menu

ताजा समाचार

ऐक्यबद्धता अभियान जारी राखौं

एक समय भारतमा चलिरहेको नक्सलबाडी आन्दोलनको महत्वपूर्ण अंग्रेजी प्रकाशन र आज पनि अलि फरक धारले चलिरहेको प्रकाशन 'फ्रन्टियर’ को अगुवाइमा मोदी फासिवादले भारतव्यापी रूपमा चलाएको राज्यआतङ्कका क्रममा पक्राउ परेका लेखक, पत्रकार तथा सामाजिक अभियन्ताहरूको रिहाइका लागि भारतीय बुद्धिजीवीहरूले चलाएको अभियानमा सहभागी बन्नु हुने सम्पूर्ण मित्रहरूप्रति हार्दिक धन्यवाद ।

सो अभियानमा नेपालका तर्फबाट 'जनमेल'  ले समन्वयकर्ताको भूमिका खेलेको कुरा  पनि हामी प्रस्ट पार्न चाहन्छौँ । वरवर राव, गौतम नौलखा, सुधा भारद्वाज, वरनान गोन्जाल्विज र  अरूण फरेरा प्रहरी हिरासतबाट छुटे पनि उहाँहरूलाई घरमै नजरबन्द राखिएको छ र यो पनि एक हिसाबले हिरासत नै हो । वरवर रावको घर वरिपरि प्रहरी निगरानी छ र घरका मान्छेबाहेक अरूलाई निवासमा जान दिइएको छैन । यो 'हाउस एरेस्ट’ ६ सेप्टेम्बरसम्मका लागि मात्र हो र त्यसपछि अदालतले गर्ने फैसलाअनुसार हुन्छ । यस अर्थमा रिहाइ अभियान जारी छ ।

बौद्धिक क्षेत्रप्रति भारतीय फासिवादले गरेको आक्रमण र आतङ्कविरुद्ध भारतका प्रगतिशील र वामपन्थी बुद्धिजीवीहरू जसरी एक जुट भए, मजदुर सङ्गठन, विद्यार्थी सङ्गठन, महिला अभियन्ता, मानवअधिकारकर्मीहरू तथा लेखकपत्रकारहरू जसरी एक जुट भए, यो उदाहरणीय रह्यो । बहुचर्चित इतिहासकार रोमिला थापर र मार्क्सवादी चिन्तक प्रभात पटनायकहरू  अदालती बन्दोबस्तीमा सक्रियताका साथ सरिक भए । रोमिला थापरले इन्दिरा गान्धीको समयको इमर्जेन्सीको समयभन्दा पनि खराब स्थिति भनेर टिप्पणी गरिन्  ।  हर्ष ठाकोरलगायतका बुद्धिजिवी  र भारतीय कम्युनिस्ट पार्टी (माले) न्यु डेमोक्रेसीको सक्रियता पनि सह्राहनीय रह्यो । अरू त अरू ज्योति बशुको पार्टी भनेर बढी चिनिने भाकपा (मार्क्सवादी) ले समेत विरोधमा वक्तव्य प्रकाशित गर्यो ।

सिङ्गो भारत यो घटनाबाट प्रभावित भएको देखियो । कोण सभा र विरोध कार्यक्रमहरू आयोजना भए र भइरहेका छन् । युरोप तथा ल्याटिन अमेरिकाका वाम बुद्धिजीवीहरू र पत्रकारहरू मोदी फासीवादको विरोधमा उभिए ।

सत्ताधारीका हनुमानहरू त मोदीको स्वागतमा एकजुट हुनु स्वाभाविक थियो, तर हामी नेपालका प्रगतिशील बुद्धिजीवीहरूमा जुन किसिमको तदारुकता र क्रियाशीलता  देखिनु पर्ने थियो, त्यो हुन सकेन । अभियान सकिएको छैन । हामी नेपाली विशिष्टताको सत्ताआतङ्क भोगिरहेकाहरूका लागि यस किसिमका अभियानहरू चलिरहने छन् र चलाउनु पर्छ । नेपालको ओली सरकारले पनि नयाँ नियम-कानुन बनाउने नाममा सत्ताआतङ्कलाई सहयोग पुग्ने बाटो खोजिरहेको छ र फरक  विचारमाथि दमन गरिरहेको छ । आज खास समूहमाथि गरेको छ र यसपछि यसले अन्य समूहमाथि पनि दमन गर्ने छ भन्ने कुरा प्रस्ट छ । अति महत्वाकाङ्क्षाद्वारा निर्देशत सरकार शङ्कालु र आन्तरिक रूपमा भयभित हुन्छ र उसले विरोधका हरेक मुद्दालाई दबाउँछ । ओली सरकार जुन किसिमले सत्ता र सरकार चलाइरहेको छ, यो बाटो भनेको दमन र आतंककै बाटो हो ।

यस्तो बेला बौद्धिक क्षेत्रले साझा मुद्दामा ऐक्यबद्धता जनाउनु आवश्यक छ । ओली सरकारले चलाएको  राज्य आतंकको स्थिति हेर्दा,  बौद्धिक अभ्यासका लागि एउटा साझा मंचको आवश्यबताबोध भएको छ । समयले ‘राज्यआतङ्क विरुद्ध बुद्धिजीवीहरूको ऐक्यबद्धता अभियान’ जस्ता मञ्चको  खाँचो औँल्याएको छ । अब यसको पहल गर्नु आवश्यक छ ।

भारतका  लेखक-पत्रकार लगायतका बुद्धिजीवीहरूको रिहाइको पक्षमा हामीलाई प्राप्त नाम सबै परिचित नाम हुन् । कसको सम्बद्धता र आबद्धता कतातिर छ भन्दा पनि को यो अभियानमा सरिक भयो भन्ने हाम्रो सरोकार हो । एक थरी ‘क्रान्तिकारीहरू’ भन्दा हामीले अलि बढी गम्भीर सोच राखेका छौँ , संकीर्णतावाद मुर्दावाद ! तर मोदीको फासिवाद देख्दा ओलीको राज्यआतंकतर्फ पनि ध्यान दिनु आवश्यक छ । मोदीको राज्यआतंक त देख्ने तर, ओलीको राज्यआतंकमा सुखभोग गर्ने दोहोरो प्रवृत्ति भने मान्य छैन ।  हामीलाई पछिल्लो समयमा प्राप्त भएका नामको विवरणसहित हामी  सहभागी मित्रहरूलाई धन्यवाद दिन चाहन्छौँ ।

मोदी फासिवादले पक्राउ गरेका लेखक-पत्रकारको रिहाइका लागि नेपालका लेखक-पत्रकार,  प्राध्यापकहरूको ऐक्यबद्धता अभियानमा सहभागीहरू :

डा. ऋषिराज बराल, कवि तथा मार्क्सवादी चिन्तक रोषन जनकपुरी, समालोचक तथा नाटककार, खेम थपलिया, कवि मोदनाथ मरहट्टा, कवि बलराम तिमल्सिना, कवि दिलिप श्रेष्ठ, कथाकार नवीन  विभाष,  कवि विष्णु भण्डारी , कवि खोमातरामु मगर, बुद्धिजीवी  दीर्घ पाण्डे, प्राध्यापक परशुराम कोइराला, प्राध्यापक बासुदेव आचार्य, राजनीतिक कर्मी बिनोद दाहाल, सामाजिक अभियन्ता, बैकुण्ठ दाहाल र  अमृत अधिकारी, लेखक तथा पत्रकार देवेन्द्र तिम्ला,  वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर, वरिष्ठ पत्रकार केदार गौतम , लेखक तथा पत्रकार यादव देवकोटा ,  पत्रकार किरण कर्ण,  पत्रकार जन्मदेव जैसी, साहित्यकार खम्बु चन्द र झपेन्द्र बैद्य, कथाकार रोहित दहाल र साहित्यकार कमल सुवेदी, साहित्यकार लिला पौडेल   र मजदुर नेता ईश्वर तिम्सिना रहेका छन् ।



भिडियो फिचरview all