menu

ताजा समाचार

थुप्रै माओवादी नेताहरू अझै जेलमा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता कमरेड कोबाध गान्धी ८ वर्षपछि जमानतमा रिहा भए पनि वहाँलाई लगाइएका कतिपय मुद्दा यथावत छन् र भारतीय प्रतिक्रियावादी शासक वर्गले कुनै पनि बेला वहाँलाई पक्राउ गर्नसक्छ । जमानतमा रिहा भएपछि भारतीय माध्यमहरूसित कुराकानी गर्दै उनले “सरकारले कुने पनि बेला कुनै पनि बहानामा पुनः पक्राउ गर्नसक्ने कुराप्रति आफू प्रस्ट रहेको र तत्काल आफू स्वास्थ्योपचार र घरपरिवारसित भेटघाट कार्यक्रममा  लाग्ने” भनेका छन् ।

अहिले पनि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सम्बद्ध तल्लो तहका १४  हजारभन्दा बढी कार्यकर्ताहरू जेलमा छन् र यिनमा पोलिटब्युरो सदस्यसमेत रहेका छन् । त्यति मात्र नभएर दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन. साइबाबालगायत विद्यार्थी नेता  र मानवअधिकार कर्मीहरूसमेतलाई माओवादीहरू का लागि काम गरेको भनेर आजीवन कारावासको सजाय तोकिएको छ ।
 
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र जनयुद्ध

भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्सवार र माओवादी कम्युनिस्ट केन्द्रबीच पार्टी एकता भएपछि पार्टीको नाम भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भएको थियो र सन् २००७ मा यसको एकता महाधिवेशन सम्पन्न भएको थियो । एकता प्रक्रियापछि  छापामार सेनाको नाम “जनमुक्ति छापामार सेना” राखिएको थियो । २० वटा राज्यहरू बढी प्रभावित भन्दै सरकारले भारतीय कम्युनिस्ट पार्टीलाई भारतको सबैभन्दा बढी सुरक्षा चुनौतीका रूपमा लिएर सन् २००९ देखि माओवादी दबाउन “अपरेसन ग्रिन हन्ट” चलाइरहेको छ । सरकारले गरेका दमनका हरेक योजना र कार्यक्रमहरूको प्रतिरोध गर्दै भाकपा (माओवादी) ले आफ्ना आधारक्षेत्रहरूमा जनसत्ताको स्थापना गरेको छ रअरू क्रान्तिकारीहरूलाई गोलबद्ध गर्दै जनयुद्धलाई निरन्तर अघि बढाइरहेको छ । यस क्रममा सन् २०१४ मा रिमको संस्थापक सदस्य, कमरेड अजिथको नेतृत्वमा रहेको भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबारीसित पार्टीएकता सम्पन्न भएको थियो ।

“अपरेसन ग्रिनहन्ट–२०१७” सम्म आइपुग्दा माओवादीका विरुद्ध भारतीय फासिवादी सत्ताले स्थल र हवाइ आक्रमणका लागि इजराइली तालिम प्राप्त ५ लाख फोर्सको प्रयोग गरिहेको छ । ठाउँठाउँमा विशेष क्याम्प निर्माण गरेर  विशेष सैन्य हेलिकप्टर र ड्रोनको प्रयोग गर्नेगरेको छ । “सन् २०२२ सम्ममा माओवादीहरूलाई समाप्त पार्ने” भन्ने सरकारी निर्णय र योजनाअनुसार प्रचारआतङ्क, सूचनाआतङ्क,  लोभलालच, टाउकाको मोल तोकाइ र सैन्य दमन सबै हतियारको प्रयोग भारतीय फासिवादी सत्ताले गरेको छ र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले जनताको  साथ लिएर यी सबैको प्रतिरोध गरिरहेको छ ।

भारतीय जेलको स्थिति


भनिन्छ ४ लाख १८ हजार कैदीहरू भारतीय जेलमा छन् । यीमध्ये ७० प्रतिशतले आफूमाथि लगाइको अपराध स्वीकारेका छैनन् । यीमध्ये १८ हजारजति महिला र त्यति नै बालबच्च छन् । खास गरेर महिला र बच्चाहरू बढी आदिवासी क्षेत्रका छन् ।

जहाँसम्म माओवादी बन्दीहरूको प्रश्न छ, कतिपय जेलबाटै गायब पारिएका छन् । कतिपय जेलमा छन् भनिए पनि बाहिरसित भेटघाट हुन नदिइकाले प्रस्ट सूचना छैन । जेलमा हत्या गरिएकाहरूको विवरण बाहिर ल्याइने गरिदैन  र केही गरी घटना बाहिर आयो भने त्यसलाई आतमहत्यामा फेरिन्छ । तथ्याङ्कअनुसार सन् २००८ देखि २०१४ सम्ममा जम्मा १३, ६५७ व्यक्तिहरूलाई माओवादीका नाममा पक्राउ गरिएको थियो । यसरी समातिनेहरू अधिकांश आदिवासी क्षेत्रका आम जनता र गरिब किसानहरू  छन् । ती सबैलाई माओवादीलाई सघाएको आरोपमा  मुद्धा लगाइएको छ । वकिलसमेत राख्न दिइँदैन । उनीहरूका पक्षमा बोल्ने वकिल र मानवाधिकारवादीहरू समेतलाई थुनेर यातना दिने गरिएको  छ  । कतिपय महिला कमरेडहरूलाई हिरासतमा बलात्कार गरिन्छ, मारिन्छ र मुठभेडमा मारिएको भनेर नक्कली फोटो बनाएर सार्वजनिक गरिन्छ ।

भारतीय जेलमा बन्दीहरूको स्थिति दासकालीन दासहरूको अवस्थाजस्तो छ भनेर समाचारपत्रहरूले निरन्तर रूपमा समाचार बाहिर ल्याउने गरेका छन् । माओवादी बन्दीहरूले जेलमा भएका अनियमितता, बन्दीहरूमाथि हुने दमन र यातनालगायत तोकिएको सुविधाबाट समेत वञ्चित गर्ने प्रवृत्तिका विरुद्ध आवाज उठाउँदा जेलमा विद्राह गर्न खोजेको, हातपात गरेको भनिन्छ र माथिको नेता भए निरन्तर जेलसार गरिन्छ र तलका कार्यकर्तामाथि निमर्म दमन गरिन्छ । कतिपय सन्दर्भमा माओवादीहरूले प्रतिरोधका लागि समग्र बन्दीसहित अनसन बस्ने गरेका छन् ।  गत वर्षको जुनमा पश्चिम बङ्गालमा ८० जना राजबन्दी खाना र स्वास्थ्य सुविधालाई लिएर एक महिनाभन्दा बढी अनसन बसेका थिए र उनीहरूको अनसनलाई निर्मम किसिमले दमन गरिएको थियो ।

सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार राज्य र जिल्लातहका थुप्रै नेताहरू लगायत केन्दीय स्तरका माओवादी नेताहरू अहिले जेलमा  छन् । लेखक, कलाकार, विद्यार्थी मात्र नभएर वकिल, प्राध्यापकलगायत  पेशागतका बुद्धिजीवीहरूलाई समेत माओवादीको आरोपमा जेलमा राखिएको छ ।

जेलमा परेका प्रमुख माओवादी नेताहरू :

त्यस्तै कमरेड अजिथ, अमिताभ बाग्छी, बलराज सिंह, विजय आर्या, वाराणशी सुब्रमन्यम, चन्द्रशेखर, पाण्डुरङ्गा रेड्डी, पुलेन्दु् मुखर्जी, प्रमोद मिश्रलगायतका केन्द्रीय तहका नेताहरू भारतका विभिन्न जेलमा बन्दी अवस्थामा छन् ।

 “सायद यसपल्टको जाडो काट्न सक्तिन होला” : साइबाबा



अहिले प्राध्यापक साइबाबा र माओवादी नेता कमरेड अजिथको स्थिति एकलमै जटिल छ । त्यसमा पनि साइबाबाको स्थिति निकै नाजुक छ । पछिल्लो समयमा सार्वजनिक भएको उहाँको चिठीमा जेलमा औषधीउपचारको मात्र     कुरा नभएर खानपिन र ओढ्नेओछ्याउनेको समेत व्यवस्था छैन भनेर उल्लेख गरिएको छ । उहाँको  चिठीमा “जाडो मेरालागि असह्य छ । सायद यसपल्टको जाडो काट्न सक्तिन होला ” भनेर लेखिएको छ  । ९० प्रतिशत विकलाङ्ग साइबाबालाई एक किसिमले जेलमै  सिध्याउने किसिमले व्यवहार गरेको यथार्थ प्रस्ट बुझ्न सकिन्छ । कपोलकल्पित प्रमाणका आधारमा आजीवन कारावासको सजायका विरुद्ध सुप्रिम कोर्टमा मुद्दा दर्ता गरे पनि अदालतले त्यसमा चासो दिएको छैन । उहाँका बारेमा विश्वभरिका प्राध्यापक, लेखक तथा मानवअधिकारवादीहरू र श्रमिक सङ्गठनले समेत आवाज उठाएरहेका छन् ।

विश्वव्यापी रूपमा उठेको मुटुका बिरामी कमरेड अजिथको रिहाइको प्रश्न

रिम तथा कम्पोसा निर्माणमा महत्वपूर्ण भूमिमा खेल्ने त्यतिबेलाका भाकपा (माले) नक्सलबाडीका नेता र सन् २०१४ मा पार्टी एकतापछि भाकपा (माओवादी) का नेता ६२ वर्षीय मुरली कुनापल्ली अर्थात् कमरेड अजिथ ३ वर्षदेखि बन्दी अवस्थामा हुनुहुन्छ । उहाँलाई २०१५ को मेमा भारतको पुणे नजिकै मुटुको उपचार गराइरहेको बेला आतङ्कवाद विरोधी कानुन प्रयोग गरेर वहाँको सहयोगीका साथ पक्राउ गरिएको थियो । सन् सत्तरीको दशकदेखि नै तेलङ्गना क्षेत्रमा सक्रिय कमरेड अजित ७० र ८० को दशकमा पनि जेल निर्वासित हुनुभएको थियो । हाल पुणेस्थित केन्द्रीय काराकारमा बन्दी कमरेड अजिथको रिहाइका लागि नोम चोम्की, जुडिथ बटलरगायत विश्वका बहुचर्चित बुद्धिजीवी तथा प्राध्यापकहरूले अन्तराष्ट्रिय स्तरमै आवाज उठाइरहेका छन् ।

खोइ हाम्रो सर्वहारावादी अन्तर्राष्ट्रियतावादी ऐक्यबद्धता !

भारतीय फासिवादी सत्ताले माओवादी आन्दोलनलाई आफ्नो आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो चुनौती भनिरहेको अवस्थामा उसले त्यहाँको माओवादी आन्दोलनलाई दबाउन अनेक उपाय गर्नु अनौठो कुरा भएन । भारतमा चलिरहेको माओवादी आन्दोलनलाई दबाउन  भारतीय फासिवादलाई अमेरिकी आर्थिक र नीतिगत सहयोग र इजराइली सैन्य तथा सरसामग्रीको सहयोग प्राप्त  छ र उसले प्यालेस्टिनी जनतामाथि गरेको दमनको निर्मम शैलीको प्रयोग गरिरहेको छ । यसले भारतीय जनताले चलाएको जनयुद्धप्रति ऐक्यबद्धता र भारतीय फासिवादका विरुद्ध संयुक्त प्रतिरोधको माग गर्छ ।

भारतमा चलिरहेको माओवादी आन्दोलनका विरुद्ध भारतीय फासिवाद र अमेरिकी साम्राज्यवादको संयुक्त गठबन्धनको विश्वभरिका साम्राज्यवाद विरोधी शक्तिहरू, माओवादी पार्टी तथा सङ्गठनहरू र बुद्धिजीवीहरूले सशक्त आवाज उठाइरहेका छन् । यस क्रममा युरोप, ल्याटिन अमेरिकामा “भारतमा चलिरहेको जनयुद्धलाई सघाऔँ” भन्ने नाराका साथ सङ्घसंस्थाहरू निर्माण भएका छन् र पर्चापम्प्लेट,  पत्रिका प्रकाशन, वेबसाइटहरूको निर्माणका साथै गोष्ठी र सभाहरू भएका छन् र  भित्तेलेखन गरिएका छन् । त्यहाँ निरन्तररूपमा कामहरू भैरहेका छन्  ।

युरोप, ल्याटिन अमेरिका तथा अमेरिकामा त्यहाँको वस्तुस्थिति तथा पार्टीगत स्थितिमा भारतीय फासिवादको विरोध र भारतमा चलिरहेको  पक्षमा जेजस्तो ऐक्यबद्धता अभियान चलाइएको छ, त्यसको तुलनामा हाम्रो भूमिका एकदमै उदासीनतापूर्ण छ ।  हामी दसबर्से जनयुद्धको विरासत बोकेका र  भारतसित सिमाना जोडिएकाहरूबाट यसप्रति जेजस्तो र जेजेति चासो र जागरुकता देखाउनुपर्ने थियो त्यो हुन सकेको छैन ।  संसदीय राजनीतिमा लागेकाहरू, माओवादप्रति नै वितृष्णा जागेकाहरू, नामप्रति नै विमति भएकाहरू तथा नयाँ जनवादी क्रान्ति परित्याग गरेकाहरूबाट यो काम नहुनु नयाँ कुरा होइन, आफूलाई मालेमा र नयाँ जनवादी क्रान्तिका पक्षधर भन्नेहरूबाट समेत अपेक्षित मूल्यबोध नहुनु चाहिं  दुखद पक्ष हो ।

‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ र यससित सम्बद्ध माध्यमहरूले भाकपा (माओवादी) को नेतृत्वमा भारतीय जनताले चलाएको जनयुद्धको पक्षमा र भारतीय फासीवादको विरुद्धमा सक्तो आवाज उठाइरहेको भए पनि माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधर अन्य तह र तप्कामा  देखिएको निस्पृहता र उदासीनता बडो उदेक लाग्दो किसिमको छ । यस किसिमको उदासीनता र निस्पृहता सर्वहारावादी अन्तर्राष्ट्रियतावादी मूल्य विपरीत छ र यसले थुप्रै प्रश्न उठाउनु स्वाभाविक छ ।

भारतमा चलिरहेको जनयुद्ध विश्वसर्वहारावादी मुक्ति आन्दोलनको हिस्सा भएकाले त्यो हामी नेपालका माओवादीहरूको पनि आन्दोलन हो र यसका पक्षमा दृढताका साथ उभिनु भनेको सर्वहारा अन्तर्राष्ट्रियतावादी मूल्यमान्यताको पक्षमा उभिनु हो । यसो गर्नु हामी सबैको दायित्व हो । कम्तीमा पनि मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू  यसप्रति गम्भीर हुनु आवश्यक छ ।
०००







 


भिडियो फिचरview all