menu

ताजा समाचार

सुन्दरी प्रतियोगिता अर्थात् सौन्दर्यको बजारीकरण

ऋषिराज बराल

नेपाली समाजमा यतिखेर ओलीको “श्री ५” हुने लालासा,  क्रिस्चियन धर्मको प्रचारमा सरकारी ढुकुटीको सर्वनाश लगायतका प्रकरणहरूका साथै निर्मला पन्त बलात्कार र हत्याको प्रकरण विशेष चर्चाका विषय बनेका छन् । निर्मला हत्यालाई लिएर दिनदनै नाराजुलुस भइरहेका छन् र यो  आवश्यक पनि छ । प्रहरीहरूलाई क्रिस्चियनवादीहरूको सुरक्षा र निर्मलाको पक्षमा सडकमा निस्केकाहरूमाथि डन्डा बर्साउने र “निर्मलालाई न्याय देऊ” भनेर टाँसिएका पोस्टरहरू च्यात्ने विशेष जिम्मेवारी दिइएको छ ।

यता शृङ्खला खतिवडा नामकी ‘सुन्दरी’ ले ‘सुन्दरी प्रतियोगिता’ नजित्ने हो कि भनेर कतिपयको निद्रै हराएजस्तो भएको देखिन्छ । तिनले खानै छाडेको र रुवावासीको स्थितिमा पुगेको कुरा तिनका फेसबुक स्टाटसले बताउँछन् । यसरी बेचैन भएकाहरूमा कथित वामपन्थी मात्र नभएर आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत रहेको कुराले भने विवेक र चेतनाले सोच्नेहरूका लागि बडो अनौठो स्थितिबोध गराएको छ ।

करिब २० वर्षअघि नेपालको बौद्धिक तथा सांस्कृतिक क्षेत्र, त्यसमा पनि मार्क्सवादी क्षेत्रमा सुन्दरी प्रतियोगितालाई सांस्कृतिक साम्राज्यवादी प्रदूषणका रूपमा लिएर सङ्घर्षका विशेष कार्यक्रमहरूको आयोजना गरिन्थे । यसको सैद्धान्तिक तथा वैचारिक विरोध मात्र नगरी साहित्यकारहरू सडकमै उत्रन्थे र प्रतियोगिता स्थलमा प्रहरीसित मुठभेडकै स्थितिमा पुग्दथे । विरेन्द्र सभागृहमा हुन लागेको ‘सुन्दरी प्रतियोगिता’का सन्दर्भमा सांस्कृतिक मोर्चा र महिला मोर्चाले गरेको प्रतिरोधका क्रममा लाठीचार्जको भागिदार हामीहरू भएकै हौं  ।

यसैको सेरोफेरोमा 'प्रगतिशील लेखक सङ्घ' ले झापामा  सांस्किृतिक साम्राज्यवाद र नेपाली जनवादी संस्कृतिसम्बन्धी विचार गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीमा मैले ‘सांस्कृतिक साम्राज्यवाद, नेपाली जनजीवन र सङ्घर्षको प्रश्न’ शीर्षकमा कार्यपत्र पेश गरेको थिएँ । (यो लेख मेरो पुस्तक सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवादमा पढ्न सकिन्छ ।  त्यसमा विभिन्न उपशीर्षकहरू थिए र एउटा उपशीर्षकको नाम ‘सौन्दर्यको बजारीकरण’ थियो । ‘सौन्दर्यको बजारीकरण’  उपशीर्षकमा उठाइका कुरा सार्वभौम प्रकृतिका छन् र आजको सन्दर्भमा पनि मेल खान्छन् । त्यसमा लेखिएको छ :

“सुन्दर र सौन्दर्यको सामाजिक सम्बन्धलाई उत्पादनका गतिविधि, श्रम र मूल्यबाट पृथक राखी नितान्त, व्यक्तिपरक र रूपपरक बनाउनु सौन्दर्यसम्बन्धी पुँजीवादी-साम्राज्यवादीहरूको उद्देश्य हो । यिनै मूल्य-मान्यताद्वारा निर्देशित भएर पुँजीवादले आफ्नो नीति निर्माण गर्ने गर्दछ । सुन्दर वस्तुमा निहित मौलिक सारतत्वलाई कृत्रिमताको आवरणमा केन्द्रित गर्नु र सौन्दर्यको बजारीकरण गर्दै नाफा-संस्कृतिमा फेर्नु सांस्कृतिक साम्राज्यवादको उद्देश्य हो ।

सौन्दर्यको बजारीकरणभित्र विभिन्न पक्षहरू पर्दछन् । कला-साहित्य आफैंमा सौन्दर्यका उपज हुन् । यिनलाई बजारीकरण गरेपछि यी मालमा फेरिन्छन् । सुन्दर, उपयोगी र जनहितकारी वस्तुलाई बजारीकरण गरी नाफा-संस्कृति र विज्ञापनको बस्तु बनाउनु साम्राज्यवादको उद्देश्य हो ।

अहिले सुन्दरी प्रतियोगिताको जे-जस्तो बजार लगाइएको छ  यसका पछाडि पनि सौन्दर्यको बजारीकरण गर्ने चिन्तनको भूमिका प्रमुखरूपमा रहेको छ । यस कुराको रहस्योद्घाटन यस्ता पात्रहरू आफैंले कतिपय पक्षसँग गरिसकेका छन् । जुन कुराको हिजो पश्चिमाहरूको रुचि, चाहना र संस्कार बनेका थिए, ती अब नेपाली समाजको पनि रुचि र चाहना बनाउने प्रयास गर्न थालिएको छ । ती नेपाली समाजमा ‘आवश्यकता’ बन्न लागेको देखिन्छन् । कुरूप र खराब कुराहरू हिजो हिन्दी र अङ्ग्रेजीमा छापिएर नेपाली बजारमा भित्रिन्थे । अहिले ती कुराहरू नेपाली भाषामा छापिएर पाठकहरूको भीडमा, भीडको पाठकका लागि पुगेका छन् । अश्लील पुस्तकहरू, उत्तेजना फैलाउने क्यासेटहरू, कमिक्स र फेन्टमका कथाहरूलगायत यस्तै प्रकाशनहरू बजारमा छ्यापछ्याप्ती छन् । सुन्दरी प्रतियोगिताका नाममा गरिने अङ्गप्रदर्शनहरु, ‘फेशन सो’ का नाममा गरिने कामुक भाव-दृश्यहरु सौन्दर्यको बजारीकरणकै विविध रूपहरू हुन् । यिनलाई सांस्कृतिक साम्राज्यवाद नेपाली संस्कृतिको अङ्ग बनाउन तल्लीन रहेको छ ।

नेपालमा यतिखेर ‘सुन्दर’ को प्रतियोगिताका नाममा बालक, युवा, प्रौढ, गृहिणी, कुमारी सबै उमेरका युवकयुवतीहरूको प्रतियोगिताको प्रतिस्पर्धा हुने गरेको छ । यस्ता कार्यहरू प्रतियोगिताका नाममा नाफा-मनोरन्जन हुन्, जसलाई बजार र विज्ञापन मनोरन्जन भन्ने गरिन्छ । यस्ता प्रतियोगिताहरू ‘सुन्दरी’ हरूको हाटबजार, मेला-प्रदर्शन र दरभाउको मालबजार मात्र हुन् । यस्ता कार्यहरू काठमाडौँ सहरलगायत देशका साना-ठूला सहरहरूमा हुने गरेका छन् । यस्ता कार्यक्रमहरूमा खासगरी भारतीय भ्रष्ट, दलाल र कुख्यात व्यापारीहरूलगायत बहुराष्ट्रिय कम्पनीहरूको स्वार्थले विशेष भूमिका खेलेको हुन्छ । त्यसैले पनि यस्ता प्रदर्शनहरूका पछाडि विशेष उद्देश्य लुकेको हुन्छ । यस्ता प्रतियोगिताहरू अन्ततः विज्ञापन र मालको प्रदर्शनमा परिणत हुन्छन् । वास्तवमा सुन्दरी प्रतियोगिताका नाममा हुने र गरिने यस्ता प्रतियोगिताहरू नयाँ किसिमका वेश्यावृत्तिका रूपहरू हुन् । एउटी युवती कोलाका बोतलहरू र बियर, रक्सीलगायत अन्य मालहरूको विज्ञापनमा आफ्नो रूप र चरित्रको हजारौंपल्ट बिक्रीवितरण गर्दछे । उसको दरभाउ र बजारभाउ बहुराष्ट्रिय कम्पनीहरूले तय गर्दछन् । माल र वस्तुको रूपमा, विज्ञापनको साधन र नाफा-व्यवसायको माध्यमका रूपमा, एउटी युवती भ्रष्ट र दलाल व्यापारीकोमा बन्धक सामग्री बन्नपुग्दछे । बन्धक बनाई सौन्दर्यको बजारीकरण गर्ने यसै पद्धति र प्रक्रियालाई सांस्कृतिक साम्राज्यवादका पक्षधरहरूले सुन्दरी प्रतियोगिताको संज्ञा दिएका हुन् ।

विडम्बनाको विषय के छ भने यस्ता कार्यक्रमहरू राज्याश्रित हुन्छन् । यस्ता जनविरोधी र सौन्दर्यको बजारीकरण गर्ने प्रवृत्तिका विरुद्ध जनस्तरबाट गरिएका विरोधका कार्यक्रमहरूलाई प्रहरी दमनद्वारा आतङ्कित पार्नु यसैको उदाहरण हो । बुटवलमा केही वर्षअघि ‘बालसुन्दरी’ प्रतियोगिताका नाममा हुन थालेको विज्ञापन कार्यक्रमको विरोध गर्दा अखिल नेपाल जनसांस्कृतिक सङ्घकी चुनु गुरुङलगायतका कलाकारहरूलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । यस्ता अन्य कतिपय कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेर आफ्नो बहुराष्ट्रिय कम्पनीप्रतिको भक्ति प्रदर्शन गरेका घटनाहरु हाम्रा सामु छन् । केही  दिनअघि कथित सुन्दरी प्रतियोगिताको विरोध प्रदर्शनको कार्यक्रममा इसासका सांस्कृतिककर्मीहरूमाथि गरिएको प्रहरीको नृशंस व्यवहारको सर्वत्र निन्दा गरिएको थियो । यस्ता सबै घटना-प्रकरणहरूबाट बहुराष्ट्रिय कम्पनीहरूबाट गरिने यस्ता कार्यक्रमहरू अन्ततः राज्यसत्ताकै निर्देशमा गरिएका हुन्छन् भन्ने कुराको पुष्टि हुन्छ । त्यसैले नेपाली समाजमा सांस्कृतिक साम्राज्यवादको प्रदूषण फैलाउन वर्तमान फासिवादी सत्ताको भूमिका पनि जिम्मेवार रहेको छ ।”

यो हिजोको कुरा थियो । हिजो, जो सुन्दरी प्रतियोगिताको नाममा गरिने ‘सुन्दरीहरूको हाटबजार’ को  विरोधमा लाठी खान तयार हुन्थे, त्यसको एउटा तप्का सुन्दरी प्रतियोगिता हुनु र प्रतियोगितामा सहभागी हुनुलाई गर्वबोध गर्ने स्थितिमा पुगेको छ । वामका  नाममा दलाल पुँजीपति वर्गको सरकार र सत्ताको प्रतिनिधित्व गरिरहेको पार्टी र त्यसका नेता-कार्यकर्ताहरूका साथै बहुराष्ट्रिय कम्पनीहरू र विदेशी एजेन्सीको हन्डीमा पालिएका कर्पोरेट मिडियाहरूले कथित सुन्दरी प्रतियोगिताको पक्षमा दोडधूप गर्नु अनौठो कुरा भएन । तर आफूलाई क्रान्तिकारी भन्नेहरू तथा पार्टीको उच्च तहमा पुगेकाहरू नै यसको पक्षमा सामाजिक सञ्जालमा प्रचार गर्न थाल्छन् भने यो आफैँमा घतलाग्दो तर, पीडादायी ब्यङ्ग्य हो । श्रम-सौन्दर्यभन्दा रूप ‘सौन्दर्य’ मा जोड दिएर महिलालाई विज्ञापनको साधन, बजारको माल बनाउने र रूपको बजारीकरण गर्ने विकृत चिन्तनका विरुद्धको नेतृत्वमा अगुवाइ गर्नुपर्नेहरू नै विकृतिको प्रचारप्रसारमा लाग्छन् भने यो भन्दा विडम्बनाको विषय अरू हुन सक्तैन ।

यसको अर्थ यसका विपक्षमा आवाज उठेको नै छैन भन्न खोजिएको होइन । मार्क्सवादी सौन्दर्यचिन्तनमा विश्वास गर्नेहरू यस किसिमको प्रवृत्तिका विरुद्ध लेखादिहरूका साथै सामाजिक सञ्जालमार्फत आवाज उठाइरहेका छन् । परन्तु, यो जति सशक्त, सङ्गठित र जति प्रतिरोधात्मक हुनु आवश्यक थियो, त्यति हुन सकेको छैन । सामूहिक र मोर्चाबद्ध किसिमले यसका विरुद्ध आवाज उठ्न सकेको स्थिति छैन । विरोधको आवाज बढीभन्दा बढी सामाजिक सञ्जाल र टीका-टिप्पणीमै सीमित देखिएको छ ।

यस किसिमका प्रवृत्तिप्रतिको निस्पृहताले  सिङ्गो समाज र सांस्कृतिक आन्दोलनमा उपभोक्तावादी बजार संस्कृतिलाई नै मलजल प्रदान गर्दछ  । वास्तवमा यो क्रान्तिकारी शक्ति र सांस्कृतिक आन्दोलन कमजोर भएको यथार्थको उदाहरण हो । र यो राम्रो सङ्केत होइन ।
००० 

भिडियो फिचरview all