menu

ताजा समाचार

चीनभरिका शिक्षकहरू बेजिङमा, शिक्षकहरूद्वारा शिक्षा मन्त्रालय घेराउ

जनवरी २९, २०१८,  सोमबारका दिन अवकास प्राप्त चीनभरिका शिक्षकहरूले  शिक्षक नियमावली अनुसार आफूले पाउनुपर्ने पेन्सन तथा अन्य सुविधाको विषयलाई लिएर बेजिङमा प्रदर्शन गरे । सामुदायिक विद्यालयका प्रारम्भिक तहका शिक्षकहरूले वर्षौदेखिको आफूले पाउनुपर्ने रकम नपाएको विषयलाई लिएर यसअघि पनि सानातिना सङ्घर्षका कार्यक्रमहरू गर्ने गरेका भए पनि यसपल्टको प्रदर्शन भने निकै ठूलो, चीनव्यापी र फरक खालको भनेर समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।
 
सोमबार भएको प्रदर्शन र मन्त्रालय घेराउलाई यताका दिनमा शिक्षकहरूद्वारा गरिएको सबैभन्दा ठूलो प्रदर्शन भनेर सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् । चिनियाँ भाषाको ब्लग ‘राइट्स डिफेन्स ब्लग’ ले यो रिपोर्टलाई विशेष महत्वका साथ प्रकाशित गरेको छ र यसलाई 'चाइना लेबर बुलेटिन’ ले समाचारका रूपमा प्रकाशमा ल्याएको छ । ‘राइट्स डिफेन्स ब्लग’ ले कतिपय स्थानीय सरकारले शिक्षकहरूलाई प्रदर्शनमा जान नरोकेको भए यो प्रदर्शन अझ विशाल हुन्थ्यो भनेर लेखेको छ ।

समाचारमा लेखिएको छ : शून्य डिग्रीको  चिसोमा कठ्याङ्ग्रिदै बिहान आठै बजे शिक्षकहरू बेजिङमा शिक्षा मन्त्रालयको प्रवेशद्वार सामु एकत्रित भए । उनीहरूले नारा लगाए र गीतहरू गाए, फोटो खिचेर पत्रकारहरूलाई समाचार वितरण गरे । प्रदर्शनमा सबैभन्दा बुढा प्रदर्शनकारी ९१ वर्षका अवकास प्राप्त शिक्षक झाओ सियुन पनि  थिए ।

नारा र जुलुससहित मन्त्रालय घेराउपछि कुराकानी गर्न भनेर मन्त्रालयका पदाधिकारीले ६ सदस्यीय टोलीलाई बोलाए पनि अधिकारीहरूले आफूले केही गर्न नसक्ने यसका लागि मार्चमा हुने 'चिनियाँ  राष्ट्रिय जन कङ्ग्रेस' को वार्षिक कार्यक्रम  पर्खिनु पर्ने भनेर आन्दोलनकारी शिक्षकलाई निरास पारेका थिए ।

शिक्षकहरूले उमेर हद नागेकाहरूले पाउनुपर्ने सुविधा र  पेन्सनको माग गरेका छन् भने उमेर हद ननाघी हटाइएकाहरूको पुनर्बहालीको माग गरेका छन् । उनीहरूले पेन्सन पनि नपाएको र नयाँ काम पनि नपाएकाले कतिपयको  परिवारिक स्थिति दयनीय बनेको कुरा पनि उठाएका छन् । चीनमा स्कुलहरूलाई पब्लिक संस्थाका रूपमा वर्गीकरण गरिएको छ र त्यहाँ ट्रेड युनियन खोल्न पाउने नियम बनाइएको छ । तर, समाचारमा निजी विद्यालयको स्थिति त झन् खराब छ र शिक्षक सङ्गठन पनि खोल्न दिइँदैन र एकदमै कम तलबमा करारमा शिक्षक राख्ने गरिन्छ भनिएको छ । एकातिर हिजोका दिनमा काम गरेको सुविधा नपाउनु, अर्कोतिर निजी स्कुलहरूमा धेरै काम कम तलब अहिले चिनियाँ शिक्षकहरूले भोग्दैआएको समस्या हो भनेर समाचारमा उल्लेख गरिएको छ ।

 चिनियाँ पार्टी प्रमुख र सरकार प्रमुख सि जिँपिङले आफूलाई माओको हाराहारीमा राखेर संविधानमा नै सि जिँपिङ विचार लेख्न लगाएको अवस्थामा आफनो हकअधिकारको विषयलाई लिएर चीनभरिका अवकास प्राप्त शिक्षकहरूले बेजिङमा गरेको प्रदर्शन र मन्त्रालय घेराउलाई विदेशी माध्यमहरूले विशेष समाचार बनाएका छन् । माओवादीहरूको नयाँ केन्द्र निर्माण अभियानमा सक्रिय युरोपेली माओवादीहरूको ब्लग ‘माओइस्ट रोड’ ले पनि यो समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

माओको मृत्युपछि लागु गरिएको “सुधार योजना” अन्तर्गत थुप्रै सरकारी स्कुलहरू बन्द गरिएको र  शिक्षकहरूलाई सेवाबाट हटाइएको थियो । माओको समयमा शिक्षकलाई विशेष सुविधा र सम्मान थियो, तर यताका दिनमा लागू गरिएको “सुधार योजना” अर्थात् चीनले पुँजीवादी बाटो समातेपछि भने सीमित मात्रामा सरकारी स्कुलहरू छन् र तिनको ठाउँ निजी स्कुलहरूले लिएका छन् । अहिले चीनको साशनसत्ता चिनियाँ कम्युनिस्ट पार्टीको नाममा भए पनि राज्यव्यवस्था दलाल पुँजीपति वर्गको चरित्रको रहेको छ । त्यसैले चिनियाँ उत्पीडित वर्गले त्यहाँ माओवादी पार्टी गठन गरेर आफ्ना नीति तथा योजनाहरू सार्वजनिक गरेको छ ।




भिडियो फिचरview all