menu

ताजा समाचार

चितवन बैठकमा कमरेड किरणद्वारा राजनीतिक प्रस्ताव प्रस्तुत

कम्युनिस्ट मूल्य, आदर्श र व्यवहारबाट धेरै पर पुगेर नव प्रतिक्रियावादमा पतन भइसकेका तर, नाम अझै  कम्युनिस्ट पार्टी राखेका  केही पार्टीहरूले एकताको प्रक्रिया र सरकार बनाउने तयारी गरिरहेको बेला मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू भने दक्षिणणपन्थी हावाहुन्डरीबाट मालेमाको झण्डाको रक्षा गर्दै कसरी माओवादी आन्दोलनलाई नयाँ गति र दिशा  दिने भन्ने विषयमा व्यापक छलफल, विचारविमर्श र बैठकहरूमा व्यस्त रहेका छन् ।
 
यसै क्रममा  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक  पुस ६ गतेदेखि चितवनमा आरम्भ भएको कुरा पत्रपत्रिका लगायत सो पार्टी सम्बद्ध केन्द्रीय सदस्यहरूका   फेसबुकबाट जानकारी पाउँन सकिन्छ । असोजमा सम्पन्न  पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टीको कार्यदिशा, पार्टीको नाम फेर्ने कुरा र चुनाव उपयोगको नीतिका सम्बन्धमा व्यापक बहस र विवाद भएको थियो । एकता प्रक्रियामा आएका रामसिंह श्रीस, सिताराम तामाङहरू लगायतले माओवाद र जनयुद्धको औचित्यमाथि नै प्रश्न उठाए पनि सिङ्गो हलले त्यसलाई खारेज गरेको थियो । अर्को चुनाव नआउन्जेलसम्म चुनावी कार्यनीति टरे पनि अहिलेको चुनावमा पार्टीको सहभागिताको विषय बैठकको छलफल,  समीक्षा र संश्लेषणको विषय बन्नु स्वाभाविक छ ।

सम्बद्ध सूत्रअनुसार सो बैठकमा कमरेड किरणबाट प्रस्तुत  ''तत्कालीन राजनीतिक प्रस्ताव ' शीर्षकको दस्ताबेजमा सदस्यबाट धारणा राख्ने काम जारी छ  । निर्वाचन उपयोगको समीक्षा, सङ्गठनात्मक व्यवस्थापन, आगामी सङ्घर्षसम्बन्धी कार्यक्रम र पार्टीले अघिसारेको एकता तथा ध्रुवीकरणसम्बन्धी विषयहरू छलफलका विषय हुनेछन् ।

सङ्गठनात्मक व्यवस्थापन

पोखरा सम्मेलनले  केन्द्रीय समितिको सङ्ख्या घटाएको थियो र केही आधार तथा मानदण्ड तयार पारेर त्यसअनुसार  जान नसक्नेहरूबाट केन्द्रीय समितिबाट स्वैच्छिक पदत्यागको आह्वान गरेको थियो । यस क्रममा कतिपयले त्यहीँ हात उठाएर आफ्नो स्थिति प्रस्ट पारेका थिए भने कतिपय पोखरा सम्मेलनपछि पार्टी त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसैगरी कतिपय चुनाव उपयोगका सम्बन्धमा पार्टी अनुशासनमा नरहेको भनी पार्टीबाट कारवाहीमा परेका थिए । थाकेका, समय दिन नसक्ने, होल टाइमर हुन नचाहने,  पदमा रमाउने, तर काम नगर्ने , दिएको जिम्मेवारी पूरा नगर्ने  तर, रहस्यमय किसिमले विदेश चाहार्ने तथा उमेरले असक्त अवस्थामा रहेका कमरेडहरूलाई केन्द्रीय समितिबाट बिदा गर्ने र जुझारु, अध्ययनशील र कामप्रति इमानदार युवाहरूलाई अगाडि ल्याउने पार्टीको नीति रहे पनि त्यस किसिमको वातावरण नबनेको कुरा एक जना केन्द्रीय नेताको भनाइ रहेको छ । सल्लाहकारको भूमिका पनि विवादास्पद रहेको र पदअनुसारको दायित्व निर्वाह गर्ने नसकेका कारण यसबारे पनि ठोस निर्णय हुने कुरा सम्बद्ध सूत्रले जनाएको छ ।

पोखरा सम्मेलनमा महासचिवका रूपमा कमरेड किरणलाई चयन गरे पनि स्थायी समिति, पोलिटब्युरो तथा प्रवक्ताको चयन पछि गर्ने भनिएकाले अहिलेको बैठकले यो कार्यलाई पूर्णता दिने आकलन गर्न सकिन्छ । पोलिटब्युरो चयन गर्ने र नयाँ सदस्य थप्ने कुरा गम्भीर कुरा भएकाले यसलाई हतारोमा र विगतमा भएजस्तो नातावाद, कृपावाद शैलीमा नभएर काम, इमानदारी, अनुभव र आवश्यकताका आधारमा गरिनुपर्ने कुरा पनि कार्यकर्तामा छलफलको विषय बनेको छ । काम, योग्यता, अनुभव र त्याग भन्दा नेताका वरिपरिका मान्छेहरूलाई केन्द्रमा लगियो भनेर यसअघि निकै विवाद हुने गरेको कुरा पनि यहाँ स्मरणीय छ । नेकपा (क्रान्तिकारी माओवादी) मा हैसियतका लागि बार्गेनिङ गर्ने र पद पाएपछि प्रचण्डको पार्टीमा दौडने प्रवृत्ति देखिएकाले अब केन्द्रीय समितिमा केकस्ता कार्यकर्ताहरूलाई लैजाने भन्ने कुरालाई गम्भीरताका साथ लिइने कुरा सम्बद्ध सूत्रले जनाएको छ ।

सङ्घर्षका कार्यक्रम

बदलिँदो अवस्थामा सङ्घर्षका कार्यक्रमलाई अघि बढाउने कुरा पहिलेभन्दा थप जटिल र चुनौतीपूर्ण भएको कुरामा विवाद छैन तापनि वैधानिक र अवैधानिक दुवै थरी कार्यक्रमबीचको तालमेल अबको आवश्यकता हो । अबका सङ्घर्षका कार्यक्रमहरू विशिष्ट किसिमका हुनु आवश्यक  छ र यी सोझै रणनीतिक उद्देश्यसित गाँसिनु आवश्यक छ । अन्यथा यसको परिणाम भनेको गोलचक्करवाद मात्र हो ।

ध्रुवीकरण प्रक्रिया

नयाँ-पुराना प्रतिक्रियावादीहरू एकत्रित र ध्रुवीकृत हुने प्रक्रिया तीव्र बनेको अहिलेको अवस्थामा आधारभूत विचार र व्यवहार मिल्नेहरूबीच एकता तथा ध्रुवीकरण आजको आवश्यकता हो । कम्तीमा पनि नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबाट  यसको थालनी हुनु आवश्यक छ । नेकपा (क्रान्तिकारी माओवादी) ले एकता तथा ध्रुवीकरणका लागि अघि सारेको बुँदामध्ये एउटा बुँदा एकताको बाधक छ । सरकारमा नजाने तर चुनावमा भाग लिने भन्ने अर्थ लाग्ने त्यो बुँदा सही छैन । प्रतिक्रियावादी संसदीय चुनावमा भाग लिनुको अर्थ छैन भन्ने कुरा व्यवहारले पनि प्रस्ट पारिसकेको छ । त्यस्तै बलपूर्वक सत्ता प्राप्त गर्ने कुरालाई पनि थप मूर्त पार्नु आवश्यक छ । अहिलेको मूल बहस र छलफलको विषय कार्यदिशा भएकाले यसका सम्बन्धमा प्रस्ट हुनु आवश्यक छ ।

अन्त्यमा

नेकपा (क्रान्तिकारी माओवादी) को बैठकले केकस्तो निर्णय गर्छ, त्यो पछि नै थाहा होला । हाम्रा बैठकहरू आखिर परम्परागत  शैलीबाट पृथक हुने गरेका छैनन् । र पनि यसको बैठकले  आफ्ना कार्यकर्तामा नयाँ उत्साह प्रदान गर्ने र आम जनतामा आशा जगाउने निर्णय गरोस् भन्ने कामना चाहिँ गर्न सकिन्छ । क्रान्तिकारीहरूबीच नयाँ ध्रुवीकरण अहिलेको आवश्यकता हो भन्ने कुरामा सबै गम्भीर हुनु आवश्यक छ ।
 
सम्बद्ध स्रोतअनुसार बैठक १० गतेसम्म चल्ने छ ।



भिडियो फिचरview all