menu

ताजा समाचार

बन्दी माओवादी नेता कमरेड अजिथको स्वास्थ्योपचारप्रति सरकारी व्यवहारको सर्वत्र निन्दा

जेलमा रहेका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सम्बद्ध नेताहरूमध्ये सबैभन्दा वरिष्ठ नेता कोन्नाथ मुरलिधरन अर्थात कमरेड अजिथको स्वास्थ्योपचारप्रति सरकारी उदासीनतालाई लिएर मानवअधिकारवादीहरू, सामाजिक कार्यकर्ताहरू, परिवारका सदस्यहरू र माओवादी आन्दोलनका शुभचिन्तक तथा समर्थकहरूले गम्भीर चासो व्यक्त गर्नुका साथै सरकारी नीतिप्रति आलोचना र निन्दा प्रकट गरेका छन् । ६४ वर्षीय अजिथ  मुटु र छाती लगायत थुप्रै किसिमका बिमारीबाट पीडित हुनुहुन्छ ।

कमरेड अजिथ नामले चर्चित कोन्नाथ मुरलिधरनलाई  मुटुको उपचार गरिरहेको समयमा पुणेभन्दा ३० किलोमिटर परको टालेगाउँ धवादा भन्ने ठाउँबाट ८ मे, २०१५मा वहाँको सहयोगीका साथ गिरफतार गरेर ‘अनलफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट’ अन्तर्गत जेलमा राखिएको छ । सन् २०१६ मा छातीमा पीडा भएर अस्पताल लगेपछि, वहाँलाई अहिलेसम्म अस्पताल लगिएको छैन ।  जेलमा उचित स्वास्थ्योपचार नगरिने, समयमा औषधी उपलब्ध नगराउने, बाहिर लगेर उपचार गर्न पनि नदिने भएपछि मानवअधिकारवादीहरू तथा परिवारका सदस्यले औषधी उपचारको व्यवस्था गर्न र जमानतमा रिहाइ गर्न याचिकासमेत दर्ता गरेको भए पनि जेलप्रशासन र सरकारले यसप्रति अलिकति चासो देखाएको छैन ।

वहाँको स्वास्थ्योपचार तथा रिहाइलाई लिएर बहुचर्चित बुद्धिजीवीहरू नोम चोम्स्कीलगायत, पार्थ चटर्जी, गायत्री स्पिवाक, जुडिथ बटलर जस्ता थुप्रै प्राध्यापक तथा विद्वानहरूले संयुक्त वक्तव्यमार्फत जेलप्रशासन तथा भारतीय सरकारमाथि दबाब दिएका छन् । 

कमरेड मुरलीधरन भाकपा (माले) नक्सलबारीका प्रमुख नेता तथा त्यसबेलाको ‘रिम’ कमिटी ‘कोरिम’ को सक्रिय सदस्यका साथै ‘कम्पोसा’ को पनि सक्रिय सदस्य हुनुहुन्थ्यो । वहाँ 'रिम' को प्रकाशन ‘ए वल्र्ड टु विन’ को हिन्दी तथा अङ्ग्रेजी संस्करणको सम्पादक टोलीमा पनि हुनुहुन्थ्यो । सन् २०१४ मा भाकपा (माओवादी) र भाकपा (माले) नक्सलबारीबीच पार्टी एकतापछि वहाँ भाकपा (माओवादी) को पोलिटब्युरो सदस्य हुनुका साथै प्रकाशनको क्षेत्रमा महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो । पार्टीभित्र बौद्धिक र अध्ययनशील नेताका रूपमा स्थापित र कमरडे अजिथको पुस्तक ‘ल्यान्ड, कास्ट एन्ड सर्विच्युड’ निकै महत्वपूर्ण पुस्तक हो । त्यस्तै क्रान्तिकारी पार्टी, अमेरिकका नेता बब अभाकियनको ''न्यु सिन्थेसिस' को चिरफार गरेर लेखिएको पुस्तक 'अगनेस्ट अभाकियानिज्म ' पनि असाध्यै चर्चित पुस्तक हो l 

पछिल्लोपल्ट उहाँको छाती दुख्ने  र स्वासप्रश्वास लिन पनि गारो पर्ने समस्या निकै बढेपछि उपचार गर्न र जमानतमा रिहाइका लागि चौतर्फी आवाज उठे पनि अदालतको आदेशबिना, सरकारी निर्णयबिना केही गर्न नसकिने भनेर जेलप्रशासनले भनेपछि यो विषय अहिले सर्वत्र चासोको विषय बनेको छ । सरकार प्राध्यापक साइबाबा तथा कमरेड अजिथलाई औषधी उपचारबाट वञ्चित गराएर जेलमै हत्या गर्न खोजिरहेको छ भनेर बौद्धिक तथा सामाजिक कार्यकर्ताको तहबाट व्यापक विरोध भएको छ ।

भिडियो फिचरview all