menu

ताजा समाचार

माओको सम्झनामा विविध कार्यक्रम

विश्वसर्वहारा वर्गका महान् नेता माओ जेदुङको १२४ औँ जन्मदिवसका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो देशको विशिष्ट परिस्थितिमा विभिन्न किसिमले माओको सम्झना गरिरहेका छन् । यस घडीमा 'जनमेल' परिवार मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा दृढताका साथ उभिने प्रण गर्दै विश्वका उत्पीडित जनताले चलाएको मुक्ति आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछ ।

यसैक्रममा नेपालका  माओवादी पार्टी तथा सङ्गठनहरूले माओ जन्मदिवसका सन्दर्भमा वक्तव्य जारी गर्नुका साथै कार्यक्रमको आयोजना गरेका छन् ।

कम्युनिस्ट न्युक्लिअस, नेपाल

कम्युनिस्ट न्युक्लिअस नेपालले ''क्रान्तिकारी केन्द्र निर्माणमा ध्रुवीकृत होऔं" शीर्षकमा भनेको छ :

''साम्राज्यवादी र संशोधनवादी शक्तिहरू मार्क्सवाद-लेनिवाद-माओवादको भ्रष्टीकरण र महान् नेताहरूको बिम्ब विद्रूपीकरणका नयाँनयाँ योजना बुन्दै अनेक भ्रम र अन्योल उत्पन्न गर्न सक्रिय देखिएका छन् तापनि सबै किसिमका विभ्रम र षड्यन्त्रलाई चिर्दै विश्वभरिका क्रान्तिकारीहरू मालेमाको झण्डा झनझन्  माथि उठाइरहेका छन् । यस घडीमा हाम्रो न्युक्लिअस विश्वभरिका जनताको न्यायपूर्ण सङ्घर्षप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछ ।

कमरेड स्टालिनको मृत्यृपछि गद्दार क्रुस्चेवको नेतृत्वमा राज्य र क्रान्तिसम्बन्धी मार्क्सवादी-लेनिनवादी मूल्य र समाजवादी निर्माणअभियानलाई ध्वस्त पारियो र महान् स्टालिनका विरुद्ध सत्रुतापूर्ण अभियान चलाइयो । यस्तो बेलामा कमरेड माओ मार्क्सवाद-लेनिनवादका पक्षमा दृढताका साथ उभिनुभयो र महान् बहसचिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत संशोधनवाद र साम्राज्यवादका विरुद्ध प्रतिरोध अभियान चलाउनुभयो । यस अभियानले पूर्णता नपाउँदै माओको मुत्यु भयो । माओको मुत्युपछि तेङ मण्डलीको नेतृत्वमा पार्टीभित्रका पुँजीपन्थीहरूले सत्ता कब्जा गरेर माओको नेतृत्वमा समाजवादी आन्दोलनले प्राप्त गरेका सम्पूर्ण प्राप्तिहरूमाथि धावा बोले । क्रुस्चेवको आधुनिक संशोधनवाद, युरो-कम्युनिज्मको बहुलवादी विसर्जनवाद र आफ्नै पार्टीका क्रुस्चेवपन्थीहरूका विरुद्ध र क्रान्तिका पक्षमा माओको नेतृत्वमा लडिएको  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको झन्डालाई उनीहरूले रछ्यानमा फ्याले र त्यसको ठाउँमा संशोधनवादी गद्दारीको झन्डा गाडे । च्याङ चिङलगायतका क्रान्तिकारी योद्धाहरूलाई जेलमा हाले र माओ र उहाँले स्थापित गरेका समाजवादी अभियान र सर्वहारावादी मूल्यका विरुद्ध एक किसिमले युद्धको घोषणा गरे  । यसले संसारभरिका क्रान्तिकारीहरूलाई गम्भीर बनाउनु स्वाभाविक थियो ।

साम्राज्यवादीहरू र विश्वका संशोधनवादीहरूले चिनियाँ पुँजीपन्थीहरूका गतिविधिहरूप्रति समर्थन अभिमत दिए पनि संसारभरिका क्रान्तिकारीहरूले यसलाई “चीनमा प्रतिक्रान्ति” भएको भनेर घोषणा गरे । क्रान्तिकारीहरूले माओले दर्शन, विचार र राजनीतिका क्षेत्रमा पुर्याएको महान् योगदान र मूल्यको उच्च मूल्याङ्कन गर्दै माओ विचारधाराले मात्र पुग्दैन, यसलाई वाद नै भन्नुपर्छ भनेर घोषणा गरे । उनीहरूले माओवादलाई मार्क्सवाद-लेनिनवादको निरन्तरतामा विकसित सिद्धान्तका रूपमा व्याख्या गरेर आजको युगको मार्क्सवादको संज्ञा दिए । उनीहरूले माओका योगदानहरूको विश्लेषण र संश्लेषण गर्दै  माओवाद मान्नेहरू नै सही अर्थमा क्रान्तिकारी हुन् भनेर निष्कर्ष निकाले । आज कोही आफूलाई मार्क्सवादी भन्छ भने ऊ माओवाद मान्छ कि मान्दैन भन्ने प्रश्न सार्वभौम प्रश्न बनेको छ । रूसी-चिनियाँ प्रतिक्रान्तिकारी भ्रम र अन्योललाई चिर्दै क्रान्तिकारी दिशाबोध गर्ने/गराउने उद्देश्यका साथ मार्क्सवाद-लेनिनवाद-माओवादलाई मान्ने विश्वभरिका क्रान्तिकारीहरू एकजुट हुने अभियान चलाउँदै रिम र कम्पोसामा आबद्ध हुँदैगए ।

आज विश्वमा कतै पनि समाजवादी सत्ता छैन ।  एक समयका विश्वका उत्पीडित जनताका आस्थाका केन्द्र बनेका रूस र चीनले सामाजिक साम्राज्यवादको बाटो समातेका छन् ।  परन्तु,  विश्वका उत्पीडित जनता मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डाका साथ आआफ्नो देशको विशिष्टतामा क्रान्तिकारी युद्ध लडिरहेका छन् । सङ्घर्षका रूपहरू फरक होलान्, तिनका उँचाइ र गहिराइमा भिन्नता होला, तर संसारभरिका उत्पीडित जनताले यतिखेर मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डा उठाएका छन् ।  आज भारत, फिलिपिन्स, टर्की र पेरूका जनता त्यहाँका माओवादी पार्टीको नेतृत्वमा जनयुद्ध लडिरहेका छन् । साम्राज्यवादी केन्द्रहरूमा समेत  माओ र माओवादप्रतिको आकर्षण बढ्दो छ ।   माओवादी पार्टी नभएका स्थानमा पार्टी निर्माण गर्ने पहल र प्रक्रियाको थालनी भएको छ भने माओवादी पार्टी निर्माण भएका स्थानहरूमा क्रान्तिलाई अघि बढाउने व्यावहारिक  थालनी भएको छ ।
 
नेपालको महान् दसबर्से जनयुद्धलाई नेतृत्व तहमा रहेका प्रचण्ड-बाबुरामहरूले गद्दारीपूर्वक विसर्जनगरी  प्रतिक्रियावादी कित्तामा आत्मसमर्पण गरे पनि मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरू नयाँ किसिमले सङ्गठित, पुनर्गठित र ध्रुवीकृत हुँदै नयाँ जनवादी क्रान्तिलाई नयाँ दिशा र गति दिन उद्यत् रहेका छन् ।

अवश्य पनि आज नेपालमा बहुरूपी संशोधनवाद हाबी छ । उत्पीडित नेपाली जनताले एकातिर परम्परागत प्रतिक्रियावादी शक्ति, दलाल तथा नोकरसाही पुँजीपति वर्ग र सामन्तवादका विरुद्ध लड्नुपरेको स्थिति छ भने अर्कातिर कम्युनिस्ट पार्टी नामका थरीथरीका  बहुरङ्गी अवसरवादीहरूसित पनि लडिरहनुपरेको स्थिति छ । दुवै मोर्चामा लडाइँ लड्ने कुरा जटिल र चुनौतीपूर्ण छ तापनि यो असम्भव छैन । हामीसित वैज्ञानिक हतियार छ र  क्रान्तिप्रतिको प्रतिबद्धता छ । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार र क्रान्तिकारी युद्धप्रतिको प्रतिबद्धता नै सफलतासम्म पुर्याउने हाम्रा विश्वासका आधारहरू  हुन् । नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन । माओले भन्नुभएझैँ यदि हामी पहाड चढ्ने साहस गर्छौ भने सँसारमा गाह्रो भन्ने कुरा केही पनि छैन । स्टालिन र माओलाई सम्झिँदै पहाड चढ्ने साहस गरौँ ।"

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

नेपाल कम्युनिस्ट पार्टी (क्रानितकारी माओवादी) का तर्फबाट महासचिव कमरेड किरणद्वारा जारी ''क्रान्तिलाई अगाडि बढाउन माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं " शीर्षकको  वक्तव्यमा भनिएको छ :

''नेकपा (क्रान्तिकारी माओवादी)ले दिसेम्बर २६, २०१७ अर्थात् कमरेड माओको १२५ औं जन्मदिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै नेपाली नयाँ जनवादी क्रान्ति र विश्व सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सबै कम्युनिष्ट क्रान्तिकारीहरुमा अपील गरेको छ । पार्टीका महासचिव किरणद्वारा सोमबार जारी प्रेस वक्तव्यमा यस्तो अपील गरिएको हो ।
वक्तव्यमा भनिएको छ, “आज २६ दिसेम्बर कमरेड माओको १२५औं जन्मदिवस हो । माओदिवसको यस ऐतिहासिक अवसरमा हामी विश्व सर्बहारावर्गका एक महान् नेता कमरेड माओको विशेष स्मरणसहित उच्च सम्मान गर्दछौं । माओदिवसको यस अवसरमा हामी सम्पूर्ण पार्टी कमरेडहरु, आम जनसमुदाय र विश्व सर्बहारावर्गप्रति लाल सलाम अर्पण गर्दछौं ।

माओले चीनमात्र होइन विश्वक्रान्तिकै निम्ति माओवादको सैद्धान्तिक हतियार प्रदान गर्नु भएको थियो । माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिन पश्चात् माओले विश्वक्रान्तिलाई नेतृत्व प्रदान गर्नु भएको थियो । माओले सामन्तवाद, साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादका साथै आधुनिक संशोधनवादका विरुद्ध समेत कडा संघर्ष चलाउंदै क्रान्ति पश्चात् प्रतिक्रान्ति रोक्नका लागि सर्बहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त अनुसार महान् सर्बहारा सास्कृतिक क्रान्तिको मान्यता प्रस्तुत गर्नुभएको थियो । माओका ऐतिहासिक योगदानहरु हाम्रा लागि अविस्मरणीय रहेका छन् ।

आज, सिङ्गो विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपंथी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौतीहरु तेस्र्याइएका छन् । यस स्थितिमा साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि मार्क्सवाद-लेनिनवाद-माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्ति र विश्वमा सर्बहारा समाजवादी क्रान्तिको तयारी गर्नु हाम्रो ऐतिहासिक कार्यभार हो । यस प्रकारको कार्यभार बहन गर्नका लागि माओदिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गर्दछ । कमरेडहरु, माओको १२५औ जन्मदिवस भव्यतापूर्वक मनाऔं ! नेपाली नयाँ जनवादी क्रान्ति र विश्व सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं !!”

नेकपा-विप्लव

त्यस्तै नेकपा-विप्लवसम्बद्ध विभिन्न जनवर्गीय मोर्चाहरूले आज पुस ११ गते अनामनगरस्थित संवाद डबलीको सभाकक्षमा माओको संझनामा कार्यक्रमको आयोजना गरेको कुरा सम्बद्ध पक्षबाट प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाको संयुक्त वक्तव्य

यसैबीच माओ जन्मदिवसको पूर्वसन्ध्यामा, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपाले जारी गरेको संयुक्त वक्तव्य नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध माध्यमले प्रकाशमा ल्याएको छ । कमरेड किरणा र कमरेड विप्लवद्वारा जारी वक्तव्यमा जनयुद्ध, जनान्दोलन, सहिद दिवस लगायत राष्ट्रिय स्वाधीनतासित सम्बद्ध विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्ने निर्णय गरिएको उल्लेख छ  ।

भिडियो फिचरview all