menu

ताजा समाचार

कन्तुरमा राखेको एउटा गोप्य चिठी

डा. ऋषिराज बराल
 प्रिय मित्रहरू !
म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले  श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने रहेछ l तर, वर्गसङ्घर्षको बाटो बडो अनौठो  हुँदो रहेछ l कल्पनै नगरेको बाटो हिँड्नुपर्दो रहेछ l आफैँ विरुद्ध, आफ्नै विरुद्ध लड्नुपर्ने हुँदो रहेछ l यसो नगरी अघि बढ्ने कुरा सम्भव नहुने रहेछ l यहाँ सम्बन्धको इतिहास, भावुकता, श्रद्धाका कुराहरू गौण बन्दा रहेछन् l खोजी हुँदो रहेछ, आँधीतुफान र चट्टानमा फसेको जहाजलाई कुशलतापूर्वक पार लगाउने विम्बहरू l मैले यस्तै केही भोगेको छु l अहिले म यो भोगाइको शृंखलातर्फ जान्न, समयक्रममा त्यो पोको फुकाऊँला l अहिले इतिहास भइसकेको एउटा सानो सन्दर्भ मात्र प्रस्तुत गर्छु l

कुरा पुरानै हो, मैले कतै थन्क्याएको थिएँ, भन्छन्, गुहु पुछेको टालो पनि काम लाग्छ भनेर l कन्तुर खोतल्दा फेला पर्यो एउटा बन्द खाम l कतिपयलाई रिस पनि उठ्ला l उठोस्, सत्यको सामना गर्न नसक्नेहरू हिजो पनि रिसाएका थिए, आज पनि र भोलि पनि रिसाउँछन्, मेरा लागि नयाँ कुरा होइन l कतिपय यस्ता कुरा हुन्छन्, जुन, पछिल्लो पुस्तालाई भन्नैपर्ने, सुनाउनुपर्ने हुन्छ l मलाई थाहा छ, क्रान्तिकारीताको नाममा खाओवादको अभ्यास गरिरहेकाहरूलाई यसले सबैभन्दा बढी पोल्छ l जति सिस्नु-पानी लगाउँदा पनि ऐया नभन्नेहरूलाई पोल्नुपर्छ l नराम्रो गरी पोल्नुपर्छ l मैले अलिकति सिस्नु-पानी लगाउँन खोजेकै हुँ l

लेखकीय प्रतिबद्धताको पक्षमा रहेका हामीले यो भोगाइ अध्ययन गर्नु आवश्यक छ l सत्यतथ्यप्रति समर्पित क्रान्तिकारी बौद्धिक-सांस्कृतिक क्षेत्रले के-कस्तो आँधीतुफानसित लड्नुपर्दो रहेछ र कस्ताकस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुँदो रहेछ भन्ने कुराको जानकारीका लागि पनि यो भोगाइको अध्ययन गर्नु आवश्यक छ l ठेट्ना त ठेट्ना भइगए, पाका र अनुभवी भनिएका नेताहरूबारे स्थितिबोध गर्न पनि तीता-मीठा कुरा अध्ययन गर्नु आवश्यक छ l नेपालको माओवादी आन्दोलनको जुन स्थिति छ, माओवादी आन्दोलनको झण्डाको रक्षा कसरी होला भन्ने जुन चिन्ता हामीमा छ, यसलाई नयाँ दिशा र गति दिने कुरामा सबैभन्दा पहिले सबैले आ-आफ्नो तहबाट आत्मसमीक्षा गर्नु आवश्यक छ l मेरो विचारमा अगुवाहरूबाट सही दिशाबोध हुन सकेन भन्ने नै हो l बुढो हुनुको अर्थ पाको हुनु होइन रहेछ, मान्छे जति बुढो हुँदै गयो, त्यति साँघुरो पो हुँदो रहेछ l

प्रचण्डले क्रान्तिप्रति गद्दारी गरे भन्ने निष्कर्षका साथ मोहन बैद्य 'किरण' को नेतृत्त्वमा हामीले २०६९  सालमा प्रचण्ड समूहका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी बनायौं l केही  दिन चहलपहल गरे पनि फेरि  भित्रभित्रै  सरकारमा जाने रकमी खेलभित्र कार्यकर्ता अल्मल्याउन थालेपछि बिस्तारै दुई लाइन सङ्घर्ष सुरु भयो l २०७० सालमा पोखराको  केन्द्रीय समितिको विस्तारित बैठकसम्म पुग्दा आन्तरिक अन्तर्विरोधहरू  खुलेरै देखापरे l त्यस बैठकमा कडाइका साथ प्रस्तुत हुने अनिल शर्मा, ऋषिराज बरालहरू पार्टी कारबाहीको पहिलो निसाना बने l अनिल कमरेडलाई जिम्मवारीविहीन बनाएर कार्यालयमा राखियो र बराललाई The Next Front मा पार्टी नीतिविरूद्ध लेखेको भनी सार्वजनिक रूपमै चरित्र हत्या गर्नुका साथै कारबाही गरियो  l हामी त पोखरा बैठकमा विप्लवले उठाएकै विचारको पक्षमा थियौं, तर कारबाही गर्नुपर्ने निर्णयमा विप्लव-प्रकाण्ड दुवैको सहीछाप थियो l मलाई लाग्यो यिनीहरूका क्रान्तिका ठूलाठूला कुरा पनि नक्कली थिए-आफ्नो भूमिका विस्तार गर्ने मेलो मात्र l मेरो ठहर अहिले पनि यस्तै छ l मैले लेखेको टिप्पणीको आपत्तिजनक भनेर ममाथि बन्चरो प्रहार गरिएको अंश यस्तो थियो :

''Before the CC meeting some of the senior members, who used to project themselves close to General Secretary were pleading for the participation in the CA election. Those who were pleading for the participation in the CA election, have come out from the dark cavern. This meeting has brought them in the daylight. This decision has done a great damage also for them, who were in the position to register the party in the Election Commission. Not only this, the dirty game of party re-unification, played in the dark room, alsohas ended. The revolutionaries have got victory over such bad tendencies."

सरल र सहज किसिमले मिलाउन सकिने कुरालाई योजनाबद्ध किसिमले जटिल बनाइयो l पोखरा बैठकको निर्णयबाट आत्तिएकाहरूले ममाथि बन्चरो प्रहार गरे l कारबाही गर्ने यस्तो हुकुमी शैलीप्रति सहमत नभएकाले म कुनै पनि उत्तर दिने पक्षमा थिइन, जे गर्छन् गरून् भन्ने पक्षमा थिएँ l संबिधान सभाको चुनावमा भाग लिनुपर्छ भन्नेमा बाहिर बादल, देव गुरुङ, हितमान/पम्फाहरू देखिए पनि संबिधानसभाको चुनावमा भाग लिने र मन्त्री हुने चाहनामा गौरव पनि थिए l कमरेड किरणको भित्री चाहना पनि संबिधानसभाको चुनावमा भाग लिने भन्ने नै थियो भन्ने मेरो बुझाइ हो र सो कुरा बाहिर पनि आइसकेको छ l पोखरा बैठकअघि पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा प्रकाशित 'पिपुल्स भ्वाइस' मा सम्पादकका नाताले विप्लवको लेख अनुवाद गरी राखेको थिएँ l आफूलाई नसोधी राखेको र आफ्नो विचारभन्दा फरक भएकाले अन्तर्राष्ट्रिय विभाग प्रमुख गौरव मसित सबैभन्दा बढी रिसाएका थिए l र मलाई कारबाहीको फेहरिस्त उनैले सुनाएका थिए l  मसित बयान लिने जिम्मा पनि उनैले लिएका थिए l उनले विप्लवको पक्षमा उभिएको कुराको समेत टिप्पणी गरे l मलाई अन्तर्राष्ट्रिय विभागबाट  हटाए l बयान दिनैपरे पनि यस किसिमको दिन्छु भनेर लेखेको, तर त्यतिबेर सुरक्षित राखेको यो प्रतिक्रियाको समग्र अंश अब बाहिर ल्याउने समय भएको छ भन्ने मलाई लागेको छ l

पार्टीले गति नलिएको र कार्यदिशा प्रस्ट नभएको कुरामा विप्लवजीहरूसित सहमत भए पनि उहाँले अघिसार्नु भएको कार्यदिशा र अन्य कुरामा म सहमत थिइन र त्यसरी रहस्यमय किसिमले पार्टीसित सम्बन्ध विच्छेद गर्ने कुरा पनि मलाई उचित लागेको थिएन l बादलहरू मात्र होइन,  आफूलाई कमरेड किरणका खम्बा ठान्ने बौद्धिक-सांस्कृतिक मोर्चा कब्जा गरेर बसेका केही खाओवादीहरू, एक अर्थमा पार्टीमा कमरेड किरणले पुलपुल्याएर राखेका टपरेहरू पनि विप्लवजीहरूसित म पनि गइदिए हुन्थ्यो भन्नेमा थिए l समग्र विश्लेषण पछि विप्लव समूहभन्दा किरणकै नेतृत्त्व ठीक र नेकपा-मओवादी नै सही ठानी विप्लवसित भन्दा किरणसित वैचारिक सङ्घर्ष गर्नु सही र ओजपूर्ण हुन्छ भन्ने निष्कर्ष निकालेर  नेकपा -माओवादीमै बस्ने ठहर गरें l संबिधान सभाको चुनावपछि  कसरी जाने भनेर पोखरा बैठकले गरेको निर्णय लागू गरेको भए पार्टी फुटने थिएन र माओवादी आन्दोलनको यस्तो भद्रगोल स्थिति पनि हुने थिएन भन्ने चाहिं मलाई अहिले पनि लागिरहेको छ l किरण-बादल जसरी-तसरी समय टार्ने र विप्लवको हतारो मानसिकता र छिटै ठूलो नेता बन्ने महत्त्वाकांक्षा नै विभाजन र भद्रगोलको कारकतत्व बन्यो l

विप्लवजीहरू फुटेर गएपछि फरक मत राख्ने म एक्लै थिएँ र ममाथि प्रहार र नियन्त्रण बढी हुनथाल्यो । बुझिने गरी नै हुनथाल्यो, बादलका मान्छेहरू भित्रभित्रै सक्रिय थिए, आफूलाई किरणका खाँटी मान्छे भन्नेहरू चाहिं पत्रपत्रिकामा मेरो विरुद्ध लेख्नमा रमाउँन  थाले l आन्दोलनको इतिहासमा गजबको अनुभूति गरें। ''ऋषिराज बराल 'क्रान्तिका लागि चाहिने मान्छे हो', तर उसलाई उसको योग्यता–क्षमता अनुसार जिम्मेदारी दिनु हुँदैन, कारिन्दा बनाइरहनु पर्छ, नियन्त्रणमा राखिरहनु पर्छ ।" मैले बोध गरेको पार्टीसंस्कृति यही नै हो, 'नेताहरू' बाट प्राप्त व्यवाहारभाव पनि यही नै हो । टुप्पीमा समातेर माथि पुर्याइएको एउटा स्वाँठले  त '' ऋषिराज बराल जनयुद्ध विरोधी लेखक हो" भनेर पनि लेख्यो । नेकपा-माओवादी सम्बद्ध प्रकाशनहरूमै लेख्यो l ''यस कुरालाई प्रमाणित गर्नुपर्यो" भनेर मैले किरण कमरेडलाई धेरैपल्ट भनें, वहाँ कपाल बटारेर आधा घन्टासम्म घोरिइरहनु भयो, केही बोल्नु भएन। बरू एउटा कार्यक्रममा मार्क्सवादी लेखक खेम थपलिया र अशोक सुबेदीहरूले प्रश्न उठाएको कुरा सुनें  l त्यहाँ पनि किरण कमरेडबाट केही उत्तर आएन भन्ने सुनियो l कति जब्बर प्रभाव क्षेत्रीयतावाद र प्रभाववादको l म यसलाई कोटरीवाद भन्ने गर्छु । कमरेड किरण कोटरीमा बढी रमाउन मन गर्नुहुन्छ र वहाँलाई यही कोटरीले सिध्याउँछ

जतिसुकै सिद्धान्त र विचारको कुरा गरे पनि गौरवको चिन्तन बादलहरूकै चिन्तन हो l प्रचण्डको पार्टीसित एकतामा जाने, ठूलो पार्टीको नेता हुने, चुनावमा भाग लिने र मन्त्री हुने चाहना वहाँको पनि हो l 'रातो पाटी' अनलाइनसितको कुराकानीमा वहाँको यो चाहना बाहिर आइसकेको छ l वहाँको मूल अन्तर्विरोध  प्रचण्डसित हो र किरणबिनाको पेरिसडाँडाको आफ्नो एक्लो उपस्थितिको अर्थ छैन भन्ने वहाँलाई थाहा छ l वैचारिक भाषा र जोड र कोण मिलाएर पेरिसडाँडातिर उक्लने सोचाइ किरण कमरेडको पनि थियो l तारतम्य मिलाएर किरण-बादलहरू पेरिसडाँडातिर नगई नछोड्ने, बरू पार्टी फुटाएर भए पनि नयाँ पार्टी बनाउने, तर पेरिसडाँडा नजाने भन्ने विप्लवजीको निष्कर्षले पार्टीलाई अहिलेको स्थितिमा ल्यायो l सत्य कुरा यही नै हो l दुवै पार्टीहरू महाधिवेशन र सम्मेलनको तयारीमा छन्, दुबैले इतिहासको सही मूल्यांकन र निर्मम आत्मसमीक्ष्या गर्नु आवश्यक छ l होइन भने 'क्रान्तिकारी रूपवाद' र सारसङ्ग्रहवादले पुर्याउने ठाउँ भनेको विसर्जन नै हो l
यो चिठी आफैंमा एउटा ऐतिहासिक साक्ष्य हो र अहिले आएर यसको महत्त्व झन् बढेको छ भन्ने मेरो ठहर छ । हाम्रा नेताहरूलाई बरालले यस्तो लेखेछ भनेर दारा नकिटी गम्भीरताका साथ यो चिठी कार्यकर्ताहरूले पढ्नु आवश्यक छ l यसलाई मैले 'ड्रपबक्स अर्थात् कन्तुरमा राखेको एउटा गोप्य चिठी' को संज्ञा दिएको छु l यस्तो छ यसको ब्यहोरा  :  
(बाँकी अर्को शनिवार)

भिडियो फिचरview all