menu

ताजा समाचार

मार्क्सवादका नाममा मार्क्सवादकै भ्रष्टीकरण, सन्दर्भ ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’

डा. ऋषिराज बराल

 नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण  रामराज रेग्मीद्वारा लेखिएको पुस्तकको नाम हो । पुस्तकको पृष्ठावरणमा उनले आफ्नो परिचय पनि दिएका छन् । यो टिप्पणीकारले उनको नाम र काम यो पुस्तक बजारमा आएपछि मात्र थाहा पाएको हो । उनी अङ्ग्रेजी भाषाका ज्ञाता र तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य पनि रहेछन् भन्ने कुरा उनको परिचय-विवरणबाट थाहा हुन्छ  । अङ्ग्रेजीका ‘विद्वान’ ले  इतिहासको विषयमा चासो देखाउनु र ५५० पृष्ठ को पुस्तक तयार पार्नु राम्रो कुरा हो ।

यो पुस्तकबारे एकाध लिखित टिप्पणी यसअघि पनि प्रकाशित भइसकेका हुन् । आम पाठक, खास गरेर प्रगतिशील पाठकहरूको चासो र आकर्षणको विषयचाहिँ “एक मार्क्सवादी दृष्टिकोण” नै हो । “एक” को प्रयोग नै कस्तोकस्तो लाग्छ, अङ्ग्रेजीको जस्तो नेपालीमा “अ” (एक) को प्रयोग त्यतिसारो गरिँदैन । उनले भूमिकामा, “नेपाली समाजको साँचो इतिहासलाई वैज्ञानिक जगमा उभ्याउने प्रयास गरिएको छ । यस्तो कार्य अथवा इतिहासको यथार्थताको खोजी वर्गसङ्घर्षकै  कडी भएको अनुभूति भएको छ” भनेर लेखेका छन् । यसरी हेर्दा प्रस्तुत पुस्तकलाई उनले मार्क्सवादको वैज्ञानिक जगमा आधारित नेपाली वर्गसङ्घर्षको दस्ताबेज भन्न खोजेको बुझिन्छ । यो पुस्तकमा मार्क्सवादको प्रयोग कति मात्रामा भएको छ, अहिलेको प्रचण्ड–ओलीको समाजवादी खालको मार्क्सवादको प्रयोग भएको छ कि, साँच्चिकै मार्क्सवादको वैज्ञानिक जगमा उभिएर यो पुस्तक लेखिएको छ भन्ने कुरा चाहिँ समग्र विश्लेषणपछि नै थाहा हुन्छ ।


यो टिप्पणीकार ‘इतिहास’ को विद्यार्थी होइन, सम्बद्ध विषयको विद्वान र विशेषज्ञ पनि होइन । यो टिप्पणीकार समाज विकासको इतिहास, उत्पादन इतिहास,  वर्गसङ्घर्षको इतिहासप्रति चासो र अध्ययनमा रूचि राख्ने मान्छे चाहिँ हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा मानव जीवन, उसको सङ्घर्षशील कथा र गााथा, वर्गहरूको उत्पत्ति र विकास, वर्गसङ्घर्षको स्वरूप दिशा र गतिको अध्ययन गरे मात्र सही इतिहासबोध हुन्छ  र यसका लागि इतिहास चेतनाको आवश्यकता पर्छ भन्ने कुरामा यो टिप्पणीकार  विश्वास गर्छ ।

विश्वमा इतिहासलेखनको विषयमा, खास गरेर यसको स्वरूप, आधार तथा पद्धतिका विषयमा सैद्धान्तिक तथा व्यावहारिक तहमा थुप्रै  शोधअनुसन्धान तथा प्राज्ञिक कामहरू भएका छन् । मार्क्सवादीहरूले पनि यसका बारेमा थुप्रै शोधकार्य तथा विचारविमर्श गरेका छन् । मार्क्सवाद र इतिहास लेखनका सम्बन्धमा  एरिक हब्सवब, सिएलआर जेम्स, क्रिस्टोफर हिल, इरफान हबिब, कोसाम्बी, रोमिला थापर आदि नामहरू सबैभन्दा पहिले लिने गरिन्छ । इतिहास लेखनका  पनि थुप्रै विधि र पद्धति छन् तापनि इतिहास भने पछि बितेका घटनाहरूको तारतम्य हो भनेर बुझ्दा, सारतः यो  क्रालक्रममिक विवरणमा नै आधारित हुन्छ ।  प्रस्तुत पुस्तकमा पनि यही विधि अँगालिएको छ ।



यो  पुस्तक आठवटा अध्यायमा लेखिएको छ ।

पहिलो अध्याय ‘प्रारम्भिक काल’ हो । यसमा नेपालको प्राग्मानवदेखि गणराज्यहरूको अवसानसम्मको इतिहास छ । नेपाल प्राग्मानवको आदि थलो र नवपाषाणकालदेखि नै यहाँ मानवबस्ती भएको कुरा उल्लेख छ ।

दोस्रो अध्यययको शीर्षक ‘राजतन्त्रमात्मक लिच्छविकाल’ र यसलाई  सामन्तवादको उदयको चरण भनिएको छ र सन् ४०० देखि सन् ८७८ यसको शासनकाल भनिएको छ । नेपालमा सामन्तवादको उदय  लिच्छविकालबाट भएको र यो काल युरोपली सामन्तवादी कालभन्दा बढी सामन्ती शोषणको काल हो भन्ने ठहर लेखकको छ । यसबेला वर्णश्रम आरम्भ भएको र चार थरी वर्ग राजपरिवार, दरवारिया सामन्त, स्थानीय सामन्त र शोषित जनतामा नेपाली समाज विभाजित भएको भनिएको छ ।

तेस्रो अध्यायलाई  ‘तीन राज्यकाल’ (मध्यकाल) नाम दिइएको छ । यो सन् ८७९ देखि सन् १४८३ सम्मको अवधि हो । उसलाई नेपालमण्डल र वरिपरिको भूगोल तथा राज्यव्यवस्थासित जोडिएको  छ ।  यसलाई नेपालमा सामन्तवादले दरिलो गरी खुट्टा टेकेको अवधि भनिएको छ ।
चौथो अध्यायलाई ‘विखण्डित काल’ र यो इलाकीय सामन्तवादको चरण भनिएको छ । यसको विस्तारको अवधि सन् १४८४ देखि १७६८सम्म भनिएको छ ।  वास्तवमा यो बाइसी-चौबिसी राज्यकाल हो र गोर्खा राज्यको विस्तारमार्फत केन्द्रीकृत नेपाल राज्य निर्माणको अभियान हो ।
पाचौँ अध्यायलाई ‘एकीकृत राज्यकाल’ नाम दिएको छ । यसलाई केन्द्रीकृत सामन्तवादको चरण भनिएको छ र यसको अवधि सन् १७६८ देखि १८४६ सम्म मानिएको छ । यो भनेको नेपालको इतिहासमा सबैभन्दा चासोको अवधि हो र राणाकालको आरम्भ हुनुअघिको इतिहास हो ।

छैटौँ अध्यायलाई ‘राणा शासन काल’ को संज्ञा दिइएको छ र यस अवधिलाई सामन्तवाद र अर्धउपनिवेशको चरण भनिएको छ र यसलाई १८४७ देखि १९५१ को अवधि भनिएको छ । नेपालको इतिहासमा यो सबैभन्दा बढी विवादको इतिहास हो । यो नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको अवधि तथा राणाशासनको अन्त्यसित सम्बद्ध अवधि पनि हो ।

सातौँ अध्यायलाई ‘शक्तिशाली राजतन्त्रात्मक शासनकाल’ नाम दिँदै अर्धसामन्ती र अर्धऔपनिवेशिक चरण भनिएको छ र यसको अवधि सन् १९५१ देखि १९९० सम्म किटान गरिएको छ । यो भनेको २००७ सालपछिको राज्यव्यवस्था, मूलतः पञ्चायती व्यवस्थाको अवधि हो ।

आठौँ अध्यायको शीर्षक ‘संसदीय शासनकाल’ राखिएको छ र यसलाई सिमान्तकृत सामन्तवाद र उपनिवेशको चरण भनेर अवधिका रूपमा सन् १९९० देखि २००६ सम्मलाई लिएको छ । ‘सिमान्तकृत राज्यव्यवस्था’ पदावली आफैँमा विवादास्पद छ । यो भनेको पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष र गणतन्त्र स्थापनाको अवधि हो । यसमा उनले माओवादी जनयुद्धको पनि आफ्नो बुझाइअनुसार चर्चा गरेका छन् ।

सरसरती टिप्पणी

प्राग्ऐतिहासिक कालदेखि अहिलेसम्मको इतिहास लेख्नु आफैँमा एउटा चुनौतीपूर्ण काम हो । सामग्रीहरूको सङ्कलन, केलाइकुलाइ, अध्ययन–संश्लेषण गरेर लिपिबद्ध गर्ने  काम त्यति सहज हुँदैन र छैन । यसमा गहन अध्ययन र इमानदारीको आवश्यकता पर्छ । पाठ्यक्रमका दृष्टिले नेपालको राजनीतिक इतिहास धेरै लेखिएका छन् । सन्दर्भग्रन्थहरूको प्रयोग  र आकार-आयतनका दृष्टिले पीताम्बर यादवको पुस्तकले निकै मेहनत गरेको कुराको सङ्केत गर्छ ।  तर प्रस्तुत पुस्तक नेकपा (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्यले लेखेको र मार्क्सवादमा आधारित भनिएकाले यसप्रति पाठकको विशिष्ट हेराइ र बुझाइ हुनु स्वाभाविक छ ।

पुस्तक पढिसकेपछि प्राविधिक र वैचारिक पक्षप्रति  ध्यान केन्द्रित हुनु स्वाभाविक हुन्छ ।

१. विगतको होस् अथवा वर्तमान, हरेक लेखनमा लेखकको  दृष्टिकोण, हेराइ, बुझाइ, ठम्याइसम्बन्धी सबै प्रश्नहरू जोडिन्छन्, तर हरेक इतिहासकारले विशेष सामना गर्नुपर्ने पक्ष चाहिा वर्तमान नै हुन्छ र उसको परख पनि यसैका आधारमा गरिन्छ । धेरजसो इतिहासकारहरू विगतको बडो उत्साहका साथ चर्चा गर्ने गर्छन्,  केही ‘नयाँपन’ पनि प्रस्तुत गर्न खोज्छन्  ।  तर वर्तमानमा आएपछि भने उनीहरू लल्याकलुलुक हुने गर्छन्  । वर्तमानको कठोर सत्यको सामना गर्न र गलत चिजका विरुद्ध उभिन उनीहरू सक्षम हुँदैनन्  ।  पछिल्ला चरणहरूको चर्चामा रेग्मीमा पनि यही समस्या देखिएको छ । जनयुद्धसम्बन्धी उनको बुझाइ र ठम्याइँमा यो कुरा थप प्रस्टताका साथ प्रदर्शित छ ।
 
२. रेग्मीले थुप्रै सन्दर्भग्रन्थहरू प्रयोग गरेका छन् । यस्ता सन्दर्भग्रन्थहरू नेपाली र अङ्ग्रेजी दुवै भाषाका छन् । तर अति निर्णायक र महत्वपूर्ण स्थानमा पनि उनले गैरमार्क्सवादी विदेशीहरूले लेखेका सन्दर्भग्रन्थहरूको सहारा लिएका छन्, र त्यस्ता कतिपय सन्दर्भग्रन्थहरू नेपालको इतिहासका सन्दर्भमा पूर्वाग्रही र साम्राज्यवादपरस्त मानसिकताद्वारा निर्देशित छन्  ।  उपयोग गरिएका सन्दर्भहरूलाई नकेलाई प्रयोग गर्दा गलत निष्कर्ष निस्कनु स्वाभाविक हुन्छ । सरसरती हेर्दा  हेर्दा रेग्मीमा नेपाली लेखक र ग्रन्थहरूप्रति भन्दा विदेशी ग्रन्थप्रति बढी विश्वास रहेको बोध हुन्छ ।

. विदेशमा पढेको र विदेशी पुस्तक बढी प्रयोग गरेकाले होला रेग्मीले  विक्रम सम्बतको ठाउँमा इस्वी सम्बतको प्रयोग गरेका छन् ।  यसले पाठकलाई सरल र सहज किसिमले बुझ्न गारो परेको छ । इस्वी सम्बतसित नेपाली समाज र ऐतिहासिक घटनाको सन्दर्भ जोड्न नसक्ता पाठक अलमलिन्छ नै । सन् प्रयोग गरे पनि कोस्टमा विक्रम सम्बत राखिदिनु आवश्यक थियो । नेपालको इतिहास सनमा  लेख्नु भनेको विदेशीको लेखनप्रति बढी विश्वास जताउनु हो ।

४. कतिपय ठाउँमा रेग्मीले सारै गलत सन्दर्भहरू प्रयोग गरेका छन् । आफ्नो तर्कलाई स्थापित गर्नुसट्टा  अरूको भनाइलाई अघि सारेर सही र गलत प्रमाणित गर्न खोजेका छन् । यसबाट उनमा नेपालको इतिहासको राम्रो अध्ययन नभएको भन्ने कुरा पुष्टि गर्छ ।  साथै आफ्नो स्वतन्त्र दृष्टिकोण समेत नभएको बोध हुन्छ ।

५. हरेक अध्यायको अन्त्यमा सो अध्यायको सारसंक्षेप दिन सकेको भए पाठकका लागि निकै फलदायी हुन्थ्यो । ठूला अध्यायहरू  एकैचोटि पढ्न नसकिने हुँदा पहिले के पढियो भनेर अलमलिनु पर्ने हुन्छ । सारसंक्षमेपले त्यो समस्या हल गर्छ । साथै पुस्तकको अन्यमा पनि सिङ्गो पुस्तकको सारसङ्क्षेप राख्न सकेको भए अझ राम्रो हुन्थ्यो ।

केही गम्भीर प्रश्नहरू

पुस्तक पढ्दै जाँदा  लिच्छविकालको त्यत्रो वैभवशाली इतिहास कसरी विसर्जन भयो भन्ने जिज्ञासा रहन्छ । तर हामीले बढी चासो राखेको, वैचारिक बहसछलफल गरेको इतिहास चाहिँ बाइसी-चोबिसी राज्य र पृथ्वीनारायणकालीन इतिहास हो । यस पुस्तकमा पनि लेखकले यो इतिहासलाई कसरी प्रस्तुत गरेका छन् भन्ने कुराप्रति बढी चासो हुनु स्वाभाविक छ । यो सन्दर्भ भनेको घटनालाई प्रस्तुत गर्ने सन्दर्भ तथा तथ्याङ्क प्रस्तुतिको प्रश्न मात्र नभएर विश्वदृष्टिकोणको प्रश्न हो ।  यहाँ इतिहासबोध र इतिहास चेतनाको भूमिका प्रधान बन्नु स्वाभाविक हुन्छ ।

पृथ्वीनारायण कालदेखि २००७ सम्म, २००७ देखि २०४६ सम्म र माओवादी जनयुद्धका बारेमा रेग्मीले व्यक्त गरेका धारणबारे यस टिप्पणीकारको पनि विशेष चासो रहेको छ ।
 
. नेपालको सामन्तवाद युरोपेली खालको जस्तो रहेन र भारतीय सामन्तवादको जस्तो पनि रहेन । अझ बाइसी-चौबिसी सामन्तवाद त फरक खालकै रह्यो । पृथ्वीनारायण साहको इतिहासलाई रेग्मीले ‘केन्द्रीकृत सामन्तवाद’ को चरण भनेका छन् । यसको पछाडि भोगौलिक तथा सांस्कृतिक पक्षलाई जोड दिनु स्वाभाविक छ । तर रेग्मीले गोरखा राज्यको विस्तार ‘भौगोलिक एकीकरण’ का सम्बन्धमा कतिपय स्थानमा व्यक्त गरेका धारणा ऐतिहासिक भौतिकवादसित मेल नखाने खालका छन् । उनका भनाइ नेपालको  उत्पादन इतिहाससित पटक्कै मेल खाँदैनन्  । त्यतिबेर भारतमा अङ्ग्रेजी साम्राज्यवादको हैहुकुम नेपालमा टेकेर चीनसम्मको यात्रा तय गर्ने उसको मनसाय र नेपालका अङ्ग्रेजी शासनका दलाल मल्ल राजाहरूको भूमिका जस्ता सन्दर्भलाई रेग्मीले सही किसिमले विश्लेषण गर्न सकेका छैनन् ।

यसमा उनको स्वतन्त्र दृष्टिकोणले भन्दा अङ्ग्रेजी पुस्तक त्यसमा पनि ब्रिटिस लेखकले लेखेका पुस्तकहरूको प्रभावले काम गरेको देखिन्छ । ब्रिटिस लेखक (भारतीय लेखकले पनि ) कहिल्यै पनि  पृथ्वीनारायण शाहप्रति सकारात्मक धारणा राखेनन् ।  नेपालमा पनि अहिले तिनका कारिन्दाले पृथ्वीनारायणप्रति सोही मान्यतालाई आदर्श बनाएका छन् ।  त्यतिबेला पृथ्वीनारायण शाहले चालेका  कदम,  अङ्ग्रेजी साम्राज्यवादलाई नेपाल प्रवेशमा रोक्ने क्रममा गरेका कारबाहीहरू सकारात्मक र प्रगतिशील चरित्रका थिए ।  तर रेग्मीले धेरै ठाउँमा जोड दिईदिई पृथ्वीनारायणले साम्राज्यवादको विरोध राष्ट्रिय स्वाधीनताप्रतिको चिन्ताका कारणले नभएर आफ्नो  राज्य गुम्छ कि, जनतालाई शोषण गर्न पाउँदिन कि भन्ने  भावनाका साथ गरेका हुन् र  राज्यविस्तार व्यक्तिगत  महत्वाकाङ्क्षाद्वारा निर्देशित थियो भनेर पुष्टि गर्न खोजेका छन् ।   यो कुरा तत्कालीन परिस्थिति र वस्तुगत यथार्थसित पटक्कै मेल खाँदैन । पृथ्वीनारायण शाहका सम्बन्धमा साम्राज्यवादका चाकर आइएनजिओवादीहरू र डलरवादी जनाजातिहरूले पनि यस्तै धारणा राख्ने गर्छन् । रेग्मीले अङ्ग्रेज  साम्रज्यवादी आक्रमण   र पृथ्वीनाराययण शाहको गोरखा राज्यको विस्तारलाई एउटै  कोटीमा राखेका छन् ।

उनी भन्छन् :

“केही इतिहासकारहरूले के उल्लेख गरेका छन् भने पृथ्वीनारायण शाहले इस्ट-इन्डिया कम्पनीको गहिरो अध्ययन गरेका थिए । यस संस्थाले व्यापार गर्ने निहुँमा भारतमा आफ्नो साशनसत्ता स्थापित गरेको उनले देखेका थिए । नेपालमा पनि अङ्ग्रेजहरू व्यापारको निहुँमा पसे भने त्यसको आडमा तिनले यसलाई उपनिवेश बनाउँछन् भन्ने उनलाई लागेको थियो । उनको मनमा ‘बाइबलसँगै बन्दुकको कुन्दो पनि भित्रिन्छ’ भन्ने परेको थियो । त्यसै भएर उनले मल्ल कालदेखि काठमाडौँ उपत्यकामा बस्तै आएका पादरीहरूलाई जासुसी गरेको र धर्म प्रचार गरेको अभियोग लगाई निष्कासन गरे र वैदेशिक हस्तक्षेप हुन्छ भनेर आफ्नो राज्यक्षेत्रमा अङ्ग्रेजहरूलाई पस्न नदिने नीति अवलम्बन गरे । यस विश्लेषणलाई नकार्न सकिन्न । तर गाँठी कुरो दुई शक्तिबीचको टकराव थियो । जुनबेला उत्तरी हिमाली भूखण्डमा केन्द्रीकृत सामन्तवादले साना राज्यहरू मास्तै विस्तार अभियान चलाएको थियो, ठीक त्यही बेला भारतमा साम्राज्यवादले रजौटा राज्यहरू मास्तै औपनिवेशिक राज्यको विस्तार गर्दै थियो । दुई विस्तारवादी  स्वार्थ एकआपसमा टकराउनु स्वाभाविक नै हो । ” (पृ.२२९) । 

त्यसै गरी अर्को ठाउँमा उनी लेख्छन् :

''...मुलुकलाई बाह्य सम्पर्कबाट अलग राख्ने उनको विचार वर्गीय स्वार्थमा पनि आधारित थियो । उनी नेपाललाई सधैँ बाह्य हस्तक्षेपबिनाको सामन्ती शोषणामा जकडाई राख्न चाहन्थे, जुन पाटोलाई इतिहासकारहरूले छिपाएका छन् । युरोपेली परिवेशमा सामन्ती शोषण यथावत राख्न जसरी त्यहाँका शासकहरू बाह्य जगत्प्रति अनुदार बन्दथे, उसरी नै पृथ्वीनारायाण शाह र उनका उत्तराधिकारीहरू राज्यका स्रोतसाधनमा एकलौटी अधिकार कायम गर्न अङ्ग्रेज (फिरङ्गी) लाई देशभित्र पस्न नदिने पक्षमा थिए ।” (पृ. उही) ।

यस किसिमको बुझाइलाई कठै भन्नुपर्छ ।

रामराज रेग्मीका माथिका भनाइको अध्ययन गर्दा नेपालको इतिहासको सामान्य ज्ञान भएको व्यक्ति पनि  व्यङ्ग्यले मुस्कुराउँछ । माथिको भनाइको आधारमा रेग्मी ऐतिहासिक भौतिकवाद र मार्क्सवादको सामान्य ज्ञान पनि नभएका व्यक्ति रहेछन् भनेर बुझ्नु पर्ने हुन्छ ।  ससाना राज्यहरूलाई एकत्रित र एकजुट पारेर मजबुत नेपाल राष्ट्र बनाउने र अङ्ग्रेज  साम्राज्यवादको सामना गर्ने अभियान र आफ्नो साम्राज्यमा कहिल्यै सूर्य नअस्ताउने बनाउन गरिने साम्राज्यवादी आक्रमण एकै प्रकृतिका कार्य होइनन् । साम्राज्यवादपरस्त चिन्तनले मात्र यस्तो धारणा राख्छ । रेग्मीले अङ्ग्रेज साम्राज्यवादविरुद्ध सिन्धुलीगढीमा लडेको इतिहासलाई पनि विस्तारवादी गलत अभियान ठहर्याउन खोजेका छन् । उनले  अङ्ग्रेज साम्राज्यवादलाई नेपालमा भित्रिन नदिनुको मूल कारण पनि जनतालवाई  “बाह्य हस्तक्षेपबिनाको सामन्ती शोषणामा जकडाई राख्न” का लागि भनेका छन् । यो  बडो उदेक लाग्दो र दरिद्र चिन्तन हो ।  उनका भनाइमा पछि सुरेन्द्र शाह र र रणबहादुर शाह हुँदै जङ्गबहादुरले जसरी अङ्ग्रेजलाई भित्र्याए, त्यो सही थियो । किनभने उनीहरूले साम्राज्यवादलाई प्रवेश गराउन ढोका पूरै खोलेका थिए  ।

यस्तो उट्पट्याङ र नेपाली राष्ट्रियता विरोधी सोचाइ र बुझाइ साम्राज्यावादका चाकरहरूले मात्र राख्छन् ।

. पृथ्वीनारायण शाहले गरेका सकारात्मक काममा समेत व्यक्तिगत स्वार्थ र विस्तारवादी सोच र शोषणमोह  देखेझैँ महेन्द्रका सन्दर्भमा पनि उनका धारणा त्यस्तै उट्पट्याङ र टपर्टुयाँ खालका  छन् । महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर  अधिनायकवादी एकदलीय पञ्चायती राज्यव्यवस्था आरम्भ गरे । यो पक्ष आलोचनात्मक छ । यसको विरोध गर्नु पर्छ । साथै उनले भारतीय विस्तारवादका विरुद्ध आर्थिक विकास,  भाषिक समृद्धि  तथा राष्ट्रिय स्वाधीनताको पक्षमा चालेका कतिपय कदमहरू सकारात्मक छन् । असङलग्न आन्दोलनको अभियान, पूर्व-पश्चिम राजमार्गको निर्माण, शिक्षालागायत आर्थिक  क्षेत्रमा गरिएको विकास, भारतीय विस्तारवादमाथिको निर्भरता तोडेर चीनसितको सम्बन्ध विस्तार जस्ता कुराहरू सकारात्मक छन् । तर रामराज रेग्मीले महेन्द्र र पञ्चायती व्यवस्थाको विरोध गर्ने नाममा महेन्द्रका हरेक सकारात्मक कार्यमा “पञ्चायती शासन लम्ब्याउने षड्यन्त्र”मात्र  देखेका छन् र भारतीय विस्तारवादप्रति नरम बनेका छन् । आफूले अघि सारेको तर्क पुष्टि गर्न उनले गलत सन्दर्भहरूको सहारा समेत लिएका छन् । उनलाई विश्वकम्युनिस्ट आन्दोलन र सन् ६० र ७० को दशकको अमेरिकी साम्राज्यवाद र यसविरुद्धको विश्वव्यापी अभियानबारे अलिकति पनि ज्ञान रहेनछ भन्ने प्रस्ट हुन्छ ।

उनी लेख्छन् :

“त्यतिबेर अन्तर्राष्ट्रिय परिस्थिति क्रान्ति र परिवर्तनको विपषमा मोडिँदै थियो । बर्मा पाकिस्तान र सुडानमा संसदीय व्यवस्थालाई कुल्चेर सैनिक तानासाहहरूले सत्ता हत्याएका थिए । कङ्गोमा लुबुम्बा, बर्मामा उनु र इन्डोनिसियामा सुकार्नोजस्ता तानाशाहहरूले संसदीय व्यवस्थालाई निमोठेर निर्देशित लोकतन्त्र अवलम्बन गरिरहेका थिए (कार्की २०६५, १६८) । शक्ति हत्याउने महत्वाकाङ्क्षा बोकेका राजाले त्यस्ता घटनाहरूलाई आफू अनुकूल ठाने ...”। पृ. ३८९ ।

एकजना  कार्की नामका लेखकको सन्दर्भ लिँदै  रेग्मीले  लुबुम्बा, नेविन र सुकार्नोलाई तानासाह ठहर्याएका छन् । अनि उनीहरूबाटै  महेन्द्रले शिक्षा लिएर २०१७ सालमा राज्य विप्लव गरे भनेका छन् । यो बडो उदेक लाग्दो र अचम्म माननु पर्ने निष्कर्ष हो । यो ठीक उल्टो बुझाइ हो ।

अमेरिकी साम्राज्यवादका विरुद्ध र जनताका पक्षमा उभिएकाले सुकार्नोको समयका १० लाख इन्डोनेसियाली कम्युनिस्ट समर्थकहरूको  हत्या अमेरिकी साम्रायवादले गरेको थियो र सुकार्नोले आजीवन कारावास भोग्नु परेको थियो । ३ लाखभन्दा बढी कम्युनिस्ट पार्टीका सदस्यको हत्या भएको थियो  । हामी घरिघरि इन्डोनेसियाबात सिक्नुपर्छ भन्छौं । उनले ब्रिटिस तथा अमेरिकी साम्राज्यवादको विरोध गर्दै समाजवादी चीनसित हातेमालो गरेका कारण यस्तो भएको थियो भन्ने कुरा रेग्मीलाई थाहा नहुनु भिन्नै कुरा हो, तर विश्व कम्युनिस्ट आन्दोलन सम्बन्धी सामान्य ज्ञान भएको मान्छेलाई भने  थाहा भएको कुरा हो । पेट्रिस लुबुम्बा  कङ्गोलाई साम्राज्यवादबाट स्वतन्त्र गराउने क्रान्तिकारी  नेता हुन् । उनले अमेरिकी साम्राज्यवादबाट कङ्गोलाई टाढा राख्ने प्रयास गरेपछि सैन्य कु गरेर उनलाई अपदस्त गरेर जेलमा राखियो र  अमेरिकी साम्राज्यवादको निर्देशनमा उनको हत्या गरियो । उनको दोष समाजवादी मुलुकहरूसित सम्बन्ध बढाउनु थियो । ‘पेट्रिस लबुम्बाको अन्तिम पत्र’ भनेर उनले लेखेको कविता आज पनि त्यत्तिकै लोकप्रिय छ । यस्तो नेता कसरी तानासाह  भए ? समाजवाद र  स्वाधीन कङ्गो विरोधीका आँखामा उनी तानासाह भए । अनि रेग्मीजीका आँखामा पनि तानासाह भए, तर न्यायप्रेमी र साम्राज्यवाद विरोधी विश्वजनताका आँखामा उनी जनताका प्यारा नेता भए । बर्माका उ नेविन पनि अमेरिकी साम्राज्यवाद विरोधी र जन पक्षधर सैन्य कमाण्डर थिए । उनले समाजवादी पार्टी खोलेर “बर्माको विशिष्टता बोकेको समाजवाद” को दिशामा अघि बढ्ने घोषणा गरे । सत्ता हातमा लिएपछि स्वास्थ्य, शिक्षालगगायत जनतासित प्रत्यक्ष सररोकार राख्ने कुराहरू राज्यमातहत ल्याए र  निशुल्क गर्नुका साथे सबै उद्योगधन्धा, कलकारखाना राज्यको स्वामित्वमा ल्याए । चीनपरस्त भन्दै पछि अमेरिकी साम्राज्यवादले जुन्टा 'कु'  गराएर नेविनलाई आजीवन कारावास पठायो । उनी पनि कसरी तानासाह भए ? तर रेग्मीजीको मार्क्सवादले जनपक्षधर र अमेरिकी-ब्रिटिस साम्राज्यवाद विरोधी सुकार्नो, लुबुम्बा र नेविन सबैलाई तानासाह देख्यो ।   सारै कमजोर छ रामराज रेग्मीको  बुझाइ र ठम्याइ । यसबाट उनलाई विश्वकम्युनिस्ट आन्दोलनको अलिकति पनि ज्ञान नभएको यथार्थ बोध गर्न सकिन्छ  ।

३. त्यस्तै गलत दृष्टिकोण र बुझाइ माओवादी जनयुद्धका सन्दर्भमा पनि रहेको छ । आठौँ अध्याय  अर्थात् अन्तिम अध्यायमा उनले १९९० देखि २००६ सम्मको राजनीतिक घटनाक्रमहरूको  चर्चा गरेका छन् र यसमा  ‘माओवादी जनयुद्ध’ शीर्षकमा संक्षिप्तमा जनयुद्धको पनि चर्चा गरेका छन्  ।  लेखाइमा जुन किसिमको आज हुनुपर्ने थियो, छैन मन नलागीनलागी लेखेको बोध हुन्छ । नेपालको माओवादी जनयुद्धका सन्दर्भमा आधिकारिक  र भरपर्दो पुस्तक भनेको नेपाली जनयुद्ध  हो र माओवादी  पार्टीका  आधिकारिक दस्ताबेजहरू पनि उपलब्ध छन् ।  तर जनयुद्धका  लागि पनि उनले विदेशी लेखकका पुस्तक बढी प्रयोग गरेका छन् । जनयुद्धका क्रममा जुन कुरा माओवादी पार्टीभित्र निकै  ठूलो विवाद र बहसको विषय भयो,  जुन कुरा एकदमै गलत कदम थियो, जसले माओवादी आन्दोलनलाई विसर्जनको सिथतिमा पुर्यायो, जसको बहुसङ्खयक माओवादी नेता तथा कार्यकर्ताले गलत भन्दै विरोध गरे, त्यसलाई नै रेग्मीले सकारात्मक   र सही निर्णय भनेका छन् ।

उनी लेख्छन् :

“जनयुद्ध सफलतातर्फ लम्कि रहे पनि विसं २०५० को दशकको अन्ततिर साम्राज्यवादको डिजाइनअनुसार नेपाली शासकवर्गले सहरबजारमा साधनस्रोत केन्द्रित गर्ने र गाउँलाई पूरै छोडिदिने नीति लिएका कारण गाउँले क्षेत्रमा आधार खडा गरी सञ्चालन भएको जनयुद्धमा समस्या उत्पन्न भयो । गाउँहरू साधनस्रोतविहीन हुने परिस्थितिबाट माओवादी पार्टी र जनतामाझ अन्तर्विरोध चर्किन थाल्यो । त्यतिखेरको अन्तर्राष्ट्रिय परिस्थिति साम्राज्यवादी शक्तिहरू एकआपसमा मिली भूमण्डलीकृत साम्राज्यवादका रूपमा विभिन्न देशका जनतालाई एउटै हाँडीमा राखेर भुट्न थालेको अवस्था थियो । त्यसकारण कुनै पनि देशको जनआन्दोलन विश्वव्यापी प्रतिरोधको अभिन्न हिस्साका रूपमा अगाडि नबढेसम्म त्यो सफल हुन सक्तैन भन्ने कुरा माओवादी नेतृत्वले महसुस गर्यो   र ...। ” (पृ. ४९४–४९५) ।

यो त जनयुद्धको विसर्जनका लागि प्रचण्ड-बाबुरामले बनाएको कथाको एउटा अंश हो  । सत्य के हो भने, जनयुद्ध रणनीतिक आक्रमणको स्थितिबाट अघि बढिरहेको अवस्थामा प्रचण्ड-बाबुरामले भारतीय विस्तारवादका सामु आत्मसमर्पण गरे र  जनयुद्धप्रति गद्दारी गरेका थिए, सहिदहरूको रगतप्रति खेलवाड गरेका थिए । क्रान्तिकारीहरूलाई भारतमा पक्राउ गराएर, पार्टीमा क्रान्तिकारीहरूको आवाज र उपस्थितिलाई कमजोर बनाएर योजनाबद्ध किसिमले प्रचण्ड-बाबुरामले जनयुद्धको विसर्जन गरेका थिए । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट आरम्भ गरिएको आत्मसमर्पण र विसर्जनको  वैचारिक-व्यावहारिक तयारी चुनवाङ बैठक हुँदै १२ बुँदे सहमतिमा गएर टुङ्गिएको थियो । न त जनमुक्ति सेनाले हारेको थियो,  न त जनताले हारेका थिए ।  नत कार्यकर्ताले नै हारेका थिए । अहिले पनि क्रान्तिकारीहरूले यही मुद्दा उठाइरहेका छन् । यस यथार्थलाई पर राखेर रेग्मीजीले जनयुद्धको बारेमा जे लेखेका छन्, यसबाट उनी प्रचण्डबाट राम्रोसित प्रशिक्षत भएर गद्दारीको लाइनमा उभिएको  प्रस्ट हुन्छ । जनयुद्ध कालभरि यससित कुनै साइनोसम्बन्ध नराखेका रेग्मीले यसो लेख्नु कुनै अनौठो कुरा भएन । तर उनलाई महान् जनयुद्धको विकृतीकरण गर्ने र इतिहासको भ्रष्टीकरण गर्ने अधिकार चाहिं छैन ।
    
जनयुद्धका सम्बन्धमा यस्तै उटपट्याङ कुरा उनले आफ्नो पुस्तकको पृ. ४९९मा पनि लेखेका छन्। उनले भारतीय विस्तारवादका सामु प्रचण्ड-बाबुरामले  गरेको आत्मसमर्पणलाई वसतुस्थितिको सही आकलन र सही कदम भनेर उल्लेख  गरेका छन् । यो सारतः प्रचण्ड-बाबुरामको गद्दारीप्रतिको  साक्षी बकाइ मात्र हो ।

अन्त्यमा,
यो पुस्तक अध्ययन गरेपछि  मार्क्सवाद र इतिहासका नाममा रामराज रेग्मीजस्ता मान्छेहरू कसरी मार्क्सवादको भ्रष्टीकरण र इतिहासको विकृतीकरण गर्दा रहेछन्,  कसरी पाठकलाई ठग्दा रहेछन्  भन्ने कुरा राम्रोसित बुझ्न सकिन्छ ।  किताबको नामसित मार्क्सवाद जोडिए पनि र ठाउँ ठाउँमा मार्क्सवाद सम्बद्ध पदावलीहरू प्रयोग गरिएको  भए पनि समग्र रूपमा र सही अर्थमा यो पुस्तकमा मार्क्सवादी हेराइ-बुझाइ कतै छैन  । पुस्तक प्रचण्ड-ओलीको समाजवादी संस्करणको राम्रो प्रतिलिपि चाहिँ बनेको छ । यस अर्थमा लेखक र प्रकाशक दुवै सफल छन् ।

भदौ २३, २०७५

(jandisha.com बाट )
भिडियो फिचरview all