menu

ताजा समाचार

कमरेड माओ

                         

उमाकान्त आचार्य

मान्यवर !
 नि:शव्द म
स्मरण गर्दैछु  तिमीलाई एक्काइसौं शदीको सँघारमा
उभिएर ।

 बेइमान समयको लगाम पक्रेर
कठिन अनि लामो यात्रापछि
मानवमुक्तिको लक्ष्य चुम्ने
 तिम्रो साहसलाई सलाम !

हजारौं योद्धाले एकैसाथ
बुलन्द आवाजमा गर्जदा
 निरङ्कुशताका सिक्रीहरू
 एक्कासि चुँडिएको त्यो क्षण
अनि
अक्टोबर क्रान्तिमा लामबद्ध
लाखौं जनताको पदचाप
झङ्कृत बन्दा प्रस्फुटित
उत्तरी क्षितिजको मधुर मुस्कान
आहा ! कति सुन्दर थियो !

आफ्नै पाखुरी र पौरखको वलमा
 निर्मित तिम्रो गरिमाको बोझ
कति गर्हौं रहेछ !
थकित भरियाझैँ चौतारीमा
सुस्ताउँदै
नियालिरहेछु नाम्लाको डाम
अनि उकालो बाटो !

हे क्रान्तिपुरुष !
तिम्रै नाम बेचेर रातारात मालामाल बनेका
खुद्रा पसलेहरू
छेक्न खोज्दै छन्
हत्केलाले सूर्यलाई,
मूर्दाशान्तिको यो क्षण
 केहीजोर सेता परेवा उडाएर
गर्वगुमान गर्दैछन् निर्लज्ज
स्यालहरू,
जङ्गललाई शान्त देखेर
सिकारमा मस्त
 केही हुल सिकारीहरू
पुनः फर्काउन खोज्दैछन्
 जङ्गलराज !

तर,
तिम्रै भाषा र भाकाको
चेतन आलोकले आलोकित
मेरो मानश
निर्लज्ज पथ्थर-प्रतिमाको
घनघोर अँध्यारो जङ्गलबीच
पनि पुलकित छ
आकाशका ताराहरूको
ज्योति सँगाल्दै ।

 किनकि
कठोर सङ्घर्षको पीडालाई
मधुर लयमा गाउन तयार
मेरो बिद्रोह
बम बनेर पड्कन चाहान्छ !
इतिहासमा पटकपटक
अनेक तन्त्रका नाममा हुने
शोषणको यो पुनरावृत्ति
समाप्त गरेर
नयाँ नेपालको नवीन इतिहास कोर्न ।
000

भिडियो फिचरview all