menu

ताजा समाचार

भाकपा (माओवादी) भन्छ : चीन सामाजिक साम्राज्यवादमा फेरियो

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापनालाई बलियो बनाउन प्रतिक्रान्तिकारीहरूले राज्यका हरेक अङ्गलाई त्यसैअनुरूप ढाल्दै लगे । खास गरेर चिनियाँ कम्युनिस्ट पार्टीको एघारौँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित अधिवेशन १९८१ पछि माओ, माओ पक्षधर र समाजवादी निर्माणका विरुद्धको अभियानलाई तीव्रता दिँदै पुँजीवाद पुनस्र्थापनाको प्रक्रियालाई तीव्र बनाइयो । चीनमा भएको प्रतिक्रान्तिप्रति कमरेड भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ को नेतृत्वमा रहेको नेकपा (चोथो महाधिवेशन) ले सही निर्णय गर्दै चीनमा प्रतिक्रिान्ति भएको घोषणा गर्यो  र पछि कमरेड किरणको नेतृत्वमा  गठित नेकपा (मशाल) ले पनि यसै निर्णयलाई निरन्तरता दियो ।
चीनमा पुँजीवादको स्थापना र क्रान्तिकारीहरूको दायित्वका बारेमा  ‘रिम’ ले गरेको निर्णयप्रति संसारभरिका माओवादी क्रान्तिकारीहरूले ऐक्यबद्धता जनाए ।

आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत चीनप्रतिको धारणामा प्रस्ट नभएको, चीनलाई अझै समाजवादी मानिरहेको अवस्थामा चिनियाँ पुँजीवादी सत्ताको चरित्र, यसको विश्वव्यापी भूमिका र भूमण्डलीकृत प्रभुत्वसम्बन्धी धारणालाई लिएर विश्वका माओवादी क्रान्तिकारीहरूले आफ्नो अध्ययनलाई त्यसतर्फ केन्द्रित गरे । एन.बि टर्नरको पुस्तक ‘इज चाइना इम्पेरियलिस्ट कन्ट्री ? कन्सिडरेसन एनड इभिडेन्स’ यसैको उपज थियो । यसमा चीन नवसाम्राज्यवादका रूपमा विकसित भएको कुरा तथ्य र तथ्याङ्कसहित पुष्टि गरिएको छ ।  विविध कारणवस ‘रिम’ विघटनको स्थितिमा पुगेपछि नयाँ किसिमले क्रान्तिकारीहरूको केन्द्र निर्माणमा लागेका पार्टी, समूह र मञ्चहरूले पनि चीन पुँजीवादी मुलुक मात्र नभएर यो अब सामाजिक साम्राज्यवादमा फेरिएको कुरालाई मे दिवसको सन्दर्भ पारेर सार्वजनिक गरे । यसमा नेपालका तर्फबाट ऋषिराज बरालको संयोजकत्वमा गठित ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ ले सहभागिता जनाएको छ ।

विश्वमा जनयुद्ध चलाइरहेका भारत, फिलिपिन्स र टर्कीका माओवादी पार्टीहरूले पार्टीगत रूपमै चीन सामाजिक साम्राज्यवादमा फेरिएको निर्णय गरेर दस्ताबेजीकरण गरेका छन् । नक्सलबाडी विद्रोहको ५० औँ वर्षगाँठका सन्दर्भमा भाकपा (माओवादी) ले तेलगुमा ‘चिनियाँ सामाजिक साम्राज्यवाद’ शीर्षकमा एउटा लामो दस्ताबेज प्रकाशित गरेको थियो । नक्सलबाडी विद्रोहको ५० औँ वर्षगाँठका सन्दर्भमा भाकपा (माओवादी) ले  गत साल प्रकाशित गरेको महत्वपूर्ण प्रकाशन  ‘पिपुल्स वार’ को एउटा दस्ताबेजमा चिनियाँ सामाजिक साम्राज्यवादका सम्बन्धमा यसो भनिएको छ :
 
''अहिलेसम्मको महाशक्ति अमेरिकी साम्राज्यवाद आफ्नो स्थिति सुदृढ बनाउन प्रयासरत छ । रूसी साम्राज्यवाद आफ्नो प्रभावक्षेत्रलाई कायम राख्न प्रयासरत छ । चीन साम्राज्यवादी मुलुकका रूपमा विकसित भएको छ र विश्वको पुनर्विभाजनका लागि गम्भीर प्रयास गरिरहेको छ । त्यसकारण अमेरिकी महाशक्तिसित यसको अन्तर्विरोध चर्केको छ । विश्वको पुनर्विभाजनका लागि अमेरिका र चीनबीच चर्केको अन्तर्विरोधका कारण भू-राजनीतिक स्वरूपमा विश्वव्यापी परिवर्तन आएको छ ।"

पहिले तेलगुमा प्रकाशित सो दस्ताबेज अहिले पार्टीं स्थापना दिवसका सन्दर्भमा हिन्दी तथा अङ्ग्रेरजीमा पनि प्रकाशित गरिएको छ । नौवटा शीर्षकलाई ७२ पृष्टमा समेटिएको यो सो दस्ताबेजको पहिलो शीर्षक १९४९ देखि १९७६ रहेको छ ।  सो पुस्तकमा “चीनले आफूलाई भूमण्डलीकृत पुँजीवादी-साम्राज्यवादी व्यवस्थामा सामेल गरेको” भन्दै उसलाई “विश्वभरिका श्रवजीवी वर्गको आन्दोलनको दुस्मन” भनिएको छ । दस्ताबेजमा अन्य राष्ट्रलाई हातहतियारको विक्री, अन्य मुलुकको प्राकृतिक स्रोतसाधनमाथि दोहन, अन्य मुलुकमाथि पुँजीवादी राजनीतिक हस्तक्षेप गर्दै आफू अनुकूलको व्यवस्था लाद्न खोज्ने प्रवृत्ति उसका साम्राज्यवादी प्रवृत्ति हुन भनिएको छ । दस्ताबेजमा चीनले अहिले अघि सारेको ‘वान बेल्ट वान रोड’ को सन्दर्भको पनि चर्चा गरिएको छ । त्यसै गरी चीनलाई “अमेरिकी साम्राज्यवादसित भूमण्डलीकृत साम्राज्यवादी प्रतिस्पर्धा गरिरहेको” मुलुक भनिएको छ ।

पहिलेदेखि नै निकै माग भएको यो दस्ताबेज हिन्दी तथा अङ्ग्रेजीमा आएपछि आम पाठकका लागि पनि सहज हुने छ ।

चीनका सम्बन्धमा के भन्छन् नेपालका ‘माओवादीहरू’ ?

वाम नामका सत्ताधारी नव-प्रतिक्रियावादीहरूले चीनको दलाली गरे पनि मार्क्सवाद-लेनिनवाद-माओवाद मान्ने सच्चा क्रान्तिकारीहरूले चिनियाँ सामाजिक साम्राज्यवादी प्रवृत्ति र हालै सि जिपिङले आफूलाई माओको हाराहारीमा राखेर गरेको निर्णयको तीव्र आलोचना गरेका छन् । चीनमा सन् २००८ मा स्थापित भएको माओवादी पार्टीले पनि चिनियाँ पुँजीवाद दलाल पुँजीवादमा परिणत भएको भनेर विश्लेषण गरेको छ ।
नेपालमा कम्युनिस्ट न्युक्लिअस, नेपाल यस बारेमा प्रस्ट छ र उसले निरन्तर रूपमा चिनियाँ सामाजिक साम्राज्यवादको सच्चा अनुहार पाठकसम्म ल्याइरहेको छ । पार्टीभित्रका माओवादीहरूका विरुद्ध सि जिपिङ मण्डलीले कसरी षडयन्त्र गरिरहेको छ भन्ने कुरा पनि बो सिलाई प्रकरणका साथै विभिन्न लेख तथा समाचारमार्फत सार्वजनिक भइरहेको छ । चिनियाँ सामाजिक साम्राज्यवादका सन्दर्भमा सैद्धान्तिक तहमा नेकपा (क्रान्तिकारी माओवादी) प्रस्ट भए पनि व्यवहारमा यसप्रति उसको प्रस्तुति ढुलमुले किसिमको छ । सन्ध्या भाषामा मात्र उसले चिनियाँ सामाजिक साम्राज्यवादको विरोध गर्ने गरेको पाइन्छ ।

भारतसित मिलेर नेपालको भूमि कब्जा गर्ने चिनियाँ  नीति साम्राज्यवादी नीति नै हो । यहाँका क्रान्तिकारी भनिएका कतिपय पार्टीका विद्यार्थीहरूलाई छात्रवृत्ति दिएर चीनमा पठनपाठनको व्यवस्था मिलाएर तथा पार्टीलाई “आवश्यक खर्चबर्चको व्यवस्था” मिलाएर पनि यसले आफ्नो विरुद्धको आवाजलाई मत्थर पार्दै आएको छ ।

नेकपा-बिप्लवले आपना कुनै पनि दस्ताबेजमा चिनियाँ सामाजिक साम्राज्यवादको विरोध, आलोचना र भण्डाफोर गरेको पाइँदैन । बरू उसले ‘चिनियाँ विशिष्टताको समाजवाद’  भनेर  चिनियाँ सामाजिक साम्राज्यवादको दलाली ने गरेको देखिन्छ  । ‘उत्तर-साम्राज्यवाद’ को धारणा, अर्थात साम्राज्यवाद थियो अब छैन भनेर अघि सार्ने बिप्लव समूहको साम्राज्यवाद सम्बन्धी धारणा बुझिनसक्नु र अचम्मको छ । एकातिर चिनियाँ सामाजिक साम्राज्यवादलाई उसले समाजवादी मुलुक भन्छ, अर्कातिर भारतलाई साम्राज्यवादी मुलुक भन्छ, अनि अमेरिकालाई चाहिँ उत्तर-साम्राज्यवादी मुलुक भन्छ । नेपाली क्रान्तिसम्बन्धी धारणाझैँ साम्राज्यवादका सम्बन्धमा बिप्लव समूहका धारणा भ्रमपूर्ण मात्र नभई हाँस्यास्पद पनि छन् ।

एन.बि टर्नरको पुस्तक ‘इज चाइना इम्पेरियलिस्ट कन्ट्री ? कन्सिडरेसन एनड इभिडेन्स’ पुस्तकको पुस्तक परिचय ‘जनमेल’ ले यसअघि प्रकाशित गरिसकेको हो ।अब  ‘चिनियाँ सामाजिक साम्राज्यवाद’ पुस्तक हिन्दी तथा अङ्ग्रेजीमा समेत प्रकाशनमा आएपछि चिनियाँ सामाजिक साम्राज्यवादका सम्बन्धमा पाठकहरूलाई धारणा निर्माण थप सहज हुने कुरामा विश्वाश गर्न सकिन्छ ।
 
 


भिडियो फिचरview all