menu

ताजा समाचार

जनक्रान्ति सम्भव छ

विनोद दाहाल
समाज वर्गीय छ र दुई  भागमा विभाजित छ । शोषक वर्ग र शोषित वर्ग शासक र शासित वर्गका रूपमा रहेका छन् । शोषक र शासक वर्गले आफ्नो साम्राज्य खडा गरेर बर्बरताको पराकाष्टको रूप देखाएको छ । शोषित तथा शासित समुदायको विशाल पंक्ति सर्वहारा हुन तथा कठोर श्रममा लाग्न वाध्यता आइलागेको छ । शासनव्यवस्थाले मानव सभ्यतालाई नै कुरूप बनाएको छ । सर्वहारा तथा शोषितपिडित श्रमजिवी समुदाय सँधैको अभाव र तनावसँग सङ्घर्ष गर्दागर्दै शोषक र शासितको साम्राज्यवादसँगै जुध्न वाध्य भएका छन् । यो जीवनमरणको सङ्घर्षमा शोषक वर्गले जति नै दमन गरोस्, अन्ततः सर्वहारा तथा शोषित-पीडित श्रमजिवी जनताले जित्नुको कुनै बिकल्प नै छैन। किन कि उनीहरूसँग गुमाउनका लागि बाँकि केही छैन, तर शोषक वर्गको लागि लुटको सिङ्गो संसार नै छ । यही निर्णायक सङ्घर्ष नै जनक्रान्ति हो । र, यही जनक्रान्तिको चेतना नै सबैभन्दा महान् र उच्च चेतना हो । अहिलेको बस्तुगत अवस्था र चेतना जहाँतहीं सलबलाइरहेकोले कुनै पनि बेला जनक्रान्तिले मुर्त रूप लिने निश्चित छ । बेलाबेला विशेष ठाउँहरूमा यसले  आफ्नो रूप देखाइरहेकै छ ।

जनक्रान्तिको लागि कार्यदिशाको सवाल मुख्य हुन्छ । कार्यदिशाबिनाको जनक्रान्ति विद्रोहको रूप मात्र हुन्छ । जनक्रान्तिको लागि आधार ठीक छ कि छैन भनी बुझ्नका लागि बिद्रोहहरू कति भएका छन् भनी मापन गर्न सकिन्छ । पटकपटकाका बिद्रोहहरू  भएका समाजमा जनक्रान्तिको वस्तुगत अवस्था ठीक छ भनी सहजै बुझ्न सकिन्छ । राज्यसत्ता नियन्त्रणमा लिनका लागि न्यूनतम कार्यक्रमसहितको नीति निर्माण गर्नु सचेत ढङ्गले पहलकदमी लिएको भन्न सकिन्छ । यही नै जनक्रान्तिको कार्यदिशा हो । वस्तुगत वर्गविश्लेषणमा आधारित भएर गरिएको यस्तो कार्यदिशाले जनक्रान्तिको सम्भावनालाई नजिक ल्याइदिन्छ । संसारभरि सबै देशमा यो सम्भावना अब धेरै टाढाको र कठिनाइको विषय हैन भन्न सकिन्छ । यसका  लागि समाजहरूको वर्गविश्लेषण गरेर स्थितिलाई उजागर गरिदिन पहल लिनु आवश्यक छ ।
जब कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको मुक्ति यात्रा सुरु भयो, तब शोषक वर्गको अन्त्यको घोषणा पनि सँगै भयो । जब वैज्ञानिक समाजवाद तथा साम्यवादको प्रस्तापना  स्थापित भयो,  तब लुटको संसार भाताभुङ्ग भयो । जब सर्वहारा वर्गीय उच्च चेतना समाज विज्ञानको रूपमा सर्वहारा वर्गको हतियार बनेर आयो, तब सचेतपहलबाट सामाजिक क्रान्ति हुने ढोका खुल्यो । जव सर्वहारा वर्ग सचेतपहलका साथ समाज बदल्नका लागि मैदानमा आयो, तब एउटा नयाँ युगको उद्घाटन भयो । यो नयाँ युग विश्वव्यापी रूपमा सर्वहारा वर्गले शोषक वर्गसँग जुध्दै जनक्रान्ति गर्ने युग हो । यो हरेक देशको राजनीतिक सत्ता बदल्ने नीति निर्माण भएको युग हो । मालेमावादले मानव समुदायलाई यही ऐतिहासिक युगको जिम्मेवारी लिन निर्देश गरेको छ । मानव समुदायलाई यो शोषणकारी वर्गीय नारकीय युगको अन्त्यका लागि सकेसम्मको तागत निकाल्न निर्देशन गरेको छ । विशेषतः सर्वहारा वर्गलाई आफ्नो ऐतिहासिक भूमिका निर्वाहका लागि आह्वान गरेको छ ।

त्यसैले जनक्रान्ति भनेको सर्वहारा वर्गले कम्युनिस्ट पार्टीको माध्यमबाट राज्यसत्ता खोस्ने र आफ्नो मुक्तिको लागि गर्ने सशस्त्र गतिबिधि हो । जनता र बैरीका  बीचमा युद्ध हुने भएकाले जनताको पक्षबाट यसलाई जनयुद्ध भन्दा सही हुन्छ । जनयुद्धकै क्रममा सत्तालाई मजबुत पार्नुपर्ने हुन्छ, त्यसका लागि पार्टीको नेतृत्वमा नियमित जनसेना र मिलिसिया निर्माण गर्नुपर्ने अनिवार्य छ । कतै यसले दीर्घकालीन रूप लिन सक्छ  भने कतै छोटो हुनसक्छ । त्यसैले कम्युनिस्ट पार्टीसँग सेना अनिवार्य रहनु पर्छ  । सेनासहितको कम्युनिस्ट पार्टीले र सर्वहारा वर्गले मात्र सारा शोषित, श्रमजिवी र न्यायप्रेमी जनताको मुक्ति गर्न सम्भव गर्न सक्छ  । सर्वहारा वर्गका लागि जित्नुको कुनै बिकल्प नै छैन । यो सारा शोषित, श्रमजिवी र न्यायप्रेमी जनताको सचेत पहलमा आफ्नो मुक्तिको लागि संसारका सबै देशहरूमा समान ढङ्गले लागू हुने सार्वभौम नियम हो । मालेमावादले यही कुरा सिकाएको छ र यही नै माओवादको सार हो ।

नेपालमा जनयुद्ध विकसित भइरहेको बेला 'रिम' को निर्णय भन्दै सबै देशहरूमा जनयुद्ध सुरु गर्न निर्देशन भएको थियो, भनिन्थ्यो । माओवादीका सबैजसो नेताहरूले यसो भन्नेगरेका थिए । के पनि भनिन्थ्यो भने विशेषतः अमेरिकाको कम्युनिस्ट पार्टीले जनयुद्धलाई व्यवहारिक बनाए संसारभरि  नै जनक्रान्तिको लहर छाउनेछ । माओवादका नीति र निर्णयहरूलाई सबै देशका कम्युनिस्ट पार्टीहरूले व्यवहारमा लगाउने हो भने मात्र पनि विश्वका सबै देशहरूमा जनक्रान्तिको लहर नै आउंनेछ । कुनै पनि शक्ति राष्ट्रबाट कम्युनिस्ट पार्टीहरूले असुरक्षित महसुस गर्नुपर्ने छैन र शोषितपीडित श्रमजीवी जनताले असुरक्षाको महसुस गर्नुपर्ने छैन । जनताको मनोबल उठाउने सबैभन्दा उचित र सही कुरा यही नै हुनेछ ।

सचेत पहल भनेको माओवादी नीतिलाई सही ढङ्गले व्यवहारमा लागु गर्ने प्रश्न  हो । त्यसक लागि आवश्यक तयारी पूरा गरेको पार्टी र त्यसको नेतृत्वमा वर्ग दुस्मनबिरुद्ध निर्णायक धक्का नै हो । वस्तुगत बिश्लेषणको आधारमा मानिसको सचेत पहलमा निर्णायक धक्काले हरेक कुरामा रूपान्तरण सम्भव हुन्छ । सर्वहारा वर्गको लागि राज्यसत्ता कब्जामा लिएर ध्वस्त गर्नु अनिवार्य सर्त हुन्छ । त्यसैले कम्युनिस्ट पार्टी त्यही उदेश्यका लागि अनिवार्य साधन हो । दासताबाट मुक्ति खोज्ने क्रममा सर्वहारा वर्गले यही साधन प्रयोग गरेर वर्गदुस्मन विरुद्ध गर्ने गतिबिधिमा शोषक वर्ग पनि आक्रामक भएपछि हिंसात्मक घटनाहररू हुन थाल्छन् । यी सम्पूर्ण प्रक्रियाहरू भनेको  वर्गसङ्घर्ष हो । यसमा संलग्न वर्गहरूले आफ्नो भएभरको शक्तिको प्रयोग गर्न पुग्छन् । शक्तिको प्रयोग गर्नेक्रममा सर्वहारा वर्गसँग शोषक बुर्जुवा वर्गको केही सिप लाग्दैन । त्यसैले सर्वहारा वर्गले वर्गसङ्घर्षलाई आफ्नो मुक्तिको सही बाटो ठान्ने गरेको छ । त्यसैले वर्गसङ्घर्षबाट काटिएको कम्युनिस्ट पार्टी पनि सारमा कम्युनिस्ट पार्टी रहेको हुँदैन । माओवादलाई आत्मसात नगर्ने, सशस्त्र हुन नखोज्ने अर्थात् जनसेना निर्माणमा उदासिन, जनसत्ताको तयारीमा नरहेका र वर्गसङ्घर्षमा जाने साहस नभएका र अलमल गरिरहनेहररू  सारमा कम्युनिस्ट पार्टी हैनन् । त्यस्ता पार्टीहरूलाई वर्गविरोधीहरूले प्रयोगमा ल्याउने गर्छन् । नेपालका सबैजसो कम्युनिस्ट नामका समूहहरू  यसका उदाहरणहरू हुन । अहिले अन्य देशका सबैजसो समूहहरू पनि त्यस्तै अवस्थामा छन् । माओवादलाई व्यवहारमा उतार्ने हो भने जनक्रान्ति सम्भव छ उन्ने उनीहरूले बुझ्न सकेका छैनन् ।

वर्गदुस्मन मानिसका दिमागबाट जनक्रान्ति हराओस् भन्ने चाहन्छ । वर्गदुस्मनले दिमागमा गोबर भरिदिएका कतिपय मानिसहरू  जनक्रान्तिलाई अनावश्यक र असान्दर्भिक भएको बताउंछन् । सही ढङ्गको राजनीतिक व्यवस्थासँग सरोकार नराख्ने र राख्ने क्षमता नभएकाहररू जनक्रान्तिलाई हाउगुजी बुझ्ने गर्दछन् । सामान्य जनता वर्गसङ्घर्षलाई व्यवहारमा नलगीकन दासताबाट मुक्त हुने सवाल बुझ्न सक्दैनन् । आशलाग्दो अवस्था नदेखुञ्जेल मानिसमा दासता सहेर बस्ने आदत बनेको हुन्छ । आफ्नो पक्षमा जब वलिदान हुन सुरु हुन्छ, तब सर्वहारा र श्रमजीवी जनसमुदाय जुर्मुराएर उठ्न थाल्छन् । त्यसैले कम्युनिस्ट पार्टीले यस्तो अवस्था सृजन गर्न आफूलाई हमेसा तयारीमा राखेका हुन्छन् । कुन कम्युनिस्ट पार्टी हो वा हैन भनेर छुट्याउन यसलाई आधार मान्नु पर्दछ ।

मानिसहरूले व्यवहारबाट शिक्षा लिएका हुन्छन् । कम्युनिस्ट नीति र सिद्धान्त पनि जनताले कम्युनिस्टका व्यवहार हेरेर सिक्ने हो । करिब पौने २०० वर्षको कम्युनिस्ट आन्दोलनका सकारात्मक र नकारात्मक दुवै  स्थितिबाट जनताले कम्युनिस्ट शिक्षा पाएका छन् । नेपालको सन्दर्भमा पनि यही स्थिति हो । बेलाबेलाका वर्गसङ्घर्ष र पटकपटकका वर्ग दुस्मनसँगका सम्झौताबाट दुबै खालका शिक्षा पाएका छन् । वर्गसङ्घर्षका घटनाहरूले सर्वहारा श्रमजीवी जनतालाई आशाका उज्याला दीप बालेका छन् भने सम्झौतामा अन्त्य भएका आन्दोलनहरूले तीनै मनहरूलाई निराशाका अँध्यारा कोठामा थन्क्याइदिएका छन् । त्यसैले वर्गसङ्घर्ष सर्वहारा विश्वविद्यालय हो, यसले सर्वहारा वर्गलाई दीक्षित बनाउँदै लान्छ भने सम्झौतावाद वर्गदुस्मनको सर्वहारा वर्गको विरुद्धको खतरनाक  हतियार हो, यसलाई निर्ममतापूर्वक दमन नै गर्नु पर्दछ । त्यसैले निश्चित रूपमा भन्न सकिन्छ कि सही ढङ्गले वर्गसङ्घर्ष  सञ्चालन गर्न सक्ने सर्तमा जनक्रान्ति जुनसुकै देशमा सफलतामा पुग्ने निश्चित छ ।
अहिलेसम्मको शिक्षाले नेपालको सन्दर्भमा दृढताका साथ भन्न सकिन्छ कि प्रचण्ड-बाबुरामको बिसर्जनलगत्तै वर्गसङ्घर्षलाई व्यावहारिक रूप दिएको भए आजको स्थिति निश्चितै रूपमा हुने नै थिएन । अझै पनि वर्गसङ्घर्षलाई उठाउनुको सर्वहारा श्रमजिवी वर्गसँग कुनै अर्को बिकल्प छैन ।
जनक्रान्ति सफल पार्नका लागि कम्युनिस्ट पार्टीको सही वैचारिक-राजनीतिक कार्यदिशा भनेको वर्गदुस्मनको राज्यसत्ता ध्वस्त पर्ने उपरोक्त नीतिहरूलाई व्यवहारिक रूप दिएर सम्झौताहीन सङ्घर्षमा आफूलाई होम्नु हो । यो अनिवार्य सर्त हो । न्यूनतम लक्ष्यप्राप्तिका लागि रणनीति तथा कार्यनीति तयार गर्ने कार्य कम्युनिस्ट पार्टीको न्यूनतम अभिभारा हो । यसबाट कुने पनि बाहानामा टार्ने नियत भएपछि त्यस्ता नेतृत्वले जनक्रान्तिको जिम्मेवारी पूरा गर्ने हैसियत राख्दैनन् । नेपालको सन्दर्भमा पनि यही हो । विद्यमान अवस्थाका कुनै पनि कम्युनिस्ट नामका पार्टीहरूले जनक्रान्तिको अभिभारा पूरा गर्न सक्दैनन् । माओवादलाई आत्मसात गर्ने प्रश्नहरूमा यी पार्टीहरूले आफूलाई अक्षम साबित गरिसकेका छन् । माओवादप्रति अस्वीकृती जनाउँनेहरू त  भैहाले, माओवादी हौं भन्ने केही पार्टीहरूले पनि माओवादलाई नयाँ बस्तुगत परिस्थितिका नाममा, अर्थात् मरणासन्न साम्राज्यवादलाई उत्तर भैसकेको नाममा, आफूले अन्तरसङ्घर्षमा देखाएको कमजोरीका  कारण पार्टी विसर्जनवादमा पुग्दा जोगाउन नसकेको कुरा ढाकछोप गरिरहेका छन् । यसै  नियतभित्र क्रान्तिलाई  अब दूर विषय बनाएका छन् । कुनैले रातो झण्डा उठाउनेसम्ममा आफूलाई सिमित गरेका छन् । निर्णायक धक्काको क्रमबाट गुज्रन उनीहरूले हिम्मत देखाएका छैनन् । उनीहरूले भनेझैं न साम्राज्यवाद उत्तर भएको छ न त माओवाद नै । माओवादको आत्मसातीकरणमा देखिएको समस्यासँग जुधेर निर्णायक धक्का दिने कार्य अब नयाँ पुस्ताले गर्नुपर्छ । सचेत सर्वहारा अग्रदस्ताले माओवादी आन्दोलनको पुनर्गठन गरी दलाल पुँजीवादको नेतृत्वमा रहेको प्रतिक्रियावादी राज्यसत्तालाई जनयुद्धको निर्णायक धक्का हान्नु नै अहिलेको आवश्यकता हो । यो सचेत नयाँ पुस्ताका जवानहरूको नितान्त आवश्यकता र सम्भव रहेको नजिकको कार्यभार हो । यो सुझबुझका र अति गोपनीयताका साथ सम्पन्न गर्नुसँग जनताको भविष्य जोडिएको छ ।

यसमा केही समस्याहरू  पनि छन् —धक्काले हुने क्रमभङ्गता पछिका आवश्यक नीति र योजना पहिलै निर्माण गर्नु । यसलाई सुरक्षित जमघटमा सीमित गर्नुमा वैज्ञानिक हुन्छ भन्न सकिन्छ । आफ्नो वर्गलाई जमघट हुनसक्ने गरी वर्गसङ्घर्ष चर्काउने  अर्को चुनौती क्रान्तिकारीका सामु उपस्थित  छ । मनमा गढेर बसेको पार्टीभित्र अवसरवाद पलाउनु, सामान्य मानिस जब हैसियत कायम गर्छ, उसमा शासकीय स्वभाव पलाउनु, मानिसमा र रूपान्तरणको समस्या जटिल बन्नु पनि प्रश्न बनेर खडा भएका छन् । यसका लागि नीति र विधि पनि निर्माण गर्नुपर्ने अनिवार्य आवश्यकता छ,  तर गो जनक्रान्तिमा गौण पक्ष हो । अहिलेसम्म निर्माण भएका विकसित नीति र विधिलाई कार्यान्वयनमा लैजान जनयुद्धका बेला चुकेको स्थितिलाई यतिबेला मनन गर्नुपर्छ, किन कि माथि उल्लेखित कुराहरू समस्याहरुका आधार हुन् । सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले संगठनात्मक तथा फौजी नीतिहरू  व्यवहारमा लाने कुरामा नै सबैभन्दा बढी जोड दिनु पर्दछ, यसलाई एउटा व्यक्तिको दिमागमा कैद हुन दिनुहुन्न । यसरि अगाडि बढ्न सके जनक्रान्ति टाढाको विषय हुन सक्दैन ।

असार ७, २०७५


भिडियो फिचरview all