menu

ताजा समाचार

इन्द्रबहादुर राई, ऋषिराज बराल र रूपेश शर्माहरू

ऋषिराज बराल 
विश्वविद्यालयका मास्टरहरू र सरकारी प्रज्ञा प्रतिष्ठानहरूले मार्क्सवाद र प्रगतिवादका नाममा मार्क्सवाद र प्रगतिवादको टाउको तल र खुट्टा माथि पारेर लिनुसम्म हुर्मत लिएको स्थिति देखेपछि केही त लेख्नै पर्यो  भनेर ‘नेपाली समालोचनाको इतिहास-शृङ्खला र मार्क्सवादी समालोचना’ शीर्षकको आलेखको तयारीमा लाग्नु आवश्यक ठानेँ । मूल आलेखको एउटा उपशीर्षक ‘भारतीय नेपाली समालोचना र वैचारिक सङ्घर्ष’ रहेको छ। नेपालका साथै भारतीय नेपाली मार्क्सवादी समालोचकहरूले  मार्क्सवादका विरुद्ध प्रतिध्रुवीय क्षेत्रबाट भए/गरेका भ्रमपूर्ण चिन्तनविरुद्ध सङ्घर्ष गरेका छन् । भारतीय नेपाली मार्क्सवादी समालोचनामा गणेशलाल सुब्बादेखि पछिल्ला प्रतिभाशाली समालोचक रूपेश शर्माले गरेको वैचारिक सङ्घर्षको  दरिलो इतिहास हाम्रा सामु उपस्थित छ ।

‘तेस्रो आयाम’ का सन्दर्भमा रत्न बान्तवाहरू र ‘लीला लेखन’ र उत्तरआधुनिकतावादी विभ्रमका विरुद्ध पछिल्लो पुस्ताले गरेको वैचारिक सङ्घर्षसम्बन्धी रचनाहरूको जोरजाम गरिरहेको बेला मेरो हातमा हिजोका दिनमा इन्द्रबहादुर राईसितको वैचारिक सङ्घर्षका क्रममा बद्रीनारायण प्रधानको रचना ‘श्री इन्द्रबहादुर राईको कमिन्टमेन्ट’ र युवा पुस्ताका प्रतिभाशाली समालोचक रूपेश शर्माको लेख ‘इबरा, बहस र साहित्यमा  सम्भावनाको प्रश्न’ का  प्रतिहरू  हात परे । पहिलो आलेख राईको लेख ‘साहित्यको अपहरण : मार्क्सवादिक प्रतिबद्धता’ को वैचारिक खण्डन थियो भने दोस्रो लेख राईको निधनपछि उठेका प्रश्नहरूप्रतिको प्रतिटिप्पणी हो ।

यो सँगै धेरै अगाडि करिबकरिब २० वर्षअघिका परिदृश्यहरू मेरा सामु उभिए–कति घतलाग्दो विगत !

त्यतिबेर सायद अहिले पनि, भारतीय नेपाली साहित्यमा इन्द्रबहादुर राईका विरुद्ध साहित्यकारहरू हत्तपत्त लेख्नबोल्न चाहँदैनथे र चाहँदैनन् । जोखिम ब्यहोर्नु हुन्थ्यो । उनको आड दिएर आफूलाई चर्चामा ल्याउन चाहनेहरूको सङ्ख्या पनि कम थिएन । कतिपय त भारतीय नेपाली साहित्य भनेको इन्द्रबहादुर राई, इन्द्रबहादुर राई भनेको भारतीय नेपाली साहित्यसमेत भन्न पछि पर्दैनथे ।

जनयुद्धका आरम्भका दिन थिए । म भूमिगत भइसकेको अवस्था थिएन । दार्जिलिङमा ‘अखिल भारत नेपाली विद्यार्थी सङ्घ’को राष्ट्रिय सम्मेलन थियो । दिल्लीबाट वामदेव क्षेत्रीहरू पनि  आएका थिए ।  नेपालबाट पद्य्मरत्न तुलाधर, शक्ति लंसाल लगायत म पनि आमन्त्रित थिएँ । बोल्नका लागि पात्रहरू हेरेर  विभिन्न शीर्षकहरू छुट्याइएका थिए । दार्जिलिङ क्षेत्रका समाजसेवी र साहित्यकार पनि अतिथिका रूपमा आमन्त्रित थिए । अतिथिमा इन्द्रबहादुर राई र लख्खिदेवी सुन्दास पनि हुनुहुन्थो ।

इन्द्रबहादुर राईसित मेरो पहिलो देखादेख त्यहीँ भएको थियो । त्यतिबेर भर्खरै ‘गरिमा’ को समालोचनाको विशेषाङ्कमा राईको लीला लेखनबारे मेरो समालोचना ‘लीला लेखन अर्थात फर्मुलाबद्ध लेखन’ प्रकाशित भएको थियो ।  दार्जिलिङ क्षेत्रका साहित्यकारहरू प्रशंसाबाहेक आलोचनाको एक शब्द पनि सुन्न चाहँदैनन् भनेर मैले सुनेको थिएँ । यो कुरा मैले भारतीय कम्युनिस्ट पार्टी (सिपिआइ) सम्बद्ध लेखक मोहन दुखुनको प्रतिक्रियाबाट भोगेको पनि थिएँ । आजभोलिका रिकुटे प्राध्यापक-समालोचकहरूले मार्क्सवाद विरोधीहरूलाई पनि प्रगतिवादी भनेर लेखेझैँ मोहन दुखुनले मोहन कोइरालालाई समेत प्रगतिवादी भनेर लेखेको पढेपछि मलाई निकै छटपटी भयो र मैले ‘दार्जिलिङ क्षेत्रको प्रगतिवाद र मोहन दुखुनको प्रगतिवाद’ शीर्षकमा एउटा लेख लेखेँ ।  ‘भानु’ साहित्यिक पत्रिकामा प्रकाशित यो लेखपछि मोहन दुखुनको प्रतिक्रियाका बारेमा त्यस क्षेत्रका साथीहरूबाट जान्नेसुन्ने मौका पाएको थिएँ ।

नेपालमै पनि  एक थरीले ‘नयाँ’, ‘विशेष’ भनेर फूलबुट्टा भरिहेको अवस्था र बुझे पनि नबुझे पनि लीलावादी हुन रहर गर्नेहरूको जमात देखिन थालेको अवस्थामा आएको मेरो लेख ‘लीला लेखन अर्थात् फर्मुलाबद्ध लेखन’ ले दार्जिलिङ क्षेत्रलाई तरङ्गित पार्नु स्वाभाविक थियो । अझ त्यसअघि नै मेरो पुस्तक ‘मार्क्सवाद र उत्तरआधुनिकतावाद’ प्रकाशित भइसकेको थियो । विचारमा भिन्नता भए पनि म उहाँलाई सम्मान गर्थेँ । दार्जिलिङमा भएको भेटघाटमा राई र मबीच दोहोर संवाद भएन । उहाँमा संवादप्रति रुचि नभएको मैले बोध गरेँ । कार्यक्रममा बोल्ने अतिथिमा लख्खिदेवी सुन्दासको पनि नाम थियो । मञ्चमा मेरो नाम लिँदै बोलाएपछि  लख्खिदेवीले मलाई अनौठो गरी हेर्नुभयो । हामीबीच चिनापर्ची  थिएन ।  पछि लख्खिदेवीले “लीला लेखनबारे लेख्ने तपाईँ नै हो” भनेर सोध्नुभयो र मैले हो भनेपछि उहाँले भन्नुभयो : “ चांडै नै तपाईँ निकै चर्चित हुनुभयो ।” म ४५ नाघ्न  थालेको व्यक्ति थिएँ, सानै त थिइनँ ।  मेरो लेख चर्चामा आउनका लागि लेखिएको नभएर लीला लेखनका नाममा प्रचारित विभ्रमका विरुद्ध वैचारिक सङ्घर्ष मात्र थियो । त्यस क्षेत्रमा चर्चामा  आउने कुरालाई निकै ठूलो पौरख ठानिँदो रहेछ भन्ने कुराचाहिँ मलाई अनुभूत भयो ।

कहिले पारिजातको स्मृति कार्यक्रमका सन्दर्भमा, कहिले विशेष साहित्यिक कार्यक्रमका सम्बन्धमा र कहिले भाषा दिवसका सन्दर्भमा जनार्दन थापालगायतका मित्रहरूले मलाई बोलाइरहनु हुन्थ्यो । भाषा दिवसमा त लाइभ भाषण र सांस्कृतिक कार्यक्रमहरू हुन्थे रातभरिजसो । म त्यताका प्रगतिशील लेखक–साहित्यकारहरूसित परिचित थिएँ र बन्धुत्व बोध पनि थियो हामीमा । राईजस्तो ‘हस्ती’ लाई चुनौती दिन सक्ने ‘हस्ती’ बनेको थिएँ म । भिन्नै आत्मीयता र अपनत्व थियो मप्रति त्यहाँका साथीहरूको । त्यो भिन्नै समय थियो, अर्कैअर्कै  दिनहरू थिए  ।

२०५२ मा प्रकाशित मेरो पुस्तक ‘मार्क्सवाद र उत्तरआधुनिकतावाद’ उत्तर बङ्गाल विश्वविद्यालयका विद्यार्थीहरूलगायत दार्जिलिङ क्षेत्रका साहित्यकारहरूबीच चर्चाको विषय बनेको थियो । मोहन पी. दाहाल उत्तर बङ्गाल विश्वविद्यालयको नेपाली विभागको प्रमुख हुनुहुन्थ्यो । त्यसै गरी अहिलेका चर्चित मार्क्सवादी समालोचक रूपेश शर्मा र त्यतिबेला विद्यार्थी नेतासमेत रहेकी सरश्वती महरा स्नातकोत्तर नेपालीका विद्यार्थी थिए ।

उत्तर बङ्गाल विश्वविद्यालयको नेपाली विभागले एउटा विशेष सङ्गोष्ठी गर्ने निर्णय गरेर त्रिवि नेपाली विभागलाई आमन्त्रित गर्यो  ।  कार्यपत्रसहित विशेष निम्तोमा जानेमा वासुदेव त्रिपाठी, घनश्याम कँडेल मोहनराज शर्मा र म परेका थियौँ । मेरो भागमा ‘सौन्दर्यशास्त्रीय दृष्टिकोणमा समकालीन नेपाली गद्याख्यान’ शीर्षकमा कार्यपत्र लेख्ने जिम्मा परेको थियो र खुसीको कुरा यो कार्यपत्रको टिप्पणीकारका रूपमा इन्द्रबहादुर राईको नाम थियो  । सबैको जिज्ञासा बरालको कार्यपत्र र राईको टिप्पणीप्रति नै थियो । राईको टिप्पणीसँगै विद्यार्थीहरूबाट पनि जिज्ञासा र प्रश्नहरू ममाथि नै थिए । विद्यार्थीहरू पनि दुई भागमा विभाजित भएजस्ता भए–राई पक्षधर र बराल पक्षधर । मैले नेपाली आख्यान  र इन्द्रबहादुर राईको लीलालेखनबारे तीखै टिप्पणी गरेको थिएँ कार्यपत्रमा  (यो कार्यपत्र मेरो पुस्तक समाज र साहित्यमा सङ्कलित छ ) । राईले कार्यपत्रबारे लामै र वैचारिक टिप्पणी गर्नु होला, वैचारिक छलफल होला, छलफल रोचक होला भन्ने  लागेको थियो । छलफल रोचक त भयो, तर अर्कै किसिमले । उहाँ मूल विषय, साहित्यिक-समालोनात्मक विषयमै प्रवेश गर्नुभएन । आमनेसामने बहसमा आउने बानी र अनुभव रहेनछ उहाँसित ।  उहाँले खुद्रामसिना कुरा गर्दै  भन्नुभयो : “कम्युनिस्टहरू सुकिलो भन्दा फोहोर मन पराउँछन्, गुलाफभन्दा हिलोमा खेल्न मन पराउँछन् ।” साहित्यिक माहौल राजनीतिक माहौलमा फेरियो । सन्दर्भ कम्युनिस्ट र गैरकम्युनिस्टमा फेरियो । ''मैलै बुझेको जानेको राईज्यूबाट मैले प्रस्तुत गरेको कार्यपत्रमाथि यति हलुका टिप्पणी आउला भनेर कल्पना पनि गरेको  थिइन" बाट प्रति टिप्पणी आरम्भ गरें र  भनेँ : “ कम्युनिस्टहरू सामन्त र पुँजीपतिहरूभन्दा फरक हुन्छन्,  उनीहरू श्रममा विश्वास गर्छन्, माटोमा खेल्न रमाउँछन् । ”

वातावरण अर्कै किसिमले तात्यो । मेरो कार्यपत्र र मेरो प्रतिटिप्पणीले राईलाई निकै घोचेको अनुभूति भयो । उहाँको अनुहार नै अर्कै भएको थियो । पहिलो कुरा त त्यसै पनि यो चासोको विषय थियो, फेरि त्यस क्षेत्रमा, त्यत्रा विद्यार्थीका सामु त्यसरी राईका विपक्षमा टक्कर लिएर बोलेको हुनाले उपस्थित प्राध्यापकहरू तथा विद्यार्थीका लागि मात्र नभएर यो चर्चा विश्वविद्यालय बाहिर पनि पुग्यो ।  बेलुका त्यतिबेला सिलगढीबाट प्रकाशित हुने नेपालीभाषीबीच लोकप्रिय दैनिक ‘सुनचरी’ का सम्पादकले मसित कुराकानी गरे । रूपेशजीले ‘इबरा साहित्य र सम्भावना' मा ''कार्यक्रम सकिएको लगत्तैपछि बरालले इन्द्रबहादुर राईका लेखनविरुद्ध एउटा लेख ‘सुनचरी’मा छपाए" लेख भन्नुभएको रहेछ, त्यो लेख नभएर कुराकानी थियो । कुराकानी लामै थियो र मेरो कार्यपत्र र राईको टिप्पणीमा केन्द्रित थियो । मैले भनेको थिएँ : “लीला लेखन सडकमा देखाउने चटकेको खेलजस्तै हो । चटकेले पहिले धेरै भूमिका बाँधेर मान्छेलाई आकर्षित गर्छ, मान्छे जम्मा गर्छ र अन्त्यमा गएर अमुकअमुक रोगको अचुक औषधी भन्दै काठको कुहेको धुलो अथवा लिदी पोको पारेको पुरिया बिक्री गर्छ । मान्छेहरू मख्ख परेर औषधी भन्दै लिन्छन् । त्यस्तै भ्रम हो लीला लेखन पनि ।” यो प्रसङ्ग सबैभन्दा बढी चर्चाको विषय बनेको थियो ।

भोलिपल्ट विहान कार्यपत्र सन्दर्भ र मेरो भनाइ ‘सुनचरी’ को ब्यानर समाचार बनेको थियो भँगेराटाउके अक्षरमा ।  त्यस क्षेत्रका हस्ती मानिने इन्द्रबहादुर राई सहभागी कार्यक्रममा, बासुदेव त्रिपाठीहरू सहभागी कार्यक्रममा कम्युनिस्ट ऋषिराज बराल प्रमुख चर्चाको विषय बन्नु अनौठो कुरा थियो नै ।  त्यहाँको सामाजिक-साहित्यिक संसार तातेको थियो ।

प्रशंसा मात्र सुन्न मन पराउने राईमा फरक मत राख्नेहरूप्रति असहिँष्णुता रहेछ भन्ने चाहिँ मेले राम्रोसित बुझेँ ।

इन्द्रबहादुर राई बित्नुभयो । रूपेशजीको लेखले पुरानो घटनाको सम्झना गराएकाले अनुभवलाई अनुभूतिमा ताजा बनाएको मात्र हुँ ।  रूपेशको टिप्पणी ‘इबरा, बहस र साहित्यमा  सम्भावनाको प्रश्न ' खरो मात्र नभएर चुनौतीपूर्ण पनि छ । नयाँ पुस्ताका ऊर्जावान सर्जकहरूको एउटा मोर्चा युवा समालोचकहरूको वरिपरि छ भन्ने पनि मेरो बुझाइ हो । ‘सिर्जना र दृष्टि’ मार्फत रूपेशले समकालीन भारतीय समालोचना, त्यसमा पनि मार्क्सवादी समालोचनाका युवा कमान्डर हुनुको परिचय दिएका छन् । तर इन्द्रबहादुर राईमा बाँचेको प्रतिमोर्चा भने यतिखेर खालीखाली,  शून्यशून्य देख्छु म । यसको पीडा अवश्य पनि भएको हुनुपर्छ ।

000
भिडियो फिचरview all