menu

ताजा समाचार

कमरेड किरणसित ताजा अन्तर्वार्ता

दसबर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

किरण : अहिले हामी महान् जनयुद्धको २३ औं वर्षगाँठ मनाउन गइरहेका छौं । अहिले माओवादी आन्दोलन विभाजित भएको छ । यो निश्चय नै दुखद् विषय हो । पार्टी एकता र फूटको मूल पक्ष भनेको विचार हो । क्रान्तिकारी र अवसरवादीहरू एउटै ठाउँमा रहने स्थिति रहन्न । यसरी हेर्दा स्थितिलाई स्वभाविकै रूपमा लिन सकिन्छ । परन्तु, कयौं क्रान्तिकारी भ्रमित छन् । यो परिस्थितिमा क्रान्तिकारीहरू एउटै ठाउँमा हुनु पर्दछ । हाम्रो पहल यसै दिशामा छ ।

दस वर्षको जनयुद्धले धक्का खाएको तथा प्रतिक्रान्ति हावी भएको वर्तमान घडीमा फेरि पनि क्रान्तिको तयारीमा जुट्ने उद्घोष गरिरहनुभएको छ । त्यसको चुनौती र सम्भावनाको विषयमा केही बताइदिनुस् न ?

किरण : जनयुद्धले निश्चितरू पमा धक्का खायो तर त्यो धक्का अस्थायी र क्षणिक हो । पश्चगामी सत्तामा बसेका र तिनको संरक्षण गर्ने तत्त्वहरू पनि अजर र अमर हुन सक्दैनन् तर, क्रान्ति भनेको निरन्तर जारी रहने कुरा हो । त्यसैले हामी प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको तयारीमा छौं । चुनौती धेरै छन्, साथै संभावना पनि धेरै छन् । हामीले चुनौतीहरूलाई चिरेर महान् सम्भावनाहरू को खोजी गर्दै अगाडि बढ्नुपर्छ । इतिहासको द्वन्द्ववादले यही कुरा सिकाउँछ ।

सबै कम्युनिस्ट क्रान्तिकारी समूह तथा व्यक्तिहरूलाई एकीकृत र ध्रुवीकृत  गर्ने दिशामा पहल लिइरहनुभएको छ, एकता र धुव्रीकरणको सम्भावना के कस्तो छ
?

किरण : अहिले हाम्रो मूल उद्देश्य सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु हो । यसै क्रममा एकीकरण र ध्रुवीरणका प्रक्रिया अगाडि बढ्दछन् । परन्तु, क्रान्तिकारीहरूलाई गोलबन्द गर्ने सम्भावनालाई हामीले यथार्थमा बदल्नुपर्छ ।

कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको विरुद्ध देशी-विदेशी प्रतिक्रियावादीका साथै संशोधनवादी र अवसरवादीहरुको घेराबन्दी कसिएको छ, त्यो घेराबन्दी तोड्ने विषयमा क्रान्तिकारी माओवादीले के गर्दैछ ?

किरण : हो, घेराबन्दी कसिदैगएको छ । हामीले त्यसलाई तोड्दै जानुपर्छ । क्रान्तिकारीहरुलाई एकताबद्ध गरेर, जनतालाई साथमा लिएर र आफ्नो पार्टी बलियो बनाएर नै त्यस प्रकारको घेराबन्दीलाई तोड्न सकिन्छ । हामी यसै दिशामा छौं ।

आत्मगत अवस्थालाई सुदृढ गर्ने र क्रान्तिको तयारी गर्ने भन्दै सिङ्गो पार्टीपंक्ति अहिले सङ्गठन तथा जनपरिचालन अभियानमा जुटेको छ, उद्देश्यअनुरूप अभियान कसरी चलेको पाउनुभएको छ ?


किरण : सङ्गठनलाई विस्तार, सुदृढीकरण गर्दै जनपरिचालनका कामलाई अगाडि बढाउने उद्देश्यअनुरूप अभियानका प्रक्रिया कयौं ठाउँमा सामान्यतः अगाडि बढेको छ । त्यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि अझै परिश्रम गर्न र दृढतापूर्वक लाग्न जरुरत छ ।

नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यलाई केन्द्रमा राखेर दसबर्से महान् जनयुद्धमा होमिएका हजारौं योद्धाहरु, जसले उच्च बलिदान गरे, हजारौं बेपत्ता भए र हजारौं घाइते अवस्थामा छन्, अहिले त्यो महान् बलिदानको औचित्यमाथि प्रश्न उठाउन थालिएको छ, के भन्नुहुन्छ ?

किरण : महान जनयुद्धको प्रक्रियामा जुन योद्धाहरुले उच्च बलिदान गरे, जुन योद्धाहरू बेपत्ता पारिए र जुन योद्धाहरु घाइते अपाङ्ग बने तिनको त्याग, वीरता र वलिदानको उत्कृष्ट कृतिमानहरुको औचित्यबारे प्रश्न उठाउने अधिकार कसैलाई पनि छैन । जसले यहाँ औचित्यको प्रश्न खडा गर्छन्, ती या त वर्ग दुस्मन  हुन् या दुस्मनका दलाल हुन् । जनताका त्याग, वीरता र वलिदानको मूल्य कहिल्यै खेर जादैन । भावी क्रान्तिमा त्यसले क्रान्तिकारीहरुलाई अनन्त ऊर्जा प्रदान गर्दछ । त्यसैले हामीले जनयुद्धमा होमिई बलिदान प्राप्त गरेका, राज्यद्वारा वेपत्ता पारिएका र युद्धमै जनता लामबद्ध भएर खटेका सम्पूर्ण योद्धाहरुको उच्च मूल्यांकन र सम्मान गर्दछौं ।

ती महान् सहिद  तथा बेपत्ता योद्धाहरु घाइते, अपाङ्ग उनीहरू का परिवारहरू  र आमूल परिवर्तनका पक्षधरका जनतालाई यस ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ?

किरण : महान् जनयुद्धको २३ औं वर्षगाँठको यस ऐतिहासिक अवसरमा म सिंगो पार्टीको तर्फबाट वीर अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धाहरूको उच्च सम्मान सहित संस्मरण गर्दछु । घाइते अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान जाहेर गर्दछु । साथै, यस अवसरमा म सहिद तथा बेपत्ता योद्धाहरूका परिवारजनप्रति ससम्मान हार्दिक शुभकामना र लाल अभिवादन व्यक्त गर्दछु ।
 
स्रोत : वर्गदृष्टि साप्ताहिक


भिडियो फिचरview all