menu

ताजा समाचार

उपहारमा प्राप्त दुई पुस्तक : ‘शून्य डिग्री’ र ‘जन्मजात बाहुनको विज्ञप्ति’

अरू चुनावको जोडघटाउतिर लागे । हामी हामीलाई प्राप्त उपहार, लेखक प्रोल्लास सिन्धुलीयका दुई पुस्तक शून्य डिग्रीजन्मजात बाहुनको विज्ञप्ति पढ्नेतिर लाग्यौँ । शून्य डिग्री उपन्यास हो र जन्मजात बाहुनको विज्ञप्ति कविता सङ्ग्रह । इमानदारीपूर्वक भन्दा  उपन्यासले आकर्षित गरेन, किन गरेन, यसको चर्चा पछि नै गरौँला । कविता सङ्ग्रहको पनि यो समीक्षा अथवा समालोचना नभएर सरसरती हेराइपछिको टिप्पणी मात्र हो ।
 
प्रोल्लास सिन्धुलीयले औसत कविको दर्जाबाट आफूलाई माथि उठाएका छन् भन्ने कुरा उनको अघिल्लो सङ्ग्रह झण्डालाई डिभी पर्यो भने के हुन्छ ? ले नै पुष्टि गरिसकेको हो ।  प्रशस्त आलोचनात्मक चेत भएका कवि हुन् प्रोल्लास सिन्धुलीय । यो कविता सङ्ग्रहले  पनि यसै भन्छ । भाषाको प्रयोग, अभिव्यक्तिको शैली  र विषयवस्तुको चयन हेर्दा स्थानीय रङ्ग मन पराउने कवि हुन् प्रोल्लास सिन्धुलीय भन्न सकिन्छ ।

कविता मात्र नभएर प्रोल्लास सिन्धुलीय उपन्यास पनि लेख्न सक्छन् भन्ने कुरा शून्य डिग्रीले देखाएको छ । यताका दिनमा गर्ने गरिएझैँ सकारात्मक-नकारात्मक जे होस्, माओवादी प्रसङ्गलाई नछोई उपन्यासले पूर्णता पाउन सक्तैन भन्ने कुरा चाहिँ प्रोल्लास सिन्धुलीयले पनि अनुभूत गरेको विषय रहेछ । शून्य डिग्री पढेपछिको पहिलो प्रतिक्रिया यस्तै हुन्छ । यसले माओवादी आन्दोलनको प्रभाव र आयामको विस्तारलाई द्योतन गर्छ ।

जन्मजात बाहुनको विज्ञप्तिका धेरैजसो कविताहरू पठनीय  छन् तापनि ‘म पनि नेपाली हुँ झप्पड नेपाली’, ‘पहाडगन्ज कम्पनी’ ‘सिक्किम डायरी’, ‘जन्मजात बाहुनको विज्ञप्ति’ ‘उभिन खोजिरहेकी आमा’, ‘भत्केको नाक’, विशेष पठनीय कविता हुन् । ‘म पनि नेपाली हुँ झप्पड नेपाली’ लाई यस सङ्ग्रहको प्रतिनिधि कविता भन्न सकिन्छ । यसमा समकालीनताबोध छ र सम्प्रेषणीयता पनि । यस्तो छ कविले भोगेको सत्यको बकपत्र :

ओ मित्रवर !
असमानताका
अनेक खण्डहर मसँग पनि छन्
हेपिनु, थिचिनु र दलिनुका दस्ताबेज
मेरा पनि छन्
तिम्रो पुस्तैनी स्वाभिमानको विपक्षमा उभिन
यो युगमा म बिल्कुलै बाध्य छैन
यो खोस्टो नागरिगतामा लेखिएको
‘बाहुन जात’
कसरी बन्न सक्छ
अन्यायको बर्खिलाप
मलाई सामेल हुन नदिने
अयोग्यताको प्रमाणपत्र ?

समग्र कविता अध्ययनपछि भन्न सकिन्छ : आलोचनात्मक यथार्थवाद र समकालीन कविता लेखनको सन्दर्भ आउँदा पन्छाउन नसकिने कवि हुन् प्रोल्लास सिन्धुलीय । विश्वदृष्टिकोणको प्रश्नमा थप सचेत बन्दै प्रोल्लास सिन्धुलीय अझ झरिला कविता लेखिरहून भन्ने कामना गर्नु अन्यथा नहोला । कविलाई सिध्याउने कुरा भनेको सपाटपन र पुनरावृत्ति हो, यसप्रति कवि सदैव सचेत  बन्नु आवश्यक हुन्छ । आफ्नो रचनाको पहिलो पाठक र पहिलो समालोचक त स्रष्टा स्वयम् हो । लेखनले आत्मसङ्घर्षको माग पनि गर्दछ ।

अलिकति बजारशास्त्रका बारेमा


समय प्रचारको छ र पाठकसम्म पुग्न प्रचार अभियान चलाउनै पर्ने हुन्छ । बजारशास्त्रको चकचकी  यति सारो छ कि, नचिच्याई, होहल्ला नगरी पाठकले सुन्ने स्थिति छैन  । तर, प्रचारवाद हाबी भयो भने गम्भीर पाठक र समालोचकको दृष्टिबाट कृति ओझेलमा पर्छ । जब यसो हुन्छ, कृति बजारु पुस्तकमा परिणत हुन्छ । तिनले गम्भीर पाठक-समालोचकलाई आकर्षित नै गर्दैनन्, ती चासोका विषय बन्दैनन्  ।  त्यस्ता कृतिहरूको आयु पनि लामो हुँदैन, केही समयपछि ती पाठकको स्मृतिबाट विलुप्त हुन्छन्  ।  कृतिको राम्रो/नराम्रो परख  गर्ने कार्यसित पाठकको सौन्दर्यबोधात्मक चेतना र क्षमता  पनि गाँसिएको हुन्छ ।

लोकप्रियताको सार्थकता समाज र पाठकबीचको सेतु बन्नुमा निहित छ  । कवि हुनु भनेको सामाजिक सचेतक हुनु हो । सामाजिक संचेतना, लोकप्रियता र स्तरीयता एकअर्काका पूरक हुनुपर्छ । एउटा लेखक स्थापित हुन् समय लाग्छ ।  तर, आजभोलि लेखकहरू रातारात ''मालामाल'' र ''सेलिब्रेटी'' भएको दाबी गर्छन् ।उनीहरूको लेखत्वको आयाम ''फेसबुक" र ''सन्ध्याकालीन जमघट'' भन्दा बाहिर विस्तारित भएको हुँदैन भन्ने कुरा उनीहरू बुझ्न सक्षम हुँदैनन् ।

आजभोलि होहल्ला र प्रचारसित कृतिको लोकप्रियता जोड्न खोजिएको देखिन्छ  । ठेक्कापट्टा, लेनदेन, कोटा  र अन्य थुप्रै कुरा प्रभावी बनेर वितरण गरिने पुरस्कारका  आधारमा पनि  पुस्तकको स्तरीयताको मापन हुँदैन । यसको लागि उदाहरण र तथ्यांक प्रस्तुत गर्नु पनि आवश्यक छैन  ।  वास्तवमा पुस्तकको विक्री र बजार होहल्लाका आधारमा कुनै पनि पुस्तकको लोकप्रियता र स्तरीयताको मापन हुँदैन । एक समय नेपालमा सबैभन्दा बढी बिक्री हुनेमा युधिर थापाका उपन्यासहरू पर्थे । खास गरेर कलेज-क्याम्पसका एकथरी केटाकेटीहरूबीच ती निकै ''लोकप्रिय' थिए- गुलसन नन्दाका उपन्यासझैं । 
 
गम्भीर समालोचक र सचेत पाठकबीच हाम्रो कृति पुग्य्योपुगेन, कृतिले उनीहरूलाई आकर्षित गर्न सक्यो/ सकेन, उनीहरूका दृष्टिमा आफू कहाँ उभिएको छु भन्ने प्रश्न नै आधारभूत प्रश्न हो । प्रोल्लास सिन्धुलीयको लेखनमा देखिएको गाम्भीर्यलाई हेर्दा उनी यसप्रति सचेत छन् भन्ने ‘जनमेल’ लाई लागेको छ ।
०००
‘जनमेल’


भिडियो फिचरview all