menu

ताजा समाचार

न्यु पिपुल्स आर्मी ११० वटा मोर्चामा लडिरहेको छ : जोसे मारिया सिसोन

(जोसे मारिया सिसोन मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर जनयुद्ध लडिरहेको फिलिपिन्स कम्युनिस्ट पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ । लामो समय कारावाससमेत भोग्नु भएको सिसोन राम्रो कविका रूपमा पनि स्थापित हुनुहुन्छ । स्वास्थ्यका कारण अहिले वहाँ फिलिपिन्स कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको संयुक्त मोर्चा 'नेसनल डेमोक्रेटिक फ्रन्ट' को अध्यक्ष हुनुहुन्छ । साम्रज्यवादी अमेरिकी सरकारले वहाँलाई आतंकवादीको सूचीमा राखेको छ  । यहाँ हामीले अघिल्लो महिना प्रगतिशील तथा साम्राज्यवाद विरोधी विचारमञ्चद्वारा सञ्चालित वेबसाइट फाइट ब्याकका तर्फबाट माइक केलीले ७९ वर्षीय सिसोनसित लिएको अन्तर्वार्ताको भावानुवाद  प्रकाशित गरेका छौँ । )

फाइट ब्याक : फिलिपिन्सका जनताका लागि दुतेर्ते सरकारले के अर्थ राख्छ ?

जोसे मारिया सिसोन : ठीक हो, दुतेर्ते सरकार, अन्यायी, भ्रष्टाचारी र मुलुकको ढिकुटी रित्याउने सरकारका रूपमा देखिएको छ ।  उपभोगका लागि आवश्यक सामग्रीको दाम बढेर आकाश छोएको छ र उपभोक्तमाथि करमाथि कर लगाइएको छ । एकातिर ठूला पुँजीपतिहरू र शोषकहरूमाथिको करमा ठूलो मात्रमा कटौती गरिएको छ, अनि उता अत्यावश्यक सामग्रीमा अन्तःशुल्क लगायतका करहरू बढाइएको छ । मुद्रास्फिति दिानुदिन बढ्दै गएको छ 

भन्न त दुतेर्तेले आफूले  लागु पदार्थ विरुद्ध अभियान चलाएको भनेको छ । तर,  दुतेर्ते सरकार लागु औषधी विरुद्धको लडाइँका नाममा गरिब जनताको हत्या मात्र गरिरहेको छ भनेर जनताले पहिले नै बुझिसकेका छन् । प्रहरीको काम आमजनताको हत्या गर्नु मात्र भएको छ र दुतेर्ते सरकार यस्तैलाई पुरस्कृत गरिरहेको छ । भित्री कुरा  के हो भने दुतेर्ते सरकार लागु पदार्थको कारोवारीका वादशाहहरूको सुरक्षा गरिरहेको छ । ऊ र उसको छोरा,  जो अवैधाननिक कारोबार स्मगलिङ र माफियातन्त्रको अगुवा भएको पोल खुलिसकेको छ । वास्तवमा मूलरूपमा ऊ र उसको छोरा नै लागु पदार्थ कारोवारीका नाइके हुन् ।

फाइट ब्याक : उसो भए प्रतिरोधको स्थिति चाहिँ के हो त ?

सिसोन : व्यापक संयुक्तमोर्चा निर्माण भएको छ । यस किसिमको संयुक्त मोचार्अको मूल काम अत्याचार र अन्याय विरुद्धको आन्दोलन हो । मानवअधिकारको प्रश्नले हामीलाई एकै ठाउँ ल्याएको छ, टोखाङमा भएको गैरन्यायिक हत्याको घटनाप्रति उत्पीडित जनता सचेत भएका छन् । विद्रोह दबाउने नाममा टोखाङमा जस्तै ओप्लान कापायापन्नामा भएको जनहत्याको बारेमा पनि जनताले बुझिसकेका छन् ।
हत्याको यो शैली यस्तो छ, उत्पीडित जनतालाई लागु पदार्थसित जोडिन्छ र गल्ती स्वीकार्न बाध्य गराइन्छ, आत्मसमर्पण गर्न भनिन्छ । नभए उनीहरूलाई त्यस ठाउँबाट विस्थापन गर्न खोजिन्छ, नमानेपछि  लागु पदार्थ कारोवारीले प्रतिरोध गरेका कराण मुठभेड भएको भनेर हत्या गरिन्छ । दिनहौँ जसो यसो हुने गरेको छ ।

ओप्लान कापायापन्नामा पनि यसै गरिएको थियो । आज यति जना विद्रोहीले आत्मसमर्पण गरे, आज यति  जना मुठभेडमा मारिए भनेर ठूलो सङ्ख्यामा नाम दिइएको कुरा तपाईँ पत्रपत्रिकामा पढ्ने गर्नुहुन्छ ।   यस्ता नाम र सङ्ख्यालाई क्रान्तिकारी आन्दोलनसित जोडिएको हुन्छ । न्यु पिपुल्स आर्मीका पूर्णकालीन सदस्यहरू र कतिपय  र जन मिलिसियाहरू सामूहिक रूपमा बस्छन्, तिनमा कतिपय आत्मरक्षक टिमका सदस्य पनि हुन्छन् । साधारण गाउँलेहरूले पनि प्रतिरोध टिम बनाएका हुन्छन् । उनीहरू यस्ता गाउँलेलाई समात्छन्, आत्मसमर्पण गरेको भन्न लगाउँछन् र नमानेपछि  हत्या गर्छन् र मुठभेडमा मारिए भन्छन् ।

फाइटब्याक : ठीक हो,  त्यसै कारण संयुक्त मोर्चाको तर्फबाट त्यत्रो विशाल  प्रदर्शन भएको हो त ? जनताको त्यत्रो प्रदर्शन दुतेर्त विरुद्धको अभिव्यक्ति हो अथवा अरू केही ?

सिसोन : हो, ‘सोना’ विरुद्धको प्रदर्शन एउटा घटना मात्र हो । दुतेर्तेको जनविरोधी अभियान ‘सोना’ का विरुद्ध पानी, आँधी र  हुरीका बीचमा पनि ४०,००० हजार जनता सडकमा निस्केका थिए । मुलुकका अन्य भागमा पनि यस्तै प्रदर्शनहरू भएका थिए, त्यसैले मुलुकभरको जोडदा लाखौँ मान्छे दुतेर्ते विरुद्धको प्रदर्शनमा जुटेका थिए । यो त आरम्भ मात्र हो । यो आन्दोलनको उच्च्ताका कारण प्रहरी र सेना नै दुतेर्तेका पक्षमा उभिन छोड्ने स्थिति आउँन सक्छ ।

फाइटब्याक : उसोभए के दुतेर्ते सत्ताच्युत होलान् त ? उनले कुर्सी छोडलान् ?

सिसोन : यसमा अधिक सम्भावना छ, यसै वर्ष अथवा अर्को वर्षसम्म यसको सम्भावना छ । मनिलामा भएका दिनदनैको हजार्रौँको  जनप्रदर्शन यसको एउटा कारण हो । दुतेर्तेलाई समर्थन गरिरहेका सैनिक अधिकारीले समर्थन फिर्ता लिने प्रबल सम्भावना छ । सैन्य अधिकारी पनि दुतेर्तेको व्यवहारले आजित भएका छन् । फिलिपिन्सको सार्वभौम सत्ताधिकार विशिष्ट आर्थिक क्षेत्र पश्चिम फिलिपिन्स सामुद्रिक इलाका चिनियाँहरूलाई कृत्रिम आइल्यान्ड बनाउन दिने दुतेर्तेको  निर्णयलाई सेनाका अधिकारीले राष्ट्रप्रतिको दुतेर्तेको गद्दारीका रूपमा लिएका छन् । अर्को कुरा यताका दिनमा दुतेर्तेको मानसिक हालत पनि ठीक छैन ।  उसमा शारिरीक र मानसिक स्थिति ठीक नभएका सङ्केतहरू देखिएका छन् । दुतेर्तेले भनेको छ,  “म राजिनामा दिन चाहन्छु, तर म उपराष्ट्रपति रोब्रडोलाई जिम्मेवारी हस्तान्तरण गर्न चाहन्न ।” वास्तवमा ऊ सत्ता अरू कसैले लेओस् भन्ने चाहन्छ । त्यसैले, पहिले पनि उसले भनेको थियो : “मिलिट्री जुन्टा, मार्कोस, बोङबोङ मार्कोस अथवा चिज एस्कुडेरोले मेरा ठाउँ लिन सक्छन् । ”

फाइट ब्याक :  जनयुद्ध कसरी अघि  बढिरहेको छ ?

सिसोन :  जनयुद्ध निरन्तर अघि बढिरहेको छ । यो राष्ट्रव्यापीरूपमा फैलिएको छ । न्यु पिपुल्स आर्मी ११० वटा मोर्चा–कम्तीमा पनि  ११० छापामार  मोर्चामा लडिरहेको छ । फिलिपिन्सको ८१ वटा प्रान्तमध्ये ७३ वटा प्रान्तमा यो सक्रिय  छ । क्रान्तिकारी आन्दोलनको  ४० प्रतिशत शक्ति मिन्डानाओमा छ भन्ने दुस्मनलाई लागेको छ । त्यसैले दुस्मनले आफनो ७५ प्रतिशत शक्ति मिन्डानाओमा केन्द्रित गरेको छ । दुस्मनले मिन्डानाओमा कूल ७५ वटा बटालियन तैनाथ गरेको छ । ४४ वटा न्यु पिपुल्स आर्मी र ३१ वटा बङ्सामोरो समूहका विरुद्ध  तैनाथ गरेको छ ।
२५ वटा बटालियन लुजोन र बिसायसमा तमतयारीका रूपमा राखिएको छ । मिन्डानाओ भन्दा अन्य क्षेत्रमा दुस्मनका विरुद्ध लड्न न्यु पिपुल्स आर्मीलाई सहज भए पनि मिन्डानाओमै पनि दुस्मनको केन्द्रीकृत शक्तिका विरुद्ध कसरी लड्ने भनेर न्यु पिपुल्स आर्मीका सदस्यहरूले अनुभव प्राप्त गरिसकेका छन् ।

मिन्डानाओमै दुस्मनलाई हायलकायल पार्न र छापामार युद्ध चलाउन जनसेना सक्षम छ । दुर्तेतेको घेराबन्दी एक किसिमले एउटा दिशामा सीमित छ । उसले यहाँ दमनको प्रयास नगरेको होइन, सफल नभएपछि उसको आक्रमण एकतर्फी घेराबन्दीमा सीमित छ । 

फाइट ब्याक :  ठीक छ, उसो भए न्यु पिपुल्स आर्मी झन् झन मजबुत हुँदैछ,  क्रान्तिकारी क्षेत्रमा जनताको उपस्थिति बढ्दो छ र आधारभूत रूपमै लाल राजनीतक सत्ताको विस्तार भइरहेको छ भन्न खोज्नु भएको हो ? 

सिसोन :  हो,  न्यु पिपुल्स आर्मी लाखौँ जनतामा आधारित सेना हो । तपाईँलाई थाहा छ, न्यु पिपुल्स आर्मीसित उसका सहयोगी रिजर्भ शक्ति–आम जनतामा आधारित हरेक गाउँको रक्षका लागि जनमिलिसिया, आत्मरक्षक टोली र सङ्गठनहरू पनि छन् । थुप्रै  ठाउँमा जनसरकारहरू निर्माण भएका  छन् र आमजनताको सहभागितामा जनवादी शिक्षा, उत्पादन, आर्थिक परिचालन, आत्मरक्षाको व्यवस्थापन,  स्वास्थ्य र सफाइ, वातावरणको रक्षा र विस्थापितहरूको बसोबासको व्यवस्था यसले गर्छ ।

फाइट ब्याक : धेरै राम्रो । अब अन्त्यमा, समापनमा केही कुरा राख्छु, संयुत्त, राज्य अमेरिकाका  प्रगतिशील र क्रान्तिकारी जनतालाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ ?

सिसोन : म संयुक्त राज्य अमेरिकाका प्रगतिशील जनतालाई अमेरिकी साम्राज्यवाद, सामन्तवाद र नोकरसाही पुँजीवादका विरुद्ध राष्ट्रिय मुक्ति र जनतन्त्रका लागि लडिरहेका फिलिपिनो जनताको सङ्घर्षप्रतिको समर्थनलाई निरन्तरता दिन र थप तीव्र बनाउन अपिल गर्न चाहन्छु । फिलिपिन्समा कठपुतली सरकार चलाइरहेको साम्राज्यवादी मुलकका जनताको फिलिपिन्सका जनताको सङ्घर्षप्रतिको समर्थनको ठूलो महत्व छ । यो कुरा भियतनाम युद्धका बेला पुष्टि भए को यथार्थ हो । अमेरिकाले सैन्यलगायत सबै किसिमका हतियार प्रयोग गरेर भियतनामी जनताको हत्या गरिरहेको थियो, तर अमेरिकाको अमानवीय आतङ्कका विरुद्ध अमेरिकाकै जनता मोर्चाबद्ध भएर अमेरिकी आक्रमणको विरोध गरेकाले उनीहरू भियतनाममा सफल हुन सकेनन् ।

अनु : ऋषिराज बराल
०००

भिडियो फिचरview all