menu

ताजा समाचार

नेकपा-विप्लवद्वारा भाकपा (माओवादी) र भारतीय उत्पीडित जनतामाथि मोदी सरकारले गरेको दमनको विरोध

मार्क्सवादी क्रान्तिकारीहरू अन्तर्राष्ट्रियतावादी सर्वहारवादका पक्षधर हुन्छन् । विश्वमा भएका मुक्ति आन्दोलनको समर्थन गर्छन् र  राज्यसत्ताद्वारा गरिएको दमनको विरोध गर्छन् । नेपालको सन्दर्भमा भने यसो भएको कमै पाइन्छ ।

कम्युनिस्ट न्युक्लिअस, नेपाल र क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च नेपालका संयोजक डा. ऋषिराज बरालबाहेक आफूलाई माओवादी पार्टी र क्रान्तिकारी बुद्धिजीवी भन्ने नेपालका पार्टी र बुद्धिजीवीहरूले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र त्यहाँका उत्पीडित जनतामाथि भारतीय फासिवादी मोदी सरकारले गरेको दमनका विरुद्ध खासै चासो नराखेको र केही पनि बोल्नु आवश्यक नठानिरहेको अवस्थामा हालै नेकपा-बिप्लवले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र वर्गीय मुक्ति लडिरहेका भारतीय उत्पीडित जनतामाथि फासिवादी मोदी  सरकाले गरेको दमनको विरोध गर्दै भारतीय माओवादी र जनतामाथिको पासविक दमन तुरुन्त बन्द गर्न भारत सरकारसँग जोडदार माग गरेको छ  ।

मोदीको नेपाल भ्रमण र ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादको विरोध गर्दै सो पार्टीका प्रवक्ता प्रकाण्डले यही वैशाख २७ गते जारी गरेको वक्तव्यको चौथो बुँदामा यसलाई यसरी प्रस्ट पारिएको छ:

“माओवादी कम्युनिस्ट पार्टीको नेतृत्वमा भारतीय श्रमजीवी जनताले विगतदेखि संचालन गरिराखेको जनयुद्धका विरुद्ध मोदी सरकारले चलाएको अप्रेशन, हत्या, आतङ्क र दमनको हाम्रो पार्टी कडा विरोध गर्दछ । भारतीय माओवादी र जनतामाथिको पासविक दमन तुरुन्त बन्द गर्न भारत सरकारसँग जोडदार माग गर्दछ ।”

वक्तव्यमा भारतीय सेनालाई नेपालमा परेड खेल्न दिएर ओली सरकारले नेपालको सार्वभौम सत्तामाथि खेलवाड गरेकाले राष्ट्रप्रेमी, स्वाभिमानी र आफ्नो अधिकारका पक्षधर आम नेपाली जनतालाई सङ्घर्षमा उत्रिन पनि अपिल गरिएको छ :

“नेपाल राष्ट्रको सार्वभौमिकता एवं स्वाधीनता र नेपाली जनताको स्वाभिमान एवं हित भारतीय शासक वर्गको हस्तक्षेपकारी चरित्र र नेपालका शासक वर्गको आत्मसमर्पणवादी, पाखण्डी, दलाली र नालायकीपनाका कारण सन् १९५० देखि पटकपटक भारतीय शासक वर्गको अतिक्रमण र नेपालका शासक वर्गको राष्ट्रघात तथा जनघातको सिकार हुनपुग्यो । अहिले आएर मोदी र ओलीको बीचमा हुने सहमती र सम्झौता इतिहासलाई उछिन्ने गरी राष्ट्रघाती र जनघाती हुने कुरामा दुई मत छैन । यसको चौतर्फी निन्दा, विरोध, भण्डाफोर र सङ्घर्षमा उत्रिन राष्ट्रप्रेमी, स्वाभिमानी र आफ्नो अधिकारका पक्षधर आम नेपाली जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।”

भिडियो फिचरview all