menu

ताजा समाचार

सङ्गठन, सङ्घर्ष र ध्रुवीकरण सम्बन्धी महत्वपूर्ण निर्णयका साथ नेकपा (क्रान्तिकारी माओवादी) को बैठक सम्पन्न

यही मङ्सिर १२ देखि बुटबलमा आरम्भ भएको नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको  बैठक विविध महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको कुरा सो पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकले मूलतः सङ्गठन, सङ्घर्ष र नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीचको ध्रुवीकरणको प्रक्रियालाई जोड दिएको कुरा विज्ञप्तिबाट थाहा हुनआउँछ ।

विज्ञप्तिमा कामको प्रकृति र आवश्यकता हेरेर कतिपय क्षेत्रमा जिम्मेवारी हेरफेर गरिएको भनिएको  छ भने आगामी चैतदेखि सङ्घर्षका कार्यक्रमलाई तीव्र बनाएर लैजाने र सङ्घर्षले आम हडतालको चरित्र पनि लिनसक्ने कुरा उल्लेख गरिएको छ ।

सङ्गठनका सम्बन्धमा :

गत वर्ष असोजमा पोखरामा भएको राष्ट्रिय सम्मेलनले सङ्गठनका सम्बन्धमा ५ ओटा बुँदा, सबै केन्द्रीय सदस्य पूर्णकालीन हुनैपर्ने, एनजिओ/आइएनजिओमा संलग्न हुन नहुने, पार्टीले जहाँ खटायो त्यहाँ जानैपर्ने, केन्द्रीय समिति सदस्य हुन १० वर्ष निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुपर्ने र बैचारिक, राजनीतिक तथा सांगठनिक स्पष्टता हुनैपर्ने जस्ता आधारहरू अघि सारेर महत्वपूर्ण निर्णय गरेको थियो ।

सम्मेलनलेउमेरजन्य स्थितिका साथै विविध कारणले पार्टीमा सक्रियताका साथ लाग्न नसक्नेहरू र पूर्णकालीन नेताका रूपमा जिम्मेवारी लिन नसक्ने पोलिटब्युरो तथा केन्द्रीय नेतालाई स्वविवेकले जिम्मेवारीबाट हट्न पनि आह्वान गरेको थियो । तर यो निर्णय समग्ररूपमा लागू हुन सकेको थिएन । साथै पार्टीमा रिक्त पोलिटब्युरोलगायत केन्द्रीय समितिमा पनि थपघट हुन सकेको थिएन । तर अब यो निर्णयलाई दृढताका साथ लागु गरेर सङ्गठनात्मक शुद्धीकरण तथा सुदृढीकरण अभियानलाई दृढताका साथ अघि बढाउने निर्णय भएको कुरा थाहा हुन आएको छ ।

सङ्घर्षका सन्दर्भमा :

राष्ट्रियता,  जनतन्त्र र जनजीवीकाका मुद्दाहरूलाई लिएर विविध योजना बनाउने तर, त्यसलाई दृढता र गतिशीलताका साथ व्यवहारमा लैजान क्रियाशीलता र ततत्परता नदेखाउने भनेर वारम्बार आलोचित भइरहेको नेकपा (क्रान्तिकारी माओवादी) को यसपल्टको बैठकमा पनि  सङ्घर्षका केही विशिष्ट कार्यक्रमहरू तय भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रियता,  जनतन्त्र र जनजीवीकाका मुद्दाहरूमा भरिसक्के अन्य समूहसित समेत कार्यगत एकता गरेर अघि बढ्ने र यस्तो स्थिति बन्न नसकेको अवस्थामा  पार्टी र पार्टीको मोर्चा देजमोमार्फत सङ्घर्षलाई अघि बढाउने निर्णय भएको कुरा पनि थाहा हुन आएको छ । सङ्घर्षका कार्यक्रमहरूमा आम हडतालसम्म जान सकिने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सङ्घर्षलाई गतिशील र जुझारु बनाउन युवा मोर्चालाई थप गतिशील र क्रियाशील बनाउने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एकता तथा ध्रुवीकरणका सम्बन्धमा :

प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि विचार मिल्नेहरूसित एकता गर्ने तथा त्यस किसिमको अवस्था सिर्जना नहोउन्जेल सहकार्यलाई अघि बढाउने कुरामा त्यति बेलाको नेकपा–माओवादीले जोड दिँदै आएको थियो । विचार मिल्नेहरूबीच एकता तथा सहकार्यका प्रक्रिया चलिरहेको अवस्थामा पहिले विप्लव समूहको रहस्यमय बहिर्गमन र पछि बादल समूहको पलायनपछि यो प्रक्रियामा शिथिलता आएको थियो ।

एकताका नाममा प्रचण्ड समूह नेकपा (एमाले) मा विलय भएपछि सो गठबन्धन समूहले आफूलाई नेपालका वामपन्थीहरूको मूल धार र कम्युनिस्टहरूको केन्द्रका रूपमा प्रस्तुत गरेर जनताबीच भ्रम उत्पन्न गरिरहेको अवस्था थियो । यसबाट क्रान्तिकारीहरूका सामु क्रान्तिकारीहरूलाई गोलबद्ध गरेर क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्नु पर्ने नयाँ चुनौती थपिनु स्वाभाविक थियो ।

यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी)  र ‘पुनर्गठित कम्युनिस्ट न्युक्लिअस नेपाल’ ले केही प्रयास गरेका पनि हुन् । खास गरेर नेकपा (क्रान्तिकारी माओवादी) ले आक्तोबर दिवस मूलत: गत साल माओ दिवसदेखि नै यो प्रयासलाई घनिभूत रूपमा जारी राखेको थियो । खास गरेर माओवाद र नयाँ जनवादी क्रान्ति मान्नेहरू र जनयुद्धको विरासतसित जोडिएकाहरूबीच औपचापरिक-अनौपचारिक बैठकहरू पनि भएका थिए । तर विविध कारणावस एकताको प्रक्रियाले आकार लिन सकेको थिएन ।

 थु्प्रै कुरामा अस्पष्ट रहे पनि, खास गरेर माओवादमान्ने र जनयुद्धको विरासतसित जोडिएको कारण बिप्लव समूहसितको एकता प्रक्रियालाई नेकपा (क्रान्तिकारी माओवादी) ले बढी जोड दिएको देखिन्थ्यो ।  तर बिप्लव समूहका रहस्यमय गतिविधि, एकता विरोधी लेखाइ र बुझाइ,  वैचारिक तथा राजनीतिक पक्षमा विचलनयुक्त चिन्तन, कार्यदिशागत बुझाइमा रहेको अन्यौलताका कारण उसितको एकता प्रक्रिया अघि बढ्न सकेको  थिएन । खासमा एकताका नाममा बिप्लव समूहको नियत नै खराब थियो । यसरी एकताएकता भने पनि एक हिसाबले एकता वार्ता बिचमै हराइसकेको थियो । यो यथार्थलाई बुझेपछि नै ऊ नयाँ निर्णयमा पुगेको हुनसक्छ ।

बुटवल बैठकको निर्णयको स्पिरिट एकता भन्दा ध्रुवीकरणमा रहेको कुरा बोध गर्न सकिन्छ । वास्तवमा बुटवल बैठकले बिप्लव समूहसितको एकतालाई पूर्णविराम लगाएको यथार्थ बुझ्न सकिन्छ ।

आधारभूत केही ठोस बुँदाका आधारमा ध्रुवीकरणको प्रक्रियालाई निरन्तरता दिन स्थायी समिति सदस्य रामसिंह श्रीस र पोलिटब्युरो सदस्य दिनेश शर्मा रहेको वार्ता समिति बुटवल बैठकले निर्माण गरेको कुरा पनि थाहा हुन आएको छ ।
 
 



भिडियो फिचरview all