menu

ताजा समाचार

''हामी त ध्रुवीकरण होइन, एकीकरण हुने हो

 (प्रस्तुत सामग्री नेकपा-बिप्लव सम्बद्ध अनलाइन प्रकाशन eratokhbar.com मा प्रकाशित रचना हो । यसमा व्यक्त भनाइहरू समसामयिक र सान्दर्भिक  छन्  । टिपोट गर्नेले 'रिम' 'माओवाद' र भारतीय माओवादी आन्दोलनका बारेमा केही कुरा छुटाएजस्तो लागे पनि क्रन्तिकारीहरूबीच एकता र ध्रुवीकरणका सन्दर्भहरू उठिरहेको सन्दर्भ यस सामग्रीले पाठकलाई थुप्रै कुरा प्रस्ट हुन   सघाउ पुग्ने ठानेर शीर्षकमा केही फेरबदल गरी हामीले यहाँ प्रस्तुत गरेका छौं ।)

जनयुद्धको तयारीको कुरा गर्दा हामीले पञ्चायती व्यवस्थाको अन्तिमअन्तिम कालदेखि नै वैचारिक तयारी सुरु गर्न थालेका हौँ । त्यतिबेलाको अवस्था भनेको पञ्चायती व्यवस्था हो । त्यसका विरुद्ध ०४६ सालमा ठूलो ऐतिहासिक जनआन्दोलन भयो । त्यसका साथै संवैधानिक राजसंस्था स्थापना भयो । संसदीय बहुदलीय व्यवस्था आयो । यही अवस्थामा आएर हामीले संवैधानिक राजतन्त्र आएर, गणतान्त्रिक व्यवस्था आएर जनताका समस्या समाधान हुँदैनन्, नयाँ जनवादी क्रान्ति गर्नुपर्छ । त्यो दीर्घकालीन जनयुद्धको बीचबाटै हुनसक्छ भन्ने मान्यताका आधारमा हामीले तयारी गर्दै गयौँ । यो तयारी असाध्यै बढी वैचारिक फाँटको भयो । वैचारिक फाँट भन्नाले दक्षिणपन्थी संशोधनवादका विरुद्ध, नेपाली काङ्ग्रेस रिकर्ड सुनेर राख्नु होला मा रहेको र त्यो बेला फेरि एमालेचाहिँ जनताको बहुदलीय जनवाद लिएर आयो । एक, बहुदलीय जनवादको विचारको समस्या लामो भयो । त्यसका साथसाथै मिलिटरीका बारेमा पनि सबै अनुभवहरूको संश्लेषण गरी अब कसरी जाने भन्ने एउटा आवश्यक छलफल, बहस र तयारीका बीचबाट जनयुद्ध अगाडि बढाएका हौँ । लामो तयारी हो भनेर बुझ्दा हुन्छ ।

अरू धेरै नबताऔँ । केही प्राविधिक तालिम त पहिल्यै गरेका थियौँ । वैचारिक तालिम पनि गरेका हौँ । यस सन्दर्भमा केही कतिपय तालिम सुरुमै भएका थिए । अन्तर्राष्ट्रिय आन्दोलनका सन्दर्भमा त्यो बेला 'रिम'को गठनको तयारीको प्रक्रियाको बेला थियो । 'रिम' मा पनि सामेल भइयो । त्यो बेला मार्क्सवाद-लेनिनवाद-माओवाद भन्ने सायद दोस्रो कम्युनिस्ट पार्टी हाम्रै हो । पहिलोचाहिँ पेरू कम्युनिस्ट पार्टीले, त्यसपछि हामीले मानेका हौँ र अन्तिममा आइसकेपछि आरसीपी अमेरिकाले मानेको हो । अन्तिममा आइसकेपछि 'रिम'मा सामेल नभए पनि भारतीय कम्युनिस्ट पार्टी (माले) 'पिपुल्स वार' ले मार्क्सवाद-लेनिनवाद-माओवाद मान्यो  । मार्क्सवाद-लेनिनवाद-माओवाद एउटा महत्वपूर्ण सैद्धान्तिक हतियार हो । पहिलो कुरा 'रिम' लाई नयाँ ढङ्गले बनाउनुपर्छ भन्ने स्पिरिटका साथ अगाडि बढेको हो । त्यो बेला ठीकैठीकै थियो । अब तेस्रो के हो भने हामीले कसरी अगाडि बढ्ने भन्ने विषयमा ठ्याक्कै भौतिक ऊर्जा प्रदान गर्ने काममा पेरू कम्युनिस्ट पार्टीले गर्यो  । यद्यपि हामीले जनयुद्ध सुरु गर्ने बेला त्यहाँ करिबकरिब शिथिल हुँदैगइरहेको थियो । पेरू र भारतको जनयुद्ध पनि हो । त्यो बेला भारतीय कम्युनिस्ट पार्टी (माले) लाई पीडब्लूजी (पिपुल्स वार ग्रुप) भनिन्थ्यो । नक्सलाइटको एउटा धाराले जनयुद्ध सुरुआत गरेको थियो । उनीहरूले पनि हामीलाई सहयोग गरेका हुन् ।

हामीले एकताकेन्द्र निर्माण गर्ने सिलसिलामा रूपलालजीहरूसँग पञ्चायती कालको अन्त्यअन्त्यतिर करिबकरिब एकता गरिसकेका थियौँ । त्यसपछि उहाँहरूको सर्वहारावादी श्रमिक सङ्गठन, लामाजीहरूको नेपाल कम्युनिस्ट पार्टी (चौम), विद्रोही मसालका रूपमा बाबुरामजीको नेकपा (मसाल) सँग एकता गर्यो  । ०४८ सालको महाधिवेशनमा दीर्घकालीन जनयुद्धको कार्यदिशा र मार्गनिर्देशक सिद्धान्तका रूपमा मार्क्सवाद-लेनिनवाद-माओवाद पारित गर्यो । जनयुद्धको तयारीको दिशामा जानुपर्छ भन्ने किसिमको जनरल लाइन हामीले एकताकेन्द्रको महाधिवेशनमा पास गरेपछि पार्टीभित्र पनि भीषण दुई लाइन सङ्घर्ष चल्यो । लामाजीहरू जनयुद्धतिर जान मान्नुभएन । त्यहाँबाट उहाँहरू अलग्गिनुभयो । अनि हामी अलग भयौँ । त्यो बेला हामीले वैधानिक सङ्घर्ष पनि गरेका थियौँ । चुनावमा पनि हामी उठ्यौँ । ठीक जनयुद्धमा जाने बेला फेरि बहिष्कार गरेर आफ्नो तयारीहरू पूरा गर्दै जनयुद्धको प्रक्रियामा अगाडि बढ्यौँ ।

यस हिसाबले हेर्दा पञ्चायती कालबाट सुरु भएको एउटा विचारधारात्मक, राजनीतिक र फौजी तयारीहरूका बीचबाट हामीले २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गर्यौं  ।

महान् जनयुद्धको जुन थालनी गरियो, त्यो एटटा विशेष उल्लेखनीय ऐतिहासिक परिघटना हो । फौजी हिसाबले रणनीतिक रक्षा, रणनीतिक सन्तुलन हुँदै प्रत्याक्रमणको दिशातिर जानेसम्म फौजी स्तरको विकास गर्यौं  । जनयुद्ध सुरु गर्दा हाम्रो सङ्गठन देशको केही भागमा सीमित थियो । तर पनि जनयुद्ध देशव्यापी रूपमा सशक्त ढङ्गमा अगाडि बढेर गयो । राजनीतिक रूपमा पुरानो राज्यसत्ताका विरुद्ध अस्थायी प्रकारका थुप्रै आधारइलाका बनायौँ । थुप्रै स्थानमा जनसरकारहरू बनायौँ । वैचारिक, राजनीतिक, साङ्गठनिक, फौजी हरेक दृष्टिकोणले उच्चता हासिल गर्दै अगाडि बढ्यौँ ।

जनयुद्धको नेतृत्वदायी एउटा जिम्मेवार पङ्क्तिले धोका दिएकै हो । विश्वासघात गरेकै हो । त्यसका लक्षणहरू पछिका दिनमा  अलिअलि गर्दै थुप्रै देखिनथालेका थिए । हामीलाई जनवादको विकास गर्नुपर्छ भन्ने थियो । २०६० सालमा 'एक्काईसौँ शताब्दीको जनवाद' भन्ने ठीकैथीकै आयो । तैपनि अलिकति के हो भनेर हामीले शङ्काको दृष्टिकोणले पनि हेरेका थियौँ । त्यसलाई छलफलमा लैजान त ठिकै हुन्छ, पारित गरेको होइन भन्ने थियो । छलफलका लागि लैजाँदा थोरै विचलन भयो । तर बाहिर भनिएन । शङ्काका विषयहरू थिए । नेतृत्वका बारेमा अलि हतारिएर प्रचण्डपथ भन्यौँ । क्रान्तिका निम्ति नेतृत्व अनिवार्य रूपमा आवश्यक हुन्छ । त्यसको महत्व, ओज र गरिमालाई मान्नैपर्छ । बढी गर्नु हुन्न । बढी गरियो भने बिग्रिहाल्छ । नेतृत्व नियन्त्रणमा राख्नुपर्छ, सामूहिक हुनुपर्छ । समूहभन्दा माथि राखेर प्रचण्डपथ भन्नु त गम्भीरै त्रुटि भयो । यद्यपि हामीले सकारात्मक ढङ्गले राम्रै होला भनेर गरेका हौँ । इमानदारीका साथ गरियो । तर त्यस्तो गर्नु नहुने रहेछ । प्रत्युत्पादक बन्यो । पेरूमा पनि गोन्जालोले मुख्यतः माओवाद भन्नु परेकै थिएन । जनयुद्ध सुरु नगर्दै उनीहरूले गोन्जालो विचारधारा भनेका थिए । त्यस्तो भन्नु हुन्नथ्यो । यी त्रुटिहरू भए । यस्ता त्रुटिहरूलाई आगामी दिनमा सच्याउनुपर्छ भन्ने लाग्छ ।

अर्को कुरा के हो भने जनयुद्धको प्रक्रियामा अगाडि बढ्दा कैयौँ कुराहरू छन् जुन कुरा अध्ययन गरेर, अझै समीक्षा गरेर अगाडि बढ्नु जरुरी छ । कैयौँ चीजहरू छन् । जनयुद्धको प्रक्रियामा फौजी कारबाही गरेको सन्दर्भमा पनि समीक्षा गरेर जान जरुरी छ । त्यो हामीले समयक्रममा समीक्षा गर्दै अगाडि बढ्नेछौँ । यो भयो कमजोरीको पाटो । अन्त्यमा आउँदा गम्भीर कमजोरीको पाटो चुनबाङमा नयाँ जनवादलाई छोडेर लोकतान्त्रिक गणतन्त्रको नारा स्वीकार गरियो । त्यो एकदम गम्भीर प्रकारको त्रुटि थियो । त्यही लोकतान्त्रिक गणतन्त्रको नाराले गर्दाखेरि सब ध्वस्त भयो । यी त्रुटिहरूको आलोचना गर्नुपर्छ । संविधानसभामा आएर हामीले सङ्घर्ष त गर्यौं  । १२ बुँदे सम्झौता, विस्तृत शान्तिसम्झौता भए । यति गरिसकेपछि संविधानसभामा बाबुराम र प्रचण्डजीहरूले त्यहाँभन्दा बढी गर्ने कुरा केही पनि थिएन । नेपालमा नयाँ युगमा प्रवेश गर्ने भनेर प्रचण्डहरूले नयाँ जनवादी क्रान्तिलाई भन्ने गर्नुहुन्थ्यो । त्यो क्रान्तिलाई ध्वस्त पारेर संसदीय व्यवस्थाको पुनस्र्थापनातिर लाग्नुभयो । त्यसैलाई नयाँ अध्याय भनेर बखान गर्नुभयो । यो उहाँहरूबाट गरिएको भयङ्कर गम्भीर प्रकारको त्रुटि हो ।

अहिले सबै भन्न गाह्रो पर्छ किनभने जुन बेला ती सबै परिघटनाहरू भए त्यो बेला मसहित केही साथीहरू जेलमा थियौँ । जेलबाट छुटेर आएपछि साथीहरूले सोध्दाखेरि कतिपय असन्तुष्टि त साथीहरूका थिए । वैचारिक रूपले प्रश्न उठाउने साथीहरूको त्यो स्थिति आएको थिएन । साथीहरूलाई प्रचण्डपथ महान् भन्ने थियो । आखिरमा जाँदा त सेना समायोजन गरेर विघटन गरी विलय गराइयो । त्यतिखेर दुईखालका गम्भीर त्रुटि भएको मान्नुपर्छ : पहिलो, सेना समायोजन गर्ने नाममा सेनालाई विघटन गरियो । नेपाली सेनामा लगेर बुझाइयो । यो गम्भीरखालको गल्ती भयो । दोस्रो, राजनीतिक रूपमा संसद्वादको पुनस्र्थापना गराइयो । यो अर्को गम्भीर त्रुटि हो । यी गम्भीर त्रुटिबाट शिक्षा लिँदै फेरि अगाडि बढ्ने कुरा आयो ।

ध्रुवीकरण भन्ने शब्द ठीक भएन भन्ने लाग्छ । ध्रुवीकरण भनेको फुटाउने भनेको हो । हामी त ध्रुवीकरण होइन, एकीकरण हुने हो । अरूहरूबीचमा ध्रुवीकरण हुने हो । हामीहरूका बीचमा ध्रुवीकरण होइन । हामीहरूका बीचमा एकीकरण हो । ध्रुवीकरण भनेको त जस्तो माकेमा केही राम्रा साथीहरू छन् । राम्रा त्यहाँ ध्रुवीकृत भएर आउनुपर्यो  । यहाँ मूलतः के हो भने सच्चा क्रान्तिकारीलाई गोलबन्द गर्ने कुरा आयो । अन्यत्र भएका राम्रा मान्छेहरू आउने कुरा भयो । त्यसकारण ध्रुवीकरण भन्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया दुवै हो । एकीकरण र ध्रुवीकरणको प्रक्रिया आवश्यक छ । त्यसका लागि अझ मेहनत गर्नुपर्छ । अहिले हामीले पटकपटक कुरा पनि गरिरहेका छौँ । मूल बहसमा त केन्द्रित अझै छैनौँ । राजनीतिक बहसमा त जाऔँला । मुख्य कुरा के हो भने पार्टी एकीकरण गर्ने उद्देश्यका साथ हामी अगाडि बढौँ । क्रान्तिकारीहरूलई एकताबद्ध गर्नैपर्छ । हामी एकताबद्ध हुनैपर्छ । यसमा हामीले विशेष परिश्रम गर्नुपर्छ । नयाँ नेपाल निर्माण गर्न क्रान्तिकारीहरू गोलबन्द गर्नुबाहेक अरू विकल्प छैन । यसबाट मात्र बाँकी रहेका क्रान्तिका कार्यभार, राष्ट्रियता र जनजीविकाको समस्या समाधान गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा जानका निम्ति हामी एकताबद्ध हुनुपर्छ ।

सबैभन्दा पहिला त यहाँहरूको पत्रिकामार्फत  देशभित्रका सबै क्रान्तिकारीहरू, शुभेच्छुकहरू, आमजनसमुदाय र अन्तर्राष्ट्रिय क्षेत्रका पनि भाइचारा, शुभचिन्तक, सर्वहारावर्गलाई म पार्टीका तर्फबाट विशेष क्रान्तिकारी अभिवादन गर्न चाहन्छु । हार्दिक शुभकामना दिन चाहन्छु । हामीले यो जनयुद्ध दिवस संयुक्त रूपमा मनाएका छौँ । हामीले क्रान्तिको प्रक्रियामा लाग्नुपर्छ भन्ने प्रतिबद्धता जरुरी छ र हामी प्रतिबद्ध छौँ ।

(कुराकानीमा आधारित )
http://eratokhabar.com
भिडियो फिचरview all