menu

ताजा समाचार

सिन्धुलीमा प्रगतिवादी साहित्यको खडेरी

                       लिला पौडेल
मैले सिन्धुलीको साहित्यिक क्षेत्रमा उदाउँदै गरेका एकजना स्रष्टालाई तपाईंको  साहित्यको दार्शनिक आधार के हो भनेर सोधेको थिएँ   । उनको उत्तर थियो, साहित्यमा दर्शन नै हुँदैन ।

 अर्का साहित्यकारको मोटो पुस्तक हेरें । त्यसमा राष्ट्रियता सम्बन्धी केही विषयवस्तु बाहेक अधिकांश अर्थात् ९० प्रतिशत जति महिलाको छाला र गालाको प्रशंसामा रचिएका साहित्य थिए । तुलनात्मक रूपमा सिन्धुलीमा केही प्रगतिशील साहित्यकार र साहित्य त प्रकाशन भएका छन्,  तर प्रगतिवादी साहित्यकार नगन्य रूपमा देखिन्छन् । एक समय प्रगतिवादको पक्षमा साहित्य रचना गर्ने साहित्यकारहरु गङ्गा श्रेष्ठ, बलराम तिमल्सिनाहरू  थिए, तर अहिले उनीहरू  प्रगतिवादी मान्यताबाट चिप्लिइसकेको अवस्था छ भने गजलकार अमला अधिकारी र विवस बस्तीका साहित्यहरू प्रगतिवादी त छैनन् नै, प्रगतीशीलसम्म छन् ।

 यहाँ बुझ्नु पर्ने कुरा के हो भने प्रगतिवादी साहित्य भनेको मार्क्सवादमा आधारित साहित्यसम्बन्धी दृष्टिकोण हो । साहित्यमा प्रगतिवादले त्यही अर्थ राख्छ, जुन अर्थ दर्शनको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवाद, सामाजिक-आर्थिक क्षेत्रमा समाजवाद र राजनीतिक क्षेत्रमा साम्यवादले राख्छ । सिन्धुलीको साहित्यको क्षेत्रमा प्रगतिवादलाई आधार मानेर साहित्य रचना गर्ने साहित्यकार दिउंसै बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । के कुरा साँचो हो भने, सिन्धुलीमा मार्क्सवादमा आस्था राख्ने भन्ने श्रष्टाहरू त प्रशस्तै छन्, तर उनीहरूको साहित्य प्रगतिवादी छैन । केहीका रचना प्रगतिशील छन् भने केहीका रचना प्रतिक्रियावादी चिन्तनमा आधारित छन् । प्रगतिवादको मान्यता के हो भने वर्गीय समाजमा साहित्य स्वतन्त्र हुन सक्दैन र स्वतन्त्र भने पनि नभने पनि साहित्य वर्गपक्षधरतामा आधारित हुन्छ । कुनै श्रष्टाले म स्वतन्त्र हुँ र मेरो साहित्य स्वतन्त्र हुन्छ भन्छ भने त्यो साहित्यकार र साहित्य झन् प्रतिकृयावादी हुन्छ । अर्थात्  स्वतन्त्र भन्नु पनि एउटा वर्गदृष्टिकोण हो ।

गैरप्रगतिवादी साहित्य वर्गपक्षधरतामा आधारित नहुने र सबै मानवको कल्याण गर्ने साहित्य हुन्छ भन्छन् भने प्रगतिवादीहरू  मानव हितलाई निरपेक्ष रूपमा लिँदैनन्, उनीहरूका विचारमा मानव समष्टीको हित र विश्वमानव प्रेम कलासाहित्यको प्रयोजन अवश्य हो, तर वर्गविभाजित स्थितीमा वर्गविभाजनले मानव समाजलाई अत्यन्त कटु परिणाम भोग्न विवस पारिरहेका बेला वर्गनिरपेक्ष र समग्र  मानव हित र समग्र मानवतावाद असम्भव कुरा हुन्छ । वर्ग विभाजनको जटिलताले मान्छेमान्छेलाई सम्पन्न र विपन्न, शोषक र शोषित, उत्पीडक र उत्पीडितको चुसाहा र चुसिनेको विरोधयुक्त खेमामा छुट्याइएको बेला र मानवद्वेषी संस्कृतिले शिखर छोइरहको बेला समग्र मानव हितको कल्पना सम्भव नहुने कुरामा मार्क्सवादी चिन्तकहरू  एकमत छन् । 'सर्वे भवन्तु सुखिन' जस्ता पूर्वीय साहित्यका आदर्श वाक्यहरू झट्ट सुन्दा उपयोगी र राम्रो लागे पनि व्यवहारत: ती असम्भव हुन्छन् । किन कि बहुसख्यक उत्पीडित वर्गको हितमा काम गर्दा अल्पसंख्यक उत्पीडकको हित हुन सक्दैन । वर्ग विभाजित स्थिति र वर्गवर्गका बीच परस्पर तीब्र वर्गसङ्घर्ष चुलिइरहेको बेला विचारधाराका अन्य रूपले झैं साहित्यले पनि समग्र मानवको हित नगरी  वर्गविशेषकै हित वा सर्वजन हिताय होइन, बहुजन हितायमा समर्पित हुनुपर्ने हुन्छ । यो प्रसंग सिन्धुलीको  साहित्यको हो र माथि नै भनियो, सिन्धुलीमा प्रगतिवादी साहित्यकार नगन्य छन् ।

 सिन्धुलीमा उमानाथ शास्त्री साहित्य प्रतिष्ठान छ । त्यो साहित्य प्रतिष्ठानको मातहतमा थुप्रै साहित्यकारहरू  छन्  ।त्यो संस्थामा आबद्ध साहित्यकारमा धेरजसो  प्रगतिशील, केही सुधारवादी र केही प्रतिक्रियावादी सोच र चिन्तन बोक्ने साहित्यकार छन्, तर प्रगतिवादीहरू  छैनन् । माथि नै भनियो कि बहुजन हिताय अर्थात् 'सर्वे  भवन्तु सुखिनम्' को दार्शनिक मान्यता बोक्ने साहित्यकारको मात्र भीड छ त्यहाँ । साहित्य कुनै दर्शनलाई आधार मानेर रचिंदैन भन्ने र स्वतन्त्र भन्दै आध्यात्मवादलाई दार्शनिक आधार मान्ने साहित्यकार भएको हुनाले प्रगतिवादसँग त्यसको कुनै सम्बन्ध छैन ।

वर्गीय समाजमा साहित्य पनि वर्गीय हुने कुरा प्रगतिवादी साहित्यको मान्यता हो र प्रगतिवादी साहित्यकारले हरहमेसा शोषित-उत्पीडित वर्गको पक्षमा रहेर साहित्य रचना गर्छ र शोषक वर्गको विरुद्धमा श्रमजीवी जनतालाई जगाउने र शोषक वर्गप्रति घृणा उत्पन्न गर्छ  । सिन्धुलीको साहित्य क्षेत्रमा त्यसको अभाव छ । प्रगतिवादी साहित्यले भन्छ, वर्गीय  समाजमा कुनै साहित्यकारले आफू र आफ्नो साहित्यलाई सबैको साझा साहित्य भन्छ भने, त्यो साहित्यकार सारत: शोषक बर्गको साहित्यकार हुन्छ । विडम्वना त के छ भने सिन्धुलीका आफूलाई साहित्यकार भन्न रुचाउने मान्छेहरू  साहित्यमा प्रगतिशील र प्रगतिवाद भनेको के हो भन्ने सामान्य बुझाइमा पनि प्रस्ट देखिदैनन् । आफूलाई समाज परिवर्तनको पक्षधर भन्न रुचाउने, तर साहित्य लेखनमा मायापिरती र  आँखा र गाँजलको वरिपरि नै रहेर साहित्य रचनाको नाममा कागजको नास गर्ने साहित्यकारहरू बग्रेल्ती छन् । आफूलाई समानताको पक्षधर र साम्यवादलाई आदर्श मान्ने भन्ने मान्छे साहित्यमा भने सबैको साझा निवर्गीयता  भन्न रुचाउनेहरूको भीड  सिन्धुलीको साहित्य क्षेत्रमा बग्रेल्ती छ । सिन्धुलीमा साहित्यगोष्ठी पनि भएको सुनिन्छ, तर समाजका अन्याय र अन्धविश्वासलाई हटाउन द्वन्द्वात्मक भौतिकवादलाई दार्शनिक आधार मानेर वर्गसङ्घर्ष  नै समाज परिवर्तनको आधार हो भनेर चिन्तनमनन गरेको चाहिं पाइंदैन । नितान्त आफ्नो उपस्थिति देखाउन र साहित्यको नामबाट प्रचारित हुने नियतले साहित्यिक  कार्यक्रमहरू  गरेको पाइंन्छ ।

 सिन्धुलीमा प्रगतीवादी साहित्यकारको अभाव हुनुको कारणले नै जिल्लाका वामपन्थी आन्दोलनका अगुवाहरूको सांस्कृतिक रूपान्तरण नभएको यथार्थलाई खण्डन गरेर वैज्ञानिक र जनवादी संस्कृति निर्माणमा साहित्यकारहरूले कलम चलाएको पाइंदैन । सिन्धुलीको कम्युनिस्ट आन्दोलनमा अग्रणी र क्रान्तीकारी भूमिका निर्वाह गरेका एस.वि.राई र ऋषि देवकोटा आजादको पक्षमा साहित्यिक  रचना गरेर प्रगतिवादी साहित्यमा लागि परेको पाइंदैन बरु, कम्युनिस्ट आन्दोलनबाट विचलित भएका बासुदेव श्रेष्ठको प्रशंसा गरेको पाइन्छ । बासुदेव श्रेष्ठको पक्षमा लेख्नै नपाइने भन्ने होइन  । द्वन्द्वात्मक भौतिकवादलाई आत्मसात गर्ने प्रगतिवादी साहित्यकार हुने हो भने समाजिक परिवर्तनमा योगदान पुर्याउने अर्थात्, साम्यवादी समाज निर्माणमा लागेको योद्धा र सहिदको पक्षमा साहित्यिक  रचना प्रकाशित गरेर गाउँघरका जनतालाई प्रशिक्षित गर्ने र समाज परिवर्तनमा भूमिका खेल्ने काम गर्नु आवश्यक छ  । यो काम अत्यन्त नगन्य मात्रामा देखिन्छ । सिन्धुलीको साहित्यिक  क्षेत्र अत्यन्तै भद्रगोल र खिचडी खालको छ । 'कम्युनिस्ट घोषणापत्र' र गरुण पुराणको पुस्तकलाई समान रूपमा हेर्ने अर्थात् गरुण पुराण पनि ठीक  'कम्युनिस्ट घोषणापत्र पनि' ठीक भन्ने अझ 'कम्युनिस्ट घोषणा पत्र' लाई भन्दा गरुण पुराणलाई आफ्नो ठान्ने गन्जागोल साहित्यिक  व्यक्तित्वहरू  छन् यहाँ । प्रतिक्रियावादी सत्ताको विरोध र त्यसको घ्वंश नचाहने, प्रतिक्रियावादी सत्ताभित्रैबाट सबैलाई राम्रो होस्, भलो होस् भन्ने  अर्थात् माथि  भनिएजस्तो 'सर्वे भवन्तु सुखिनम्'  भन्ने आध्यात्मिक  चिन्तनबाट उनीहरूले साहित्य रचना गरेको पाइंन्छ ।

 कुनै राष्ट्रिय व्यक्तित्वलाई हेर्ने प्रश्नमा सिन्धुलीका साहित्यकारहरूमा आलोचनात्मक दृष्टिकोण पाइंदैन । आफूलाई मार्क्सवादी भन्ने अथवा प्रगतिवादी भन्न रुचाउनेहरू गैरप्रगतिवादी सहित्यकारलाई  द्वन्द्वात्मक तरिकाले नहेरेर एकमनारू पमा प्रशंसा नै प्रशंसा  गरेको पाइन्छ । उदाहरणका लागि साहित्यकार भानुभक्त आचार्यको सन्दर्भमा भन्न सकिन्छ । अन्य  जिल्लामा जस्तै सिन्धुलीमा पनि भानु जयन्ती मनाइंन्छ ।
वर्गीय  समाजमा साहित्य पनि वर्गीय हुने कुरा माथि नै भनियो । त्यसकारण प्रगतिवादी कोणबाट भानुभक्तलाई कसरी हेर्ने भन्ने हुन्छ । कुनै पनि व्यक्तिका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । वर्गीय समाजमा साहित्य पनि वर्गीय  हुने भएकोले भानुभक्तको साहित्य त्यो समयको सापेक्षतामा कुन वर्गको पक्षमा थियो, त्यसको आधारमा हेनुपर्ने हुन्छ । भानुभक्त आचार्यलाई प्रगतिवादी कोणबाट हेर्ने हो भने उनले आफ्नो समाजका द्वन्द्वहरूलाई कतिहदसम्म सम्बोधन गरेका थिए भनेर हेर्नु पर्ने हुन्छ भानुभक्तको जीवनकालमा नेपालमा ठूलाठूला नरसंहार र सत्ता विप्लव भएका थिए । शाह राजाहरूको शासनसत्ताको ठाउँमा राणा वंशको  शासन स्थापित भएको पाइन्छ । १९१० शालमा मुलुकी ऐन घोषणा गरेर जङ्गबहादुरले आफ्नो सत्तालाई संस्थागत गरेको र राज्यसत्तालाई सांस्कृतिक रूपमा हिन्दूकरण गरेको पाइंन्छ । तर भानुभक्तको साहित्यमा यस प्रकारको तत्कालीन यथार्थ प्रतिबिम्बित भएको पाइंदैन । कोतपर्व र अन्य सत्ता विप्लव वा नरसंहारबारे भानुभक्त बोलेको पाइंदैन l १९१० सालमा मुलुकी ऐन घोषणा हुनेबेला भानुभक्त आफैं  कुमारी चोक अड्डामा व्यस्त भएको पाइन्छ । जङ्गबहादुर राणाले मुलुकी ऐनबाट संस्थागत गर्न खोजेको संस्कृतिक हिन्दूकरणलाई साहित्य लेखनबाट बलियो पार्न खोजेको देखिन्छ । यसर्थ भन्न सकिन्छ : भानुभक्त तत्कालीन सत्ताको आंगिक बुद्धिजीवी थिए । तर सिन्धुलीका साहित्यकारहरू  आफूलाई प्रगतिवादी नै भने पनि भानु जयन्ती मनाउंदा भानुभक्तलाई एकमना किसिमले प्रशंसा र पूजा गरेको पाइंन्छ । मार्क्सवादी कोणबाट हेर्दा उनका सकारात्मक भन्दा नकारात्मक पक्ष बढी पाइन्छन् ।

अन्त्यमा, सिन्धुलीमा प्रगतिवादी साहित्यकार छैनन् भन्नुको मतलव हाल सिन्धुलीमै रहेर प्रगतिवादी साहित्यमा भूमिका खेल्ने साहित्यकार छैनन् भन्न खोजिएको हो । सिन्धुलीकै बासिन्दा काठमाडौँमा  रहेर राष्ट्रियरूपमै प्रगतिवादी साहित्यमा ठूलै योगदान पुर्याएका डा. ऋषिराज बराल, प्रोल्लास सिन्धुलीय, लगायतका साहित्यकारहरू  छन्, तर सिन्धुलीमै रहेर प्रगतिवादी साहित्यमा कलम चलाउने छैनन् । कसैलाई आफू प्रगतिवादी साहित्यकार भन्ने लागेको छ भने आफ्नो रचनासहित आउनु पर्यो । प्रगतिवादी साहित्यकार हुने मापदण्ड के हुनु पर्छ, त्यसको पनि ख्याल गर्नु आवश्यक छ । साहित्य क्षेत्रका कतिपय मान्छेमा प्रगतिशील भनेकै प्रगतिवाद हो भन्ने बुझाइ छ भने त्यो भ्रमबाट मुक्त हुनु आवश्यक छ । प्रगतिवादी साहित्यकार हुनका लागि जुनसुकै विधामा भए पनि मार्क्सवादी विश्व दृष्टिकोण भएको साहित्यिक रचना हुनु पर्दछ  ।

०००
(भाषा सम्पादनसहित : http://sindhulisaugat.com/big-news/68222)
भिडियो फिचरview all