menu

ताजा समाचार

क्रान्तिकारीहरू संयुक्त वक्तव्यको तयारीमा

क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन (रिम) सित सम्बद्ध समितिका महत्वपूर्ण घटकहरूले गलत बाटो लिएपछि  पुरानो समिति विसर्जनको स्थितिमा पुगेको कारण विश्वभरिका क्रान्तिकारी माओवादीहरूले नयाँ परिस्थितिमा नयाँ किसिमले क्रान्तिकारीहरूको नयाँ केन्द्र-नयाँ 'अन्तर्राष्ट्रिय' निर्माण गर्नुपर्छ भनेर सन् २०१० देखि निरन्तर पहल गरिरहेका छन् ।  यस क्रममा उनीहरूले हरेक वर्ष मे दिवसका सन्दर्भमा संयुक्त वक्तव्य प्रकाशित गर्ने गरेका छन् । यस अभियानमा  मूलतः मालेमावादी पार्टी, सङ्गठन, मञ्च तथा समूहहरू समाविष्ट हुनेगरेका छन् ।

मे दिवसलाई आधार मानेर विश्वका क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणको अभियानमा खास गरेर युरोपेली माओवादीहरू त्यसमा पनि इटालीको माओवादी पार्टींको सक्रियता बढी हुनेगरेको छ । सुरुमा यो सङ्रख्या  थोरै भए पनि अहिले एसिया, युरोप, अफ्रिका, अरब र ल्याटिन अमेरिकाका माओवादी पार्टी र सङ्गठनहरू यसमा समाविष्ट भएका छन् । यो सङ्ख्या सन् २०१६ मा ३१ पुगेको थियो भने सन् २०१७ मा ल्याटिन अमेरिकी माओवादी पार्टींहरूले अलग संयुक्त वत्तलव्य प्रकाशित गरेका कारण यसको सङ्ख्या २१ मात्र थियो ।

नेपालको तर्फबाट यस अभियानमा सन् २०१२ देखि डा. ऋषिराज बरालको संयोजकत्वमा गठित  ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ मात्रै सहभागी रहेकोमा सन् २०१६ देखि सो ‘क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च’ समेत संलग्न रहेको कम्युनिस्ट न्युक्लिअस, नेपाल यो संयुक्त अभियानमा सहभागी भएको छ । नेकपा (क्रान्तिकारी-माओवादी) र विप्लव समूहलाई संयुक्त अभियानमा सहभागी हुन आह्वान गरे पनि ती समूहले चासो नराखेका कारण नेपालबाट पछिल्ला दिनमा कम्युनिस्ट न्युक्लिअस, नेपाल मात्रै सहभागी हुँदै आएकोमा गत साल अन्तिम समयमा आएर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पनि सहभागी भएको थियो । साम्राज्यवादको अन्त्य भयो. अबको समय ‘उत्तर-साम्राज्यवाद’ को समय हो भनेर वकालत गर्दै आएको विप्लव समूहप्रति अन्तर्राष्ट्रिय माओवादी सङ्घसंस्थाहरू त्यति सकारात्मक भएको पाइँदैन र सो समूहले पनि यो अन्तर्राष्ट्रिय अभियानमा सहभागी हुन चासो देखाएको पाइएको छैन ।

जनयुद्धको राजनीतिसित गाँसिएको र हिजो ‘कोरिम’ मा प्रतिनिधित्व गर्ने कमरेड गौरवसमेत रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणप्रति चासो राखोस् र पहलकदमी लेओस् भन्ने चाहना राख्ने युरोपेली तथा ल्याटिन अमेरिकी माओवादीहरूले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यस अभियानप्रतिको उदासीनताप्रति असन्तुष्टि जाहेर गर्दै आएका छन् । माओवादी क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माण अभियानले मार्क्सवाद-लेनिनवाद-माओवादलाई अहिलेको विश्वक्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्छ , अहिलेको रूस र चीनलाई सामाजिक साम्राज्यवादी मुलुकहरू ठान्छ र  “आआफ्नो देशको विशिष्टतामा लागु गरिने माओवादी जनयुद्ध नै अबको विश्वको क्रान्तिको कार्यदिशा” हो भन्ने कुरामा जोड दिन्छ । यसले भारतमा चलिरहेको जनयुद्ध विश्वक्रान्तिको महत्वपूर्ण अङ्ग भएकाले यसको सहयोग र समर्थनमा उभिनु विश्वका हरेक क्रान्तिकारीको दायित्व हो भन्ने ठान्छ ।
 
यसपल्टको संयुक्त वक्तव्य मे दिवसका साथै मार्क्सको २००औँ जन्म स्मृतिका सन्दर्भमा जारी हुने हुँदा यसको विशिष्ट महत्व छ र अहिले के के विषयहरू अबको संयुक्त वक्तव्यमा समाविष्ट गर्नु आवश्यक छ भनेर यस अभियानको अगुवाइ गरेकाहरूले सम्बद्ध सङ्घसंस्थाहरूसित सम्पर्क पनि गरिसकेका छन् । अमेरिकी साम्राज्यवादलगायत रुसी-चिनियाँ सामाजिक साम्राज्यवाद, अन्तरसाम्राज्यवादी स्वार्थको कोपभाजन बनेको सिरिया, टर्की, विश्भरिको आशाको केन्द्र बनेको भारतमा चलिरहेको जनयुद्ध र फिलिपिन्सको माओवादी आन्दोलन वक्तव्यको मूल विषय बन्ने सम्भावना रहेको छ । साथै मार्क्सको जन्म दिवशको सन्दर्भसहित आजको विश्वमा मार्क्सवाद-लेनिनवाद-माओवादको महत्वलाई पनि वक्तव्यले विशेष स्थान दिने कुरा प्रस्ट छ ।

यताका दिनमा ल्याटिन अमेरिकी माओवादी सङ्घसंस्था तथा बुद्धिजीवीहरूले गोन्जालोको योगदानको सही समीक्षा गरिनु आवश्यक छ भन्ने भनाइका साथै वहाँको रिहाइको विषयलाई गम्भीरताका साथ उठाउने गरेका छन् र यसलाई मे दिवसलगायत  अन्य भेला तथा सम्मेलनमा सन्दर्भविषय बनाउन आह्वान गरेका छन् । क्यानडाको माओवादी पार्टीलगायतका पार्टीहरूले पनि यो विषयलाई गम्भीरताका साथ लिनु आवश्यक छ भनेको छ । काम्युनिस्ट न्युक्लिअस, नेपाल पनि ल्याटिन अमेरिकी माओवादी सङ्घ-संस्थाहरूले उठाएको यो मुद्धाप्रति ध्यान दिनु आवश्यक ठान्दछ । यसैले पनि ल्याटिन अमेरिकी माओवादीहरूले गत साल मे दिवसका सन्दर्भमा अलग्गै संयुक्त वक्तव्य प्रकाशित गर्नु आवश्यक ठानेका थिए । यताका दिनमा ल्याटिन अमेरिकी माओवादीहरूले सङ्गठित स्वरूप दिएर आफ्ना गतिविधि बढाउन थालेका  छन् । मार्क्सको २०० औँ जन्म दिवसका सन्दर्भमा ल्याटिन अमेरिकी माओवादी पार्टीहरूले हालै जारी गरेको अलग्गै संयुक्त वक्तव्यले पनि यसै कुराको पुष्टि गर्छ । वास्तवमा माओवादी पार्टी क्यानडाले गोन्जालोको विषयमा उठाएको प्रश्न सही छ र यसप्रति विश्वका माओवादी क्रान्तिकारीहरूको ध्यान जानु आवश्यक छ ।  
   


भिडियो फिचरview all