menu

ताजा समाचार

सि जिपिङको साम्राज्यमा ८ जना माओवादी युवाहरूलाई राष्ट्रद्रोहको मुद्धा

माओको योगदान र मूल्यलाई निषेध गर्दै, सेनाको साथ लिएर माओ र माओवादका पक्षधर आफ्ना प्रतिद्वन्द्वी र समकक्षी अन्यलाई भ्रष्टाचार लगायत अनेक षड्यन्त्रमा फसाएर संविधानमा सि जिपिङ विचारधारा लेखेर नपुगेर आजीवन पार्टी प्रमुख र राष्ट्राध्यक्ष हुन संविधानमा व्यवस्था गर्दै सामाजिक साम्राज्यवादको अभ्यास गरिरहेका  चीनका नयाँ तानाशाह सि जिपिङले यताका ६ महिनाभित्र अभिव्यक्ति स्वतन्त्रतामाथि थप लगाम लगाएका छन् र मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरूमाथिको दमनलाई तीव्र पारेका छन् । आफ्नो कार्यकाललाई आगिवन बनाउन गरेको उनको प्रयासलाई अन्तर्राष्ट्रिय माध्यमहरूले सि '' राष्ट्रपतिदेखि बादसाहसम्म ' भनेर वंग्य गरेका छन्  ।

यसै क्रममा पछिल्ला दिनमा चीनमा “आठ जना युवाहरूको गिरफ्तारीको प्रकरण” चर्चाको विषय मात्र नभएर सङ्घर्ष र प्रतिरोधको नयाँ अभिलेख पनि बनेको छ । के हो त यो “आठ जना युवाहरूको गिरफ्तारीको प्रकरण”?  यस्तो छ,पहिले चिनियाँ भाषाको बेबसाइट  https://sdxf01.gq/ मा प्रकाशित र पछि अङ्ग्रेजीमा अनूदित यो रिपोर्टको सारसङ्क्षेप :
 

............................................................................................................

चिसो रातलाई प्रज्वलित पार्दै मशालहरू :  गुवाङ्जाउका “आठ युवाहरू” सित सम्बद्ध परिघटना


मार्क्सवादी अध्ययन एसोसिएसनमा  सहभागी ग्वाङदोङ युनिभर्सिटी अफ टेक्नोलोजी (गट) सित सम्बद्ध आठ जना युवाहरूको गिरफतारीको विषय यतिखेर  चीनमा “आठ युवा प्रकरण” नामले चर्चित छ । यसलाई लिएर व्यापक जनआक्रोस उत्पन्न भएको छ र त्यहाँ दिनदिनै नाराजुलुस र विरोधका कार्यक्रमहरू भइरहेका छन् । आठ जना युवाहरूप्रति भएको अन्यायको विषयलाई लिएर अन्य प्रान्त तथा विश्वविद्यालयका विद्यार्थीका साथै प्राध्यापकहरूले समेत विरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाएका छन् । गत नोभेम्बरदेखि यताका दिनमा भइरहेको धरपकडको घटनालाई सरकारी माध्यमहरूले लुकाए पनि चिनियाँ भाषाको अनलाइनहरू तथा विभिन्न माध्यमहरूले यसलाई प्रकाशित गरेका छन् र विश्वका  माओवादी अनलाइनहरूले यसलाई अङ्गे्रजीमा अनुवाद गरी व्यापक पाठकसम्म पुर्याएका  छन् । यस्तो छ सम्बद्ध घटनाक्रम :

नोभेम्बर १५, २०१७

ग्वाङदोङ युनिभर्सिटी अफ टेक्नोलोजीको कक्षा कोठामा झाङ युं फान र अन्य विद्यार्थीहरूले मार्क्सवादको क्लास लिइरहेको अवस्थामा सुरक्षा अधिकारीहरू प्रवेश गरे । सिङ्गै कोठालाई फलामे टोपी लगाएका सुरक्षाकर्मीहरूले घेराउ गरेर कक्षा कोठाबाट केही विद्यार्थीहरूलाई छानीछानी कब्जामा लिए । उनीहरूमध्ये नेताका रूपमा लिएर झाङ युं फान र यि जाङ्कीलाई “सार्वजनिक स्थानमा होहल्ला गरेको”, “शान्तिसुरक्षामा आघात पुर्याएको ” ''राष्ट्र विरोधी गतिविधिमा लागेको''  भन्ने अभियोग लगाइयो । सबैलाई केरकार गरियो र यस किसिमको कक्षामा सहभागी नहुन धम्की दिइयो । र यस्ता कक्षामाथि प्रतिबन्ध लगाउने घोषणा गरियो  । मार्क्सवादको पठनपाठनका नाममा चीनमा अभिव्यक्ति स्वतन्त्रता नभएको, सन् १९८० को विद्यार्थी आन्दोलनको जानकारी गराएको, ट्रेड युनियन अधिकार नभएको लगायत ‘बाव जु प्रकरण’ को भिडिओ प्रदर्शन गरेको भनेर उनीहरूमाथि अभियोग लगाइयो ।

विद्यार्थीले कक्षा कोठाभित्रै चीनको वर्तमान अवस्था, चीनमा मार्क्सवादको आवश्यकता, मजदुर हकहितको सन्दर्भ र विद्यार्थीको भूमिकाबारे छलफल चलाएका थिए, त्यहाँ सार्वजनिक अपराध तथा शान्तिसुरक्षामा खलल पुग्ने कुनै काम पनि गरेका थिएनन् । तर उनीहरूमाथि अपराधीकाझैँ व्यवहार गरेर राजद्रोहको मुद्दा लगाउने तयारी गरियो ।

डिसेम्बर ५, २०१७

पुलिसले यो सबै कार्यक्रमको आयोजक मूल मान्छे भन्दै विश्वविद्यालयका स्नातक झेङ योङ्मिङलाई उनको निवासबाटै पक्राउ गर्यो  । उनलाई सारा घटनासन्दर्भको ‘रिङ्लिडर’ भनेर अपराधीका रूपमा प्रस्तुत गर्यो ।

डिसेम्बर ८, २०१७

प्रहरीले उनको जानकारी बिना नै महिला विद्यार्थी सन तिंगतिङको कोठा खानतलासी गर्यो  ।  मार्क्सवाद अध्ययनमण्डलीमा सामेल भएको भनेर पक्राउ गरेर अध्ययन मण्डलीका सम्पूर्ण सदस्यको नाम र गतिविधि बताउन धम्की दियो । प्रहरीले उनी बसेको समग्र अपार्टमेन्ट खानतलासी गरेर निजी सामानसमेत कब्जा गर्यो । र उनलाई  पनि अपराधीका रूपमा सूचीकृत गर्यो  । संविधानप्रदत्त अधिकारसमेत प्रयोग गर्न नदिई उनलाई पनि एउटा अपराधीका झैँ व्यवहार गरियो । पक्राउ परेकाहरू एकअर्कालाई भेट्नसमेत नदिई अलगअलग ठाउँमा राखियो र मूल नेताका रूपमा झाङ युँ फानलाई कति दिनसम्म बेपत्ता पारियो ।

विद्यार्थीले कक्षा कोठाभित्रै माक्र्सवादको आवश्यकता, चीनको अवस्था, मजदुर हकहितको सन्दर्भ र विद्यार्थीको भूमिकाबारे छलफल चलाएका थिए, त्यहाँ सार्वजिनक अपराध तथा शान्तिसुरक्षामा खलल पुग्ने कुनै काम गरेका थिएनन् । तर अपराधीकाझै व्यवहार गरेर राजद्रोहको मुद्दा लगाउने तयारी गरियो ।

डिसेम्बर २१, २०१७

यो घटनालाई लिएर “शान्तिसुरक्षामा आघात पुर्याएको भन्दै हिरासतमा लिइएका पेकिङ युनिभर्सिटी ग्राजुयट’ झाङ युं फानको विषयका सम्बन्धमा पेन्यु पुलिस विभागलाई खुलापत्र” शीर्षको चिठी अनलाइनमा प्रकाशित भयो । यसमा सही कुरा के हो भन्ने कुरा प्रस्ट पार्दै झाङ युं  फान लगायतकाको रिहाइका लागि जनसमर्थनको माग गरिएको थियो । यो खुलापत्रमा बहुचर्चित चिनियाँ प्राध्यापक तथा विद्वानहरू कियान, लिकुन, कोङ किङ्दोङ, यु जियाङरोङ लगायतका चर्चित व्यक्तित्वहरूको हस्ताक्षर गरेका थिए । सरकारले “खुलापत्र” लाई समाचार माध्यमहरूबाट हटाउन डर र धम्की दिए पनि त्यसप्रति ऐक्यबद्धता जनाउनेको सङ्ख्या बढ्दै गयो र सामाजिक सञ्जाल तथा अनलाइनमा यसले निकै ठूलो आकार लियो । यस सन्दर्भले चीनभित्र मात्र नभई चीनबाहिर पनि निकै ठूलो आयाम पायो । वामपन्थीहरू, माओवादीहरूको आयोजनामा ठाउँठाउँमा जनप्रदर्शनहरू भए । यस सन्दर्भले अन्तर्राष्ट्रिय प्रचार पाएपछि प्रहरीप्रशासनले मुद्दालाई नयाँ मोड दिने प्रयास गर्यो  ।

डिसेम्बर २९, २०१७

व्यापक जनआवाज,  प्रचारप्रसार र जनदबाबपछि  झाङ युं फान र ए जियाङ्कीलाई सार्वजनिक गरी जमानतमा रिहाइ गरियो ।

डिसेम्बर ३०, २०१७

पेकिङ युनिभर्सिटी कानुन विभागका प्राध्यापक झाङ क्वानफानले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै  “वाम होस् अथवा दक्षिण : अभिव्यक्ति स्वतन्त्रताको प्रश्न” शीर्षकमा एउटा लेख प्रकाशित गरे ।

जनवरी ४, २०१८

सन तिङतिङ र झेङ योङ्मिङलाई पनि जमानतमा रिहाइ गरियो ।

जनवरी १५, २०१८

झाङ युं  फानले आफ्नो वेइबो अकाउन्टमा “जनतासामु मेरो स्वीकारोक्ति” शीर्षकमा एउटा रचना प्रकाशित गरे । यसमा उनले सबै कुरा खुलस्त पारे । उनले “आफूलाई गोप्य सङ्गठनको गोप्य गतिविधिमा संलग्न भएको”, “राज्यद्रोहमा सामेल भएको” भनेर कबुल गर्न जोरजबर्जस्ती गरेको भनेर प्रस्ट पारे । उनीहरू कसैलाई अपराधी साबित गर्नु पर्यो  भने यसै गर्छन् । उनले अन्य थुप्रै युवाहरू अझै प्रहरीको खोजीमा रहेको कुरा पनि सार्वजनिक गरे । उनको लेखले व्यापक जनमत पायो ।  त्यसको व्यापक प्रचारप्रसार गरियो र विद्यार्थीबीच फोटो कपी गरेर वितरण गरियो ।
 
को हुन् त झाङ युँ फान ? उनी पेकिङ युनिभर्सिटीका विद्यार्थी तथा मार्क्सवादी अध्ययन मण्डली अर्थात् एसोसिएसनका नेता थिए, जो विद्यार्थीका बीच श्रमजीवीहरूका हकहितका लागि काम गरिरहेका थिए । उनले जे कुरा बाहिर ल्याए, त्यसमा धेरैले भन्न नसकेका कुरा थिए र उनको लेखले अन्य युवाहरूलाई पनि लेख्न र बोल्न उत्साहित र उत्प्रेरित गर्यो  । यति मात्र नभएर प्रहरीको आतङ्बाट लाटा भएका मान्छेहरू खास गरेर युवाहरू बोल्न मात्र होइन, सडकमा निस्कन पनि हिम्मतिला देखिए । फानले कसरी प्रहरीले सत्यतथयलाई लुकाएर मान्छेलाई आतङ्कित पारेर मौन बस्न  बाध्य पारेको छ भनेर यथार्थलाई बाहिर ल्याएका थिए ।

जनवरी १६, २०१८

सन तिङतिङले आफनो अकाउन्टमा लेखिन् : “म सन् तिङतिंग हुँ, म दृढताका साथ उभिएकी छु” । उनले त्यसमा आफू पक्राउ पर्नुअघि र पक्राउ परेपछिको समयमा प्रहरीले केकस्तो व्यवहार गर्यो   कस्ताकस्ता गेरकानुनी र अपराधी गतिविधिसित जोड्न खोज्यो भनेर प्रस्ट पारेकी छन् । उनको अपराध भनेको मार्क्सवादी अध्ययन मण्डलीले चलाएको कक्षामा सहभागी हुनु मात्र थियो । उनले जे लेखिन्,  त्यो व्यापक चर्चाको विषय बन्यो ।  तर झाङ युँ फान, झेङ योङ्मिङ र सन तिङ्तिङका अकाउन्टका सबै लेखोटहरू डिलिट गरियो ।

जनवरी १७, २०१८


“‘रिङलिडर’ झेङ योङमिङ : म सदैव मजदुर र किसानको छोरा भएर बाँच्न चाहन्छु” शीर्षकमा एउटा लेख प्रकाशित भयो । त्यसमा उनले आफू सधैं  उत्पीडित युवाहरू तथा मजदुरकिसानको पक्षमा उभिने दृढता प्रकट गरेका थिए । पश्चताप  गर्ने होइन, आफूले सङ्घर्षको जीवन रोज्ने हो भनेर उनले लेखेका थिए ।

जनवरी २०, २०१८


माओको फोटो भएको ब्यानरसहित साङ्सी प्रान्तको सियानमा आम जनता सडकमा निस्किए । उनीहरूले माओको पक्षमा नारा लगाए, माओवादको पक्षमा नारा लगाए, र लु निङमा स्थापित माओको मूर्तिलाई सि जिपिङ सत्ताले हटाएकोमा खुलेर विरोध र भ्रत्र्सना गरे । उनीहरूले मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षमा दृढताका साथ उभिएका आठजना माओवादी युवालाई पान्यु पुलिस विभागले पक्राउ गरेकोमा तीव्र विरोध जनाए र “साङ्सीका जनताका तर्फबाट आठ जना रिहाइका लागि व्यापक हस्ताक्षर अभियान” नाम दिएर खुला हस्ताक्षर अभियान चलाए । यर्स सन्दर्भमा सु जोङलियाङले ‘क्यान्टोन अझै कोमिङताङ शासनअन्तर्गत नै छ भनेर म कसरी विश्वास गरुँ’ भनेर व्यङ्ग्यात्मक लेख लेखे । प्रहरी कसको सेवामा ? जनताको सेवामा कि जनदमनकारीको सेवामा  भन्ने लेखेर प्रहरीले जवाफ दिनुपर्ने जिकिर गरे ।

(चिनिया माओवादीहरू विचारविमर्श गर्दै)

जनवरी २१, २०१८

हङ्कङस्थिति थुप्रै सामाजिक तथा राजनीतिक संस्थाहरूले सडकमा नारासहित निस्केर आठजना युवाहरूप्रति ऐक्यबद्धता जनाए ।

जनवरी २२, २०१८

झाङ युँ फान ले हानसियाको सम्झनामा आयोजित कार्यक्रमअघि “कमरेड हानसियाको सम्झनामा” कविता प्रकाशित गरे र फरक विचार राख्नेहरू, माओलाई माया गर्नेहरूमाथि कसरी दमन गरिन्छ भनेर प्रस्ट पारे ।
 
जनवरी २३, २०१८

गु जियायु नामका युवाले एउटा लेख लेखेर प्रतिबद्धता जनाए : “मूर्ख बुढो मान्छेले आफू नमरुन्जेलसम्म पहाड हटाउने काम रोक्ने छैन” । त्यसै दिन प्रहरीले सन तिंगतिङलाई धम्कयाउँदै स्थानीय प्रहरी कार्यालयमा हरेक दिन १० बजे हाजिर हुनुपर्ने आदेश जारी गर्यो ।

जनवरी २४, २०१८

पन्यु ग्वाङ्दोङका राष्ट्रिय सुरक्षा अधिकारीले झाङ युँ फानलाई कब्जामा लिएर २ घण्टासम्म केरकार गरे । बेपत्ता पारिदिने धम्की दिए । यसैबीच '' ग्वाङझाउ अध्ययन मण्डलीका आठ जना युवासित सम्बद्ध विवादलाई समाजको हरेक क्षेत्रसित सम्बद्ध पक्षले सही बाटो खोजोस् भन्ने चाहन्छ” भन्ने शीर्षकमा एउटा अपिल जारी भयो । यसमा सामाजिक जीवनमा परिचित र चर्चित ३६ जना वामपन्थी व्यक्तित्वहरूले हस्ताक्षर गरेका थिए र यसलाई “आठ जना युवा सरोकार समूह” को संज्ञा दिइयो । यसमा  आठ जना युवा निर्दोष छन् र उनीहरूका कुराको सुनुवाइ हुनु आवश्यक छ भनेर जोड दिइयो । २ दिनभित्रमै ऐक्यबद्धताप्रति सही गर्नेको सङ्ख्या ८६० पुग्यो र प्रहरीले हस्ताक्षर अभियान नचलाउन दबाब दियो ।

(आन्दोलनका क्रममा माओका रचनाको प्रचारप्रसार)

जनवरी २५, २०१८

ए जियान्कीले  ‘इपो पायोनियर’ नामको वेबसाइटमा  “सु, हान, ह्वाङ र गु लाई अपराधी ठहर्याउने प्रयास बन्द गर” शीर्षकमा लेख लेखेर घटनाको सबै विवरण प्रकाशमा ल्याए । त्यसमा उनले घटनाको सारा विवरणमार्फत आफूलाई “प्रहरीलाई सहयोग गर्न”, “सरकारका लागि काम गर्न”  दबाब दिएको कुरा उल्लेख गरेका छन् । उनले प्रहरीले धम्क्याउने र फकाउने गरेर आफूलाई गलाउन खोजेको कुरा उल्लेख गरेका छन् ।

अन्त्यमा :

सिङ्गो चिनियाँ समाज “आठवटा युवा प्रकरण’ लाई बडो गम्भीरताका साथ हेरिरहेको छ । मान्छेहरू न्याय खोजिरहेका छन् । माओको सम्झना गर्नु मार्क्सवादी-लेनिनवादी-माओवादी विचार अँगाल्नुलाई अपराधीकरण किन गरिन्छ भनेर चारैतिर आवाज उठेको छ । अहिले चीनमा जनताले विधिको शासन र मानवअधिकारका कुरा उठाइरहेका छन् ।

प्रहरीले मार्क्सवाद अध्ययन मण्डलीका सदस्यहरूलाई “पार्टी विरोधी, असामाजिक” र “अपराधी ” सङ्गठनका सदस्यका रूपमा प्रस्तुत गरिरहेको छ । गलत कुरालाई सही ठहर्याउन उन झूठ र भ्रमको सहारा लिइएको छ । प्रहरी मात्र होइन, स्थानीय प्रशासनको कर्मचारीतन्त्र पनि यसै कुरालाई पछ्याइरहेको छ ।

के यस किसिमको अन्यायप्रति आँखा चिम्लिन सकिन्छ ?  खुसीको कुरा आठ युवा प्रकरणका सम्बन्धमा प्रहरीले तयार पारेको राष्ट्रद्रोहको तानाबानाको परिपञ्च अहिलेलाई केही हदसम्म असफल भएको छ । पहिलो कुरा,  प्रगतिशील जनताद्वारा प्रदर्शित व्यापक दबाबले  ती युवाहरूले केही मात्रामा भए पनि राहतको बोध गरेका छन्, र अहिले पनि चारैतिरबाट उनीहरूमाथि लागेको आरोप र अभियोग फिर्ता लिन व्यापक दबाब परिरहेको छ । र यसलाई अझ दबाबमूलक बनाउनु आवश्यक छ   ।

जनताले युवाहरू निर्दोष छन् मात्र नभनी उनीहरूको विचार राख्न पाउने अधिकार हनन हुनु हुन्न भनेर पनि आवाज उठाएका छन् । मानवअधिकारको रक्षा हुनुपर्ने कुरा उठाउका छन् ।

लेखहरूमाथि प्रतिबन्ध लगाए पनि, वेबसाइटहरू बन्द गराइए पनि, सामाजिक सञ्जालबाट सामग्री डिलिट गर्न लगाए पनि  जसरी “आठ युवा प्रकरण’ मा विरोध र प्रतिरोधका आवाजहरू उठे, यसले चिनियाँ जनता सही विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको कुरा प्रस्ट  हुन्छ ।

अब जनता सबै अभियोग फिर्ता लिएको र युवाहरूमाथि न्याय भएको यथार्थलाई हेर्न पखिएरहेका छन् ।  जनताले न्याय र समानताको बोध गर्न पाउने कि नपाउने भन्ने कुरा नै अहिलेको मूल पक्ष हो ।

२०१८ को आरम्भसम्म आइपुग्दा युवाहरूले एउटा राम्रो उदाहरण प्रस्तुत गरेका छन् । उनीहरूले जनतालाई निडर भएर अन्यायका विरुद्ध प्रतिरोध गर्न आह्वान गरेका छन, न्याय र स्वतन्त्रताको पक्षमा लड्न आह्वान गरेका छन् । उनीहरूले सामाजिक प्रगतिको आम विचार अवलम्बन गर्न पाउनु पर्ने हकअधिकारको कुरा उठाएका छन् ।  शिशिर यामको रातमा प्रज्वलित मशालझैँ उनीहरूले हाम्रो अगाडिको बाटोलाई प्रदिप्त पारेका छन् ।

यस किसिमका युवाहरू समग्र युवाहरूका प्रतिनिधि पात्रहरू हुन्, जो जनतामा उत्साह जगाउँछन्, समाजमा समानता र न्यायका लागि आशा र विश्वासको सञ्चार गराउँछन् ।

भिडियो फिचरview all