menu

ताजा समाचार

सातवटा माओवादी समूहको संयुक्त वक्तव्य : साम्राज्यवाद मुर्दावाद ! जनयुद्ध जिन्दावाद !

मार्क्सको २००औँ जन्म दिवसका सन्दर्भमा युरोप तथा ल्याटिन अमेरिकाका ७ वटा माओवादी समूहले हालै संयुक्त वक्तव्य प्रकाशित गर्दै आजको सन्दर्भमा मार्क्स र मार्क्सवादको पक्षमा उभिनु भनेको सबैखाले अवसरवादको विरुद्धमा र मार्क्सवाद-लेनिनवाद-माओवाद र जनयुद्धको पक्षमा दृढताका साथ उभिनु हो भनेका छन् । यसरी वक्तव्य प्रकाशित गर्नेहरूमा कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन), पिपुल्स मुभमेन्ट पेरू (रिअर्गनाइजेसन कमिटी), कम्युनिस्ट पार्टी अफ इक्वेडर-रेडसन, रेड फ्याक्सन अफ दि कम्युनिस्ट पार्टी अफ चिली, माओइस्ट अर्गनाइजेसन फर दि रिकंस्टिच्युसन अफ दि कम्युनिस्ट पार्टी अफ मेक्सिको र कम्युनिस्ट रेड फ्ल्याग-एफआरजी रहेका छन् । पहिलेका ६ वटा समूह ल्याटिन अमेरिकी समूहहरू हुन् भने रेड फ्ल्याग-एफआरजी जर्मनीको माओवादी समूह हो । पहिले स्पेनी भाषामा प्रकाशित यो वक्तव्य अहिले अङ्ग्रेजीमा प्रकाशित गरिएको छ ।

वक्तव्यमा मार्क्सले आफ्ना सहयोद्धा एङ्गेल्ससित मिलेर गरेका योगदानहरू, कम्युनिस्ट घोषणपत्रको विश्वव्यापी र सार्वभौम महत्वको चर्चाका साथै मार्क्स र मार्क्सवादका विरूद्ध प्रतिक्रियावादी, संशोधनवादी र  विसर्जनवादी कोणबाट गरिएका कुतर्कहरूको खण्डन गरिएको छ । वक्तव्यमा, मार्क्सवादलाई महान् लेनिनले लेनिनवादका रूपमा विकास गर्नुभएको र माओले मार्क्सवाद-लेनिनवाद-माओवादका रूपमा विकास गर्नुभएको कुराको उल्लेख गर्दै आजको सन्दर्भमा मार्क्सवादी हुनु भनेको माओवादी हुनु हो, भनिएको छ ।  वक्तव्यमा मार्क्सका बारेमा बब अभाकियनले गरेको कुतर्कको खण्डन गर्नुको साथै प्रचण्डले मार्क्सवादप्रति गरेको गद्धारीको पनि चर्चा गरिएको छ ।

जस्तो वक्तव्यमा भनिएको छ :

“मार्क्स र मार्क्सवादसँगै मानवजीवनको इतिहासको महान् अध्यायको आरम्भ भयो, जसमा मान्छे सर्वहारा विचारधाराले सुसज्जित भयो, समाजका बारेमा बुझन वैज्ञानिक बाटो पायो, वर्गसमाजमा वर्गसङ्घर्षको आवश्यकता र क्रान्तिको दिशाबारे जानकारी पायो र कसरी शोषणबाट मुक्त भएर गौरवशाली साम्यवादक पुग्न सकिन्छ भन्ने कुरा बुझ्न सक्षम भयो ।”


त्यसैगरी वक्तव्यमा भनिएको छ :

''मार्क्सले आफ्ना मित्र एङ्गेल्ससित मिलेर  पहिलोपल्ट नारा अघि सार्नुभयो : विश्वका सर्वहाराहरू एकजुट होऔँ । यो यस्तो नारा हो, जसअन्तर्गत विश्वका लाखौँ श्रमजीवीले आफूलाई क्रान्तिकारी सङ्घर्षमा होमेका छन् र साम्यवादको झण्डालाई माथि झन् माथि उचाइमा उठाएका छन् । रूसमा अक्टोबर क्रान्तिको विजयसँगै मानवजीवनको नयाँ युगको उद्घाटन भयो, महान् चिनियाँ सांस्कृतिक क्रान्ति हुँदै अघि बढ्दा  दर्जनौँ राष्ट्रिय मुक्ति आन्दोलनहरूले साकार रूप लिए  र यो आन्दोलन महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बाटो भएर अघि बढ्ने क्रममा पेरू, भारत, फिलिपिन्स र टर्कीमा अहिले जनयुद्ध चलिरहेका छन् । मार्क्सवादलाई व्यवहारमा लागू गर्ने क्रममा भीषण सङ्घर्षका बीचबाट मार्क्सवाद-लेनिनवाद-माओवादको विकास भएर अहिले माओवाद मार्क्सवादको तेस्रो र उच्च चरणका रूपमा स्थापित भएको छ । यसक्रममा  कमरेड गोन्जालोले माओवादको झण्डालाई माथि उचाल्नुभएको यथार्थ पनि प्रस्ट छ ।"


वक्तव्यमा कम्युनिस्ट घोषणापत्रको महत्वमाथि प्रकाश पार्दै भनिएको छ :

 ''यो वर्ष मार्क्स-एङ्गेल्स प्रतिपादित कम्युनिस्ट मेनिफेस्टोको १७० वर्ष पुगेको अवसर पनि हो, जसले सर्वहाराको मुक्तिको नीति, कार्यक्रम र भविष्यसम्बन्धी मान्यतालाई अगाडि ल्याएको थियो । यो घोषणापत्र आजको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ । जस्तो यसमा प्रस्टताका साथ भनिएको छ । ''साम्यवादीहरू आफ्ना विचार र उद्देश्यहरू  लुकाउनु आफ्नो सानको विपरित ठान्दछन् । सम्पूर्ण विद्यमान  सामाजिक व्यवस्थालाई बलपूर्वक ढालेर मात्र आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ भनेर उनीहरू खुल्लमखुला घोषणा गर्दछन् । साम्यवादी क्रान्तिद्वारा शासक वर्गलाई त्राहीमाम हुनदेऊ । सर्वहारावर्गसँग गुमाउनको लागि हत्कडी बाहेक अरू केही छैन, जित्नका लागि संसार छ ।"

वक्तव्यको अन्त्यमा आजको सन्दर्भमा मार्क्सको  जन्मदिवस मनाउनुको अर्थ मार्क्सवाद-लेनिनवाद-माओवाद मूलतः माओवादलाई दरोसित समातेर जनयुद्धको तयारीमा लाग्नु र सबै खाले अवसरवाद, हिजो बर्नस्टिनलगायतकाहरूसित  लडेझैँ आज बब अभाकियन र प्रचण्ड माकार्का संशोधनवादीहरूको विरुद्ध दृढताका साथ उभिनु हो भनिएको छ । 

जस्तो भनिएको छ : ''आजको मार्क्सवाद, माओवादको झण्डालाई माथि उठाउँदै नयाँ अन्तर्राष्ट्रिय निर्माणका साथ जनयुद्धको दिशामा अघि बढ्नु नै मार्क्सले आरम्भ गरेको लडाइँको सार हो र यसको  अन्तिम उद्देश्य सुनौलो साम्यवाद हो ।" 

निम्नलिखित नाराका साथ वक्तव्यलाई टुङ्ग्याइएको छ :

 विश्वभरिका श्रमजीवीहरू एकजुट होऔँ !
 सर्वहाराका पहिलो महान् नेता कार्ल मार्क्सको २००औँ  जन्मदिवस जिन्दावाद !
मार्क्सका ऐतिहासिक र अमिट योगदानहरू जिन्दावाद !
 कम्युनिस्ट घोषणापत्रको १७० वर्ष जिन्दावाद !
 सर्वहारा अन्तर्राष्ट्रियतावादको रक्षा तथा प्रवर्द्धन गरौँ !
 कमरेड गोन्जालोको जीवनरक्षा गरौँ !
 साम्राज्यवाद मुर्दावाद ! जनयुद्ध जिन्दावाद !
साम्यवाद प्राप्न होउन्जेलसम्म जनयुद्ध जारी राखौँ !

(वक्तव्यको पूर्ण पाठका लागि : thenextfront.com हेर्नुहोला)

भिडियो फिचरview all