र जनयुद्धको विरासतसित जोडिएकाहरूबीच औपचापरिक-अनौपचारिक बैठकहरू पनि भएका थिए । तर विविध कारणावस एकताको प्रक्रियाले आकार लिन सकेको थिएन ।

 थु्प्रै कुरामा अस्पष्ट रहे पनि, खास गरेर माओवादमान्ने र जनयुद्धको विरासतसित जोडिएको कारण बिप्लव समूहसितको एकता प्रक्रियालाई नेकपा (क्रान्तिकारी माओवादी) ले बढी जोड दिएको देखिन्थ्यो ।  तर विप्लव समूहका रहस्यमय गतिविधि, एकता विरोधी लेखाइ र बुझाइ,  वैचारिक तथा राजनीतिक पक्षमा विचलनयुक्त चिन्तन, कार्यदिशागत बुझाइमा रहेको अन्यौलताका कारण उसितको एकता प्रक्रिया अघि बढ्न सकेको  थिएन । खासमा एकताका नाममा बिप्लव समूहको नियत नै खराब थियो । यो यथार्थलाई बुझेपछि नै नेकपा (क्रान्तिकारी माओवादी)  नयाँ निर्णयमा पुगेको हुनसक्छ ।

बुटवल बैठकको निर्णयको स्पिरिट एकता भन्दा ध्रुवीकरणमा रहेको कुरा बोध गर्न सकिन्छ । वास्तवमा बुटवल बैठकले बिप्लव समूहसितको एकतालाई पूर्णविराम लगाएको यथार्थ बुझ्न सकिन्छ ।

आधारभूत केही ठोस बुँदाका आधारमा ध्रुवीकरणको प्रक्रियालाई निरन्तरता दिन स्थायी समिति सदस्य रामसिंह श्रीस र पोलिटब्युरो सदस्य दिनेश शर्मा रहेको वार्ता समिति बुटवल बैठकले निर्माण गरेको कुरा पनि थाहा हुन आएको छ ।

यो वार्ता टोलीले एकता तथा ध्रुवीकरणको प्रक्रियालाई कसरी लैजान्छ, पछिका दिनमा नै थाहा होला, क्रन्तिकारीहरूबीच  ध्रुवीकरणको प्रक्रियालाई अघि बढाउन गरिएको यो प्रयासलाई भने स्वागतयोग्य भन्नु पर्दछ l

भिडियो फिचरview all