menu

ताजा समाचार

कमरेड गणपतिका ठाउँमा कमरेड बसवराज !

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को सन् २०१८ को फेब्रवरीमा बसेको केन्द्रीय समितिको बैठकले ६० नाघेका नेताहरूले अहिले लिइरहेको जिम्मेवारीबाट स्वेच्छिक किसिमले र पार्टीको आवश्यकता अनुसार अवकास लिन सर्कुलरमार्फत पार्टीभित्र  आव्हान गरेको थियो  ।
सर्कुलरमा भनिएको थियो :

''शारिरीक र मानसिक सीमाहरू भएका कमरेडहरू जो आफनो जिम्मेवारीलाई आआफ्नो कमिटीमा ठीक ढङगले बहन गर्न सकिरहनुभएको छैन, उहाँहरूलाई उहाँहरूले लिँदै आउनुभएको जिम्म्मेवारीलाई निरन्तरता दिनुको साटो त्यहाँबाट अन्यत्र जिम्मेवारी दिन सकिनेछ । यसमा उहाँहरूलाई उहाँहरूले क्षमताले भ्याउने खालको जिम्मेवारी मात्र दिइनेछ । सम्बद्ध कमिटीहरूले उहाँहरूसित रहेको लामो अनुभवलाई तलका अन्य विविध कमिटीहरू, जनवर्गीय सङ्गठनहरू तथा यस्तै साझा मञ्च र अन्य क्षेत्रहरूमा जिम्मेवारी दिएर उहाँहरूको अनुभवको क्रान्तिमा उपयोग गर्नु आवश्यक छ । हामीले यस किसिमको निर्णय आन्दोलनको हित र सम्बद्ध बृद्ध कमरेडहरूको चाहनामा नै गर्न खोजेका हौँ  । मानसिक र भौतिक दृष्टिले सीमाबद्ध कमरेडहरूले यो  निर्णय कार्यान्यनका लागि अवश्य पनि क्रान्तिकारी स्पिरिट देखाउनु हुनेछ र कमरेडहरूले आफ्ना सीमाहरू आफैँले अनुभूत गरी आफूसम्बद्ध कमिटीबाट स्वैच्छिक किसिमले बिदा भएर आफूले गर्न सक्ने अन्य कामको जिम्मेवारी लिन आफैँ तयार हुने कदम चाल्नुहुनेछ । केन्द्र र राज्यका नेतृत्वमा रहेका कमरेडहरूले व्यवहारद्वारा यस किसिमको आदर्शको स्थापना गर्नुहुनेछ । पार्टीका यस्ता कमरेडहरूले जुनसुकै तहको जिम्मेवारी भए पनि  वर्गसङ्घर्षको महत्वलाई आत्मसात गरेर आफ्नो चेतनालाई पार्टी र समाजको हितका लागि, कम्युनिस्ट मूल्य र सिद्धान्तलाई अगाडि राखेर समाजमा विद्यमान  शोषण-उत्पीडनका विरुद्ध लडिरहनुहुनेछ र समाजको रूपान्तरणको अभियानलाई अगाडि बढाउन योगदान दिनुहुनेछ ।"

यो सर्कुलरसंगै पार्टीका महासचिब ७१ वर्षीय मुप्पाला लक्ष्मण राव अर्थात् कमरेड गणपतिले पनि उमेर र स्वास्थ्यका कारण पार्टीको मूल जिम्मेवारीमा  सैन्य आयोगका  प्रमुख नम्बाला केशव राव उर्फ बसवराजलाई ल्याउने तयारी गरिरहेको र ६० नाघेका अमुकअमुक नेताहरूको जिम्मेवारीमा समेत हेरफेर गरेको भनेर संचारमाध्यमहरूले समाचार प्रकाशित गरेका थिए । पार्टीले यसवारेमा आधिकारिक रूपबाट केही पनि प्रतिक्रिया नजनाएको आवस्थामा अहिले फेरि कमरेड गणपतिको ठाउँ ६३  वर्षीय कमरेड बसवराजले लिएको भनेर भारतीय समाचार माध्यमहरूले विशेष समाचार बनाएका छन्  । कमरेड बसबराज भाकपा (माओवादी)  पार्टी निर्माणदेखि नै सो पार्टीका  केन्द्रीय सदस्य  र हाल पोलिटब्युरो सदस्य रहेको कुरा पनि माध्यमहरूले जनाएका छन् ।

कमरेड गणपतिको टिम भनेको नक्सलबाडी आन्दोलनको विरासतसित जोडिएको 'भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार’ को टिम हो । यो तेलङ्गना आन्दोलनदेखिको इतिहास बोकेको र विचार र अनुभवले खारिएको टिम हो । यसलाई ऐकेडेमिक दृष्टिले पनि निकै समृद्ध टिम मानिन्छ । सन् २००४ मा बिहार-बङ्गालमा सक्रिय एमसिसीसित यसको  एकता भएपछि निर्माण भएको भाकपा (माओवादी) को महासचिवको रूपमा कमरेड गणपति रहनुभएको हो ।  यसका केन्द्रीय समितिका पोलिटब्युरो तहका र कमरेड गणपतिपछि नेतृत्वको लाइनमा रहेका कमरेड चेरिकुरी राजकुमार ‘आजाद’ को सन् २०१० मा र अर्का प्रवक्ता कमरेड मलौजा कोटेश्वर राव ‘किसनजी’ को २०११ म हत्या  भएको थियो र वरिष्ठ कमरेडहरू कमरेड अजिथ, कोबाध गान्धी, बच्चाप्रसाद सिंह, वाराणसी सुब्रमन्ह्यम, अभिताव बाग्छी, पुलेन्दु मुखर्जी प्रमोद मिश्रलगायतका कमरेडहरू भारतका विभिन्न जेलमा हुनुहुन्छ ।

पत्रपत्रिकाहरूले गणपति वैचारिक र अध्ययनशील व्यक्ति भएका र वर्तमान महासचिव चाहिं फौजी रणनीतिका योजनाकार भएको भन्दै बसबराजको हातमा मूल नेतृत्व आएपछि माओवादी पार्टीमा  फौजी लाइन हाबी हुन  सक्ने टिप्पणी पनि गरेका छन् । पछिल्लो समयमा भारतीय संचारमाध्यमहरूले गरेको होहल्लाप्रति भाकपा (माओवादी) ले कुनै प्रतिक्रिया जनाएको छैन ।

भारतको आन्ध्रप्रदेशमा जन्मिएका बसबराज पार्टीमा पूर्णकालीन कार्यकर्ता हुनुअघि पेशाले इन्जिनिएर हुनुहुन्थ्यो  ।

भिडियो फिचरview all