menu

ताजा समाचार

भारतीय विस्तारवाद र ओली सरकारविरुद्ध कमरेड किरणको खबरदारी

भारतीय विस्तारवादद्वारा निर्देशित प्रकाशनहरूले नेपालको नक्सा आफू खुसी खम्च्याउँने र साँघुर्याउने गरेको कुरा नयाँ थिएन । अब आएर ओली सरकार पनि यसै बाटोमा लागेको कुरा नेपाल सरकारले तयार पारेको नेपालको नक्सा भारतीय स्वार्थअनुरूप तयार पार्नुबाट प्रस्ट हुन्छ । यो खेदजनक र भ्रत्सना गर्नुपर्ने कार्य हो । खास गरेर नेपालको पश्चिम सिमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई कटाएर तयार पारिएको नक्साको विषयलाई लिएर अहिले बौद्धिक क्षेत्र, सीमाविदहरू, पत्रकारहरूका साथै राजनीतिक पार्टीहरूले तीव्र विरोध जनाएका छन् ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले यही भदौ २२ गते वक्तव्य जारी गरी यस किसिमको कार्य आपत्तिजनक कार्य हो भनेका छन् । भारतद्वारा बनाइएको गलत नक्सा नेपालका कार्यालयमा नराख्न भन्दै वक्तव्यमा “भारतद्वारा नियोजित रूपमा यथार्थको निर्लज्ज रूपमा तोडमोड तथा विद्रुपीकरण गरी प्रस्तुत गरिएको नक्सालाई प्रतिबन्ध लगाउन र सरकारी कार्यालयमा त्यस प्रकारका नक्सा राख्नेलाई कारवाही समेत गर्न सरकारद्वारा अविलम्ब कदम चालियोस् भनी हामी जोडदार माग गर्दछौं,” भनिएको छ ।

त्यसै गरी “लिम्पियाधुरासम्मको अखण्ड नेपाली भूभागलाई दर्शाउने गरी अविलम्ब नयाँ नक्सा तयार पार्न र लागू गराउन समेत हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ”  भनेर वक्तव्यमा भनिएको छ ।

कमरेड बैद्यले विस्तारवादी हस्तक्षेप  र राष्ट्रियताको पक्षमा सङ्घर्षका लागि अनुरोध गर्दै भनेका छन् :

“देशको राष्ट्रिय स्वाधीनता तथा अखण्डताका निम्ति कालापानीका साथै सुस्ता, महेशपुर लगायतका देशका विभिन्न भागमा हुँदै आएको भारतीय विस्तारवादी हस्तक्षेप तथा अतिक्रमणका विरुद्ध संघर्ष गर्नु बाहेक हाम्रा सामु अर्को विकल्प छैन । तसर्थ, हाम्रो पार्टी सम्पूर्ण देशभक्त शक्ति तथा जनसमुदायसित विषयको गम्भीरतालाई राम्रोसित आत्मसात् गरी संघर्षको तयारी गर्न विशेष अनुरोध समेत गर्दछ ।”
वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

प्रेसवक्तव्य

दार्चुला जिल्लामा अवस्थित कालापानी नेपालको अभिन्न भूभाग हो । यस भूभागमा एकातिर भारत सरकारले हस्तक्षेप गर्दै आएको छ भने अर्कोतिर हामीले त्यस प्रकारका हस्तक्षेपका विरुद्ध निरन्तर संघर्ष गर्दै आएका छौं । भारत सरकारले तयार गरेको नक्सामा कालापानीलाई नेपालबाट कटाएर भारतमा पारिएको र त्यही नक्सा नेपाल सरकारका कार्यालयहरुमा समेत टाँग्ने गरिएको कुरा प्रकाशमा आएको छ । यो विषय अत्यन्तै विडम्बनापूर्ण तथा आपत्तिजनक रहेको छ । यसबारे सरकारको नापी विभागका महानिर्देशक र विभागीय मन्त्रीले समेत गल्ती भएको स्वीकार गरिएको पाइएको छ ।

यसरी भारतद्वारा नियोजित रुपमा यथार्थको निर्लज्ज रुपमा तोडमोड तथा विद्रुपीकरण गरी प्रस्तुत गरिएको नक्सालाई प्रतिबन्ध लगाउन र सरकारी कार्यालयमा त्यस प्रकारका नक्सा राख्नेलाई कारवाही समेत गर्न सरकारद्वारा अविलम्ब कदम चालियोस् भनी हामी जोडदार माग गर्दछौं ।

ठीक यहींनेर अर्को महत्वपूर्ण विषय के छ भने सन् १८१६ को सुगौली सन्धिद्वारा निर्धारित गरिएको हाम्रो सीमा कालीनदी (अर्थात् महाकाली) को उद्गम स्थल लिम्पियाधुरा हो । यस्तो महत्वपूर्ण विषयमा नेपाल सरकारद्वारा तयार पारिएको नक्सामा पनि उल्लेख नगरिएको कुरा बुझिन आएको छ । अतः लिम्पियाधुरासम्मको अखण्ड नेपाली भूभागलाई दर्शाउने गरी अविलम्ब नयाँ नक्सा तयार पार्न र लागू गराउन समेत हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।

देशको राष्ट्रिय स्वाधीनता तथा अखण्डताका निम्ति कालापानीका साथै सुस्ता, महेशपुर लगायतका देशका विभिन्न भागमा हुँदै आएको भारतीय विस्तारवादी हस्तक्षेप तथा अतिक्रमणका विरुद्ध संघर्ष गर्नु बाहेक हाम्रा सामु अर्को विकल्प छैन । तसर्थ, हाम्रो पार्टी सम्पूर्ण देशभक्त शक्ति तथा जनसमुदायसित विषयको गम्भीरतालाई राम्रोसित आत्मसात् गरी संघर्षको तयारी गर्न विशेष अनुरोध समेत गर्दछ ।

२०७५।५।२२
                                                                                                                                       किरण
                                                                                                                                       महासचिव
                                                                                                  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
भिडियो फिचरview all