menu

ताजा समाचार

जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन् । यसपल्टको चुनावले अमेरिकाका मत सर्वेक्षकहरू र नाम चलेका माध्यमहरूको निष्कर्षलाई गलत साबित गरिदिएको छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूको बढ्दो प्रभावका कारणले हो अथवा उम्मेदवार पात्रहरूका कारणले हो यसपल्टको चुनाव पहिलेका चुनावहरूभन्दा निकै चासो र चर्चाको विषय बनेको देखियो । अमेरिकी जनताको ठूलो हिस्सा चुनावप्रति आकर्षित नभएको जस्तो देखिएको यो निर्वाचनमा  अमेरिकामा भन्दा नेपालका माध्यमहरू र सामाजिक सञ्जालहरू बढी तातेको देखियो । विश्व राजनीतिमा प्रभाव पारिरहेका र पार्न सक्ने मुलुक त्यसमा पनि अमेरिकाको राष्ट्रपति चुनाव, अनि ट्रम्पजस्ता आफ्नै वर्गभित्र पनि निकै आलोचित पात्र राष्ट्रपतिका उम्मेदवार भएका कारण चुनाव चर्चाको विषय बन्नु स्वाभाविक भए पनि नेपालको राष्ट्रपतिको चुनावजस्तो गरी यो चुनावले नेपाली माध्यम त्यसमा पनि सामाजिक सञ्जालहरूमा चर्चा पाउनु चाहिँ आफौमा एउटा घतलाग्दो सन्दर्भ हो ।

अहिले ट्रम्पको विजयको सन्दर्भलाई लिएर सञ्चारमाध्यमहरूमा थरीथरीका टिप्पणीहरू आएका छन् र  हिजो चुनाव प्रचारका सन्दर्भमा उनले बोलेका कुरालाई लिएर “अब के होला?” जस्ता  प्रश्न र आशङ्काहरू उठेका छन् । अमेरिकामा बढ्दो अनुशासनहीनता, अराजकता, बाहिरका मान्छेहरूको बढ्दो प्रवेशको सन्दर्भ मात्र होइन, प्रजातन्त्रको रक्षा र आतङ्कवादको अन्त्यका नाममा अन्य मुलुकमाथि गरिएका आक्रमणले अमेरिकाका सत्रुहरू बढेको र युद्धमा फसेर अमेरिका कमजोर भएको टिप्पणी व्यापक रूपमा हुने गरेको छ । रूससितको सम्बन्ध बिग्रनुदेखि लिएर फिलिपिन्समा अमेरिकी पकड कमजोर हुनु, मध्यपूर्वको समस्यालाई झन् जटिल बनाउनु र अरब मुलुकसितको सम्बन्ध बिग्रदै जानु जस्ता सन्दर्भहरू चुनावी राजनीतिका मुद्दा बनेका थिए । रैथाने र बाहिरिया, काला र गोराको प्रश्नले पछिल्ला दिनमा जटिल रूप लिएको कुरा समाचारमाध्यमहरूले औँल्याउने गरेका छन् ।

सन् २००८देखि अमेरिकामा आरम्भ भएको आर्थिक मन्दी, असुरक्षा र युद्धको तनावबाट मुक्त हुन अमेरिकी जनताले परिवर्तन खोजे र यसको विकल्पका अमेरिकी जनताले ट्रम्पलाई रोजे भन्ने टिप्पणी पनि एक थरीको छ । अमेरिकाको पुरानो गोरा नागरिकपछि दोस्रो सङ्ख्यामा स्पेनिसहरू छन् र तेस्रोमा चिनियाँ मूलका नागरिक छन् भनिन्छ । चुनावका सन्दर्भमा पुटिनले समर्थन गरेको कुरा मात्र होइन,  निर्वाचनमा चिनियाँहरूले ट्रम्पका लागि आर्थिक र मनोवैज्ञानिक निकै ठूलो सहयोग पुर्याए भन्े् कुरा पनि चर्चाका विषय बनेका छन् । यति मात्र नभएर सेना र  खुपिया एजेन्सीको ट्रम्पलाई सहयोग  छैन भनेर पनि समाचारहरू बनेका थिए । मतदातालाई प्रभावित पार्न गरिएका सबै उपायहरूलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् र यसलाई अमेरिकी मतदाताहरूको मानसिकता फेरिएको सन्दर्भमा  पनि चर्चा गरिन थालिएको छ ।
 
ट्रम्पको विजयपछि विश्वका वामपन्थीहरूको त्यसमा पनि माओवादीहरूको केकस्तो धारणा रह्यो भन्ने कुराको विवरण आइसकेको छैन । चुनावअघि वामपन्थी बुद्धिजीवीहरूको प्रकाशन मन्थली रिभ्यु्ले सम्पादकीय नै लेखेर “अमेरिकी चुनाव अमेरिकी साम्राज्यवादको बढ्दो निराशामा केन्द्रित हुनेछ र यसको मूल मुद्दा युद्ध हुनेछ । मध्यपूर्व र रूससितको अन्तर्विरोको सेरोफेरोबाट उत्पन्न सन्दर्भहरू चुनावका मूल मुद्दा हुनेछन्” भनेको थियो । त्यसैगरी अमेरिकी वामपन्थीहरूको  अनलाइन काउन्टरपन्च  (counterpunch.org ) ले र ‘ट्रम्प भर्सेज नेस्नल सेकुरिटी इस्टाब्ल्सिमेन्ट : विल दियर बि ए रिभोलुसन इन युएस फर्हेन पोलिसी’ भनेर चुनावमा सुरक्षाको प्रश्न प्रमुख मुद्दा हनेछ भनेको थियो  । आरसिपी अमेरिकाले चुनावको नाममा जनतालाई मुर्ख बनाउने काम मात्र भएकाले यसको बहिष्कार गर्न भनेको थियो । त्यसैगरी ‘सर्भ दि पिपुल अस्टिन’ ले ‘ह्वाइ वि आर बायकटिङ दि इलेक्सन’ शीर्षक दिएर वैचारिक विश्लेषण गर्दै लेखेको थियो : “रेगनदेखि ओवामासम्म जो राष्ट्रपति भए पनि आधारभूत नीतिमा परिवर्तन भएको छैन । साम्राज्यवादले मात्र अमेरिकामा राज गरेको छ । दुइटा राक्षसबीचको लडाइँमा तुलना गरेर एउटाको पक्षमा लागेर भोट हाल्नु भनेको सिद्धान्तलाई तिलाञ्जली दिनु हो र क्रान्तिको बाटोबाट विमुख हुनु हो ।”

पात्र फेरिएपछि काम गर्ने शैलीमा फेरबदल हुनु स्वाभाविक छ । अरूभन्दा फरक देखाउन घरेलु मामिलामा केही सुधार र भिन्नता देखाउन खोजे पनि आधारभूत रूपमा अमेरिकी नीति र स्वार्थमा कुनै पनि भिन्नता आउने छैन । खासगरेर परराष्ट्र र सुरक्षा मामलामा कुनै पनि फेरबदल हुने छैन ।  त्यसैले अमुकभन्दा अमुक राम्रो भन्नुको अर्थ छैन । भित्री समस्या हल गर्न बाह्य आक्रमण तेज गर्ने, आतङ्वादसित जुध्ने नाममा अन्य मुलुकको कच्चा पदार्थ र तेलभण्डारमाथि कब्जा गर्ने अमेरिकी साम्राज्यवादी आधारभूत नीतिमा फेरबदल आउने स्थिति छैन । आतङ्कको जगमा उभिएर शान्ति र प्रजातन्त्रको रट लगाउने र विश्वमाथि दादागिरी गर्ने अमेरिकी आधारभूत नीतिमा फेरबदल हुने स्थिति छैन । त्यसैले अहिलेको चुनाव दुईओटा “राक्षसहरू” बीचको चयन भएकाले यसमा भएको जीत र हारलाई लिएर हर्ष र विस्मात गर्नुपर्ने स्थिति पनि छैन ।
भिडियो फिचरview all