menu

ताजा समाचार

दार्जिलिङ, बङ्गाली भद्रलोक र गोर्खाल्यान्ड आन्दोलन

तथागत

(घाउ अझै निको भएको छैन र यति छिटै निको हुने स्थिति पनि छैन । जारी छ अभियान । यो कहिले टिस्टाझैँ बग्छ र कहिले सेतीझैँ तलतल बगेर फुत्त निस्कन्छ ।  पोहोर साल ज-जसका हातमा जे-जे थिए, तिनलाई बोकेर ती लडे, भोकभोकै पनि लडे । १०० वर्षभन्दा बढीको गोर्खाल्यान्डको सङ्घर्षको इतिहासमा अगमसिंह गिरीदेखि वर्तमानसम्मको सांस्कृतिक चेतनाको कथानक पनि कम रोचक र कम गरिमामय छैन । अस्तित्वका लागि लडिरहेका मित्रहरूको कथा र गाथालाई ध्यान दिँदै बन्धुभावका साथ यसपल्ट हामीले एउटा अनूदित रचना राखेका छौँ । दार्जिलिङ, डुवर्स र बङ्गालका मित्रजनहरूले यसलाई पढिसकेको हुनुपर्छ , तर हरेकपल्ट पढ्दा नयाँ ऊर्जा र उत्साह दिने यो रचना अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने हामीलाई लागेको छ । लेखनमा गुदी नभए पनि  होहल्लाकै भरमा लेखक कहलाउन लालायित  नेपालका एक थरी ट्यापे लेखकहरूका लागि मात्र नभएर मार्क्सवादी हौँ भन्नेहरूका लागि पनि यो लेखले एकपल्ट सोच्न बाध्य गराउँछ ।

दार्जिलिङ क्षेत्रमा चलिरहेको सङ्धर्षका क्रममा सन् २०१७ मा तथागतद्वारा लेखिएको यो रचना सबैभन्दा पहिले  बङ्गालीमा प्रकाशित हुने राजनीतिक मासिक प्रकाशन ‘अनिक’ मा प्रकाशित भएको थियो । अनिन्द्या डेले अङ्ग्रेजीमा अनुवाद गरेको यो रचनाले गत सालको गोर्खाल्यान्ड आन्दोलनको घटनासन्दर्भलाई समातेको भए पनि यसका व्यक्त विचार सार्वभौम प्रकृतिको छ । बङ्गालीबाट अङ्ग्रेजीमा र त्यसपछि नेपालीमा अनुवाद गर्दा भाषिक पक्ष तलमाथि पर्न गएको हुनसक्छ भन्ने यथार्थलाई स्वीकार गर्दै रचना प्रस्तुत गरेका छौँ ।)
...........................................................................................................

पहाड । दार्जिलिङ । कालेबुङ । घुम ।

मध्यम वर्गीय बङ्गालीहरूका लागि, यी नाम केही विशेष बिम्बहरूका प्रतिक हुन्  । कसैको क्यामरामा, छिमेकीका फोटो सङ्ग्रहालयमा, छिमेकीका घरका भित्ताहरूमा, चिया पसलहरूका भित्ताहरूमा, नजिकैका ट्राभल एजेन्टका प्रचारपर्चाका विवरणमा र सत्यजित रेको बङ्गाली फिल्म कंचनजङ्घाजस्ता फिल्महरूमा यी चित्रहरू देख्न सकिन्छ ।

कंचनजङ्घा को कथा दार्जिलिङमा छुट्टी मनाउन गएको एउटा धनाढ्य बङ्गालीका सदस्य र उनीहरू सम्बद्ध केही व्यक्तिहरूको वरिपरि घुमेको छ, उनीहरू आफ्नो जीवनमा विभिन्न जटिलता तथा हल हुन नसकेका कतिपय समस्याहरूले जकडिएका छन् । फिल्मको पात्रअनुसार कोलकाताको व्यस्त र पट्यारलाग्दो सहरी जीवनले यस किसिमको सम्बादको अवसर तथा उत्साहलाई निरस बनाइदिन्छ ।

कुहिरोले ढाकेको दार्जिलिङका पहाडहरूले उनीहरूलाई थाकेको सहरी जीवनको धुलो मैलो  पखाल्न र नयाँ स्फुर्तिका लागि उत्साह प्रदान गर्छन् । “कंचनजङ्घा” को कथानकले हाम्रो बहसछलफलमा निकै महत्व राख्छ, किनभने यसका पात्रहरूले दार्जिलिङ पहाडहरूमा घुम्न जाने बङ्गाली पर्यटकहरूको प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व गर्छन् ।

कोलकोताबाट बङ्गालीहरू आफ्नो मध्यम वर्गीय जीवनको थकान र पारिवारिक चिन्तालाई एकातिर पन्साएर आफूलाई जीवन्त बनाउन माथि पहाडतिर जाने गर्छन् । कतिका लागि त यो  काम र पारिवारिक निरस दिनचर्याबाट  पार पाउने निकै जरुरी उन्मुक्त आवश्यकता हो । पहाडका नागबेली परेका सडकका बीचबाट यात्रा गर्दा कुनै पनि मान्छेले आफू त्यो पहाड र जङ्गलको मालिक भएको अनुभूत गर्ने गर्छ ।
बङ्गालीहरू दार्जिलिङलाई गीत, कविता र  फिल्महरूमा रोमान्टिक भावमा प्रस्तुत गर्ने गर्छन् । त्यो मान्छेका झैँ, जो कामको विरक्त लाग्दो दैनिकीबाट, मुक्त भएर मालिक हुनुको भूमिकाको भावका साथ घर फर्कन्छ । हरेक वर्षको अन्त्यमा छुट्टीका क्रममा जाँदा बङ्गालीहरू ती पहाडका अधिपतिका रूपमा आफूलाई सोच्न मन पराउँछन् ।
 
लामो समयसम्म  दार्जिलिङका मान्छेले आफ्नो गरिमाको मूल्यमाथि यस किसिमका दृष्टिकोणका साथ आफूलाई खेलाए । पहाडहरूले देशभरिका सिइओ र सरकारी अधिकारीहरूको बैठकहरूका लागि विदेशी स्थानका रूपमा झैँ काम गरे । बङ्गाली र बलिउड फिल्ममा दार्जिलिङको राजसी सुन्दरतालाई एउटा पृथक  कथाको पृष्ठिभूमिका रूपमा प्रयोग गरिन्थ्यो र  पहाडमा बस्ने मान्छेहरू र संस्कृतिलाई चाहिँ निरन्तर रूपमा मसलाका रूपमा मात्र चित्रित गरिन्थ्यो । कंचनजङ्घानामक फिल्मको विषय बाहेक कुनै पनि बङ्गाली फिल्म निर्माताले पहाडवासीहरूप्रति फरक व्यवहार गर्ने सपना देखेनन् ।

 जबसम्म चिया बगानका मजदुरहरू भद्रलोक प्रबन्धकको अत्याचारमाथि चुपचाप बसे, र लजहरूका गोर्खा अर्धलीहरूले पर्यटकहरूका लागि मुस्कानका साथ काम गरे, बङ्गालीसित  दार्जिलिङका लागि त्यस्तो भन्नु केही थिएन, प्रशंसा मात्रै थियो । जबसम्म मान्छेले जिटिए र अन्य स्थानीय प्रशासनिक बोर्डका माध्यमद्वारा वितरित बङ्गाल सरकारको कम सहयोग राशीबाट पनि खुसी नै भएको अभिनय गरिरहे, त्यतिबेलासम्म दार्जिलिङप्रति बङ्गालको विश्वास अटुट थियो ।

जुन दिनदेखि दार्जिलिङले आफ्नो अवस्थाका बारेमा अप्ठयारा प्रश्नहरू सोध्न आरम्भ गर्यो , अनि जतिबेर पनि ऊ बङ्गालका दृष्टिमा गद्दार बन्नपुग्यो—पृष्ठभूमिका रूपमा होइन, बरू केन्द्रीय सारतत्त्वकै  रूपमा— छिटै नै उसलाई “चरमपन्थी” र “राष्ट्रविरोधी” भनेर नामाङ्कित  गरियो । गोली र अस्रु ग्याँसले दार्जिलिङ-कालेबुङ- सोनादाका मजदुरहरू र र बेरोजगार युवाहरूको हत्या गरे–पहाडका गाउँहरूमा आगो लगाए । चिया बगानका मजदुरहरू, जो बिजोकको स्थितिमा थिए,आफ्ना कानुनी अधिकार र मजदुरीका लागि हडतालमा सरिक भए, प्रहरी र प्रशासन निर्ममतापूर्वक शक्तिको प्रयोग गरेर मजदुरहरूमाथि दमन गर्न क्रियाशील बने । आन्दोलनलाई निस्तेज पान डुवर्सको बाटो भएर माथि पहाडसम्म जाने खाद्यान्न र औषधीसहित आवश्यक वस्तुहरूमाथि कडा नकाबन्दी लागु गरियो ।  दार्जिलिङका बारेमा पर्यटकीय आकर्षणको पहाडभन्दा बढी बुझाइ नराख्ने बङ्गाली माध्यमहरू दार्जिलिङले बङ्गालीहरूप्रति कसरी  विश्वासघात गर्यो  भनेर कथाको जालो बुन्न पछि परेनन् । यसले जनताको आन्दोलनमा भ्रम उत्पन्न गर्न सघाउ पुर्यायो, मूल धारका भनिएका माध्यमहरूमा १०० वर्षअघिदेखि त्यहाँका जनताले उठाएको गोर्खाल्यान्डको आवश्यकता र उद्देश्यमा केन्द्रित भएर एउटा पनि विश्लेषणात्मक लेख पाउन सकिएन । (हेर्नुहोस् : Understanding the demand for Gorkhaland : An introductory note September 16, 2008 http://sanhati.com/excerpted/966/)

कसैले पनि यसमा ध्यान दिनु आवश्यक ठानेका छैनन्, उदाहरणका लागि नेपाली भाषाप्रति पूरै उपेक्षाको स्थिति  छ र सरकारद्वारा सञ्चालित स्कूलहरूमा बङ्गाली भाषा लादिएको स्थिति छ । माथि पहाडमा शैक्षिक संस्थाहरूका पाठ्यक्रममा नेपाली भाषामा एउटा मात्र पेपर पढाइ हुन्छ र अरू सबै अङ्ग्रेजीमा  । नेपाली भाषामा पाठ्यक्रम तयार पार्ने काममा यतिका वर्षहरूमा सारै थोरै प्रयास गरियो । यसको फलस्वरूप सरकारी स्कूलहरूमा विद्यार्थीहरूले नेपाली भाषाप्रतिको आफ्नो दखल विस्तारै गुमाउँदैछन् । यस किसिमको परिस्थितिमा तेस्रो भाषाका रूपमा बङ्गालीलाई अनिवार्य बनाउनुले पहिलेदेखि नै विनाशको अवस्थामा रहेकाहरूका सामु थप विनाशकारी परिणाम हुन्छ नै ।
 
पश्चिम बङ्गालका मान्छेले यसमा यसमा अधिक चासो नराखे पनि अझै पनि आफ्नो हृदयमा “भाषा आन्दोलन” को सम्झना जीवित राखेका पूर्व बङ्गालका मान्छेहरू निश्चितरूपमा दार्जिलिङका मान्छेहरूका भावनासित गाँसिएका हुन्छन् । कुनै पनि सन्दर्भमा आन्दोलनप्रति बदनियतपूर्ण झूठो  प्रचार अवाञ्छित हुनु स्वाभाविक थियो, त्यस्ता समाचारहरू, जस्तो प्रहरीद्वारा स्थानीय महिलाहरूप्रतिको दुर्व्यवहारको समाचारलाई तत्कालै लुकाइएको र दबाइएको थियो ।

गोर्खाल्यान्ड आन्दोलनप्रति एकदमै कम समर्थन छ भनेर हरेक क्षण बङ्गाली समाचार माध्यमहरूले मान्छेमा भ्रम उत्पन्न गर्ने प्रयास गरे र समग्र सङ्कटको कारण केही फटाहा राजनीतिक व्यक्तिहरू र सिमान्तकृत राजनीतिक समुदायको काम हो भने । महिलाहरूले स्वतन्त्रता र सम्मानका लागि गरेको सङ्घर्षलाई  केही “उग्र नारीवादीहरू” ले गरेको षड्यन्त्र हो भन्ने गरेझैँ गरी यो आन्दोलनलाई पनि त्यस्तै कथा बनाएर खारेज गर्ने प्रयास गरियो । यस किसिमको झूठो प्रचारका लागि ठाउँ बनाउन पहाडबाट आउने सही समाचारको स्रोतलाई अवरुद्ध पार्नु र  नियन्त्रित गर्नु आवश्यक थियो, अनि प्रशासनले फोन र इन्टर्नेट सबै बन्द गरिदियो । ध्यान दिनु पर्ने कुरा के पनि छ भने, प्रदर्शनकारीहरूसित घम्साघम्सीका बेला बङ्गाली अधिकारीका साथ गोर्खा सर्जेन्टलाई पनि रक्षाको अग्रपङ्क्तिमा राखिएको थियो, जसबाट पछाडिबाट डोरी तान्न सकियोस् ।

भोकमरीले मर्ने चियाबगान मजदुरहरूप्रति सहरी बङ्गालीहरूमा अलिकति पनि चिन्ता छैन । लेप्चा र अन्य जनजातिहरूले पहाडमा गरेको सङ्घर्षलाई बङ्गाली बुद्धिजीवीहरूले कहिल्यै पनि चिन्तनमनका लागि स्थान दिनलायक विषय ठानेनन् । इतिहासको यो पाटोलाई अगाडि राख्दा, चियाबगानका मजदुरहरूले  भोगेको कठनाइ र स्थानीयहरूले गरेको हडतालप्रति उनीहरूको चासो पनि खोक्रो र नक्कली जस्तो लाग्छ । हडतालका कारण शक्तिमा वृद्धि भएपछि प्रस्तावित गोर्खाल्यान्डमा लेप्चाहरूको स्थिति कस्तो हुनेछ भनेर सोच्न बङ्गाली बुद्धिजीवीहरूलाई जाग्रत गराएको छ । आत्मनिर्णयको कुनै पनि सङ्घर्षमा, त्यहाँ केही आन्तरिक अन्तर्विरोधहरू हुन्छन्, जसलाई खास समुदायले हल गर्नु आवश्यक  ठान्दछ । यसको जिम्मेवारी  आन्दोलनभित्रका जनपक्षीय व्यक्तिहरू र सङ्गठनहरूले काँधमा लिनुपर्छ । सङ्घर्षरतहरूभन्दा बाहिरकाहरूले अवश्य पनि मित्रता र सहायताको हात बढाउनु पर्छ, परन्तु, यसलाई घृणास्पद उद्देश्यका साथ बहसमा ओर्लेर आन्दोलनलाई बदनाम गराउने तथा निस्तेज पार्ने प्रयास चाहिँ वदनियतपूर्ण प्रवृत्ति हुन् ।

जे होस्, शरणार्थीका रूपमा पूर्व बङ्गालबाट आएका मान्छेहरूको कारण जतिबेर पश्चिम बङ्गालका मान्छेहरूले राजनीतिक–आर्थिक सङ्कटको सामना गरिरहेका थिए, त्यतिबेर गोर्खाहरूले त्यसलाई हल गर्न यसो गर र उसो गर भनेर व्याख्यान दिएका थिएनन् ।

लेप्चा र भुटियाजस्ता जनजाति समुदायसम्बद्ध मुद्दाहरूभन्दा पृथक, गोर्खाल्यान्डले हल गर्नु पर्ने अन्य थुप्रै जनतान्त्रिक मुद्दाहरू पनि छन् । चियाबगानका श्रमिकहरूको न्यूनतम ज्यालाका साथै उनीहरूको शिक्षा र स्वास्थ्योपचारको सुविधा, महिला अधिकारलगायत अन्य लैङ्गिक अधिकार, जातपातसम्बन्धी उत्पीडन र आर्थिक असमानतासित लड्न अन्य कुनै समाजका झैँ पहाडवासीहरूको समाजका लागि पनि यी महत्वपूर्ण मुद्दाहरू हुन् । केही छ र तर आश्चर्यजनक छ । तर यी सङ्घर्षको दिशा र नेतृत्वका साथसाथै जनतान्त्रिक गोर्खाल्यान्डका लागि गरिने सङ्घर्षका रूपमा स्थानीय जनतान्त्रिक सङ्गठनहरू देखापर्नु पर्दछ । र तथ्य के हो भने यस किसिमका सङ्घर्षहरूको पहिलेदेखि नै थालनी भइसकेको छ ।

कोलकोतास्थित बङ्गाली बुद्धिजीवीहरू जानेर पनि नजानेझैँ गरिरहेका छन् । उनीहरूको कल्पनामा टिस्टा नदीमा चलेको जनतान्त्रिक सङ्घर्षको प्रतीक अहिले पनि “कालबेला” को बङ्गाली नायक अनमेश बनेको छ । गोरखा, भुटिया अथवा लेप्चा यस किसिमको आन्दोलनका नेता हुन सक्छन्, सैनिकहरू मात्र होइन, भन्ने विचार उनीहरूका लागि अलि पराइ विचारजस्तो लाग्छ—नुनचिया अथवा गुद्रुकको झोलका झैँ । गुन्द्रुक पनि कुनै चिज हो र ? जे होस्, आफ्नो स्मार्ट फोनको प्रयोग गर्नुस् । कोलकोतामा अहिले पनि इन्टर्नेट छ । 

समरेश मजुमदारका रचनाहरू पढ्नु अथवा बङ्गाली व्यन्जनको आनन्द लिनुमा केही पनि गल्ती छैन भनेर भन्न सकिन्छ । तर, त्यसका आधारमा कुनै अन्य समुदायप्रति धारणा बनाउने प्रयास गर्नु समस्यामूलक हुन्छ । जुनसुकै मामिलामा किन नहोस्, हामीलाई यति पनि थाहा छैन, राज्यले पहाडमा गरेको बन्दुकको गोलीबारी दार्जिलिङका आफ्नै लेखक र सङ्गीतकारहरूले कोरेका कविता, गीत र नाटकहरूद्वारा निस्तेज पारिएको छ । कोलकोताका वाम झुकाव राख्ने बुद्धिजीवीहरूले प्रदिप लोहागणले प्रतिरोध मार्चमा सुनाएको कविता नपढेका अथवा नसुनेका पनि हुनसक्छन् :

एउटा भोको शरीर संविधानका अक्षरहरू पढ्न सक्तैन,
एउटा नाङ्गो शरीर लोकतन्त्रको भार उठाउन सक्तैन,
न त घरबारविहीनहरूका नाङ्गा खुट्टा संसदका लागि हुन सक्छन् ।
भोकको स्वभाव आफैँलाई तृप्त पार्नु हो,
यसले अरू कुनै धर्मलाई जान्दैन ।


धेरै मान्छेले उनको यो कविता पढेका छैनन् होलान् भनेर बुझ्न सकिन्छ । तर समस्या के हो भने ऐतिहासिक रूपमै, बङ्गाली वामपन्थी बुद्धिजीवीहरूले प्रदिप लोहागणजस्ता कविहरूका रचना पढ्न त्यतिसारो रुचि देखाएका छैनन् । उनीहरूले कवि छेवाङ योन्जनका कवितामा प्रतिध्वनित दृढ विश्वास र साहसलाई पनि सुनेका छैनन् :

घाँटी चिरेर आवाज बन्द गर्नु,
आँखा निकालेर सपनाहरू मार्नु,
लेखकको औँला काटेर क्रान्तिलाई रोक्नु,
मानव इतिहासमा के यसले काम गरेको छ ?


उनीहरूले चियाबगानमा हुर्केका प्रोसिद राईको गीत “मुक्त मन” पनि सुनेका छैनन् । प्रदिप, छेवाङ, प्रोशिद जस्ता कवि तथा कलाकारहरू सांस्कृतिक सक्रियताका लामो इतिहासका सन्तान हुन्, जससित अगमसिंह गिरी, पारिजात र विकास गोतामे जस्ता लेखकहरूको विरासत जोडिएको छ । बङ्गाली बुद्धिजीवी दिल्ली, बम्बै र अमेरिकाको दादागिरीबाट आक्रोसित बनेर बब डिलोन, जोन लेनन, हिन्द महासागर तथा दिल्ली सल्तनतलाई सांस्कृतिक विशिष्टका रूपमा सोच्तछन् । केहीका लागि कबिर सुमन, मौसमी भौमिक र मोहिनेर घोरगुली पनि आफ्नो सूचीमा पर्न सक्छन् । परन्तु, आफूलाई “सुसंस्कृत” र “राजनीतिक” भन्ने बङ्गालीहरूले पारिजातजस्ती सांस्कृतिक कर्मीलाई यो सूचीमा राख्नु आवश्यक ठानेनन् ।
 
जे होस्, मूल प्रसङ्गतर्फ आऔँ ।  इन्टर्नेट सेवा बन्द गरेर पहाडवासीहरूको आवाजलाई अवरुद्ध पार्ने राज्यको षड्यन्त्रको योजनालाई जनताले रोङ्गो पहाडको उचाइबाट जलढाका नदीमा पुर्याइदिए । बरु, उनीहरूको सामूहिक सङ्घर्षले उठान गरेको सङ्गीत र कविताको तिरस्कारपूर्ण हाँसो कोलकोता र दिल्लीतर्फ सोझिएको छ । यो यस्तो हाँसो हो, जुन दमनविरुद्ध स्वतन्त्रता प्राप्त गर्दा निस्कने गर्छ । समाचार माध्यमहरूका हेडलाइनहरूमा देखिने “हिल्स मुस्कुराइरहेका छन्” जस्ता समाचारमा यसलाई पाइने छैन । यो हाँसोले दमनकारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्नुका साथै बङ्गाली राष्ट्रवादको वास्तविक चरित्रलाई पनि उजागर गर्छ ।

गोर्खाल्यान्डको आवश्यकताको बहसका विरुद्ध बङ्गाली राष्ट्रवादको उपयोग गरिने गरिएको छ भने बङ्गालको विभाजनपछि पूर्व बङ्गालसितको पश्चिम बङ्गालको सामाजिक-सांस्कृतिक सम्बन्धको बारेमा सोधखोज गर्नु असान्दर्भिक नहोला । जब हामी बङ्गाली साहित्यको बारेमा चर्चापरिचर्चा गर्छौँ, बङ्गलादेशका कति जना लेखक, कवि र गीतकारहरूलाई चर्चापरिचर्चाका विषय बनाउँछौँ ? पश्चिम बङ्गालका मुख्यमन्त्री र शिक्षामन्त्रीहरू पहाडमाथि बङ्गाली भाषा लाद्न चाहन्छन्, तर उनीहरू  राज्यमा दिल्लीले लादेको हिन्दीको बारेमा चाहिँ तगारो लाउन खोज्छन् । सोध्नलायक एउटा कुरा के छ भने, दिल्ली-मुम्बई-गुडगाउँको तुलनामा उनीहरूको पार्टीमा कति जनाले ढाका-बारिसल-चट्टोग्रामलाई नजिक ठान्छन् होलान् ? बङ्गाली भाषा र  संस्कृतिका स्वयं-नियुक्त यी संरक्षकहरूमध्ये कति जनाले “भाषा आन्दोलन” को इतिहासको जानकारी राख्छन् होलान् ?

उनीहरूले अध्ययन गरेका छन् भने उनीहरूले गोर्खाल्यान्डबारे केही जानकारी राखेको हुनुपर्छ । मेट्रो स्टेसनलाई लोभ लाग्दो नाम दिनु अथवा  जीवानानन्द र नजरुल इस्लामको जन्म जयन्तीमा फेसबुकमा सतही सन्देश पोस्ट गर्नुले न त बङ्गाली भाषा नै बचाउन सक्छ, न त दिल्लीले थोपरेको सांस्कृतिक अतिक्रमणलाई नै पराजित गर्न सक्नेछ भन्ने कुरा पनि उनीहरूलाई महसुस भएको हुनुपर्छ ।
 
दिल्लीमा अड्डा जमाएको शासक वर्ग र उसको सांस्कृतिक अतिक्रमणको मुख्य साधन हिन्दी भाषाको विरोध गर्नु जरुरी छ । यो पश्चिम बङ्गाल र गोर्खाल्यान्डका लागि पनि उत्तिकै महत्वपूर्ण छ । तर पश्चिम बङ्गालको  शासक वर्गले यस मामलामा एकातिर प्रहरी र प्रशासन र अर्कोतिर राज्य-निर्देशित बुद्धिजीवीको साथ लिएर पहाडवासी र नेपाली भाषाउपर राज्यआतङ्कको क्रूर व्यवहारलाई प्रदर्शित गरेको छ । दार्जिलिङका पहाड र जङ्गलहरूमा लगाइएको बङ्गाली राष्ट्रवादको आगोले विजेपी र दिल्लीमा यसको सरकारलाई मात्र फाइदा पुर्याएको छ ।
 
साथै गोर्खाल्यान्डमा पनि आफ्नै शासक वर्ग छ भनेर कसैले बिर्सनु हुँदैन, जसले घरिघरी अवसरवादलाई प्रमाणित गरिदिएको छ ।  तिनीहरूले विजेपी, तृणमूल, सिपिआइएम अथवा काङ्ग्रेसको समयका प्रमुख राजनीतिक दलहरूसित आर्थिक लाभका लागि जनताको आकाङ्क्षासित सौदाबाजी गरेका छन् । यसका साथै पहाडमा आकर्षक प्राकृतिक संसाधन पनि छ । दार्जिलिङका पहाडहरू, जङ्गलहरू, नदीहरू, चियाबगान र सिन्कोनाका बगानहरू बिक्रीबट्टाका परियोजनाहरूलाई अर्थहीन मोहको आह्वानले मात्रै थाम्न सकिँदैन । वर्तमान परिस्थितिमा पश्चिम बङ्गाल सरकार दिल्लीको शासक वर्ग र गोर्खाल्यान्डको शासक वर्गको एउटा सानो हिस्साबीच गठबन्धन हुनबाट रोक्न सक्षम हुने स्थिति छैन । र पनि,  हिन्दू बहुसङ्ख्यकको भावनालाई सम्बोधन गरेर ‘आरयसयस’ को विकासलाई आकर्षित गर्नमा तिनीहरू पूर्ण विफल भएझैँ, पहाडप्रतिको बङ्गाल सरकारको रणनीति अब काम नलाग्ने भइसकेको छ । यस्ता अवसरवादी गठबन्धनले जनतान्त्रिक सङ्गठनहरू तथा आम नागरिकले दिनहौँजसो निकै ठूलो मूल्यको सकस सहनु परेको स्थिति छ । उनीहरूले दुइटा मोर्चाको लडाइँमा सरिक हुनु छ —राज्यका विरुद्ध र सङ्गठनभित्रका अवसरवादी व्यक्तिका विरुद्ध, र लडाइँ दिनप्रतिदिन कठिन भइरहेको छ ।

यस किसिमको परिस्थितिमा हरेक लोकतान्त्रिक व्यक्ति पहाडका जनताका साथ एकजुट भएर उभिनु नितान्त आवश्यक छ र उनीहरूको भाषा, सङ्घर्ष र पीडालाई आत्मसात गर्नु जरुरी छ । कम्तीमा पनि  यो बङ्गालका लागि जति जरुरी छ, त्यति नै जरुरी गोर्खाल्यान्डका लागि पनि ।

परिवर्तनको हावाले यतिखेर गोर्खाल्यान्डलाई आफूसँगै कुदाएको छ । दार्जिलिङ र कालेबुङका जनतालाई कंचनजङ्घाको सुन्दरताको बखान गर्ने समय छैन । चोकहरू सर्वसाधारण जनताको जमघटले भरिएका छन् र पहाडका सडकहरूमा हजारौँको सङ्ख्यामा र्याली निस्किरहेका छन् । गोर्खाल्यान्डको हरेक कुनामा सयौँको सङ्ख्यामा मान्छेहरू गाउँका स्थानीय बैठकहरूमा भाग लिइरहेका छन् । केही समय यता चियाका पातहरू पनि जम्मा पारिएका छैनन्, किनभने चिया बगानका मजदुरहरूले गोर्खाल्यान्डका साथै न्यूनतम ज्यालाको माग पनि अघि सारेका छन् ।
 
सडकमा लागेका नाराका आवाजहरूझैँ, चियाका बोटहरूका उँचाइ पनि बढिरहेको छ । गीत, कविता र सडक-नाटकले पहाडहरू जीवन्त बनेका छन् । मुसलधार पानी पर्दा पनि पर्चाहरू बाँडिइ नै रहेका छन् र पोस्टरहरू टाँस्सिइ नै रहेका छन् । हस्ताक्षरहरू सङ्कलन भइरहेका छन् । गोरखाल्यान्डको मागलाई सशक्त किसिमले अघि बढाउँदै हजारौँ महिलाहरू नारा लगाउँदै हरेक दिन सडकमा मार्चपास गरिरहेका छन् ।  लाली गुराँसजस्ता पत्रिकाहरूलाई हातहातमा पुर्याइएको छ । आम जनताद्वारा अनगिन्ती कविता, गीत र सडकनाटकहरू लेखिएका छन् । उनीहरूको पीडा, प्रेम र आक्रोसको रङले हरेक दिन नाराहरू सडककलाका स्वरूप लिइरहेका छन् ।

पहलनामको आयोजनाअन्तर्गत सांस्कृतिक कार्यकर्ताहरूले एउटा पहाडबाट अर्को पहाड पार गरेर केही सय माइलको दुरी मार्चपास गरेका छन् । उनीहरू कालेबुङदेखि दार्जिलिङ, अगाडि बढेर जोरबङ्गलो हुँदै सुकना पुगे र केही दिनपछि उनीहरू कालेबुङ र लाभा भएर रोङ्गो हुँदै गोरुबथानतिर लागे । अर्को चरणमा उनीहरू सुखियापोखरी हुँदै बिजनवारीदेखि मिरिकसम्म पुगे । नाकाबन्दीका कारण आफू भोकै रहे पनि जनता सडकमा उभिएर उनीहरूलाई पर्खिरहेका थिए र जे जे पाइन्थ्यो उनीहरूलाई खानका लागि उपलब्ध गराएर उनीहरूको अभियानलाई प्रोत्साहित गर्दथे । सडकमा तरकारी बेच्ने बुढी आमैहरू, प्लास्टिकका तन्नाहरू बेचेर घर चलाउने किशोरीहरू सबैले आफ्नो आम्दानी अभियात्रीहरूलाई सुम्पिदिए । केही दिन नसक्ने मान्छेहरूले  पनि अभियात्रीहरूलाई आँखाभरि सपना बोकेर नाराका साथ सडकमा उभिएर तालि बजाएर साथ दिए । तपाईँले ध्यान दिएर सुन्नुभएको भए मार्चपासका अभियात्रीहरूले “एक झाँक इछेदाना”,“अमरा कोरबो जाय” जस्ता बङ्गाली गीतहरूका साथै नेपाली, हिन्दी र अङ्गेजी गीतहरू पनि गाएका थिए ।

स्थानीय मान्छेहरू ममता बेनर्जी र नरेन्द्र मोदीको असाध्यै आलोचना गर्छन् तापनि मान्छेहरूमा आफ्नै नेताहरूको विश्वसनीयताप्रति पनि उत्तिकै चिन्ता छ ।  के होला यदि फेरि पनि आन्दोलनलाई उनीहरूले धोका दिए भने ?  जनता एकदमै दृढ देखिन्छन्—त्यसो हो भने, यसपल्ट उनीहरू जिउँदो रहने छैनन् । यस्ता चर्चाहरूको पृष्ठभूमिमा बच्छेबाजा, मलोडिका, गिटार र डिजेम्बे चलाइरहेको कुनै पनि आन्दोलनकारीको मुखबाट सुन्न सकिन्छ :

बाटो बनाओ,
बाटो बनाओ,
नयाँ दिनका लागि बाटो बनाओ,
सुनौला दिनका लागि बाटो बनाओ,
म तुफानको एउटा बच्चा हुँ  ।


पुलिस अत्याचारका विरुद्ध स्कुलका विद्यार्थीहरूसहित हजारौँ पुरुष तथा महिलाहरू विरोध जुलुसमा सामेल भए, तिनका आमाबाबुका आँखामा अलिअलि चिन्ता र स्पष्ट स्वीकृति तथा गर्वबोध झल्किन्थ्यो  । विभिन्न क्षेत्रबाट आएका जुलुसहरूको पहाडका सडकमा  भेट हुन्थ्यो र उनीहरू गीत र नाराका साथ एकचित्त भएर एकअर्कामा अन्तर्घुलित हुन्छन् । हजारौँ मुटठीहरू हावामा उठ्छन् मानौँ उनीहरू रातको आकासका ताराहरू टिप्न उठिरहेका छन् । विभिन्न सामुदायिक हलहरू हजारौँ आन्दोलनकारीहरूका लागि दालभात पकाउनमा व्यस्थ रहन्थे । त्यसपछि आफ्ना निदाएका बच्चाहरूका लागि पहाडले पहरा दिइरहेझैँ  मध्यरात्रीको केही घण्टापछि त्यहाँ मौनताको स्थिति बन्ने गर्छ । भोलिपल्ट बिहान जुलुसहरू, गीतहरू, गिटार र नाराहरू, सम्भवतः एउटा अर्को पुलिस गोलिबारी, रगत र मृत्यु (अहिलेसम्म छ जना पुलिस गोलिबारीमा सहिद भइसकेका छन् ।) को शृङ्खला चल्छ ।

गोर्खाल्यान्डको सपनालाई महसुस गरिए पनि नगरिए पनि, पहाडका जनताले जितेका छन् । उनीहरू आफैँले बङ्गाली दमनकारी “माया” बाट आफूलाई मुक्त पारेका छन् । आफ्नै रगतले उनीहरू आफ्नै प्रेमगीत लेखिरहेका छन् । उनीहरूलाई अब सत्यजित रायको कंजनजङ्घाको आवश्यकता छैन । आजभोलि कञ्चनजङ्घा बादलले ढाकिएको  आफ्नो घुम्टो हटाएर  दार्जिलिङ-खार्साङ-कालेबुङतिर आँखा झिम्क्याउँदै भन्छ : ठीक गर्यौ  कमरेड !
०००
(sanhaati.com बाट 'जनमेल' डेस्कद्वारा अनूदित )
भिडियो फिचरview all