menu

ताजा समाचार

अवसरवाद तथा पश्चगमनका विरुद्ध विद्रोहको झण्डा उठाउन कमरेड किरणको आव्हान

 नेकपा (क्रान्तिकारी माओवादी) का  महासचिव कमरेड किरणद्वारा लेखिएको यो आलेख सो पार्टी सम्बद्ध अनलाइन माध्यममा प्रकाशित रचना हो । प्रस्तुत आलेखमा सबैखाले अवसरवाद तथा पश्चगमनका विरुद्ध विद्रोहको झण्डा उठाउन क्रान्तिकारी कम्युनिस्टहरूलाई आव्हान गरिएको छ  । वर्तमान माओवादी आन्दोलनसित  सम्बद्ध महत्त्वपूर्ण वैचारिक आलेख बढीभन्दा बढी पाठकसम्म पुर्याउनु आवश्यक ठानी  साभार गरी हामीले यहाँ प्रस्तुत गरेका छौं ।

------------------------------------------------------------------------------------------------
माकेको एमालेमा विलय : एक पश्चगामी छलाङ्ग

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अग्रगमन र पश्चगमनका बीचको भीषण अन्तर्विरोधको प्रक्रिया हुँदै अगाडि बढ्दैआएको छ । यसैक्रममा अहिले नेकपा (माओवादी केन्द्र) को नेकपा (एकीकृत मार्क्सवादी- लेनिनवादी) मा विलय भएको छ । माओवादी केन्द्रले क्रान्ति, कम्युनिज्म र माओवादको परित्याग गरी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा आधारित संसदवादको सिद्धान्तलाई स्वीकार गरेको छ । यस परिघटनालाई माओवादी केन्द्रको सैद्धान्तिक तथा राजनीतिक पतन, दक्षिणपन्थी संशोधनवादको पराकाष्ठा र पश्चगामी यात्राका रूपमा लिनु पर्दछ । अब माओवादी केन्द्रको माओवाद तथा वैज्ञानिक समाजवादसित सबै सम्बन्ध तोडिएको छ । माओवादी केन्द्र एमालेमा विलीन हुन पुगेको स्थितिमा हिंजोका माओवादी केन्द्रका ती नेताहरूको माओवाद र जनयुद्धको इतिहाससित पनि सम्बन्ध विच्छेद हुनगएको छ । यो नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासमा एक गम्भीर विडम्बना र पश्चगामी छलाङ हो ।

हिंजो महान् जनयुद्धको प्रक्रियामा तत्कालीन नेकपा (माओवादी) का नेता प्रचण्डले भनेका थिए :“बहुदलीय जनवादको प्रतिक्रियावादी रणनीति अवलम्बन गरेर मार्क्सवाद, लेनिनवाद जस्तो महान् पदावलीलाई खुलेआम संसदीय चुनावको ट्रेडमार्कमा झार्नपुगेको एमाले गद्दार गुट नै सर्वाधिक प्रतिक्रियावादीका रूपमा प्रस्तुत भएको छ । प्रतिक्रियावादी सत्ताको कुर्सीका निमित्त भारतीय विस्तारवादको नाङ्गो दलाल बनेर महाकालीमा निर्लज्जतापूर्वक राष्ट्रघात गर्न पुगेको यही संशोधनवादी गद्दार एमाले गुट नै हो, जसले गत साल सत्ताको हिस्सेदार बनेर जनयुद्धका विरुद्ध कथित आतंकवाद विरोधी कानुन बनाउने र सेना परिचालन गर्ने कुरामा सबैभन्दा बढी कसरत गरेको थियो ।” (नेपाली क्रान्तिका समस्याहरू , भाग ३ पृ. १६८, प्रगतिशील अध्ययन केन्द्र काठमाडौं २०६४) ।

उक्त उद्धरणमा एमालेको सशक्त विरोध तथा भण्डाफोर गरिएको छ । त्यसमा प्रचण्डद्वारा एमालेलाई : १) बहुदलीय जनवादको प्रतिक्रियावादी रणनीति अवलम्बन गरेको, २) मार्क्सवाद-लेनिनवादलाई संसदीय चुनावको ट्रेडमार्कमा झार्न पुगेको, ३) प्रतिक्रियावादी सत्ताको कुर्सीका लागि भारतीय विस्तारवादको नाङ्गो दलाल बनेर महाकालीमा निर्लज्ज राष्ट्रघात गरेको, ४) सत्ताको हिस्सेदार भई जनयुद्धका विरुद्ध कथित आतंकवादविरोधी कानुन बनाउने एवम् सेना परिचालन गर्ने कुरामा सबैभन्दा बढी कसरत गर्नपुगेको, ५) सर्वाधिक प्रतिक्रियावादीका रुपमा प्रस्तुत संशोधनवादी गद्दार गुट आदि भनिएको थियो । परन्तु, विडम्बना ! आज उक्त भनाइको ठीक विपरीत १८० डिग्रीमा फनक्कै घुमेर त्यसै एमालेसित माकेको विलय हुनगइरहेको छ ।

नेकपा (एमाले) र नेकपा (माके) सहितको गत असोजमा ओली, प्रचण्ड र बाबुराम भट्टराईद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको पार्टी एकतासम्बन्धी साझा सहमतिपत्रमा भनिएको थियो– “नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नीतिगत र व्यावहारिक नेतृत्व राजतन्त्रको अन्त गर्दै लोकतान्त्रिक गणतन्त्र, सङ्घीता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख विधान निर्माण गर्न सम्भव भएको छ ।….. संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोगको क्रममा लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट….. समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं ।” (सहमतिपत्र २०७४ असोज १७) ।

नेकपा (एमाले) र नेकपा (माके) द्वारा जारी गरिएको सो सहमतिपत्रमा : १) लोकतान्त्रिक गणतन्त्र, २) समाजवाद उन्मुख संविधान निर्माण, ३) लोकतान्त्रिक प्रणाली र ४) शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादका आधारहररू तयार पार्ने साझा निष्कर्षमा आइपुगेको कुरा उल्लेख गरिएको छ । यस प्रकारको साझा निष्कर्ष उनीहरूका बीचमा कायम भएको सैद्धान्तिक तथा राजनीतिक एकरूपताको आधार थियो । सोही आधारमा उनीहरूले पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्ने र संयुक्त रूपमा संसदीय चुनावमा जाने निर्णय गरेका थिए ।

सहमतिपत्रमा उल्लेख गरिएका यस प्रकारका मान्यता र जनयुद्धकालमा प्रचण्डद्वारा अभिव्यक्त उक्त भनाइका बीच तुलना गरेर हेर्दा सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक क्षेत्रमा आकासपातालको अन्तर देखिन्छ । परन्तु, अहिले त्यो अन्तर समाप्त भइसकेको छ । जनयुद्धको अन्तिम समयदेखि नै त्यो अन्तर मेटाउने प्रयास गरिएको हो र संसदीय व्यवस्थाको पुनःस्थापनाको संविधान बनाउने बेलासम्म त्यो अन्तर मिटिसकेको थियो । यसरी हेर्दा, यो एकता एकाएक हुनथालेको नभई लामो समयका बीचमा योजनाबद्ध रूपमा उल्टो रूपमा मात्राबाट गुणमा छलाङ हानेर हुनगइरहेको छ ।

अहिले यही फागुन ७ गते एमाले र माकेका बीचमा पार्टी एकता संयोजन समितिको बैठक बसी सातबुँदे सहमति भएको छ । तदनुसार : १) एकीकृत पार्टीको नाम नेकपा कम्युनिस्ट पार्टी राख्ने, २) निर्देशक सिद्धान्तका रूपमा माओवाद परित्याग गरी मार्क्सवाद-लेनिनवाद मात्र स्वीकार्ने, ३) एमालेको बहुदलीय जनवाद र माओवादी केन्द्रको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाबारे समान धारणा रहेको, ४) एमालेको बहुदलीय जनवाद र माकेको माओवाद तथा एक्काइसौं शताब्दीमा जनवादलाई एउटै ठाउँमा मिलाउने, ५) उक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन तथा विधान तयार पारी एकीकृत पार्टी संचालन गर्ने, ६) प्राप्त उपलब्धिको रक्षा गरी त्यसमार्फत समाजवादको निर्माण गर्ने र ७) एकता महाधिवेशनमा जाने लगायतका निर्णय गरिएका छन् । (पार्टी एकता संयोजन समिति २०७४ फागुन ७ गते )।

हिजो चुनबाङको के.स.को बैठकमा नयाँ जनवाद परित्याग गरी लोकतान्त्रिक गणतन्त्रमा आधारित संसदीय व्यवस्थाको पुनर्स्थापनाको नारा पारित गरेपछि तत्कालीन माओवादीको मूल नेतृत्वले जनविद्रोहको कुरा गरेर क्रान्तिकारीहरुमा ठूलो भ्रम पैदा गरेको थियो । आज त्यसले पश्चगामी संविधान स्वीकार गरेपछि क्रान्तिकारी पंक्तिमा पुनः अर्को भ्रम सिर्जना गर्नका लागि समाजवादको नारा दिइरहेको छ । एमालेले २०४७/४८ सालतिर ठीक यसैप्रकारका विभ्रमहरू खडा गर्ने गर्दथ्यो । आज ठीक त्यसरी नै इतिहासको पुनारावृत्ति भइरहेको छ ।

समाजवादको अमूर्त नारा त नेपाली काङ्ग्रेससम्मले स्वीकार गरिसकेको छ । समाजवाद धेरै किसिमका हुन्छन् । 'कम्युनिस्ट घोषणापत्र' मा प्रतिक्रियावादी समाजवादसम्मको उल्लेख गरिएको छ । अहिले एमाले र माकेले भन्ने गरेको समाजवाद मूलतः प्रतिक्रियावादी समाजवाद अन्तर्गत नै पर्दछ । माओवाद, वर्गसङ्घर्ष, सर्वहारा वर्गको अधिनायकत्व र बलप्रयोगको सिद्धान्तलाई परित्याग गरिसकेपछि समाजवादले सुधारवादी हुँदै प्रतिक्रियावादी स्वरूप ग्रहण गर्दछ ।

माओवादी केन्द्रको एमालेमा विलय हुनगइरहेको खबर आउँदा कतिपय कमरेडहरू एमालेमा विलय नहुने र आफ्नो स्वतन्त्र क्रान्तिकारी अस्तित्वलाई जीवितै राख्ने समाचार पनि आएका छन् । यस प्रकारको विलयका विरुद्ध उभिनु भएका कमरेडहरुलाई विशेष धन्यवाद छ । यो बेला मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शनमा सही कार्यदिशा अवलम्बन गरी क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तुल्याउन र क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढ्नका लागि गम्भीर छलफल तथा बहस चलाउन आवश्यक छ । अवसरवाद तथा पश्चगमनका विरुद्ध विद्रोहको झण्डा उठाउनु क्रान्तिकारी कम्युनिस्टहरुको विशेष दायित्व पनि हो ।

जेहोस्, अब हाम्रा भूतपूर्व कमरेडहरूको माओवाद र जनयुद्धको इतिहाससित कुनै सम्बन्ध रहेन । उनीहरूले पश्चगामी बाटो पकडे पनि क्रान्तिको अग्रगामी गति तथा दिशा निरन्तर जारी रहनेछ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा अध्यायको समाप्ति र अर्को अध्यायको थालनीको प्रक्रिया अगाडि बढ्दैगएको छ । यो बेला सबैखाले दक्षिणपन्थी अवसरवाद तथा पश्चगामी प्रवृत्तिको विरोध तथा भण्डाफोर गरी क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई सुदृढ तथा ऊर्जाशील बनाउँदै, सच्चा क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वलाई एकताबद्ध तुल्याउँदै र नयाँ जनवादी क्रान्तिको तयारी गर्दै वैज्ञानिक समाजवाद तथा साम्यवाद प्राप्तिको दिशामा हामी दृढतापूर्वक अगाडि बढ्न जरुरी छ । क्रान्तिको अन्तिम विजयलाई कसैले रोक्न सक्तैन ।


 



भिडियो फिचरview all