menu

ताजा समाचार

क्रान्तिकारी माओवादीले एकताको पहल गर्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को हालै बसेको सचिवालयको बैठकले पार्टी एकतासम्बन्धी पहल गर्ने निर्णय गरेको कुरा सो पार्टीले जारी गरेको प्रेसवक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा ''विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ " भनिए पनि कुन् कुन् पार्टीहरू क्रान्तिकारी हुन् र एकताका आधारहरू के के हुन् भन्ने कुरा चाहिँ उल्लेख भएको पाइंदैन । गत असारमा भएको राष्ट्रिय भेलाले एकताको खाता बन्द गरेको स्थितिमा अहिले “एकताको पहल”  गर्ने भन्नुलाई सकारात्मक निर्णय भन्न सकिछ ।

पहिले पनि  एकताको प्रक्रिया अघि बढाउँदा सो पार्टीले “क्रान्तिकारीहरूसित एकता” भनेर प्रचण्डको पार्टीलाई पनि सोही कित्ताको ठानेर एकताका बुँदाहरू साटासाट गरेको थियो । केही मात्रामा विचार र मूलतः  जोड र कोण नमिलेपछि सिङ्गो पार्टी प्रचण्ड समूहमा नगएर बादलको नेतृत्वमा एउटा गुट प्रचण्ड समूहमा विलय भएको थियो ।

त्यतिबेर पार्टीका इमानदार र क्रान्तिकारी नेता तथा कार्यकर्ताले प्रचण्ड समूहलाई क्रान्तिकारी भनेर एकता गर्ने प्रयास सही होइन, यो दक्षिणपन्थीहरू सामु आत्मसमर्पण जस्तो हुन्छ भनेका थिए । उल्टै नेतृत्व तहमा रहेकाहरूले प्रचण्डसित एकतामा सामेल हुने मन नगर्नेहरूले पार्टी छोडेर जाँदा हुन्छ जस्तो व्यवहार गरेका थिए । अहिले आएर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेलाले “पूर्व एमाओवादी दक्षिणपन्थी नवशंसोधनवादी विचार र राजनीतिमा कायम रहँदारहँदै त्यसलाई सच्याउने अभिप्रायले  जसरी पार्टी एकताका लागि आधार पार्ने भनेर अगाडि बढियो, त्यो गलत भएको छ”  भनेर आफ्नो पहिलेको गल्तीलाई सच्याएको छ ।

राष्ट्रिय सम्मेलनमा एकताप्रक्रियामा  नजाने निर्णय गरेको पार्टीले सचिवालयस्तरबाट एकताको पहलको आह्वान गर्नुलाई विशिष्ट निर्णय भन्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) भित्र चुनावी मोर्चाको निर्माण र चुवानमा भाग लिने कुरालाई लिएर बहस र विवादहरू तीब्र रूमपा चलेको भन्ने समाचारहरू प्रकाशमा आइरहेको अवस्थामा आएको यस किसिमको वक्तव्यलाई  अर्थपूर्ण मान्न सकिन्छ । उता विप्लव समूहमा पनि कार्यकर्ताहरूको ठूलो पङ्क्ति त्यसमा पनि तल्लो तहबाट एकताको दबाब आएका समाचारहरू बेलाबेलामा प्रकाशमा आउनेगरेका  छन् ।

क्रान्तिकारीहरूबीच एकता गर्ने कुरामा विवाद छैन । क्रान्तिकारीहरूले गर्ने एकता भनेको मार्क्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी क्रान्ति,  क्रान्तिका तीन जादुगरीको आवश्यकता साथै सशस्त्र सङ्घर्षमा जोड दिने पार्टीहरूबीचको  एकता हो ।  सशस्त्र सङ्घर्षको स्वरूप कस्तो हुने भन्ने विषय नै अहिलेको बहसको मूल विषय हो र  नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा हो । यो दीर्घकालीन हुने हो अथवा अल्पकालीन भन्ने कुरा आत्मगत स्थिति र वस्तुगत स्थितिको द्वन्द्वात्मकतामा  भर पर्दछ  ।

एकताका नाममा लामो समय र श्रम खेर गएको तथा यसका नाममा हण्डर खाएको कारण एकताको प्रक्रियाप्रति नै उदासीन देखिएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले “एकताको पहल” गर्ने भनेर गरेको निर्णण्लाई समयको आवश्यकताको उपजका रूपमा लिनु सही र सान्दर्भिक हुन्छ ।  

भिडियो फिचरview all