menu

ताजा समाचार

पार्टी, नेतृत्व र कार्यकर्ता : माओ त्से-तुङ

 पार्टी
•    क्रान्ति सम्पन्न गर्नका लागि एउटा क्रान्तिकारी पार्टी हुनु एकदमै आवश्यक छ । एउटा क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित  र मार्क्सवादी-लेनिनवादी संरचनामा आधारित पार्टीबिना श्रमजीवीवर्ग  र जनताको व्यापक हिस्सालाई नेतृत्व गर्न र साम्राज्यवाद र त्यसका पाल्तु कुकुरहरूलाई पराजित गर्न संभव छैन ।

•     क्रान्तिकारी पार्टी किन जरुरी छ ? क्रान्तिकारी पार्टी ज्यादै जरुरी छ, किनभने संसारमा त्यस्ता सत्रुहरू छन्, जसले जनतामाथि उत्पीडन गर्छन् र जनता भने शत्रुबाट हुने उत्पीडनको जरो उखेल्न चाहन्छन् । पुँजीवाद र साम्राज्यवादको युगमा सही कम्युनिस्ट पार्टीको रूपमा एउटा क्रान्तिकारी पार्टीको खाँचो हुन्छ । यस्तो पार्टीबिना जनताका हातबाट सत्रुको उत्पीडनको जरो उखेल्न एकदमै असंभव हुन्छ । हामी कम्युनिस्ट हौँ, सत्रुको तख्ता पल्टाइदिने काममा हामी जनताको नेतृत्व गर्न चाहन्छौं , तसर्थ हामीले हाम्रो पङ्क्तिलाई एकदम सुव्यवस्थित राख्नुपर्छ । हामीले पाइला मिलाएर अघि बढ्नुपर्छ । हाम्रा फौजहरू अव्वल दर्जाका हुनुपर्छ र हाम्रा हतियारहरू असल हतियार हुनुपर्छ । यी सर्तहरू पूरा नगरीकन सत्रुको तख्ता पल्टाउन सकिंदैन।

•     विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै कुरा ठीकठाक हुन्छन् । मानिस छैनन् भने पनि ती प्राप्त हुन्छन् । हतियार नभए पनि ती प्राप्त हुन्छन् । राजनीतिक शक्ति नभए पनि त्यो प्राप्त हुँदैजान्छ । कार्यदिशा नै गलत छ भने भएका कुरा पनि गुम्दै जान्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब यो तानिन्छ पूरै जाल खोलिन्छ ।

 पार्टीनेतृत्व

•    पार्टी कमिटीप्रणाली एउटा महत्त्वपूर्ण प्रणाली हो । त्यसकै माध्यमबाट सामूहिक नेतृत्वको सुनिश्चित गरिन्छ र काममा कुनै एक व्यक्तिविशेषको एकाधिकार कायम हुँदैन । केही नेतृत्वदायी सङ्गठनहरूमा ( सबैमा होइन) यो काममा व्यक्तिविशेषको एकाधिकार कायम हुँदैआएको छ । महत्त्वपूर्ण समस्याको निर्णय पार्टी कमिटीको बैठकद्वारा नभएर कुनै एक व्यक्तिद्वारा गरिन्छ र पार्टी कमिटीको सदस्यता नाम मात्रको हुने गरेको छ । कमिटीका सदस्यहरूबीचको मतभेद हटाउन सकिंदैन । मतभेदहरूलाई लामो समयसम्म समाधानबिना नै छाडिन्छ । पार्टी कमिटीका सदस्यहरूबीच सच्चा एकता होइन, देखावटी एकता मात्रै हुन्छ । यो स्थितिलाई निश्चय नै फेर्नुपर्छ । अबदेखि सबै नेतृत्वदायी सङ्गठनहरूको पार्टी कमिटीमा एउटा सुदृढ प्रणाली कायम गर्नुपर्छ, जुन केन्द्रीय कमिटीको प्रादेशिक ब्युरोदेखि प्रिफेक्चरका पार्टी कमिटीहरूसम्म सबैमा विद्यमान हुनुपर्छ । मोर्चाका पार्टी कमिटीदेखि ब्रिगेडको पार्टी कमिटी एवम् फौजी क्षेत्र ( क्रान्तिकारी फौजी कमिसनका उप कमिसनहरू अथवा नेतृत्वदायी समूहहरू) सम्म सबैमा लागू हुनुपर्छ र सरकारी सङ्गठनहरू, जनसङ्गठनहरू र समाचार संस्थाहरू वा समाचारपत्रहरूका कार्यालयका नेतृत्वदायी पार्टी सदस्यहरूको समूहसम्म हुनुपर्छ । सबै  महत्त्वपूर्ण समस्याहरू (निश्चय नै  कम महत्त्वपूका सानातिना समस्याहरू या  ती समस्याहरू, जसको बैठकमा छलफल गरेर समाधान निकालिएको छ । कार्यान्वयन गर्न बाँकी नै छ) कमिटीमा छलफलका लागि पेश गर्नुपर्दछ । बैठकमा उपस्थित सदस्यहरूलाई त्यसबारे आफ्नो  धारणा पूरा जानकारी गराउनुपर्छ  र निश्चित निर्णय गर्नुपर्छ, त्यसपछि मात्रै  सम्बन्धित सदस्यहरूले यसको कार्यान्वयन गर्नुपर्छ । प्रिफे्क्चर र ब्रिगेडभन्दा तलका पार्टीकमिटीहरूले पनि यही तरिका अंगाल्नुपर्छ । माथिल्लो स्तरका नेतृत्वकारी सङ्गठनमा पनि विभिन्न विभाग (उदाहरणका लागि प्रचार तथा सङ्गठन विभाग) कमिसन (उदाहरणका लागि मजदुर कमिसन, महिला कमिसन, युवक कमिसन), स्कुलहरू (उदाहरणका लागि पार्टी स्कुल), तथा कार्यालयहरू (उदाहरणका लागि अनुसन्धान कार्यालय) का नेतृत्वदायी कार्यकर्ताहरूले पनि सामूहिक बैठक बोलाउनुपर्छ र बैठकहरू लम्बाचौडा गर्ने र घरीघरी बोलाइरहने गर्नु हुँदैन  भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्दछ । बैठकमा काममा बाधा पर्ने गरी सानातिना कुरामा छलफल गरेर समय खेर फाल्नु  हुँदैन  । मतभेद भएका महत्त्वपूर्ण र जटिल विषयहरूबारे बैठकभन्दा पहिले सदस्यहरूसँग सल्लाह लिनुपर्छ, जसले गर्दा सदस्यहरूलाई ती विषयमा सोचविचार गर्ने अवसर मिलोस्, बैठकमा निर्णय लिन कठिन नहोस् र निर्णय सतही नहोस् वा कुनै निर्णयमा पुग्न समस्या नहोस् । पार्टी कमिटीको बैठकलाई दुई भागमा बाँड्नुपर्छ, स्थायी कमिटीको बैठक र पूर्ण अधिवेशन । यिनीहरूलाई एकअर्कोसँग  बल्झाउनु हुँदैन  । सामूहिक नेतृत्वमा जोड दिएर व्यक्तिगत जिम्मेवारीको उपेक्षा गर्ने र  व्यक्तिगत जिम्मेवारीमा जोड दिएर सामूहिक नेतृत्वलाई उपेक्षा गर्ने कार्य गरिनु हुन्न भन्ने कुरामा पनि हामीले विशेष ध्यान दिनुपर्छ । सेनामा कमाण्ड सम्हाल्ने अफिसरलाई लडाइ“का सन्दर्भमा परिस्थितिको माग अनुसार आपतकालीन फैसला गर्ने अधिकार हुन्छ ।
 
•     सङ्घर्ष जति कठिन हुँदैजान्छ, कम्युनिस्टहरूले आफ्नो नेतृत्वलाई व्यापक जनसमूहका मागहरूसित घनिष्ठ रूपले गास्नुपर्ने हुन्छ र सामान्य आह्वानहरूलाई विशेष मार्गदर्शनसित गाँस्नुपर्ने कुराको खाँचो पनि त्यति नै बढेर जान्छ, जसबाट नेतृत्वका मनोगतवादी र नोकरशाही तरिकाहरूलाई पूरापूर छिन्नभिन्न पार्न सकियोस् । हाम्रो पार्टीका सबै नेतृत्वदायी कमरेडहरूले सधैं नै नेतृत्वका मनोगतवादी नोकरशाही शैलीहरूका विरुद्ध नेतृत्वसम्बन्धी वैज्ञानिक र मार्क्सवादी तरिकाको झण्डा उठाउनु र पहिलो खालका शैलीहरूलाई परास्त गर्न दोस्रो खालको तरिका लागू गर्नुपर्छ । मनोगतवादी र नोकरशाही प्रवृत्ति भएकाहरूले जनसमूहसित र सामान्यलाई विशेषसित राम्ररी गाँस्ने  सिद्धान्तको बेवास्ता गर्छन् र उनीहरूले पार्टी कामको प्रगतिमा ज्यादै ठूलो बाधा-अडचन पैदा गर्छन् । नेतृत्वका मनोगतवादी र नोकरसाही शैलीसित जुध्न हामीले नेतृत्व सम्बन्धी वैज्ञानिक र मार्क्सवादी तरिकालाई व्यापक र गम्भीर दुवै किसिमले अघि बढाउनुपर्छ ।

•    पार्टीमा वामपन्थीहरू पत्ता लगाउन र उनीहरूको पङ्क्तिलाई विकसित र सुदृढ बनाउन पार्टीनेतृत्व सिपालु हुनुपर्दछ र साथै क्रान्तिकारी वामपन्थीहरूमाथि पूर्ण रूपमा निर्भर रहनु पर्दछ । आन्दोलनका क्रममा चरम प्रतिक्रियावादी दक्षिणपन्थीहरूलाई पूर्ण रूपमा एकल्याउने, मध्यमार्गीहरूलाई आफ्नो पक्षमा तान्ने र जनसमुदायको ठूलो हिस्सासँगएकता कायम गर्ने एकमात्र त्यस्तो तरिका हो, जसको माध्यमले आन्दोलनको अन्तसम्ममा हामीले ९५ प्रतिशतभन्दा बढी कार्यकर्ता र ९५ प्रतिशतभन्दा बढी जनसमुदायबीच एकता प्राप्त गर्ने छौं  ।

नेतृत्व र कार्यकर्ता

•    हाम्रो  पार्टीले शुद्धीकरण आन्दोलनको  ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना  र आत्मालोचनामार्फत  अन्तर्विरोधहरूलाई हल गर्ने तरिका पनि हो । यसपटक  यस आन्दोलनको निसाना नोकरशाही प्रवृत्ति, सङ्कीर्णतावाद र मनोगतवादजस्ता तीनवटा खराब शैलीहरू हुने छन् । हामीले शुद्धीकरणमार्फत सादा जीवन र कठोर सङ्घर्षको हाम्रो पार्टीपरम्परालाई अघि बढाउने भगीरथ प्रयास गर्नैपर्छ । हामीले क्रान्तिमा विजय प्राप्त गरेदेखि यता हाम्रा कतिपय कमरेडहरूको क्रान्तिकारी सङ्कल्प ओइलाउँदै  गएको छ, तिनको क्रान्तिकारी उत्साह मर्दैआएको छ । दिलो ज्यानले जनताको सेवा गर्ने तिनको भावनामा सुस्ती आइरहेको छ र त्यसैगरी सत्रुविरुद्धको लडाइंमा मुत्युलाई हाँक दिन तिनले प्रदर्शन गरेको भावनामा पनि सुस्ती आइरहेको छ । त्यसको साथसाथै उनीहरू पद र चर्चाका निम्ति मरीमेट्न थालेका छन्, आफ्नो लवाइ-खुवाइमा विशेष बन्न थालेका छन्, पैसाका लागि होडबाजी गर्ने र नाम तथा लाभका निमित्त हुरुक्क हुन थालेका छन्—यस्तै सारा मनोवृत्तिहरू हुर्किरहेका छन् । गत वर्ष कार्यकर्ताहरूको  प्रमोसन गर्ने क्रममा कतिपय कमरेडहरू डाँको छोडेर रोए र तिनले अचम्मको गाईजात्रा देखाए रे भन्ने सुनेको छु । मान्छेका दुइटा आँखा  छन्, होइन र ? ती आँखाबाट बगेर आउने पानीलाई आँसु  भन्ने गरिन्छ । तिनले चिताएजस्तो गरी प्रमोसन नभएपछि तिनका गालाबाट आँसुका धारा बग्न थाल्छन् । च्याङकाइ-सेक विरोधी युद्धकालमा, अमेरिकी अतिक्रमणको प्रतिरोध गर्ने र कोरियालाई सहयोग गर्ने युद्धकालमा, कृषिसुधार र प्रतिक्रान्तिकारीहरूको दमनकालमा तिनले कहिल्यै एक थोपा आँसु  झारेनन्, न त समाजवादको निर्माणकालमा नै तिनले आँसु झारे, तर तिनका निजी स्वार्थमा असर पर्नासाथै तिनका आँखाबाट आँसुका नदी नै बग्न थाले । कसैले त तिन दिनसम्म खाना खानै मानेनन् रे भन्ने कुरासमेत पनि मैले सुनेको छु । म त के भन्छु भने कोही एक जनाले तिन दिनसम्म खान मानेन भने त्यो केही होइन, तर त्यो एक हप्तासम्म चल्यो भनेचाहिं  बडो खतरनाक हुन्छ ।

छोटकरीमा भन्ने हो भने पार्टीमा नाम र पदका निम्ति प्रतिस्पर्धा गर्ने, पैसा, खानपिन, लवाइ र सोखसयल दाँजेर हेर्ने मनोवृत्ति पैदा भएको छ । आफ्ना निजी हितहरूका निम्ति भोकहडताल गर्ने र आँसु झार्ने कुरालाई जनताबीचको एकप्रकारको अन्तर्विरोध मान्न सकिन्छ । ‘लुन चुङले राती सुइंकुच्चा ठोक्छ’ (यो  दृश्य मिङ राजवंशको पालामा रचिएको तरवारको कथा भन्ने कुन चु अपेरासित सम्बद्ध छ ।) भन्ने अपेराको एउटा दृश्यको एउटा हरफ यस्तो छ—“मुटु चिरा नपरी लोग्नेमान्छेले सजिलै आँसु  झार्दैन ।” हाम्रा केही कमरेडहरू लोग्नेमान्छे छन् (सके स्वास्नीमान्छे पनि होलान् ), जसको बारेमा के भन्न सकिन्छ भने प्रमोसनको कुरा नआउन्जेलसम्म उनीहरूले सजिलै आँसु  झार्दैनन् । यस्तो व्यवहारलाई पनि सुधार्नैपर्छ, पर्दैन त ? सजिलै आँसु नझार्नु ठीक कुरा हो । मुटु चिरा पर्ने बेला चाहिं त्यति बेला हो, जब मजदुर वर्ग र श्रमजीवी समूहको भविष्य खतरामा पर्छ । त्यस्तो बेला मान्छेले केही थोपा आँसु झारे हुन्छ

 तपाईंलाई जस्तोसुकै दर्जा दिए पनि र तपाईंको तह निर्धारण गलत नै भए पनि तपाईंले त्यो दर्जा स्वीकार गर्नेपर्छ र तपाईंले आफ्नो आँसु झर्न नदिई भित्रै राख्नुपर्छ । यस संसारमा पक्षपातपूर्ण काम धेरै भएका छन् र तपाईंको तह निर्धारणमा केही अन्याय भएको हुन सक्छ, तर भएको रहेछ भने पनि यसका बारेमा हल्लाखल्ला मच्चाउनुको कुनै अर्थ छैन, किनभने यसो गर्नु बेकारमात्र हुन जान्छ,  र पेटभरि खान पाउन्जेलसम्म तपाईंले चित्त बुझाएर बस्नुपर्छ ।  जे भए पनि हाम्रो पार्टी एउटा क्रान्तिकारी पार्टी हो र कसैलाई पनि भोकभोकै मर्न नदिने कुरालाई हामीले सैद्धान्तिक प्रस्थापनाको रूपमा लिनुपर्दछ । भोकले नमरुन्जेल जो कोहीले पनि काम गर्नुपर्दछ र दत्तचित्त भएर गर्नुपर्दछ । आजभन्दा दश हजार वर्षपछि पनि मानिसहरूले मेहनतसाथ काम गर्नैपर्दछ । कम्युनिस्टहरूले त आधा चित्त वा दुईतिहाई चित्तले नभएर मेहनतका साथ काम गरेर जनताको सेवा गर्नैपर्दछ । क्रान्तिकारी सङ्कल्प ओइलाउँदै गएकाहरूको भावनालाई शुद्धीकरणद्वारा पुनर्जीवित तुल्याउनुपर्छ ।
 
•    हामीले क्रान्तिकारी युद्धहरूका वर्षहरूमा देखाएजस्तै तागत, त्यस्तै किसिमको क्रान्तिकारी उत्साह र मुत्युलाई हाँक  दिने त्यस्तै किसिमको भावना कायम राख्नुपर्छ र क्रान्तिकारी कार्यलाई आखिरीसम्म लैजानुपर्छ । मुत्युलाई हाँक  दिने भनेको के हो त ? जल किनारा भन्ने उपन्यासमा मुत्युलाई हाँक  दिने साइंलो भाइ सि स्यू भन्ने एउटा पात्र छ, यहाँ हामीले ठ्याक्कै उसैको जस्तो भावनालाई मनमा राखेका छौं । हामीले त्यही भावनाको सहाराले विगतकालमा क्रान्ति गर्न सकेका हौं  । मानिसले एकवारको जुनी पाउँछ  र यस जुनीमा ऊ त्यस्तै साठी, सत्तरी, असी वा नब्बे वर्षसम्म बाँच्न सक्छ, यो कुरा हेरीहेरी हुन्छ । आफूले सकुन्जेलसम्म तपाईंले  केही न केही काम गर्नुपर्छ । अनि तपाईंले यो काम उत्साह र मुत्युलाई हाँक  दिने भावनाका साथ गर्नुपर्दछ । केही कमरेडहरूमा यस्तो उत्साह र भावनाको कमी हुँदैगएको छ र उनीहरूले प्रगति गर्न छाडेका छन् । यो स्वस्थ किसिमको घटनासन्दर्भ होइन, त्यसैले उनीहरूका लागि स्कुलिङको कार्य सञ्चालन आवश्यक छ ।

 सिङ्गो पार्टीले राजनीतिक र विचारधारात्मक कामलाई सुदृढ तुल्याउनु पर्छ । आजको सभामा उपस्थित सबै कमरेडहरू सेनामा कार्यरत हुनुहुन्छ । हैन, सेना फाँटको स्थितिचाहिं कस्तो छ नि ?  के शान्ति कालको राजनीतिक काम र युद्धकालको राजनीतिक कामको बीचमा केही न केही भिन्नता छैन र ? युद्धकालमा जनसमूहसँग घनिष्ठ सम्बन्ध राख्नैपर्छ, अफिसरहरूको जवानहरूसँग  र सेनाले जनतास“ग एकाकार हुनैपर्छ । यस्तो बखतमा हामीमा केही कमजोरी भए पनि जनताले हामीलाई माफी दिन्छन् । अहिले त शान्तिकाल हो, अहिले हामीले युद्ध लड्नु परेको छैन र हामीले गर्नुपर्ने जम्मा कामै तालिम लिनु हो ।  जनसमूहसँग  घनिष्ठ सम्बन्ध कायम राख्ने कुरामा हामी दृढताका साथ लागि परेनौं भने हाम्रा कमजोरीहरूलाई माफी दिन सामान्यतया उनीहरूलाई गाह्रो पर्ने छ । सैनिक दर्जाहरूको प्रणाली (सैनिक दर्जाप्रणाली सन् १९५५को सेप्टेम्बर महिनामा लागू गरिएको थियो र १९६५ मा यसलाई खारेज गरिएको थियो ।) र अन्य प्रणालीहरू लागू गरिएको भए तापनि उच्च दर्जाका सैनिकहरू आफ्नो मातहतमा रहेका सैनिकहरूसँग र काडरहरूले सिपाहीहरूसँग  नङमासुसरह एक हुनैपर्छ, अनि मातहतका सैनिकहरूलाई उपल्ला दर्जाका सैनिकहरूको आलोचना गर्न र सिपाहीहरूलाई काडरहरूको आलोचना गर्न दिइनुपर्छ ।

उदाहरणका लागि आलोचना गर्ने अवसर प्रदान गर्न पार्टी सम्मेलनको आयोजना गर्न सकिन्छ । ‘तीन खराबीहरू’ विरुद्धको आन्दोलनताका कमरेड चेन यिले यो कुरा एकदम सही ढङ्गले यसरी भन्नु भएको थियो—“यतिका वर्षसम्म हामीले आदेश जारी गर्दा ठीक भयो, अब हाम्रो मातहतका सैनिकहरूलाई केही समयसम्म, भनौं न एक हप्तासम्म हाम्रो आलोचना गर्न दिनु ठीक नहोला र ?”  यसो गर्नु ठीक हो भन्ने उहाँको आसय थियो । उहासँग  मेरो सहमति छ, हाम्रो मातहतमा रहेका मानिसहरूले एक हप्तासम्म हाम्रो आलोचना गरून् । यस्ता आलोचना सुरु हुनुभन्दा अघि केही तयारी गर्नोस्, त्यसपछि जसरी हुन्छ प्रतिवेदन प्रस्तुत गर्नोस् र तपाईंका आफ्नै कमजोरीहरूबारे केही भन्नोस्, त्यसमा संभवतः एक, दुई, तीन वा चार  बुँदाभन्दा बढी हुने छैनन् । त्यसपछि कमरेडहरूलाई बोल्न, केही बुँदा  थपथाप पार्न र आलोचना गर्न दिनोस् ।

 जनसमूहमा निष्पक्ष भावना हुन्छ, उनीहरूले हाम्रा फेहरिस्तलाई उपेक्षा गर्ने छैनन् । कम्पनी र प्लाटुन कमान्डरहरूले पनि आफू मातहतका सैनिक जवानहरूलाई आलोचना गर्न दिनुपर्छ र वर्षको एकपटक निकै दिनसम्म चल्ने गरी आलोचना बैठकको आयोजना गर्नु सबबन्दा राम्रो हुनेछ । विगतमा हामीले सेनामा यस प्रकारको जनवादको अभ्यास गरेका थियौं  र त्यसबाट  राम्रा परिणामहरू निस्केका थिए । सैनिक दर्जाहरूको प्रणाली र अन्य प्रणालीहरू अंगाल्नुको परिणामस्वरूप देखिने, माथिल्ला र तल्ला तहबीचका, अफिसर र जवानबीचका, सेना र जनताबीचका तथा सैन्यशक्ति र स्थानीय अधिकारीहरूबीचका सम्बन्धहरूमा क्षति पुग्न नदिनोस् । के कुरा भनिरहनु नपर्ला भने माथिल्ला तहहरूले तल्ला तहहरूसित घनिष्ठ सम्बन्ध कायम राख्नुपर्छ र यो सम्बन्ध कमरेडी खालको हुनुपर्छ । काडरहरूले सिपाहीहरूसँग  घनिष्ठ सम्बन्घको विकास गरी उनीहरूसँग एकताबद्ध हुनुपर्छ । त्यसैगरी सशस्त्र सेनाले जनतास“ग र स्थानीय पार्टी र सरकारी सङ्गठनहरूसँग  घनिष्ठ सम्बन्ध कायम राख्नुपर्छ ।

•    हाम्रा कमरेडहरूले यस कुरालाई मनमा राख्नुपर्छ : आफ्नो कार्यालयको शक्ति, आफ्नो उच्च दर्जा वा वरिष्ठताको  नामले गुजारा चलाउने नगर्नोस् । वरिष्ठताको सन्दर्भमा हामी निकै वर्षदेखि काम गर्दै आएका छौं  र, हाम्रो यस फेहरिस्तको महत्त्व रहन्छ नै । तैपनि हामीले यसैको सहाराले दिन काट्ने काम गर्नु हुँदैन  । के कुरा साँचो हो भने तपाईंहरू भनेको दशकदेखि काम गरिआउनु भएका ठूला कार्यकर्ता हुनुहुन्छ । यी सबै हुँदाहुँदै  पनि तपाईंहरूले कुनै उल्लू काम वा वाहियात कामकुरा गर्नु भयो भने जनताले माफी दिने छैनन् । विगतमा तपाईंले जतिसुकै सुकर्म गरेको भए पनि र तपाईंको पद जतिसुकै उपल्लो दर्जाको भए पनि आज तपाईं राम्ररी काम गरिरहनु भएको छैन, सही ढङ्गले समस्याहरूको हल गरिरहनु भएको छैन र जनहितलाई नोक्सान पुर्याईइरहनु भएको छ भने जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसकारण हाम्रा कमरेडहरूले आफ्नो वरिष्ठतामाथि नभई सही ढङ्गले समस्याहरू हल गर्ने आफ्नो क्षमतामाथि भर पर्नुपर्दछ । यहाँनेरी  महत्त्वपूर्ण कुरा वरिष्ठता नभएर सहीपना नै हो । आफ्नो वरिष्ठताले तपाईंलाई थेग्न नसक्ने भएकाले यसबारे तपाईंले बिर्सिदिए पनि हुन्छ । मानौं  तपाईं  कहिल्यै अफिसर हुनुभएकै होइन, भनाइको तात्पर्य के हो भने ठालू वा नोकरसाहको धाक-रवाफ देखाउन छाड्नैपर्छ, आफ्नो धाक-रवाफलाई एकातिर पन्छाएर तपाईंले जनताको बीचमा  तथा तपाईंका सहायकहरूका बीचमा जानैपर्छ । यो हाम्रा कामरेडहरूले र खास गरेर हाम्रा पाका कमरेडहरूले मनमा राख्नैपर्ने कुरा हो । साधारणतया नयाँ  काडरहरूमाथि उति ठूलो जिम्मेवारी रहँदैन , उनीहरूको जिम्मेवारी अलि गौण नै हुन्छ । पाका काडरहरूले नयाँ  काडरहरूसँग  समान हैसियतबाट व्यवहार गर्नुपर्छ । पाका काडरहरू कतिपय  कुरामा नयाँ  काडरहरू जति असल हुन्छन् नै भन्न सकिंदैन, त्यसकारण पनि तिनले उनीहरूबाट सिक्नुपर्छ ।
०००


भिडियो फिचरview all