menu

ताजा समाचार

प्रकाण्ड-प्रकरण, ‘रातोपाटी’ र थप रहस्य

जनमेल विश्लेषण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य ओम शर्मा सम्बद्ध भनिएको 'रातोपाटी' अनलाइनले ‘प्रकाण्डको गिरपतारी शङ्काको घेरामा' शीर्षकमा एउटा टिप्पणी प्रकाशित गरेको छ । 'रातोपाटी' लाई नेकपा-बिप्लवप्रति सहानुभूति राखेर समाचार प्रकाशित गर्ने अनलाइनका रूपमा बुझ्ने गरिन्छ  । “वार्ता समितिको अनुरोधमा, गृहमन्त्री बादलको स्वीकृतिमा प्रकाण्ड र नेकपा-बिप्लवका अन्य नेताहरू छुट्तैछन्” भनेर बिप्लव समूहका  नजिक भनिएका माध्यमहरूले समाचारहरू प्रकाशित गरिरहेको अवस्थामा यस किसिमको समाचार-टिप्पणी 'रातोपाटी' मार्फत आउनुलाई विशेष अर्थ र सन्दर्भका रूपमा लिनु  पर्ने हुन्छ ।

गत साउन २२ गते पक्राउ गरेका नेकपा-बिप्लवका प्रवक्ता प्रकाण्ड करिब ४५ दिने हिरासत यात्रापछि छुट्ने चर्चा चलेको छ  । उनी छुटे भने अन्त्यमा उनलाई कालिकोट पुर्याएर प्रक्रिया मिलाएर छोडिनेछ भनेर गरिने गरिएको  अनुमान गलत साबित हुने भएको छ । वार्ता टोलीको अनुरोधको सन्दर्भ दिएर उनलाई छाडिन लागिएको भनिए पनि उनको गिरफ्तारी र रिहाइको सन्दर्भ  दुवैले प्रश्नरहित  छैनन् । वार्ता टोली नै यस सन्दर्भलाई ध्यानमा राखेर सुनियोजित किसिमले गठन भएको पो हो कि भनेर आशङ्का गर्नुपर्ने स्थिति पनि भएको छ ।

सुरुमा उनलाई पक्राउ गर्दा बलपूर्वक चन्दा उठाएको मुद्दा लगाइएको थियो । उनको पक्राउपछि  कतिपय माध्यमले पक्राउकै समयमा पार्टीको माइन्युट, पछिल्लो बैठकको निर्णयसम्बद्ध सर्कुलर, प्रकाण्डको डायरी आदि पुलिसले कब्जामा लिएको भनेर समाचार प्रकाशित गरेका थिए  भने कतिपय माध्यमले कपनस्थित डेरा खानतलासी गर्दा सबै कागजात प्रहरीको हात परेको भनेर समाचार प्रकाशित गरेका थिए  । जहाँ हात परे पनि नेकपा-बिप्लवका महत्वपूर्ण निर्णयहरू, सर्कुलरहरू, आन्तरिक गोप्य योजनासित सम्बद्ध कागजातहरू प्रहरीको हात परेको कुरामा चाहिं विवाद रहेन । कागजात र पक्राउ परेका अन्यहरूबाट प्रहरीले के कति सूचना र निर्णयहरू लियो,  यो भिन्नै कुरा हो ।

आर्थिक पक्षदेखि लिएर गुटबन्दीका सन्दर्भ र विभिन्न किसिमका व्यक्तिसितको प्रकाण्डको उठबसका कुरा पार्टीभित्र धेरै पहिलेदखि टिप्पणीका विषय बनेको कुरा नयाँ होइन । जसरी र जुनसमयमा प्रकाण्ड गिरफतारीमा परे, यो आफैँमा प्रश्न बनेको अवस्था हो  । पार्टीमा अनेक बखेडा निकालेर प्रकाण्डले किचलो उत्पन्न गरेको र एकएकवटा बहाना बनाएर अन्ततः उनी माकेमा जान्छन् भनिने गरिएको र माकेका तर्फबाट पनि “करिबकरिब” कुरा मिलेको भन्ने किसिमको टिप्पणी हिजोका दिनदेखि नै आएका हुन् र माके र एमालेबीचको एकतापछि यो सन्दर्भ एक किसिमले सेलाएको जस्तो भएको थियो । बैद्यबाट सम्बन्ध विच्छेद  गरेर बादल प्रचण्ड समूहमा गएपछि बादलमार्फत  प्रकाण्डले  सम्बन्ध विस्तारको अभियान चालेको भनिए पनि पछिल्ला दिनमा कृणबहादुर महरा र प्रकाण्डबीचको सम्बन्ध आर्थिकदेखि राजनीतिक तहसम्म विस्तारित भएको थियो भन्ने भनाइ पनि कतिपयको रहेको छ  ।  उनी पक्राउ परेको केही दिनपछि 'जनदिशा' अनलाइनले ‘ प्रकाण्ड काण्डैकाण्डमा, बिप्लव सुटुक्क भारततिर’ शीर्षकमा एउटा समाचार-टिप्पणी प्रकाशित गर्यो । कस्तोकस्तो लाग्ने, तर गम्भीर प्रकारको टिप्पणी थियो त्यो । त्यसमा प्रकाण्ड र कृष्णबहादुर महराबीचको सम्बन्धको कुरा मात्र नभएर प्रकाण्ड रहस्यमय ढङ्गले पक्राउ परेको, बिप्लवबाट विद्रोह गर्न  खोजेको भनेजस्ता  कुराहरू पनि छन् । जस्तो भनिएको छ :

''पछिल्लो समय आफ्नै इमान्दार चेलाको पार्टीभित्र अन्तर्विरोध चर्काउन महराले भूमिका खेलेको आरोप विप्लव निकट एक नेताले लगाएका छन् । अहिले उपत्यका बाहिर कार्यक्षेत्र रहेका ती नेताले भने, ‘महरा सरसँग बिप्लव कमरेडको त्यति धेरै नराम्रो छैन ।’ उनले भने– 'पछिल्लो समय बिप्लवविरुद्ध महराले प्रकाण्डलाई बोक्नु रहस्यमय भएको छ ।'''

''ती नेताले भने, ‘महरा सर अहिले सबै सुविधा पाउने सरकारी पदमा हुनुहुन्छ । प्रकाण्ड विद्रोहका लागि आर्थिक सङ्कलन गर्ने जिम्मा लिएर हिंड्नु भएको हो । महरा सरसँग उहाँको हिमचिम बुझिनसक्नु थियो ।’ उनले भने, ‘महरा सरमार्फत प्रकाण्ड अहिलेको सरकारी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न लागेको सूचना पार्टीलाई आएको थियो । तर उहाँ रहस्यमय ढङ्गले पक्राउ पर्नु’भो ।’ सीधै नभने पनि प्रकाण्डले विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गर्ने तयारीमा रहेको उनले स्वीकार गरे ।"

हिजो जनयुद्धकालमा भारतमा छँदा सम्पूर्ण खातापाता, आर्थिक कारोबार, सुखसुविधा, चाँजोपाँजो हातमा लिएका, प्रचण्डका दाहिने हात मानिएका, ‘शन्तिप्रक्रिया’ कालमा पनि भारतसित पनि ठीक्क र चीनसित पनि ठीक्क भएर दोहोरो फाइदा लिएका, प्रचण्डसित मिलेर क्यान्टोमेन्टका अरबौँ रकमको व्यवस्थापन गरेका, सुमार्गी-प्रचण्डका व्यापारिक साझेदार भनिएका, हरेकपल्ट मन्त्रीमण्डल परिवर्तन हुँदा सबैभन्दा उत्तम मन्त्रालयको राजकाज चलाएका महरा पछिल्ला दिनमा खास गरेर बैद्य र बिप्लबले छाडेर गएपछि केही ओझेलमा परेको स्थिति थियो । महरा बैद्यका पनि उत्तिकै प्यारा र विश्वासिला थिए भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो ।  पार्टीमा अरूहरू हाबी हुँदै गएको र  प्रचण्डले मात्र नभएर रोल्पालीहरूले पनि आफूलाई बेवास्ता गर्दैगएको अवस्थाका कारण आफू एक्लो भएको उनलाई अनुभव हुनु स्वाभाविक थियो  । प्रचण्ड र बादलहरूसितको एकतामा पनि उनले बैद्यसहितको टोली आएपछि मात्रै आफू बलियो हुने ठानेर बैद्यसहित एकताका ल्याउन निकै प्रयास गरेका हुन् । बैद्यले कचकच मात्र गरिरहने र आफूले भनेजसरी निर्णय गर्न पनि असजिलो हुने ठानेर प्रचण्डले बैद्यलाई ल्याउनुभन्दा कमजोर पारेर सिध्याउने र बादलसित ठूलो समूह ल्याउने रणनीति बनाए । बादलको टिम आउँदा आफूलाई खासै केही फाइदा नहुने देखेपछि प्रकाण्डको स्वभाव, ठाँठबाठपूर्ण जीवनशैली, राजनीतिक महत्वाकाङ्क्षा बुझेका महराले प्रकाण्डलाई भित्र्याएर आफ्नो टिममा समाविष्ट गर्न र आफूलाई बलियो बनाउन खोजेको हुन सक्छ भन्ने कुरालाई पनि तर्कपूर्ण मान्न सकिन्छ ।

बादलसितको सम्बन्ध होस् अथवा महरासितको सम्बन्ध, प्रकाण्डले सो पार्टीको कमजोर पक्ष तथा अन्तविरोधको स्थितिको जानकारी महरा तथा बादलहरूलाई दिएको कुरामा भने  विवाद गर्नु पर्ने अवस्था छैन । खास गरेर  बिराटनगरको युवाहरूको कार्यक्रममा सहभागी हुन जाँदा कमरेड सुदर्शन र पद्म राई पक्राउको समयदेखि नै सरकार कडाइका साथ आउन थालेको कुराको सङ्केत दिइरहेको थियो । केन्द्रीय नेताहरू एकपछि अर्को गरेर पक्राउ परिरहेका थिए । मूल नेतृत्व तह, खास गरेर स्थायी समितिका अन्य सदस्यहरू एक हिसाबले भूमिगत भइसकेको अवस्था थियो । सबैलाई थाहा छ, पार्टीमा प्रकाण्डले आफूलाई दोस्रो वरियतामा राखेका थिए । यस्तो बेला उनी कसरी सुरक्षित हुने भन्ने कुरामा पार्टी र उनी स्वयं  बढी सतर्क र सचेत हुनु आवश्यक थियो ।

पछिल्लो समयमा कहिले नेकपा-बिप्लवलाई भाकपा (माओवादी) सित जोडेर कहिले बिप्लवले जनयुद्ध आरम्भ गर्न लागे भनेर प्रचण्डको सेरोफेरोमा रहेका माध्यमहरू सरकारलाई उत्तेजित पार्ने खालका समाचार प्रकाशित गरिरहेका थिए  । यसै क्रममा अर्घाखँची र प्युठानको जङ्गलमा नेकपा-बिप्लवको बैठक बसेको छापामारलाई तालिम दिएको जस्ता समाचार पनि प्रचण्डको सेरोफेरोमा रहेका माध्यमहरूले   प्रकाशित गरिरहेका थिए । समाचारसँगै प्रहरीका गतिविधि बढेको कुरा पनि समाचार बनेका थिए । पार्टीको बैठक बसेको कुरा सही थियो र प्रहरीको गतिविधि बढेपछि केन्द्रीय समितिको बैठक स्थगित गरेर स्थान फेरेर पोलिटब्युरोको बैठक बसेर बैठकलाई समापन गरेको कुरा पनि सार्वजनिक भैसकेको थियो । यसले  स्थितिको गम्भीरतालाई दर्शाउँछ र सुरक्षाको प्रश्नलाई गम्भीरतापूर्वक लिन निर्देशन दिन्छ ।
 
त्यसको लगत्तै (बेठकबाट फर्केको स्थिति हुनसक्छ)  थानकोटबाट दुई जना पोलिटब्युरो सदस्य पक्राउ परे । यस किसिमको स्थितिमा  पार्टी र नेताहरूले स्थितिको विश्लेषण गरेर सुरक्षाका सम्बन्धमा नयाँ किसिमले सोच्नुपर्ने हुन्छ । प्रकाण्ड भने वरिपरि गार्ड राखेर बडो सानका साथ आफ्नो निजी गाडीमा दिउँसै सबैलाई थाहा हुने गरी  हेटौँडा हुँदै काठमाडौँतिर हान्निएका थिए  । सारा कमरेडहरूलाई पक्राउ गर्न थालेको समयमा उनलाई केही पनि गर्दैन भनेझैँ गरी उनी त्यसरी काठमाडौँतिर लाग्नुले प्रश्न उठ्नु/उठाउनु स्वाभाविक हुन्छ । अहिले आएर यिनै सन्दर्भमा केन्द्रित भएर 'रातोपाटी' ले समाचार प्रकाशित गरेको छ र यसले पक्राउ  घटना थप रहस्यमय बन्नु  स्वाभाविक छ ।

'रातोपाटी' ले हावाका भरमा समाचार बाहिर ल्यायो  भन्न सकिने स्थिति छैन ।  यो गम्भीर विषय हो । त्यसमा पनि समाचारमा  पार्टीको उच्च तहको नेता, पूर्व मन्त्रीको नाम जोडिएको छ ।  यो समाचार मात्र नभएर खास नेताको राजनीतिक जीवन  र चरित्रमाथि नै  प्रश्न उठेको सन्दर्भ हो । यस किसिमको गम्भीर कुरा भएकाले यो सामान्य समाचार होइन र सम्बद्ध पक्षले पनि यसलाई हलुका किसिमले लिएर हावाका तालमा समाचार राख्यो होला भन्न सकिंदैन। दुई  दिनअघि मात्र सो अनलाइनमा नेकपा-बिप्लवका स्थायी समिति सदस्य सुदर्शनको अन्तवार्त आउनु र दुई दिनपछि यस किसिमको समाचार आउनुलाई संयोग मात्र पनि मान्न सकिँदैन । सो अन्तर्वार्ता र यस किसिमको समाचारबीच कुनै न कुनै किसिमको सम्बन्ध छ भनेर अनुमान गर्न सकिन्छ । यस अर्थमा पनि यो गम्भीर समाचार-टिप्पणी हो ।

जस्तो समाचारमा भनिएको छ :

'''पार्टी महासचिवले तपाईं अहिले राजधानी नजानुस् भन्नुभएको रहेछ । त्यो पनि एक पटक होइन, तीन-तीन पटक । नेतृत्वको सुझावलाई बेवास्ता गरेर प्रकाण्ड कमरेड काठमाडौं आउनु भएको रहेछ । त्यहीबेला उहाँ प्रक्राउ पर्नुभयो । पार्टीभित्र उहाँको पक्राउलाई लिएर केही आंशका छन् ।’ विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।"

टिप्पणीमा भनिएका बिप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य नक्कली केन्द्रीय सदस्य होइनन् भने यो गम्भीर मामिला हो र प्रकाण्डले योजनाबद्ध किसिमले आफूलाई पक्राउ गराएका रहेछन् भनेर भन्नु पर्ने स्थिति हुन्छ । यसबाट प्रकाण्डले पार्टी निर्देशन र पार्टी नेतृत्वको अनुरोधलाई समेत बेवास्ता गरेर पार्टीको अनुशासन तोडेको भन्नु पर्ने हुन्छ र यसअघि प्रकाण्ड-प्रकरणसित  गाँसिएर आएका समाचार र टिप्पणीहरू सही रहेछन् भन्नु पर्ने हुन्छ ।
 
'रातोपाटी' को समाचारमा अगाडि भनिएको छ :

“ पार्टीका सबैजसो नेताहरू अर्धभूमिगत अवस्थामा रहेको बेला प्रकाण्ड काठमाडौँ जान हतार गर्नुलाई उनको पार्टीभित्र शङ्काको दृष्टिले हेरिएको छ । त्यसो त केही राजनीतिक र सङ्गठनात्मक मुद्दामा विप्लव र प्रकाण्डबीच मतभेद पनि थियो ।"

यदि यो सही हो भने प्रकाण्डको गिरफतारी सुनियोजित सन्दर्भ हो र एक हिसाबले यो उनको पार्टीबाट पलायनताको तारतम्य हो । भरिसक्के वार्ताका नाममा सिङ्गो पार्टीलाई आफ्नो धारणाअनुसार लैजाने, नभए आफूसहित केही ‘महरा योजना’ मा समाहित हुने प्रक्रियाका क्रममा प्रकाण्डको पक्राउ परिपञ्च रचिएको रहेछ भनेर बुझनुपर्ने हुन्छ । होइन भने 'रातोपाटी'को समाचार बदनियतपूर्ण रहेको भनेर ठोकुवा गर्नुपर्ने हुन्छ । साथै  बिप्लव समूह नयाँ क्रमभङ्गको स्थितिमा रहेको र यसप्रति प्रकाण्डको असहमति भएका कारण उनले पलायनताको बाटो अँगालेको भनेर सडकमा आएको चर्चा सही रहेछ भनेर मान्नु पर्ने हुन्छ ।
 
प्रश्न प्रकाण्ड पक्राउ प्रकरणसित सम्बद्ध नभएर, प्रश्न पार्टीका महत्वपूर्ण निर्णय बाहिर आउनु हो । पार्टीका महत्वपूर्ण योजनासम्बन्धी निर्णयहरू प्रहरीको हातमा पुग्नु बढी गम्भीर विषय हो ।

रातो पाटीको समाचारमा अगाडि लेखिएको छ :

''त्यसैबीच नेकपाका महत्वपूर्ण फौजी योजनासहितका कागजात पनि प्रहरीले प्रकाण्डबाट बरामद गरेको दाबी सो पार्टीको छ । ‘पार्टीका महत्वपूर्ण योजनासहितका कागजात प्रहरीको हातमा पुगे भन्ने नेतृत्वको  निष्कर्ष छ ।’ ती नेताले भने, ‘विगतका केही फौजी कारवाहीदेखि आगामी योजनासम्म चुहिएको आशङ्का छ ।’"

नेकपा-बिप्लवका ती अमुक नेता साँच्चिकै केन्द्रीय नेता हुन् र उनले यी सबै कुरा भनेका हुन् र यी  सही हुन् भने प्रकाण्ड पक्राउ प्रकरणलाई प्रकाण्डको आत्मसमर्पणको एक किसिमको तारतम्य  भन्नु पर्ने हुन्छ । अन्यथा यस किसिमको समाचार पकाशितकर्ता दण्डको भागीदार हुनु आवश्यक छ ।

भिडियो फिचरview all