menu

ताजा समाचार

क्रान्तिकारी केन्द्र निर्माणमा ध्रुवीकृत होऔँ

१८  डिसेम्बर स्टालिनको जन्म दिन हो  र २६ डिसेम्बर  माओको  जन्म दिन हो । जन्म दिनका सन्दर्भमा विश्व सर्वहारा वर्गका यी महान् नेताहरूप्रति क्रान्तिकारी श्रद्धाञ्जली प्रकट गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

समाजवादी आन्दोलनको महान् अभियानलाई दृढताका साथ अघि बढाउने कमरेड जोसेफ स्टालिनको मृत्यु भएको ६४ वर्ष पुगिसकेको छ । त्यसैगरी साम्राज्यवाद, आधुनिक  संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाइँ लडेर मार्क्सवाद-लेनिनवादको रक्षा र विकास गर्दै विश्वसर्वहारा क्रान्तिलाई  नयाँ दिशा र प्रदान गर्ने महान् नेता कमरेड माओ त्सेतुङको मुत्यु भएको पनि ४१ वर्ष भइसकेको छ ।

साम्राज्यवादी र संशोधनवादी शक्तिहरू मार्क्सवाद-लेनिवाद-माओवादको भ्रष्टीकरण र महान् नेताहरूको बिम्ब विद्रूपीकरणका नयाँनयाँ योजना बुन्दै अनेक भ्रम र अन्योल उत्पन्न गर्न सक्रिय देखिएका छन् तापनि सबै किसिमका विभ्रम र षड्यन्त्रलाई चिर्दै विश्वभरिका क्रान्तिकारीहरू मालेमाको झण्डा झन्झन् माथि उठाइरहेका छन् । यस घडीमा हाम्रो न्युक्लिअस विश्वभरिका जनताको न्यायपूर्ण सङ्घर्षप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछ ।

कमरेड स्टालिनको मृत्यृपछि गद्दार क्रुस्चेवको नेतृत्वमा राज्य र क्रान्तिसम्बन्धी मार्क्सवादी-लेनिनवादी मूल्य र समाजवादी निर्माणअभियानलाई ध्वस्त पारियो र महान् स्टालिनका विरुद्ध सत्रुतापूर्ण अभियान चलाइयो । यस्तो बेलामा कमरेड माओ मार्क्सवाद-लेनिनवादका पक्षमा दृढताका साथ उभिनुभयो र महान् बहस चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत संशोधनवाद र साम्राज्यवादका विरुद्ध प्रतिरोध अभियान चलाउनुभयो । यस अभियानले पूर्णता नपाउँदै माओको मुत्यु भयो । माओको मुत्युपछि तेङ मण्डलीको नेतृत्वमा पार्टीभित्रका पुँजीपन्थीहरूले सत्ता कब्जा गरेर माओको नेतृत्वमा समाजवादी आन्दोलनले प्राप्त गरेका सम्पूर्ण प्राप्तिहरूमाथि धावा बोले । क्रुस्चेवको आधुनिक संशोधनवाद, युरो-कम्युनिज्मको बहुलवादी विसर्जनवाद र आफ्नै पार्टीका क्रुस्चेवपन्थीहरूका विरुद्ध र क्रान्तिका पक्षमा माओको नेतृत्वमा लडिएको  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको झन्डालाई उनीहरूले रछ्यानमा फ्याले र त्यसको ठाउँमा संशोधनवादी गद्दारीको झन्डा गाडे । च्याङ चिङलगायतका क्रान्तिकारी योद्धाहरूलाई जेलमा हाले र माओ र उहाँले स्थापित गरेका समाजवादी अभियान र सर्वहारावादी मूल्यका विरुद्ध एक किसिमले युद्धको घोषणा गरे  । यसले संसारभरिका क्रान्तिकारीहरूलाई गम्भीर बनाउनु स्वाभाविक थियो ।

साम्राज्यवादीहरू र विश्वका संशोधनवादीहरूले चिनियाँ पुँजीपन्थीहरूका गतिविधिहरूप्रति समर्थन अभिमत दिए पनि संसारभरिका क्रान्तिकारीहरूले यसलाई “चीनमा प्रतिक्रान्ति” भएको भनेर घोषणा गरे । क्रान्तिकारीहरूले माओले दर्शन, विचार र राजनीतिका क्षेत्रमा पुर्याएको महान् योगदान र मूल्यको उच्च मूल्याङ्कन गर्दै माओ विचारधाराले मात्र पुग्दैन, यसलाई वाद नै भन्नुपर्छ भनेर घोषणा गरे । उनीहरूले माओवादलाई मार्क्सवाद-लेनिनवादको निरन्तरतामा विकसित सिद्धान्तका रूपमा व्याख्या गरेर आजको युगको मार्क्सवादको संज्ञा दिए । उनीहरूले माओका योगदानहरूको विश्लेषण र संश्लेषण गर्दै  माओवाद मान्नेहरू नै सही अर्थमा क्रान्तिकारी हुन् भनेर निष्कर्ष निकाले । आज कोही आफूलाई मार्क्सवादी भन्छ भने ऊ माओवाद मान्छ कि मान्दैन भन्ने प्रश्न सार्वभौम प्रश्न बनेको छ । रूसी-चिनियाँ प्रतिक्रान्तिकारी भ्रम र अन्योललाई चिर्दै क्रान्तिकारी दिशाबोध गर्ने/गराउने उद्देश्यका साथ मार्क्सवाद-लेनिनवाद-माओवादलाई मान्ने विश्वभरिका क्रान्तिकारीहरू एकजुट हुने अभियान चलाउँदै रिम र कम्पोसामा आबद्ध हुँदैगए ।

आज विश्वमा कतै पनि समाजवादी सत्ता छैन ।  एक समयका विश्वका उत्पीडित जनताका आस्थाका केन्द्र बनेका रूस र चीनले सामाजिक साम्राज्यवादको बाटो समातेका छन् ।  परन्तु,  विश्वका उत्पीडित जनता मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डाका साथ आआफ्नो देशको विशिष्टतामा क्रान्तिकारी युद्ध लडिरहेका छन् । सङ्घर्षका रूपहरू फरक होलान्, तिनका उँचाइ र गहिराइमा भिन्नता होला, तर संसारभरिका उत्पीडित जनताले यतिखेर मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डा उठाएका छन् ।  आज भारत, फिलिपिन्स, टर्की र पेरूका जनता त्यहाँका माओवादी पार्टीको नेतृत्वमा जनयुद्ध लडिरहेका छन् । साम्राज्यवादी केन्द्रहरूमा समेत  माओ र माओवादप्रतिको आकर्षण बढ्दो छ ।   माओवादी पार्टी नभएका स्थानमा पार्टी निर्माण गर्ने पहल र प्रक्रियाको थालनी भएको छ भने माओवादी पार्टी निर्माण भएका स्थानहरूमा क्रान्तिलाई अघि बढाउने व्यावहारिक  थालनी भएको छ ।

नेपालको महान् दसबर्से जनयुद्धलाई नेतृत्व तहमा रहेका प्रचण्ड-बाबुरामहरूले गद्दारीपूर्वक विसर्जनगरी  प्रतिक्रियावादी कित्तामा आत्मसमर्पण गरे पनि मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरू नयाँ किसिमले सङ्गठित, पुनर्गठित र ध्रुवीकृत हुँदै नयाँ जनवादी क्रान्तिलाई नयाँ दिशा र गति दिन उद्यत् रहेका छन् ।

अवश्य पनि आज नेपालमा बहुरूपी संशोधनवाद हाबी छ । उत्पीडित नेपाली जनताले एकातिर परम्परागत प्रतिक्रियावादी शक्ति, दलाल तथा नोकरसाही पुँजीपति वर्ग र सामन्तवादका विरुद्ध लड्नुपरेको स्थिति छ भने अर्कातिर कम्युनिस्ट पार्टी नामका थरीथरीका  बहुरङ्गी अवसरवादीहरूसित पनि लडिरहनुपरेको स्थिति छ । दुवै मोर्चामा लडाइँ लड्ने कुरा जटिल र चुनौतीपूर्ण छ तापनि यो असम्भव छैन । हामीसित वैज्ञानिक हतियार छ र  क्रान्तिप्रतिको प्रतिबद्धता छ । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार र क्रान्तिकारी युद्धप्रतिको प्रतिबद्धता नै सफलतासम्म पुर्याउने हाम्रा विश्वासका आधारहरू  हुन् । नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन । माओले भन्नुभएझैँ यदि हामी पहाड चढ्ने साहस गर्छौ भने सँसारमा गाह्रो भन्ने कुरा केही पनि छैन । स्टालिन र माओलाई सम्झिँदै पहाड चढ्ने साहस गरौँ ।

मार्क्सवाद-लेनिनवाद-माओवाद :  जिन्दावाद !
नयाँ जनवादी क्रान्ति :  जिन्दावाद
!

कम्युनिस्ट न्युक्लिअस, नेपाल  
डिसेम्बर १८, २०१७


भिडियो फिचरview all