menu

ताजा समाचार

साझा प्रकाशनमा बढ्दो अस्तव्यस्तता : अंशियारहरूबाट जाँचबुझ समितिको माग

साहित्य तथा वाङ्मयको क्षेत्रमा लामो र गरिमामय इतिहास निर्माण गरेको साझा प्रकाशन यताका वर्षहरूमा आर्थिक अनियमितता, प्रशासनिक अस्तव्यस्तता र गुणस्तरहीन प्रकाशनका कारण धराशायी बनेको कुरा यसका गतिविधि तथा यसका बारेमा प्रकाशमा आएका समाचारहरूबाट अवगत गर्न सकिन्छ । सरकारका तर्फबाट समेत  समस्याका बारेमा अपेक्षित गम्भीरताको अभाव देखिएको सन्दर्भमा यसका अंशियारहरूको हालै भएको जमघटले यससित सम्बद्ध प्रमुख समस्याहरूलाई प्रकाशनमा ल्याएको छ  ।  साझा प्रकाशनका समस्याहरू विगतदेखिकै निरन्तरतामा भए पनि अहिले आएर थप जटिल बनेको कुरा जमघटमा सहभागी एक जना साहित्यकारले बताएका छन् । उनका अनुसार साझा प्रकाशनमा थुप्रै समस्याहरू रहे पनि जमघटले प्रमुख रूपमा निम्न समस्यालाई औँल्याएको छ :

१. ममता झाको पालादेखि अहिलेसम्म नै साझा प्रकाशनमा निरन्तर बढ्दो आर्थिक अनियमितता र भ्रष्टाचार, २.प्रशासनिक अस्तव्यस्तता र व्यवस्थापनको समस्या, समस्या मिलाउनुको सट्टा बल्झाउने प्रवृत्ति, ३. महाप्रवन्धकको संस्थालाई आर्थिक बोझमा पारेर अनावश्यक रूपमा विदेश सयर गर्ने मोह, ४. इमानदार कर्मचारीहरूलाई बलपूर्वक अवकास दिएर साझा प्रकाशनको कामको प्रकृतिसित मेल नखाने अमुकअमुक पार्टीसम्बद्ध कार्यकर्ताहरूको अत्यधिक नियुक्ति र आर्थिक बोझ, ५.आवश्यकताका आधारमा भन्दा महाप्रबन्धकको सम्बन्ध र इच्छाअनुसार पुस्तक प्रकाशन हुने भएका कारण गुणस्तर हीन प्रकाशनको थाक, र विक्रीवितरणप्रति उदासीनता, ६. लेखककै खर्चमा साझाको लोगो प्रयोग गरेर पुस्तक प्रकाशित गरेका कारण साझा प्रकाशनको लोगोको दुरूपयोग, ७. विषयवस्तुको ज्ञान नभएका एकदमै कनिष्ठ ‘लेखकहरू’ लाई कृति मूल्याङ्कनमा राखेर गाइजात्रा गरेको, विषय विशेषज्ञभन्दा पार्टीगत आधारमा मूल्यांकनकर्ता तोकिएको, ८. आफ्ना गलत क्रियाकलापको समर्थन नगरेकै कारण वरिष्ठ र योग्यहरूलाई पन्छाएर सारै जुनियरहरूलाई प्रमोसन गरेको । संस्थाका हितभन्दा के गर्दा आफूलाई आर्थिक फाइदा हुन्छ, त्यसमा महाप्रवन्धकले ध्यान दिएको, ९. लेखापरीक्षण गराउनमा ध्यान नदिएको, १०. अवकास पाएकाहरूले पाउनु पर्ने रकम नपाएको,  कर्मचारीले महिनौँदेखि तलब नपाएको ११. अमुकअमुक पार्टीका नेताहरूको घरघर तथा मन्त्रीक्वार्टर धाएर चाकडीका भरमा महाप्रवन्धकले आफ्नो कुर्सी सुरक्षित राख्न खोजेको, १२. साहित्यिक प्रकाशनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको ‘गरिमा’ को प्रकाशन निरन्तरतामा महाप्रवन्धकले चासो नदेखाएको, १३. अँशियारहरूका महत्त्वपूर्ण  सुझाव-सलाहलाई  वेवास्ता गरेको, १४. साझा प्रकाशनका समस्या बुझेका सञ्चालक समितिका सदस्यहरू भन्दा पार्टीका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले संचालक समिति भरिएको कारण पनि समस्या भएको र निर्वाचित सदस्यहरूले पनि सही किसिमले दिशाबोध गर्नु/गराउनुको साटो महाप्रवन्धककै कारिन्दा  बनेको, र १५. सरकारका तर्फबाट पनि समस्याको जडसम्म गएर हल गर्नुको सट्टा टालटुले प्रवृत्ति अँगालिएको ।

 जमघटलाई व्यापक बनाउँदै निरन्तरता दिने र सम्बद्ध पक्षले यसमा ध्यान नदिए अगाडिको कार्यक्रमबारे नयाँ किसिमले सोच्ने  निर्णय गरेको कुरा पनि जमघटमा उपस्थित एक जना लेखकले ‘जनमेल’ लाई जानकारी गराएका छन् ।

‘वाम’ सरकारका नयाँ नियुक्त शिक्षा मन्त्रीले यसका सम्बन्धमा केस्ता कदम चाल्छन्, यो पनि आम चासोको विषय भएको छ ।  साझा प्रकाशन शिक्षा मन्त्रालयअन्तर्गत कि  सहकारी अन्तर्गत भन्ने कुराको विवाद यथावत रहनु, साझा प्रकाशनका सम्बन्धमा सरकारले ठोस र कठोर निर्णय नगरी झारा टार्ने काम मात्र गर्नुले पनि समस्या यथावत रहेको कुरा साझा प्रकाशनकै कर्मचारीहरू बताउँछन् । वास्तवमा,  अहिले देखिएको अस्तव्यस्तता र भाँडभैलोको कारण सरकारी उदासीनता पनि हो भन्ने कुरामा विमति छैन ।

साझा प्रकाशनमा थुप्रै समस्या छन् र यसको सामान्य औषधीउपचार होइन, समग्र अपरेसन गर्नु आवश्यक छ भनेर यसका अंशियारहरू बताउँछन् ।  महाप्रन्धकका चिप्ला र चाकडीका कुरा होइन,अंशियारसमेतको सहभागितामा एउटा समिति बनाएर यसमा  भएका आर्थिक अनियमितता तथा अन्य समस्याहरू निराकरण गरिनु पर्ने कुरा पनि  अंशियारहरू बताउँछन् ।
०००
भिडियो फिचरview all