menu

ताजा समाचार

कमरेड चित्रबहादुर आलेका 'जीवनका पाइलाहरू' भित्र प्रवेश गर्दा

ऋषिराज बराल
नेकपा-विप्लव नजिक प्रकाशन ‘रातो खबर’ ले नेकपा (चोथो महाधिवेशन) देखिका नेता कमरेड चित्रबहादुर आलेको जीवनसङ्घर्षका विविध पाटाहरूलाई 'जीवनका पाइलाहरू'  शीर्षकमा प्रकाशनमा ल्याएको छ । अहिले ३ वटा शृङ्खला मात्र प्रकाशनमा ल्याएको भए पनि यसले नेपालको कम्युनिस्ट आन्दोलन खासगरेर विक्रमको ३० र ४० को दशकको कम्युनिस्ट आन्दोलनलाई बुझ्न निकै सघाउ पुर्याउँछ । मोहनविक्रम, निर्मल लामा, जयगोविन्द साह र ऋषि देवकोटाको  राजनीतिक-वैचारिक-व्यावहारिक पक्षलाई जान्नका साथै त्यसबेलाको वर्गसङ्घर्ष, खास गरेर जनकपुर अञ्चलको कम्युनिस्ट आन्दोलनलाई बुझ्न निकै सघाउ पुग्छ ।

प्रकाशित शृङ्खला कच्चा सामग्री अर्थात्,  भाषालगायत वाक्य विन्यासमा सम्पादन नभएको सामग्री हो । यसले परिमार्जन र परिष्कृतताको माग गर्छ । तर,  यसमा व्यक्त विचारहरू हिजोका मात्र नभएर आजका पनि विचार हुन् । यस अर्थमा यस शृङ्खलाको ऐतिहासिक महत्व छ । यसमा सुरुमा आलेको सङ्क्षिप्त जीवनीको चर्चा गरिएको  छ र त्यसपछि दुईलाइन सङ्घर्षको चर्चा छ । यस क्रममा 'भकारीफोर' अभियानदेखि २०३६ साल चैत्र २४ को जनकपुर जनसभाको समेच चर्चा छ ।

यो शृङ्खलामा केही नाम, ठाउँ र सन्दर्भहरूसित आफ्नो पनि नजिकको साइनो भएकाले व्यक्तिगत रूपमा पनि यो मेरो चासो र सामीप्यबोधको विषय बनेको छ । ती ठाउँमा भएका कतिपय घटनाहरू ‘किसाननगर’ लगायत अन्य कथाहरूमा मैले समेटेको छु, जुन “गाउँको कथा भन्छु है त” मा सङ्कलित छन् ।

कमरेड आलेको कमरेड ऋषि देवकाटाप्रति असाध्यै श्रद्धा रहेको देखिन्छ । आजाद वर्गसङ्घर्षलाई उच्चतातिर लान चाहनुहुन्थ्यो र त्यसैअनुसार सङ्गठन र सङ्घर्षका कार्यक्रम लैजान जोड गर्नुहुन्थ्यो, तर नेतृत्वको उच्च तहमा रहेका मोहनविक्रम र निर्मललामाले कहिल्यै पनि यसका लागि पहल गरेनन् भनेर आलेले प्रस्ट पार्नुभएको छ । वहाँले भन्नुभएको छ :

''आजादले सशस्त्र सङ्घर्ष गर्नुपर्छ, बन्दुक उठाउनुपर्छ भनर प्रेरित गरिरहनुहुन्थ्यो । सैन्य तालिमको आयोजना भइरहन्थ्यो । तत्कालीन ब्युरो सदस्य प्रेमबहादुर रानाको घरमा छापा मार्न सेना पुग्यो । रानालाई जनताले खोसेर लगे, सेनाले जंगलमा गोली चलायो । गोली चलाउँदा प्रेमबहादुरका भतिज कृष्णबहादुर रानालाई गोली लाग्यो । उनको घटनास्थलमै सहादत भयो । सेनाले मृतकको लास लिन खोजेको थियो, तर जनताले सेनालाई लास लिन दिएनन् । शाही सेनाले महिलाहरूलाई कुटपिट  गर्नुको साथै  संगीनले घोच्यो । प्रहरीले  भीष्मबहादुर खड्कालाई गिरफ्तार गरेर लगेको थियो । धनुषा, जमुनीवास पुगेपछि (रातुखोला पारि) जनताले प्रहरीको वाहन घेरा हालेर खड्कालाई खोसे, घन्टौंसम्म एकातिर पञ्चायती सेना, प्रहरी र जासुस अर्कोतिर निहत्था जनता रक्तपातपूर्ण सङ्घर्ष डटे । जनताको जित भयो । यस्तो निहत्था जनताको बलिदान हेरेर त्यसलाई उठाउन पार्टीलाई फौजीकरण गर्नुपर्छ भन्ने धारणामा  कमरेड आजादको हुन्थ्यो, तर पार्टी नेतृत्व त्यसको लागि तयार थिएन ।"

देवकोटालाई साथ दिन नसकेकोमा कताकता पश्चाताप पनि देखिन्छ आलेमा ।  यी शृङ्खलामा  सिन्धुलीको वर्गसङ्घर्षको चर्चा गर्ने क्रममा त्यतिबेलाका सिन्धुलीका सेक्रेटरी कमरेड ईश्वरी दाहालसम्बद्ध सन्दर्भहरू पनि छन् । 'सिन्धुली काण्ड' शीर्षकमा बडो महत्वपूर्ण सन्दर्भ छ र यो सन्दर्भ कमरेड ईश्वरी दाहालको आत्म जीवनी “सङ्घर्षका पाइला” मा पढ्न पाइँदैन ।

प्रकाशित शृङ्खलामा नारायणकाजी गिरिराजमणि, विश्वनाथ साहको पनि चर्चा छ । नारायणाकाजी षड्यन्त्रकारी र महत्वाकाङ्क्षी पात्र हुन् र उनले निर्मल लामाप्रति पनि षड्यन्त्र गरेर आफू नेतृत्वमा आएका हुन् भन्ने कमरेड आलेको भनाइ छ ।  लेखिएको छ : '' भेलामा चर्को आलोचना भएपछि नारायणकाजीले लामालाई जनकपुरकै लक्ष्मण रानाको घरमा लगेर अघोषित बन्दी बनाएको लामाको गुनासो भयो । 'साथीहरूले त भनेका थिए– सर्पलाई दूध खुवाए जस्तो भयो'– निरास निर्मल लामा आफ्ना निकट सहयोगीसँग भन्ने गर्थे ।"

अहिलेसम्मको लेखाइमा एउटा नाम बराबर आएको छ–अमृत ठकुरी । सिन्धुलीबाट मोरङको शनिश्चरेमा बसाइँ सरेका अमृत ठकुरी हुन् कि अरू कोही हुन् भन्न सकिन्न, पक्कै उनै हुन् भन्ने चाहिँ लाग्छ । २०४६ को जनआन्दोलनपछि मोरङमा नेकपा (मशाल) को वैधानिक मोर्चा “नयाँ जनवादी मञ्च” गठन गर्ने क्रममा त्यतिबेर मशालका तर्फबाट पूर्वको राजनीति हेर्ने कमरेड असारेले अमृत ठकुरीको नाम लिनुभएको र कमरेड गौरवले पनि उहाँको नाम लिएपछि लेटाङ, मङ्गलबारेका साथीहरूसहित  मशालको किसान मोर्चा निर्माण गरेका थियौँ । आलेले उल्लेख गर्नुभएको अमृत वहाँ नै हो अथवा अर्कै भन्ने कुरा पछि थाहा होला ।

मेरो व्यक्तिगत रूपमा कमरेड आलेसित दोहोरो सम्बाद नेकपा-माओवादीभित्र अन्तर्विरोध चर्केको बेला कमरेड विप्लवको नेतृत्वमा बनेको आन्तरिक समूहको दोस्रो बैठकमा भएको थियो । पहिलो बैठकमा वहाँसहितको समूह सहभागी थिएन ।

२०४७ सालमा नेकपा (एकताकेन्द्र) बनेपछि र पूर्वमा पनि पार्टी एकतालाई मूर्त रूप दिएपछि प्रशिक्षणको कार्यक्रम राखिएको थियो । त्यतिबेर पूर्वमा निर्मल लामा, आले, निनु, राम कार्की, असारे कमरेड आउनुभएको थियो । चौमका नेता मात्रै बढी आए भनेर निकै टीकाटिप्पणी भएको थियो । हामीलाई चित्रबहादुर आले निर्मल लामाको सबैभन्दा  नजिकका र खास मान्छे भनिएको थियो र लामाजीप्रति हाम्रो त्यति सकारात्मक धारणा नभएकाले आलेजीप्रति पनि हामी मोटो मशालका समर्थक तथा कार्यकर्ताहरूमा त्यति सकारात्मक धारणा थिएन । 'विप्लव आन्तरिक समूह'  को भेलामा उहाँहरूको उपस्थिति र  कुरा रखाइपछि नै म  उहाँप्रति प्रभावित भएको हुँ ।

कमरेड आलेको अभिव्यक्तिको समग्र शृङ्खला व्यवस्थित किसिमले प्रकाशित हुनु आवश्यक छ । जसले यो कामको थालनी गर्नुभएको छ, वहाँ धन्यवादको पात्र हुनुहुन्छ र यसलाई छिटोभन्दा छिटो पुस्तकाकार दिनु आवश्यक छ ।  त्यसपछि नै यसबारे विस्तृत रूपमा चर्चा गर्नु सान्दर्भिक  हुन्छ । पढ्नेहरूलाई सजिलो होस् भनेर ‘रातोखबर’ मा प्रकाशित कमरेड आलेको सङ्घर्षगाथाको सबै  शृङ्खला,  भाषा सम्पादनसहित हामीले  janamel.com को ‘इतिहासबाट’ शीर्षकमा राखेका छौँ ।


भिडियो फिचरview all