menu

ताजा समाचार

नेपाल प्रज्ञा प्रतिष्ठानलार्इ चेतावनी

नेपाली भाषाको वर्णविन्यास र मानक लेख्यरूपलाई जथाभावी बिगारी विकलांग बनाई अमानक रूपको प्रयोग गरेको सन्दर्भलाई लिएर नेपालभित्रबाट मात्र नभई विश्वमा रहेका नेपाली भाषीहरूले समेत विरोध जनाइरहेको अवस्थामा नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक देवीप्रसाद गौतमको नेतृत्वमा गएको प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा गठित  'नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल' को प्रतिनिधि मण्डलले 'नेपाल प्रज्ञा प्रतिष्ठान' का कुलपतिलाई भेटेर नेपाली भाषामाथिका अव्यवस्था र अराजकताको प्रमुख कारक नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश (२०७२) भएको हुँदा यसलाई तत्काल खारेज गरी नेपाली बृहत् शब्दकोश (२०५८) को संस्करणलाई निरन्तरता दिनुपर्ने माग प्रस्तुत गरेको छ । साथै नेपाली बृहत् शब्दकोश (२०७२) आम प्रयोगर्नेतर्फ गएमा  कडा कदम चालिने र त्यसबाट उत्पन्न परिणामप्रति नेपाल प्रज्ञा प्रतिष्ठान नै जिम्मेवार हुने चेतावानी दिएको छ ।

 
सो प्रतिनिधि मण्डलमा सहप्रा. भरतकुमार भट्टराई, प्राज्ञ नरनाथ लुइटेल, सहप्रा.डा. लक्ष्मणप्रसाद गौतम, अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, सहप्रा.डा. नारायणप्रसाद गैरे, साहित्यकार प्रतीक ढकाल, सहप्रा.डा.माधवप्रसाद पाण्डेय, कानुनव्यवसायी रामेश्वर राउत मातृदास, सञ्चारकर्मी घनेन्द्र ओझालगायत हुनुहुन्थ्यो । प्रतिनिधि मण्डलले नेपाली बृहत् शब्दकोश (२०७२) लाई तत्काल खारेज नगरी अनावश्यक विज्ञप्ति प्रकाशन गर्ने तथा अनावश्यक गालीगलौज गराउन केही छद्म व्यक्तिलाई प्रयोग गर्नेतर्फ गएमा कडा कदम चालिने र त्यसबाट उत्पन्न परिणामप्रति नेपाल प्रज्ञा प्रतिष्ठान नै जिम्मेवार हुने चेतावानी दिएको छ ।

 श्रीमान् कुलपतिज्यू,
नेपाल प्रज्ञा प्रतिष्ठान
कमलादी, काठमाडौँ।

विषय: नेपाली बृहत् शब्दकोश (२०७२) को खारेजी सम्बन्धमा
महोदय,
उक्त विषयमा अहिले नेपाली भाषाको वर्णविन्यास र लेख्यरूपमा गरिएको अव्यवस्था र अराजकताप्रति मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अव्यवस्था र अराजकताप्रति यस सञ्जालको पूर्ण असहमति रहेको छ । यस सम्बन्धमा नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्तताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने तथा यस क्षेत्रमा क्रियाशील रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिहरूसँग समन्वय, संयोजन र सहकार्य गर्दै विविध गतिविधिलाई अगाडि बढाउने उद्देश्यबाट २०७३–७–१० गते विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, प्राज्ञ, सञ्चारकर्मी, कानुन व्यवसायीलगायत देशविदेशका विभिन्न सङ्घसंस्थासँग सम्बद्ध विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरूको भेलाले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल गठन गरेको र यसले मिति २०७३–७–१७ मा अवधारणापत्रसमेत सार्वजनिक गरिसकेको कुरा यहाँलाई अवगतै होला ।

हाल विद्यमान नेपाली भाषामाथिका अव्यवस्था र अराजकता भित्र्याउने सर्वप्रमुख कारक तत्व नेपाली बृहत् शब्दकोश (२०७२) भएको यस सञ्जालको ठहर रहेको छ । यस शब्दकोशमा प्रयोग गरिएको वर्णविन्यास आम प्रयोक्ता र सरोकारवालाहरूले स्वीकार गरिआएको मानक वर्णविन्यासअनुरूप नभएको र यसमा प्रयुक्त विवादित वर्णविन्यास, लिपिचिह्न र प्रविष्टिले नेपाली भाषामा अराजकता फैलाएको हुँदा नेपाली बृहत् शब्दकोश (२०७२) लाई तत्काल खारेज गरी नेपाली बृहत् शब्दकोश (२०५८) को संस्करणलाई निरन्तरता दिनुपर्ने यस सञ्जालको स्पष्ट दृष्टिकोण र दृढ धारणा रहेको कुरा श्रीमान्समक्ष जानकारी गराउँछौँ । यसलाई बेवास्ता गरिएमा यसबाट उत्पन्न परिणामप्रति नेपाल प्रज्ञा प्रतिष्ठान नै जिम्मेवार हुनेछ । नेपाली वर्णविन्यास र लेख्यरूपका सम्बन्धमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले प्रस्तुत गरेको अवधारणापत्र यसैसाथ संलग्न गरिएको छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
अध्यक्ष
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल
मिति: २०७३ कार्तिक २२
भिडियो फिचरview all