menu

ताजा समाचार

बैद्य र विप्लवभन्दा विपरीत धारमा उभिए मोहनविक्रम : अब नयाँ किसिमको ध्रुवीकरण

नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको सन्दर्भलाई लिएर विभिन्न पार्टी र राजनीतिक विश्लेषक तथा टिप्पणीकारहरूले आआफनो दृष्टिकोण र बुझाइका  आधारमा व्याख्या, विश्लेषण र संश्लेषण गरेका छन् । क्रान्तिकारी धारका भनेर चिनिएका पार्टीहरू तथा राजनीतिक विश्लेषकहरूले मार्क्सवादी कोणका साथ यो एकताको विश्लेषण गर्दै, यो एकता, एकता नभएर माकेको एमालेमा विलय भएको  र यसले यथास्थितिवादलाई ने पृष्ठपोषण गर्ने भएकाले यो एकता क्रान्तिकारी शक्तिहरूका लागि चुनौती र अवसर दुवै हो भनेका छन् । उनीहरूले क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणमा  जोड दिँदै वामपन्थका नाममा प्रतिक्रियावादमा पतन भएकाहरू सङ्गठित भएझै क्रान्तिकारीहरूको पनि केन्द्र बन्नु/बनाउनु पर्ने कुरामा जोड दिएका छन् । यसरी धारणा व्यक्त गर्नेहरूमा कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-विप्लव रहेका छन् ।

कम्युनिस्ट न्युक्लिअस, नेपालले प्रस्टताका साथ भनेको छ :

''माओवादी नाम राखेर प्रतिक्रियावादी चिन्तन र व्यवहारको प्रयोग गर्दै माओवाद र माओवादी  आन्दोलनकै बदनाम गरेको र जनतामा भ्रम उत्पन्न गरिरहेको अवस्थामा माके र एमालेबीचको एकतापछि “वामपन्थी”, “कम्युनिस्ट” भनेर उनीहरूले भ्रम उत्पन्न गर्ने दुस्प्रयास गरि नै रहनेछन् तापनि माओवाद र माओवादीका नाममा जनतालाई भ्रमित पार्ने कार्यको एउटा पाटोको भने अन्त्य हुने छ । यस अर्थमा एमाले(माके  एकता स्वागतयोग्य छ भन्नुपर्छ । उनीहरूले  क्रान्तिकारी वामपन्थीहरूलाई सिध्याउन आफूहरूसित भएका सबै किसिमका शक्ति, साधन र स्रोत, पार्टीगत र सत्तागत दुवै  रूपहरूको प्रयोग  गर्न सक्छन्  तापनि इतिहासबाट  शिक्षा लिएर क्रान्तिकारीहरूले हरेक चुनौतीको सामनाका लागि आफूलाई हरमेसा सचेत र सजग राख्नु आवश्यक छ । चुनौतीले क्रान्तिकारीहरूलाई बलियो बनाउँछ र यसको थालनी सङ्घर्षका गतिविधिको निरन्तरतासँगै  क्रान्तिकारी केन्द्र निर्माणको प्रक्रियाबाट गर्नु आवश्यक छ ।"

जेठ ३ गते माके र एमालेबीच एकता भएको दिन नै नेकपा (क्रान्तिकारी माओवादी) ले प्रवक्तामार्फत एकतासम्बन्धी धारणा व्यक्त गर्दै भनेको थियो :

''प्रतिक्रियावादी बाटो पकडिसकेका दक्षिणपन्थी संशोधनवादीहरूको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरू , घाइतेरअपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेनालगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन नेकपा (क्रान्तिकारी माओवादी) हार्दिक अपिल गर्दछ ।"

त्यसैगरी यस विषयमा नेकपा-विप्लवको वक्तव्य पनि प्रकाशमा आएको छ । त्यसमा उनले भनेका छन् :

''यिनीहरूको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरूको एकता हो । उनीहरूको एकता कम्युनिस्टहरूको एकता होइन, क्रान्तिबाट भागेर पुँजीवादको पालेमा पतन भएका संशोधनवादीहरुको गठजोड हो । विचार मरेको तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरूको घोर मिलाप मात्र हो ।"

तर, चार पार्टीबीच एकताका आधार खोज्दै जाने र सहकार्य गर्दै जाने भनेर गत चैतमा संयुक्त हस्ताक्षर गरेका “चारपार्टी” मध्येको नेकपा (मसाल) भने यस मामिलामा अन्य हस्ताक्षर कर्ता नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-बिप्लवभन्दा फरक मात्र नभई विपरीत धारमा उभिएको देखिन्छ । वक्तव्यमार्फत पार्टीको धारणा व्यक्त गर्दै मोहन विक्रमले,  यो एकता आजको आवश्यकता थियो,  यो सही छ र यसले राष्ट्रिय स्वाधीनता र समृद्धितिर मुलुकलाई लैजाने कुरामा विश्वास गर्न सकिन्छ भनेका छन् ।

 बैद्य र बिप्लवहरूले एकता नभएर विलय हो र यो प्रतिक्रियावादमा पतन भएकाहरूको एकता भएकाले क्रान्तिकारीकारीहरूका लागि चुनौतीपूर्ण छ, भनिरहेको बेला  मोहन विक्रमले चाहिँ एकताप्रति मित्रशक्तिगत भाव प्रकट गर्दै त्यसको स्वागत गरेका छन् । उनले वक्तव्यमा चुनावको बेलामा भएको गठबन्धनलाई आफूहरूले पार्टी एकताको पक्षमा मत प्रकट गर्दै त्यसको सफलताका लागि शुभकामना दिंदै आएको र अहिले भएको एकताले खुसी लागेको कुरा पनि उल्लेख गरेका छन् । साम्राज्यवादी देशहरूको लागि कुनै पनि देशको नाम मात्रको कम्युनिस्ट सरकार पनि सह्य हुँदैन भन्दै उनले भनेका छन् :

 ''उच्च प्रकारको सतर्कता अपनाउँदै अहिलेको सरकारले देशको राष्ट्रियताको रक्षाको लागि पूरा प्रयत्न गर्नेछ भन्ने हामीले आशा गरेका छौं  । एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता हुन नसकेको भए त्यसको असर सरकारमा पर्ने र त्यो भङ्ग हुने सम्भावना थियो ।त्यसो भएमा देशमा राजनीतिक अस्थिरता पैदा हुने र प्रतिक्रियावादी शक्तिहरू सत्तामा पुग्ने खतरा थियो । त्यो अवस्थामा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आँच पुग्ने खतरा थियो । माओवादी केन्द्र र एमालेका बीचमा भएको पार्टी एकताले त्यस प्रकारको खतरा टरेको छ र त्यसबाट सम्भावित दुष्परिणामहरूबाट देश बच्ने आशा गर्नको लागि आधार तयार भएको छ ।"

एमाले र माकेबीचको एकता सम्बन्धमा मोहन विक्रमको धारणा नयाँ होइन, गत साल दुई पार्टीको एकतासम्बन्धी वक्तव्य आएसँगै उनले यसको स्वागत गरेका हुन् ।अहिले आन्दोलन गर्दा एमाले- माकेको वामपन्थी सरकारलाई अप्ठ्यारो पर्ने हुनाले आन्दोलनबाट अलग्गिनु आवश्यक रहेको भन्दै उनले ''चार पार्टी" बीचको सहकार्य तोडेका थिए । यसले मोहन विक्रमसितको पार्टी एकतालाई टाढा पुर्याएको मात्र नभएर वामपन्थी आन्दोलनमा नयाँ ध्रुवीकरणको स्थिति तर्फ पनि सङ्केत गरेको छ ।


भिडियो फिचरview all