menu

ताजा समाचार

आठ वर्षपछि भाकपा (माओवादी) का नेता कोबाध गान्धी जमानतमा रिहा

सेप्टेम्बर २००९  मा दिल्लीबाट पक्राउ गरिएका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का ६६ वर्षीय नेता कमरेड कोबाध गान्धीलाई विशाखापट्टम अदालतले ८ वर्षपछि जमानतमा रिहा गरेको छ । कहिले दिल्लीको तिहार जेल र कहिले कुन जेल गर्दै वहाँलाई यसै वर्षको अप्रिलमा तिहारबाट विशाखापट्टममा सरुवा गरिएको थियो । जेलमा भएका विकृति र विसङ्गतिलगायत राजबन्दीहरूमाथि गरिने खराब व्यवहारलाई लिएर वहाँ जेलमा बारम्बार अनसन बस्नुभएको थियो ।
 
वहाँलाई “अनलफुल एक्टिभिटिज (प्रिभेन्टिव) एक्ट" अन्तग पक्राउ गरी विभिन्न घटनासित जोडेर १४ वटा  मुद्दा लगाइएको थियो । प्रहरीले ठोसरूपमा प्रमाण जुटाउन नसकेको र प्रस्तुत गरेका प्रमाणहरू पनि भरपर्दा नभएको भनेर अदालतले वहाँलाई जमानतमा रिहा गरेको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्  । पार्टीमा अध्ययनशील नेता र विचारकका रूपमा स्थापित कोबाध गान्धी पक्राउ पर्दा सो पार्टीको पोलिट ब्युरो सदस्य हुनुहुन्थ्यो ।

भारतको महाराष्ट्र राज्यसँग सम्बन्धित कोबाध गान्धी सम्पन्न परिवारको सदस्य हुनुहुन्थ्यो र वहाँले देहरादुन र विदेशमा समेत अध्ययन गर्नुभएको थियो ।  सन् सत्तरीको दशकदेखि नै वहाँ कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुनुभयो र सन् १९८१ म भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वारको केन्द्रीय सदस्य हुनुभयो । पिपुल्सवार र एमसिसीबीच सन् २००४ मा पार्टी एकता भएर भाकपा ( माओवादी ) बनेपछिको पहिलो महाधिवेशन (२००७) मा वहाँ सो पार्टीको पोलिटब्युरो सदस्य हुनुभएको थियो । पार्टीले वहाँलाई बौद्धिक र प्रकाशन क्षेत्रको जिम्मेवारी दिएको थियो । पक्राउ परेको समयमा पनि वहाँ पार्टी प्रकाशन कार्यमा व्यस्त हुनुहुन्थ्यो ।
 
वहाँको पक्राउपछि माओवादी पार्टीका प्रवक्ता कमरेड आजाद (सन् २०११मा सहिद) ले “कमरेड कोबाध गान्धीको पक्राउले भाकपा (माअमेवादी) र भारतीय क्रान्तिलाई ठूलो क्षति पुगेको” भनेर वक्तव्य जारी गर्नुभएको थियो ।
 
महिला तथा दलित मुक्तिसम्बन्धी विशिष्ट अध्येता भाकपा (माओवादी) की केन्द्रीय नेतृ अनुराध गान्धी ( क्यान्सरको बिरामीका कारण हाल दिवङ्गत) का जीवनसाथी कमरेड कोबाध गान्धी ब्लड प्रेसर, मुटु र किडनीको समस्याले ग्रस्त हुनुहुन्थ्यो र मानवअधिकारवादीहरू लगायत राष्ट्रिय-अन्तर्राष्ट्रिय बौद्धिक क्षेत्रले वहाँको  उचित स्वास्थ्योपचारका साथै रिहाइका लागि आवाज उठाइरहेको थियो ।

भिडियो फिचरview all