menu

ताजा समाचार

माओवादीहरू यसरी मनाउँदैछन् मे दिवस

‘मे दिवस’ लाई श्रमिक दिवस पनि भन्ने गरिएको छ ।  सर्वहारा वर्गको सङ्घर्ष र बलिदानसित गाँसिएको ‘मे दिवस’ हरेक उत्पीडित वर्ग र समुदायको महान् पर्व हो । हरेक वर्षको मे महिनाको पहिलो दिन विश्वका श्रवजीवीहरूले यो दिवस मनाउने गरेका छन् । मे महिनाको पहिलो दिनलाई नै ‘मे दिवस’ का रूपमा मनाउनुसित यसको ऐतिहासिक सन्दर्भ जोडिएको  भए पनि ‘मे दिवस’ को सन्दर्भ इतिहाससित मात्र सीमित छैन । विश्वमा उत्पीडक र उत्पीडित वर्गहरू छउन्जेलसम्म यसको निरन्तरता जारी रहनेछ । देशकाल परिस्थितिअनुसार यसको महत्व र सान्दर्भिकता रहिरहनेछ ।

एकातिर यसलाई मजदुरहरूको त्याग, बलिदान, सङ्घर्ष र प्राप्तिको दिनको सम्झना र भावी सङ्घर्षको आयोजनका  रूपमा मनाउने गरिएको छ भने अर्कोतिर यसलाई विश्वका क्रान्तिकारीहरूको साझा मुद्दा, साझा उद्देश्य र साझा सङ्घर्षको थलोको रूपमा विकसित गर्ने उद्देश्य र प्रतिबद्धता जनाउने माध्यमका रूपमा पनि लिइने गरिएको छ ।

मे दिवस र नयाँ ‘अन्तर्राष्ट्रिय’ निर्माण अभियान

नयाँ ‘अन्तर्राष्ट्रिय’ निर्माणका लागि  विश्वका माओवादी क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध हुनु आवश्यक छ भनेर सन् १९८४ मा ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) ‘मे दिवस’ के सन्दर्भ पारेर गठन गरिएको थियो । अहिले पहिले गठित ‘रिम’ विघटनको स्थितिमा रहेको भए पनि अहिलेको  परिस्थितिमा नयाँ किसिमले ‘रिम’ को गठन गर्नुपर्छ भनेर विश्वका माओवादी पार्टी  र समूहहरूले सन् २०१० देखि यता निरन्तर हरेक वर्ष मे दिवसका दिन संयुक्त वक्तव्य प्रकाशित गर्ने गरेका छन् । यसपल्ट कार्ल मार्क्सको २००औँ जन्मदिवस सन्दर्भ परेकाले नयाँ ‘अन्तर्राष्ट्रिय’ निर्माण अभियानमा लागेका माओवादी पार्टी तथा समूहहरूले यससित जोडेर ‘मे दिवस’ मनाउन अह्वान गरेका छन् । साथै उनीहरूले ‘मे दिवस’ लाई हालै भारतीय फासिवादले भारतको महाराष्ट्र राज्यको गाडचिरोलीमा गरेको माओवादी कार्यकर्ता तथा आदिवासीहरूको नरसंहारको विरोध कार्यक्रमलाई पनि मे दिवसका  रूपमा मनाउन आह्वान गरेका छन् ।
 
 मे दिवस र युरोपेली माओवादीहरू

युरोपेली माओवादीसित सम्बद्धमध्ये कतिपय सङ्घ-सङगठनहरू नयाँ ‘अन्तर्राष्ट्रिय’ निर्माण अभियानसित सम्बद्ध रहेर र कतिपय अलग किसिमले ‘मे दिवस’ अभियानमा संलग्न रहेका छन् । युरोपमा हाल सक्रिय माओवादी पार्टी तथा समूहहरू इटाली, फ्रान्स, जर्मनी, गालिसिया, अस्ट्रिया, नर्वे र क्यानडाका माओवादी पार्टी तथा समूहहरूमध्ये इटाली, फ्रान्स, गालिसिया, अस्ट्रिया, नर्वे र क्यानडा संयुक्त वक्तव्यमा सहभागी भएर विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

यसमध्ये पनि जर्मनीका माओवादीहरूले अलग्गै वक्तव्य प्रकाशित गरेर मे दिवस मनाउनुको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका छन् । त्यसै गरी ‘रिभोलुस्नरी प्राक्सिस’ र ‘डेमोक्रेसी एन्ड क्लास स्ट्रगल’ अन्तर्गत रहेका ब्रिटिस माओवादीहरूले ‘मे दिवस’ लाई कर्मकाण्डीय शैलीमा होइन, समकालीन आन्दोलनसित जोडेर मनाउनु पर्ने कुरामा जोड दिँदै हालै भारतीय फासिवादले भारतका गाडचिरोली जिल्लामा गरेको नरसंहारको विरोधमा र भारतीय जनताको मुक्तिअभियानको समर्थनमा मे दिवस मनाउन आह्वान गरेका छन् ।

मे दिवस र ल्याटिन अमेरिकी माओवादीहरू

पेरूको जनयुद्धले धक्का खाए पनि यताका दिनमा ल्याटिन अमेरिकी मुलुकहरूमा माओवादी आनदोलनलाई नयाँ  किसिमले सङ्गठित र पुनर्गठित गर्ने काम जारी छ । मेक्सीको,  ब्राजिल, इक्वेडर, पेरू, चिली, बोलिभिया र कोलम्बियामा माओवादी समूह निर्माण तथा पुनर्गठन अभियान जारी छ । यसै क्रममा ल्याटिन अमेरिकी माओवादी पार्टीहरूले पनि आआफ्नो देशको विशिष्टतामा मे दिवस मनाउने तयारी गरेको कुरा कोलम्बियामा माओवादी समूहले जनाएको छ । त्यसैगरी संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गरी केही महिनाअघि मात्र गठन भएको ब्राजिलको माओवादी पार्टी सम्बद्ध मजदुरहरूले यसपल्टको मै दिवस मार्क्सको २०० औँ जन्मदिवससित जोडेर मनाउने निर्णय गरेको कुरा वक्तव्यमार्फत जनाएका छन् ।
 
मे दिवस र अमेरिकी माओवादीहरू

अमेरिकाको पुरानो संसदीय चुनावी पार्टी, ‘कम्युनिस्ट पार्टी अफ अमेरिका’ र ट्रट्स्कीवादी पार्टीहरूका गलत क्रियाकलापबाट सम्बन्ध विच्छेद गरेका र बव अभाकियनको विसर्जनवादी चिन्तनबाट विरक्त भएका अमेरिकी माओवादीहरूले अमेरिकाको हरेक प्रान्तजस्तोमा ‘रेड गार्ड’ हरू र माओवादी समूहहरू गठन गरेका छन् । पहिले समूहका रूपमा क्रियाशील हुने र पछि सिङ्गो पार्टी निर्माण गर्ने अभिमत जाहेर गर्दैआएका उनीहरूमा ‘रेड गार्ड अस्टिन’, रेड गार्ड लसएन्जेल्स’, ‘कन्सास सिटी रेडगार्ड’ विशेष सक्रिय देखिएका छन् । यस क्रममा ‘रेडगार्ड अस्टिन’ र ‘कन्सास सिटी रेडगार्ड’ ले वक्तव्य प्रकाशित गरी मे दिवसको इतिहासका साथै आजको सन्दर्भमा यसको महत्वमाथि प्रकाश पारेका छन् । यसमा आजको दिनमा मे दिवस मनाउनुको अर्थ मार्क्सवाद-लेनिनवाद-माओवादले देखाएको बाटो अर्थात् आआफ्नो मुलुकको विशिष्टतामा जनयुद्धको बाटोमा अघि बढ्न प्रतिबद्धता जनाउनु हो भनेका छन् ।

 मे दिवस र नेपालका माओवादीहरू


हरेक वर्ष नेपालका माओवादी पार्टी तथा समूहहरूले कहिले सामूहिक र कहिले एकलरूपमा मे दिवस मनाउँदै आएका छन् र यसपल्ट पनि सोको गयारी भइरहेको कुरा समाचार माध्यमहरूले जनाएका छन् । कम्युनिस्ट न्युक्लिअस, नेपालले संयुक्तवक्तव्यमार्फन आफ्नो ऐक्यबद्धता जनाएको छ भने नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध मजदुर सङ्गठन, ‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ’ ले काठमाडौँलगायत देशका विभिन्न भागमा मे दिवस मनाउने निर्णय गरेको कुरा सो सङ्गठनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
०००

भिडियो फिचरview all