menu

ताजा समाचार

रेड फ्याक्सन सम्बद्ध क्रान्तिकारीहरूद्वारा मालेमावादी न्युक्लिअस गठन

ब्राजिल कम्युनिस्ट पार्टीभित्र अलग्गै विचार समूहका रूपमा दुई लाइन सङ्घर्ष चलाउँदै र विश्वका माओवादी पार्टी र सङ्गठनहरूका गतिविधिमा सहभागी भएर ऐक्यबद्धता जनाउँदै आएको ब्राजिल कम्युनिस्ट पार्टी (रेड फ्याक्सन) सम्बद्ध क्रान्तिकारीहरूले ब्राजिलमा कम्युनिस्ट पार्टी स्थापना भएको ९६ वर्ष पुगेको सन्दर्भमा संशोधनवादी पार्टीसित विधिवत सम्बन्ध विच्छेद गरी यही मार्च २५ का दिन ‘न्युक्लिअस अफ मार्क्सिज्म-लेनिनिज्म-माओइज्म (NEMLM)  गठन गरेका छन् । 

ब्राजिलमा रसियाली अक्टोबर क्रान्तिको विश्वव्यापी प्रभाव र प्रवाहका क्रममा मार्च  १९२२ मा कम्युनिस्ट पार्टी अफ ब्राजिल (पिसिबी) गठन भएको थियो र यसले आरम्भका दिनमा निकै महत्वपूर्ण भूमिका खेलेको थियो । खास गरेर कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९३५ मा भएको  जनआन्दोलनले ब्राजिलको जनसङ्घर्षको इतिहासमा विशेष महत्व राख्छ । तर पछिका दिनमा ब्राजिल कम्युनिस्ट पार्टी क्रु्रस्चेवको ‘शान्तिपूर्ण सङ्क्रमण’ र चुनावी राजनीतिमा केन्द्रित हुन थालेपछि त्यसभित्रका क्रान्तिकारीहरूले विद्रोह गरेर सन् १९६२ कम्युनिस्ट पार्टी अफ ब्राजिल (पिसिडिओबी) गठन गरेर माआले देखाएको  क्रान्तिको बाटो ग्रामीण वर्ग सङ्घर्ष र जनयुद्धको बाटो अबलम्बन गरे ।

साम्राज्यवादको आडभरोसामा ब्राजिलमा चलेको जनयुद्धमाथि निर्मम दमन र मूल नेताहरूको हत्या गरेपछि बाँकी रहेकाहरूले संशोधनवादी बाटो अँगालेर कम्युनिस्ट पार्टीलाई पुन: संसदवादी चुनावी पार्टीमा फेरे । अहिले त्यहाँ कम्युनिस्ट नामका तीनओटा पार्टीहरू छन् र यी सबै चुनाव र संसदीय बाटोका पक्षधर छन् । यिनले अँगालेको दक्षिणपन्थी राजनीतिका विरुद्ध क्रान्तिकारीहरूले विद्रोह गरेर 'मार्क्सिज्म-लेनिनिज्म-माओइज्म' (NEMLM)  गठन गरेका हुन् ।

उनीहरूले प्रकाशित गरेको दस्ताबेजअनुसार अहिले ‘न्युक्लिअस अफ मार्क्सिज्म-लेनिनिज्म-माओइज्म (NEMLM)  गठन गरे  पनि छिटै यसलाई एउटा जुझारु क्रान्तिकारी मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीका रूपमा विकसित गरिनेछ । यसको गठनलाई उनीहरूले संशोधनवादी लाइन विरुद्धको लामो सङ्घर्ष र विजयको परिणामका रूपमा लिएका छन् र  मार्क्सवादको उच्च चरण भनेको माओवाद हो, माओवाद आजको मार्क्सवाद हो भनेका छन् र  यसलाई पथप्रदर्शक सिद्धान्त मानेर मात्रै ब्राजिलका जनताको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भनेका छन् ।

‘न्युक्लिअस अफ मार्क्सिज्म-लेनिनिज्म-माओइज्म (NEMLM)  को प्रकाशनमा मा भनिएको छ : “नेम्लमको गठन ब्राजिल कम्युनिस्ट पार्टीभित्रको सङ्घर्षको तेस्रो चरण हो र यो अहिलेलाई संशोधनवाद र अवसरवाद विरुद्धको पूर्ण विजय हो, यसले ब्राजिल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी) निर्माणको नयाँ चरणको प्रतिनिधित्व गर्छ र यसले दीर्घकालीन जनयुद्धका माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादको बाटो हुँदै विश्व सर्वहारा क्रान्तिको सेवाका साथ यो सुनौलो साम्यवादको स्थापनातर्फ अघि बढ्नेछ । ”


भिडियो फिचरview all